+
+

वीरगञ्जका किसानलाई पर्याप्त मल दिन मेयर सिंहको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १८:००

७ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरका किसानले पर्याप्त मल नपाएपछि मेयर प्रमुख राजेशमान सिंहले कृषि सामग्री कम्पनी लिमिटेडको ध्यानाकर्षण गराएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका कार्यकारी प्रबन्ध निर्देशक राजेन्द्रबहादुर कार्कीलाई भेटेर मेयर सिंहले वीरगञ्जमा आवश्यक रासायनिक मल सहज रुपमा उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।

वीरगञ्जका किसानका लागि थप रासायनिक मलको प्रबन्ध गर्न काठमाडौंस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा विशेष अनुरोध गरेको मेयर राजेशमान सिंहले बताए ।

‘वीरगञ्ज महानगरलाई सधैं सहज रूपमा मल आपूर्तिको प्रबन्ध गर्ने प्रणाली व्यवस्था गर्न अनुरोध गरेको छु’ उनले भने, ‘महानगर र कृषि सामग्री कम्पनी लिमिटेड बीच आवश्यक सहयोग र समन्वय गर्ने समझदारी पनि भएको छ ।’

तेस्रो मुलुकबाट आयात गरिएको मल भित्रिने मुख्य नाका वीरगञ्ज भए पनि वीरगञ्जकै किसानले मल नपाएर छट्पटिनुपर्ने अवस्था विद्यमान रहेको मेयर सिंहको भनाइ छ ।

‘देशभरिलाई चाहिने मल वीरगञ्ज नाकाबाटै भित्रिन्छ तर वीरगञ्जकै किसानले चाहिए जति मल पाउँदैनन्’ उनले भने ‘मल बोकेर जाने गाडीको धुवाँ र सडकबाट उड्ने धुलो वीरगञ्जवासीले खानुपर्ने तर खेतमा छर्ने मल नपाउने ? मल वितरण गर्दा वीरगञ्जलाई प्राथमिकतामा राख्नुपर्छ ।’

किसानलाई कसरी मल सहज वितरण गर्न सकिन्छ भन्ने बारेमा वीरगञ्जका मेयरसँग छलफल भएको कृषि सामग्री कम्पनी लिमिटेडका कार्यकारी प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए ।

‘वीरगञ्जका किसानलाई सहजै मल पाउने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो’ उनले भने ‘ हामीले खरिद भएर आएको मल वितरण गर्ने हो, किसानले मल समयमै आवश्यकता अनुसार पाउन् भन्ने चाहना हाम्रो पनि हुन्छ ।’

रासायनिक मल आउने क्रम जारी रहेको बताउँदै उनले निरन्तर मल आउन थालेपछि मल अभावको समस्या हट्ने बताए । किसानलाई साथमा लिएर वीरगञ्जका मेयर सिंहले साउन २९ गते युरिया मल वीरगञ्जमै रोकेका थिए ।

भोलिपल्ट कृषि सामग्री कम्पनीले थप १० हजार बोरा मल दिने सहमति पछि मात्रै उनले नियन्त्रणमा लिएको मल छोडेका थिए ।

वीरगञ्ज महानगरले ८ हजार मेट्रिक टन मलको माग गरेकोमा कम्पनीले २७७१ बोरा मात्रै मल दिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए । महानगरमा ८३०३ हेक्टर खेतीयोग्य जमिन रहेको महानगरपालिकाको कृषि शाखाले जनाएको छ ।

कृषि सामग्री कम्पनीको प्रदेशिक कार्यालय वीरगञ्जका अनुसार सहमति अनुसार महानगरले थप ६ हजार बोरा मल लगिसकेको छ । मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले कम्पनीबाट प्राप्त मल वडा नं १५ देखि २५ सम्मका किसानलाई वितरणका लागि वडामा पठाइएको जानकारी दिए ।

कम्पनीको प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारका अनुसार वीरगञ्ज नाका हुँदै हालसम्म ६ र्‍याक अर्थात् १५ हजार मेट्रिक टन मल आइसकेको छ । स्वीस सिंगापुर कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गरेको २० हजार मेट्रिक टन डिएपी मल कोलकाता बन्दरगाहमा आइसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?