+
+
ब्लग :

नेता कसले बिगार्छ ?

जब कुनै अमूक नेतालाई ऊभन्दा मुन्तिरको कुनै नेताले देवता ठान्छ, मुख्य नेतालाई देवता मान्ने नेताले आफूभन्दा तल्लो तहको नेताबाट आफूप्रति सोही व्यवहारको अपेक्षा राख्दछ । अर्थात् देवता, उपदेवताहरूको तह सुरु हुन्छ । यो तल तल झर्दै जान्छ र कार्यकर्ता तहसम्म आइपुग्दछ ।

सुनिल न्यौपाने सुनिल न्यौपाने
२०७९ भदौ ६ गते १२:४२

आलोचना त्यसकै हुन्छ जोसँग अपेक्षा बढी हुन्छ । आलोचनालाई सुझावका रूपमा ग्रहण गरेमा त्यसले प्रतिफल दिन्छ । प्रतिशोध साध्न वा रक्षाकवच बनेर अगाडि सरेमा त्यसले थेत्तरो प्रवृत्ति विकास गराउँछ । यो लेख पनि अपेक्षा गरिएका दुई पात्रमा केन्द्रित छ ।

गत स्थानीय तहको निर्वाचनमा धरानमा हर्क साम्पाङ र काठमाडौंमा बालेन्द्र (बालेन) साहप्रतिको मतदाताको रुझान सुरुमा कसैले ठम्याउनै सकेनन् । राजनीतिकर्मीहरूले त त्यसको सुईंकोसम्म पाएनन् । एकाध मिडिया बाहेक सबैले मतदाताले मनमनै अर्कै ठहर गरिसकेको कुरा मतपत्रका बाकस खुलेपछि मात्र भेउ पाए ।

काठमाडौंको कुरा गर्दा बालेनप्रति युवा पुस्ताको ठूलो विश्वास थियो । उम्मेदवारी घोषणादेखि नै चुनाव जित्ने दृढ विश्वास देखाएका साह ९० हजार बढी मत ल्याएर चुनाव जित्ने बताउँदथे ।

धरानमा भुईंमान्छेको परिचय बनाएका हर्कको जित चालुचल्तीका दलहरू र तिनको नेतृत्वप्रति स्थानीय नागरिकले देखाएको चरम अविश्वासको नतिजा हो । धनगढीको नतिजाको फरक आधार छ, त्यसैले गोपी हमालको सन्दर्भ यहाँ जोडिएको छैन ।

हर्क र बालेन चल्ताचलाता राजनीतिको विरोधमा नागरिकले उभ्याएका बिम्व हुन् । उनीहरूले उत्पातै धेरै काम गर्छन् भन्ने अपेक्षा पनि होइन । यो केवल एउटा सन्देश हो । फेरि पनि मुलुकको समग्र अवस्था सुधार गर्दै माथि उठाउने जिम्मेवारी मुख्य राजनीतिक दलहरूकै हो ।

तर जिम्मेवारहरूले यदि हामी नै त हौं अरू को छ र भन्ने दम्भ राखिरहने हो भने निश्चित समयका लागि तालाचाबी अरू नै कसैलाई बुझाएर मुख्य राजनीतिक दलहरूलाई ढोका बाहिर नै राख्छौं भन्ने नागरिक सन्देश हो काठमाडौं र धरानको जनमत । हर्क र बालेनले आगामी तीन महिना कस्तो भूमिका निर्वाह गर्छन्, मंसिर ४ को चुनावमा त्यसको प्रभाव रहनेछ ।

काम सुरु गरेको एक वर्ष पनि भइनसकेका कारण हर्क र बालेनको मूल्यांकन गर्ने समय अझै भइसकेको छैन । तर यसबीचमा निर्वाचित प्रतिनिधि र उनीहरूका समर्थकहरूको उत्ताउलो प्रदर्शनले स्वतन्त्रको क्रेजको ग्राफ ओरालो लाग्न सक्ने संकेत देखिएको छ ।

प्रसंग गत बुधवारको । धराने मेयर हर्कले सामाजिक सञ्जालमा आफू काठमाडौं गइदिएका कारण फोहोर उठेको तर्क गरेछन् । हर्कप्रति विश्वास राख्ने कतिपय समर्थकले त्यसलाई ठट्यौली भएका कारण सोही रूपमा लिन आग्रह गरे । तर त्यो मजाक थियो भनें पनि भद्दा मजाक हो ।

किनकि आफ्नो नगरमा प्रारम्भमा नै उत्साहजनक जनसहभागिता जुटाएका उनलाई काठमाडौंप्रति त्यति धेरै मजाक गर्ने छुट छैन जसले काठमाडौंलाई बिझाओस् । उसैगरी हर्क जाँघे लगाएर श्रमदान गर्न जाँदा अरू कसैले उनलाई मजाकको पात्र बनाउने अधिकार नै छ । सबैका आ–आफ्नै काम गर्ने शैली हुन सक्दछन् ।

पछिल्ला दुई प्रकरणमा बालेन र हर्कका समर्थकहरूले देखाएको व्यवहारले त्यही भन्छ । उनीहरू गलत हुनै सक्दैनन् । यो नेपाली राजनीतिक वृत्तमा देखिएको क्यान्सर प्रवृत्ति हो जुन परम्परागत राजनीतिक दलका कार्यकर्ता हुँदै बालेन र हर्कका समर्थकसम्म आइपुगेको छ ।

तर हर्कको सो फेसबुक स्टाटसमा उदेक लाग्ने गरी जुहारी चलेको छ । कतिपय व्यक्तिले सभ्य तरिकाले उनले यो गलत गरे भनेर गरिएको टिप्पणीमा हर्कका अन्ध समर्थक अश्लील गालीगलौजमा उत्रिएका छन् । यही प्रवृत्तिगत रोगका कारण नेपाली राजनीति र दलका नेतालाई ग्रसित बनाएका कारण कतिपय ठाउँमा विकल्पको खोजी भएको यथार्थ हो ।

अर्को एक प्रसंग । गत वैशाखमा हुनुपर्दछ, स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा एकप्रकारले हाईहाई भइरहेका बालेनको एउटा काममा प्रश्न उठाइयो ‘अनलाइनखबर’मा प्रकाशित एक ब्लगमार्फत । उनले राष्ट्रिय झण्डाको दुरुपयोग गरेको भन्दै प्रश्न उठाएपछि सुरु भयो बालेनका समर्थक वा कतिपय अभियानमा नाता न साइनाका व्यक्तिको आक्रोश जो आफैंमा कम आश्चर्यलाग्दो थिएन ।

सो विचार प्रकाशित गरेपछि सो अनलाइनको अनफलो अभियान सुरु गरियो । फेसबुक, ट्वीटरमा चलाइएको सो अभियानका कारण केही फलोअर्स घटे । उक्त विचार प्रकाशन हुनुअघि उनका बारेमा थुप्रै सकारात्मक समाचार आइसकेका थिए । तर यसले दुईवटा गम्भीर विषयलाई बहसमा ल्याएको छ ।

पहिलो मिडियालाई कसरी भीडले नियन्त्रण मात्र होइन आफू अनुकूल चलाउने अवस्था सिर्जना भएको छ भन्ने बुझ्न यो प्रकरण काफी छ । अनलाइनमा छापिएको सो ब्लगको कन्टेन्टमा पर्याप्त बहस हुन सक्दथ्यो होला । बालेनका समर्थक वा स्वयं बालेनले राष्ट्रिय झण्डा किन प्रयोग गर्न पाइन्छ भनेर बहस गर्न सक्दथे ।

उनीहरूले खेलाडीले कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजयी हुँदा झण्डा ओढ्नेदेखि अन्य धेरै विषयमा बहस चर्काउन सक्दथे । तर बालेनका समर्थकहरूले एउटा अराजक अभियान सुरु गरे अनफलोको, जसले कुनै सञ्चारमाध्यमप्रति घृणा फैलाउने काम गर्‍यो । यो एकप्रकारको अपराध हो । यसले कसरी भीडले सञ्चारमाध्यमलाई आफू अनुकूलका समाचार मात्र सम्प्रेषण गर्न बाध्य बनाउन सुरु गरेको छ भन्ने स्पष्ट हुन्छ ।

दोस्रो, के बालेन साह र हर्क साम्पाङहरू गलत हुनै सक्दैनन् ? उनीहरूले गरेका हरेक काम सत्य, सही नै हुन्छन् ? पछिल्ला दुई प्रकरणमा बालेन र हर्कका समर्थकहरूले देखाएको व्यवहारले त्यही भन्छ । उनीहरू गलत हुनै सक्दैनन् । यो नेपाली राजनीतिक वृत्तमा देखिएको क्यान्सर प्रवृत्ति हो जुन परम्परागत राजनीतिक दलका कार्यकर्ता हुँदै बालेन र हर्कका समर्थकसम्म आइपुगेको छ ।

आफ्नो नेतृत्वले गरेका सम्पूर्ण कार्यहरू सही हुन् भन्दै नेतृत्वलाई देवत्वकरण गर्ने प्रवृत्तिकै पछिल्लो संस्करण हो बालेन साहको झण्डा प्रकरण र हर्क साम्पाङको फेसबुक टिप्पणी । आफूले मानेको नेतृत्वले गरेको हरेक कामलाई आँखा चिम्लेर समर्थन गर्ने मात्र होइन परिआउँदा झम्टिने, जाइलाग्ने प्रवृत्तिको पछिल्लो उदाहरण हो । यसले नेतृत्वलाई भ्रष्टीकरणको बाटोमा डोर्‍याउँछ र समर्थक वा कार्यकर्तामा दास प्रवृत्ति बढाउँछ ।

कुनै व्यक्ति दास दुई रूपमा हुन सक्छ । पहिलो व्यावहारिक रूपमा र अर्को चरित्रका कारण । नेपाली राजनीतिक वृत्तमा पछिल्लो समयमा दोस्रो रूप अर्थात् चरित्रका आधारमा दास हुने प्रवृत्ति देखिएको छ । कुनै अमूक नेतालाई देवता मान्ने र निजले भनेका वा गरेका सम्पूर्ण कृत्यलाई आँखा चिम्लेर समर्थन गर्ने मात्र नभई परिआउँदा विपक्षीप्रति झम्टिने, खनिने प्रवृत्ति व्याप्त छ । यही प्रवृत्तिले नेतृत्वलाई भ्रष्ट, उन्मादी बनाउने र नियम–कानुनको परिधि भन्दा बाहिर बस्ने छुट दिन्छ ।

शनैशनै दलको नेतृत्वलाई आफू सर्वेसर्वा भएको, आफ्नो बोली नै कानुन हो र म जे बोल्छु त्यो नै सत्य हो भन्ने भ्रान्ति उत्पन्न हुन थाल्दछ । तर दुःखको कुरा त्यो अवस्थामा पनि कार्यकर्ताले यो गलत हो भन्न सक्दैन किनकि चरित्रका रूपमा ऊ दास भइसकेको हुन्छ ।

उसले गलतलाई गलत भन्दैन, किनकि उसलाई भय उत्पन्न भइसकेको हुन्छ कि उसले गलत भन्यो भनें नेतृत्व रिसाउँछ । त्यही त्रासमा ऊ अझ धेरै दास हुँदै जान्छ । समस्याको कुरा ऊ आफू मात्र दास हुँदैन, उसले दासत्वको साङ्लो अझ तल सार्दै लैजान्छ ।

जब कुनै अमूक नेतालाई ऊभन्दा मुन्तिरको कुनै नेताले देवता ठान्छ, मुख्य नेतालाई देवता मान्ने नेताले आफूभन्दा तल्लो तहको नेताबाट आफूप्रति सोही व्यवहारको अपेक्षा राख्दछ । अर्थात् देवता, उपदेवताहरूको तह सुरु हुन्छ । यो तल तल झर्दै जान्छ र कार्यकर्ता तहसम्म आइपुग्दछ ।

यसले समग्र पार्टी पंक्तिलाई दासको झुण्डमा रूपान्तरण गर्दछ । नेपाली राजनीतिक दलमा देखिएको यो गम्भीर समस्या हो । तपाईं राजनीतिक दलको सदस्य हुनुहुन्छ भने आफैंले विचार गर्नुहोस् के तपाईं यो चरित्रबाट मुक्त हुनुहुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?