+
+
Shares

म्याद गुज्रेका नेता अझै पाल्ने कि फाल्ने ?

भू–राजनीतिक खिचातानीको लहरो देशको छेवैमा आइपुगेको यिनीहरूलाई थाहा छैन । प्रविधि परिवर्तनले भेट्न नसक्ने गरेर नेटो काटेको यिनीहरूले बुझ्दैनन् । रोजगारीको अभावमा विदेशिएका युवाहरूको आँशुले पनि यिनलाई छुँदैन ।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०८२ साउन ११ गते ९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आउटडेटेड नेता र विचारले वर्तमान नेतृत्व गर्न सक्दैनन् र नयाँ विचार सहितको नेतृत्वले तिनलाई विस्थापित गर्छ।
  • नेपालका राजनीतिक पार्टीहरू निजी कम्पनी जस्तै छन् र धेरै नेता दशकौंदेखि नेतृत्वमा छन्।
  • म्याद नाघेका नेताहरूलाई आगामी निर्वाचनमा पराजित गरेर दण्डित गर्नु नागरिकको धर्म बनेको छ।

‘आउटडेटेड’ को सोझो अर्थ वर्तमान समयको लागि असान्दर्भिक भन्ने लाग्छ । नीति, विचार र नेतृत्वका सवालमा यसको निकै ठूलो महत्व हुन्छ । किनभने, कुनै पनि आउटडेटेड नेता, विचार वा सिद्धान्तले वर्तमानमा नेतृत्व गर्न सक्दैन, सबैलाई गोलबन्द गर्न सक्दैन । तिनलाई नयाँ विचार, नयाँ सिद्धान्त र नयाँ विचार सहितको नेतृत्वले प्रतिस्थापित वा विस्थापित गर्छन् ।

जसरी ‘डेट एक्स्पायर’ वा म्याद गुज्रेको औषधिले रोगको निदान गर्न भन्दा थप जटिलता उत्पन्न गर्छ, त्यसरी नै पुराना सोच–विचारका सिद्धान्त र तिनलाई बोक्नेहरूले सिंगो मुलुकलाई हानि पुर्‍याउँछन् । स्वाभाविक प्रक्रिया पार गर्दै समाज निकै अघि बढ्न खोज्दा त्यस्ता नेता परिवर्तनको गति रोकेर राख्न खोज्छन् । जसका कारण पनि तिनलाई समयको गतिसँग परिवर्तन हुन नसक्ने नेता भनेर बुझिन्छ ।

म्याद गुज्रेका सामान जसरी बजारमा बिक्दैनन्, त्यस्तै म्याद गुज्रेका पार्टी, पार्टीको नेता पनि समाजमा बिक्दैनन् । राजनीतिक प्रतिस्पर्धामा विजयी हुन् सक्दैनन् । परिवर्तन हुन नसक्ने संगठन र नेतृत्व म्याद गुज्रेको लिष्टमा पर्छन् । त्यस्ता म्याद गुज्रेका राजनीतिक पार्टी र तिनका नेताहरू डार्बिनको सिद्धान्त अनुसार विस्तारै लोप भएर जान्छन् । तर, नेपाली समाज यतिबेला सान्दर्भिकता हराइसकेका त्यस्तै नेतृत्वको चंगुलमा फसेको छ । ती नेता आफैं केही गर्न सक्दैनन् र अरू कसैलाई मौका पनि दिंदैनन् ।

कुनै पनि राजनीतिक विचारधाराहरू अपरिवर्तनीय हुँदैन । इतिहास, सामाजिक–आर्थिक अवस्था तथा व्यक्तिको सोच र बुझाइले विचारधारा परिवर्तन गरिरहन्छ । सरल अर्थमा बुझ्दा हिजो संरक्षणवादी अर्थतन्त्रको वकालत गर्ने चीन आज स्वतन्त्र व्यापारको वकालत गरिरहेछ । स्वतन्त्र व्यापारको जन्मदाता अमेरिका संरक्षणवादी अर्थतन्त्रमा विश्वास गरिरहेछ । साम्यवाद, समाजवाद र प्रजातन्त्रका रूप र स्वरुप पनि नजानिंदो हिसाबले परम्परावादी दृष्टिकोणबाट धेरै टाढिएको स्पष्ट देखिन्छ ।

नेपालका राजनीतिक पार्टीहरू निजी कम्पनी जस्ता देखिन्छन् । निजी लगानीमा खोलिएका व्यापारिक कम्पनीहरू परिवार र नातेदारको संलग्नतामा खोलिन्छन् र चल्छन् । कम्पनी खोल्ने हजुरबुवा बाँचुञ्जेल कम्पनीको अध्यक्ष भइरहन्छन् किनकि त्यो निजी हो । पब्लिक लिमिटेडमा धेरै शेयर लिनेहरूको राइँदाइँ चलिरहन्छ । लिमिटेडलाई सरकारका आर्थिक नीति, अन्तर्राष्ट्रिय बजार र उपभोक्ताको चाहना अनुरुप नाफामा लैजान सकेन भने लिमिटेडको अध्यक्ष पाखा लाग्न सक्छ । यो व्यापार–व्यवसायको सिद्धान्त हो ।

म्याद नाघेका नेताहरूलाई देशको शासन प्रणाली हाँक्न दिइरहने हो भने हाम्रा दु:ख अझै बढ्नेछन् । सुम्पिएको जिम्मेवारी पूरा नगर्ने नेतालाई आगामी निर्वाचनमा पराजित गरेर दण्डित गर्नु आमनागरिकको धर्म बनेको छ

नेपालका राजनीतिक पार्टीको निजी कम्पनीकै जस्तै अवस्था छ । हुनत; राजनीतिक पार्टीहरू प्रजातान्त्रिक संस्था हुन् । तर, हाम्रो सन्दर्भमा भने पार्टीहरू निजी कम्पनी जस्तै चलेकाले सान्दर्भिकता सकिए पनि नेतृत्वमा एउटैको हालीमुहाली छ । कोही ३०–३५ वर्षदेखि नेतृत्वमा छन् । कोही सान्दर्भिकता समाप्त भइसक्दा पनि छैटौं पटक प्रधानमन्त्री बन्ने लालसामा बसेका छन् । कोही पार्टीभित्र नयाँ नेतृत्व आउन नदिएर पार्टी कब्जा गरे जसरी जमेका छन् । नयाँ विचारको चर्चा गर्न र नेतृत्वमा दाबी गर्न खोज्नेलाई यो वा त्यो बहानामा पार्टीबाट पन्छाउने काम गरिरहेका छन् । यी नेतामा न देश विकासको भिजन देखिन्छ, न नागरिकप्रतिको जिम्मेवारी बोध । बरु, बिचौलिया, कमिसनखोर र भ्रष्टहरूको स्वार्थमा यिनले सत्ताको दुरुपयोग गरेका छन् । तैपनि नेपाली जनता यिनीबाटै शासित हुन बाध्य छन् । यो हाम्रो वर्तमानको पीडा हो ।

तर, यसको अर्थ राजनीतिक पार्टी र नेतृत्वले कहिल्यै केही गरेनन् भन्ने होइन । कहालीलाग्दो जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायतका कठिन दिनमा तिनले कठोर संघर्ष गरेर हामीलाई आजको परिवर्तनको अनुभूति गराएकै हुन् । यसक्रममा उनीहरूले आफ्नो ऊर्जाशील समय परिवर्तनको पक्षमा लडेर खर्च गरेका पनि हुन् । तर, परिवर्तन आयो, त्यसपछि त्यसलाई व्यवस्थापन गर्ने र जनतालाई विकास दिने जिम्मेवारी पूरा गर्न भने उनीहरू चुकिरहे । सबै जना सबै क्षेत्रमा पोख्त हुँदैनन् । राजनीतिक परिवर्तनका निम्ति बलिदान दिन पनि पछि नहट्नेहरूले विकास र समृद्धिको यात्राको नेतृत्व कुशलतापूर्वक गर्न सक्छन् भन्ने कुरा होइन । यहाँ त्यही भइरहेको हो ।

कुशलतापूर्वक राजनीतिक परिवर्तनको नेतृत्व गरेकाहरूले विकास र समृद्धिको यात्राको नेतृत्व गर्न नसक्दा उनीहरू ‘आउटडेटेड’ भएका हुन् । यो यथार्थ उनीहरूले सहजै स्वीकार्न तयार हुनुपर्छ । तर, त्यसलाई स्वीकार गर्न नसक्दा राजनीतिक परिवर्तनका नायकहरू अहिले खलनायक बनिरहेका छन् । समाजका सबै अंगमा उनीहरूले आफ्नो प्रभुत्व कायम राख्ने गलत प्रयास गरिरहेकै छन् । कर्मचारीतन्त्र, विश्वविद्यालय मात्र होइन, न्यायालयसम्ममा उनीहरूले आफूनिकटहरूलाई भर्ती गरेका छन् । आफ्नो प्रभुत्व कायम राख्न उनीहरूले बिचौलिया, दलालको शरण परेका लज्जाजनक कैयौं दृश्यले उनीहरूलाई नै नङ्ग्याइरहेको छ ।

बिचौलियाका समाचार मात्र सुन्ने र बुझ्ने हुँदा यी नेताहरूलाई सूचना, समाचार तथा करेन्ट एफियरको सम्बन्धमा कुनै जानकारी हुँदैन । दूध उत्पादक किसानले दूध बेचेको, उखु किसानले उखु बेचेको, धान बेचेको, सुन्तला, अदुवा चिया, कफी बेचेको पैसा नपाएर रुनु परेको दृश्य यिनीहरू देख्दैनन्, सुन्दैनन्। साहसी उद्यमीहरूको उद्यमलाई प्रोत्साहन गर्न तथा क्षमतावान व्यक्तिहरूलाई देशमा लगानी गर्न प्रेरित गर्न पनि सक्दैनन् । भू–राजनीतिक खिचातानीको लहरो देशको छेवैमा आइपुगेको यिनीहरूलाई थाहा छैन । प्रविधि परिवर्तनले भेट्न नसक्ने गरेर नेटो काटेको बुझ्दैनन् । र, रोजगारीको अभावमा विदेशिएका युवाहरूको वेदना बुझेर नीति कोर्न पनि सक्दैनन् ।

कुनै बेला कवि धरणीधर कोइरालाले राणाशासन विरुद्ध नेपाली जनतालाई जगाउन ‘जाग जाग भो भयो अति सुत्यौ अब जाग’ भनेर कविता लेखेका थिए । विश्लेषक विष्णु सापकोटाले केही समय अगाडि ‘नेपाली सोचको जीर्ण संरचना’ लेख लेखेर हाम्रा राजनीतिक नेताको चेत र नेपाली राजनीतिक कार्यकर्ताहरूको स्यालको हुइँय्याप्रति व्यङ्ग्य गरेका थिए । आउटडेटेड नेताहरूलाई हामीले कति पटक भोट दियौं र जितायौं त्यो हामीले विचार गर्नुपर्छ । भोट हालेर पटक–पटक जिताउँदा पनि उनीहरूले नागरिकप्रतिको कर्तव्य पूरा गरेका छैनन् । त्यसैले अब सुम्पिएको जिम्मेवारी पूरा नगर्ने नेतालाई चुनावमा हराएर दण्डित गर्नु नागरिकको धर्म हो ।

हामी आज गिग अर्थ–व्यवस्थामा बाँचिरहेका छौं । तर पुरानो फलाममा झैं नेपालका राजनीतिक पार्टीको विचारधारा, सिद्धान्त, सोच, नेतृत्व र कार्यप्रणालीमा खिया लागिसकेको छ । पुराना विचारधारा बोक्ने मानिसलाई समयले असान्दर्भिक बनाउँछ । म्याद नाघेका नेताहरूलाई देशको शासन प्रणाली हाँक्न दिइरहने हो भने हाम्रा दु:ख अझै बढ्नेछन् । राजनीतिक पार्टीहरूले कि त समयको माग बमोजिम आफूलाई नवीन सोचयुक्त बनाउनुपर्छ या आफ्नै पार्टीभित्रका नयाँ नेतालाई नेतृत्व सुम्पनुपर्छ । अन्यथा, राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेका राजनीतिक पार्टीहरू इतिहासमा विलुप्त हुनेछन् । किनभने, तिनलाई नयाँले विस्थापित गरिछाड्नेछन् ।

लेखक
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?