+
+
क्रिकेट टिमको केन्या भ्रमण :

प्रभाकरका लागि खेलाडी चिन्ने अवसर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ भदौ ६ गते १९:०३
केन्याका लागि बिदाइपछि सामुहिक तस्वीर खिचाउँदै नेपाली टिम । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

६ भदौ, काठमाडौं । परिवर्तित प्रशिक्षण टिम र वर्षाका कारण अपर्याप्त तयारीका बीच नेपाल क्रिकेट टोली केन्यासँगको एकदिवशीय र ट्वेन्टी-२० शृंखलाका लागि आज (सोमबार) राति नैरोवी प्रस्थान गर्दैछ । नेपालले त्यहाँ पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेलको शृंखला खेल्नेछ ।

आईसीसी विश्वकप लिग टूका बाँकी शृंखलामा राम्रो प्रदर्शन गरी एकदिवशीय मान्यता कायम राख्ने तथा टी-२० मा वरीयता सुधार गर्ने नेपाली क्रिकेटको अहिलेको प्राथमिक लक्ष्य हो । त्योभन्दा अगाडि केन्या भ्रमण चाहीं नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरका लागि खेलाडी चिन्ने र टिमको क्षमता बुझ्ने उपयुक्त अवसर हो ।

सन् १९९० को दशकमा भारतीय क्रिकेटका सनसनी प्रभाकरले दुई साताअघि एक वर्षका लागि नेपाल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । साउन २८ मा काठमाडौं ओर्लिएका उनले नेपाल टिममा दुई दिनमात्र विशेष प्रशिक्षण गराउन पाएका छन् । नियमितको झरीले असर गरेपछि नेपाल टिमले जिम र इण्डोर हलमा समय विताएको थियो । शनिबार र आइतबार मात्र मैदानमा प्रशिक्षण भएको हो ।

थोरै समय प्रशिक्षणका बावजुत पनि प्रशिक्षक प्रभाकरले राम्रो तयारी भएको बताएका छन् र केन्या टुरबाट धेरै अपेक्षा राखेका छन् । ‘हामीले राम्रो प्रशिक्षण गरेका छौं । सबै युवा खेलाडीहरु प्रदर्शनका लागि तयार छन् । उनीहरुमा सिक्ने र त्यसलाई लागू गर्ने उत्साह छ,’ प्रभाकरले भने, ‘हामीसँग युवा कप्तान छन् । उनी जहिले पनि टिमका लागि नेतृत्व लिएर खेल्न तयार रहन्छन् । यो राम्रो लक्षण हो ।’

सन् २०१६ मा अफगानिस्तानको बलिङ प्रशिक्षक भएयता प्रभाकर एकदिवशीय मान्यताप्राप्त टिमको प्रमुख प्रशिक्षक बनेका छन् । टिमको ब्याटिङ सुधार्ने योजनामा आधारमा नेपाल क्रिकेट संघबाट नियुक्ति पाएका प्रभाकरले नेपाल आएको भोलिपल्टै ब्याटरहरुलाई लामो फम्र्याटको क्रिकेटमा अभ्यस्त गराउने प्रयास गर्ने बताएका थिए ।
राष्ट्रिय टिमका १६ जना क्रिकेटरलाई त्रिवि मैदानमा प्रशिक्षण गराउँदा प्रभाकरले सुरुमा सबैप्रति अनभिज्ञता जनाएका छन् । यसको अर्थ उनी टिमप्रति निरपेक्ष रहन प्रयासरत छन् । प्रशिक्षक प्रभाकरले एक एक गरी खेलाडीसँग उसको पोजिसनबारे जानकारी लिएर प्रशिक्षण गराएका थिए ।

सामान्यतः कुनै पनि देशमा प्रशिक्षकको जिम्मेवारी लिएकाहरु त्यहाँको टिमको इतिहास र वर्तमान खेलाडीहरुको पृष्ठभूमीबारे चासो राख्ने गर्छन् । प्रभाकरले खेलाडीप्रति पूर्ण अपरिचित रहेको देखाएर नेपाली टिममा पुनर्जीवनको प्रयास गरेका हुनसक्छन् । यसो हो भने केन्या भ्रमण उनका लागि सबैभन्दा उत्कृष्ट अवसर हुनसक्छ ।

प्रभाकर र सन्दीप । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

केन्यामा एकदिवशीय र टी-२० खेलमा गरेको प्रदर्शनको आधारमा प्रभाकरले यही टोलीका खेलाडीलाई निरन्तरता दिनेछन् वा नयाँ खेलाडीको खोजी गर्नेछन् । खेलाडी नचिन्दा वा चिन्ने प्रयास नगर्दा प्रभाकरलाई खेलाडीकै क्षमताअनुसार उनीहरुको पोजिसन निर्धारण गर्ने अधिकार रहनेछ । छोटो प्रशिक्षणसत्रका दौरान उनले त्यस्तै तयारी गरेका छन् । उनले भनेकै छन्, ‘केन्या टुर हाम्रो लागि राम्रो अभ्यास खेल हुनेछ ।’

केन्या भ्रमणमा नेपाल टिमका नियमित ओपनर कुशल भुर्तेल छैनन् । प्रभाकरले टी-२० का लाग आशिफ शेखको ओपनिङ जोडीका रुपमा पवन सर्राफलाई प्रयोग गर्नेछन् । पछिल्लो दुई वर्षदेखि नियमित टिममा रहेका पवन मध्यक्रममा ब्याटिङ गर्दै आएका छन् । प्रशिक्षकको जिज्ञाशामा पवन आफैंले ओपनिङ गर्ने बताएका थिए ।

एकदिवशीयमा भने आशिफ र ज्ञानेन्द्र मल्लको जोडीलाई परीक्षण गरिनेछ । ६ महिनापछि टिममा फर्किएका पूर्वकप्तान ज्ञानेन्द्रको ब्याटिङ शैलीमा प्रभाकर प्रभावित छन् । सम्भवतः देव खनाल, दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलले क्रमसः तेस्रो, चौथो र पाँचौं नम्बरमा ब्याटिङ गर्नेछन् ।

नेपाली कप्तान सन्दीप लामिछानेले पनि नयाँ प्रशिक्षकमातहत केहि नयाँ प्रयोग हुने बताएका छन् । बिदाइ कार्यक्रममा उनले भनेका छन्, ‘प्रशिक्षकका लागि यो पहिलो शृंखला हुनेछ । नयाँ प्रशिक्षकको प्रशिक्षणमा खेल्न उत्साहित छौं । हामी केही नयाँ प्रयोग गर्ने तयारीमा छौं । केही नयाँ खेलाडीसँगै पूराना खेलाडीको पनि पुनरागमन भएको छ ।’

आईसीसी क्रिकेट विश्वकप लिग टू मा लगातार तीन शृंखला खेलेको नेपाल टिम केन्या भ्रमणमा टी-२० खेलतर्फ लय लिने प्रयासमा हुनेछ । नेपालले पछिल्लो पटक गत फागुनमा ओमानमा टी-२० विश्वकप छनोट खेलेको थियो । तर निर्णायक खेलमा युएईसँग पराजित हुँदा नेपाल टी-२० विश्वकपमा छनोट हुन सकेन ।

त्यसपछि नेपालले लिग टु मा तीन वटा एकदिवशीय शृंखला खेलिसकेको छ । वैशाखमा नेपालले जिम्बावे ए टिम विरुद्ध घरेलु मैदानमा टी-२० शृंखला खेलेको थियो ।

नेपाल र केन्याबीचको पहिलो टी-२० अन्तर्राष्ट्रिय आउने बिहीबार नैरोबीस्थित जिमखाना क्लब ग्राउण्डमा हुनेछ । अगष्ट २५ देखि ३० सम्म पाँच खेलको टी-२० शृंखलापछि नेपालले केन्यासँग सेप्टेम्बर २, ३ र ५ मा तीन वटा एकदिवशीय खेल खेल्नेछ ।

वरीयता सुधारको आश

आईसीसी टी-२० वरीयतामा नेपाल अहिले १४औं स्थानमा छ । केही दिनअघि सार्वजनिक वरीयतामा नेपाल एक स्थान तल झरेको हो । कुनै समय टेष्ट राष्ट्रलाई हराएर विश्वकपमै सनसनी मच्चाएको केन्या भने पछिल्लो समय ओरालो लागेको अवस्थामा छ र हाल ३०औं स्थानमा छ ।

केन्यालाई हराएर नेपालले वरीयतामा सुधार गर्ने अपेक्षा राखेको छ । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले वरीयतामा सुधारका लागि केन्या भ्रमण महत्वपूर्ण रहने बताए । ‘नेपालमा वर्षातका बेला म्याच खेल्न नपाइरहेको अवस्थामा केन्या जाँदैछौं । पाँच टी-२० नेपालको लागि महत्वपूर्ण छ,’ सोमबार विदाई कार्यक्रममा अध्यक्ष चन्दले भने, ‘वरीयतामा हामी भन्दा तलको टिमलाई जित्दा धेरै अंक नपाएपनि यसले सहयोग पुग्नेछ ।’

यसैवर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुन नसकेको नेपालले २०२४ को टी-२० विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ । ‘कमसेकम २०२४ को विश्वकपका लागि अहिलेदेखि नै तयारी गर्नुपर्नेछ,’ चन्दले थपे ।

२०२४ मा हुने विश्वकपमा आयोजक वेष्ट इन्डिज र अमेरिकासहित अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपका शीर्ष ८ टिम सिधै छनोट हुनेछन् ।

आसन्न विश्वकपमा वेष्टइन्डिज शीर्ष ८ मा रहे वरीयताका आधारमा तीन उत्कृष्ट टिम सिधै छनोट हुनेछन् । वेष्ट इन्डिज शीर्ष ८ मा नपरेमा अन्य २ टिम मात्र हुनेछ । नोभेम्बरअघि नेपाल लगायत अन्य एशोसिएट राष्ट्रहरुको खेलले पनि वरीयतामा प्रभाव पार्नेछ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?