+
+

कैदी भागेपछि नख्खु कारागारका सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १२:१२
नख्खु कारागार ।

९ भदौ, काठमाडौं । नख्खु कारागारका एकजना कैदी फरार भएपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ । नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलिया जिम्मेवारीबाट हटाइएका हुन् ।

हत्कडीसहित कैदी भागेपछि सुरक्षा कमजोरी देखिएकाले उनलाई जिम्मेवारीबाट हटाइएको जानकारी पाएको नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीले अनलाइनखबरलाई बताए ।

उनको ठाउँमा कसलाई पठाउने भन्ने टुंगो लागि नसकेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

नख्खु कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्स्पेक्टरको नेतृत्वमा टोली खटिन्छ । भित्री सुरक्षामा सशस्त्र प्रहरी रहन्छ भने बाहिर नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने गर्छ ।

नेपाल प्रहरीको टोलीले बुधबार कारागारका कैदी रामेछापका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगेको थियो । त्यसक्रममा दुईजना प्रहरी उनको साथमै रहेका बेला बुढाथोकी फरार भएका थिए ।

‘उपचार गर्नका लागि एकातिरको हत्कडी खोलेका बेला उनी भागेका थिए’ जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले अनलाइनखबरसँग भने, ‘उनलाई बिहीबार बिहान लुभुबाट पक्राउ गरिसकेका छौं ।’

प्रहरीका अनुसार उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको छ ।

बुथाथोकी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्ति हुन् । उनले ९ वर्ष जेल सजाय काटिसकेका थिए । उनको आँखामा समस्या देखिएको थियो ।

घटनाको छानविनका लागि ललितपुर प्रहरीका एसपी देवेन्द्र पालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको एसएसपी पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?