+
+

प्राध्यापक कुट्ने रावल त्रिविमा तनाव गराउने समूहका नाइके

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १३:०९
पहेंलो सर्ट लगाएका योगेन्द्र रावल हुन् ।

१२ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रशासनले गरेको पत्रकार सम्मेलन विथाल्न पुगेको नेविसंघ समूहको नेतृत्व योगेन्द्र रावलले गरेको खुलेको छ । उनी प्राध्यापक प्रेम चलाउने आक्रमणका दुई मुख्य आरोपीमध्ये एक हुन् ।

आइतबार त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा त्यसलाई विथोल्न नेविसंघका नेता, कार्यकर्ता नारावाजी गर्दै पुगेका थिए । नेविसंघको नाराबाजीविरुद्ध विद्यार्थीहरुको समूहले काउन्टर प्रदर्शन गरेको थियो, जसमा नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ता पनि सामेल थिए ।

त्यस क्रममा दुवैपक्षबीच घम्साघम्सी भयो, चारजना घाइते भए । तनाव सिर्जना भएको घटनामा नेविसंघको नेतृत्व गर्ने रावल हरि आचार्य नेतृत्वको नेविसंघ कमिटी सचिव हुन् । आचार्य पनि शिक्षक कुटपिट घटनाका मुख्य योजनकार हुन् ।

त्रिवि परिसरमा २० असोज २०७७ मा समाजशास्त्रका उप-प्राध्यापक प्रेम चलाउनेमाथि मोटरसाइकलमा आएको समूहले रडले हानेर गम्भीर घाइते बनाएको थियो । निकै मुस्किलले बाँच्न सफल चलाउनेको उपचार मेडिसिटीमा भएको थियो । उनी अझै वैशाखी टेकेर हिँड्छन् । घटनामा आचार्यको योजनामा रावलसमेतको संलग्नतामा भएको भन्दै चलाउनेले प्रहरीसमक्ष किटानी जाहेरी दिएका थिए ।

घटनालगत्तै प्रहरीले रुपेश शाह, रविनकुमार लामा, सयुस श्रेष्ठ, निरज राना मगर र दिपक ओझालाई पक्राउ गरेको थियो । तर आचार्य, रावल लामो समयसम्म फरार भएका थिए । पछि उनीहरु अदालतमा हाजिर भएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले आचार्य र रावलको निर्देशनमा प्राध्यापकलाई कुटपिट गरेको निष्कर्ष निकाल्दै अनुसन्धान प्रतिवेदन तयार गरेको थियो । त्यसअनुसार उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८३ को ज्यान मार्ने उद्योग गरेको कसूरमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गराउन माग दाबी पेश गरिएको थियो ।

हाल यो मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । तर कांग्रेस नेताहरुको जोडबलमा महान्यायाधिवक्ताको कार्यालयले यसमा संलग्न व्यक्तिहरुको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको छ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुद्दा फिर्ता लिन राय दिँदै ‘मुद्दा फिर्ता हुँदा फरक नपर्ने र कानूनमको प्रतिकुल नहुने’ भन्दै राय दिएका थिए ।

यसरी मुद्दा फिर्ता गराइन लागेकामा आचार्य, रावलसँगै दीपकराज ओझा, रुपेश शाह, रविन लामा, सयुज श्रेष्ठ, र निरज राना मगर छन् । विश्वविद्यालय परिसरमै चलाउनेको टाउको, छाती, घाँटी र तीघ्रामा गम्भीर चोट लाग्ने गरी भएको कुटपिटमा संलग्नको मुद्दा फिर्ता लिन लागेको भन्दै चर्को आलोचना भएको थियो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौं र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालय काठमाडौंले ५ माघ २०७८ मा गृह मन्त्रालयमा मुद्दा फिर्ताको निवेदन दिएको थियो ।

त्रिभुवन विश्वविद्यालयमा शिक्षा हासिल गर्ने र शान्ति सुरक्षामा गम्भीर असर परेको भन्दै मुद्दा फिर्ता लिएमा ‘शान्ति सुरक्षा र अमनचयन कायम हुने’ महान्यायाधीवक्ताको कार्यालयले राय दिएको थियो ।

सह-प्राध्यापक चलाउने चाहिँ सरकारले उनीहरुको मुद्दा फिर्ता लिए त्रिविमा गुण्डाराज झन् संस्थागत हुने बताउँछन् । उनी भन्छन्, ‘अहिले जुन राय लेखेर मुद्दा फिर्ता लिन खोजिँदैछ, यसले विश्वविद्यालयमा जसलाई चाह्यो त्यसलाई हान्न, मार्न पाउनुपर्छ । तालाबन्दी गरेर नियुक्ति, सम्बन्धन, सरुवा बढुवा र आˆना मान्छेलाई जागिर खुवाउन पाइरहनुपर्छ । गुण्डाराज कायम गर्न पाउनु पर्छ । हामीलाई कारबाही भयो भने विश्वविद्यालयमा शान्ति र अमनचयन खलबलिन्छ ! भन्ने सन्देश जान्छ ।’

आरोपित रावल चाहिँ त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले अनेरास्ववियूका कार्यकर्ता प्रयोग गरेर ढुंगा हान्न लगाएपछि तनाव भएको बताउँछन् । ‘बाहिर शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला उपकुलपतिले अनेरास्ववियुलाई ढुंगा हान्न लगाउनु भएर लड्नको लागि निम्ता दिनुभयो, त्यो हामीलाई स्वीकार्य छ’ उनले अनलाइनखबरसँग भने ।

त्रिवि प्रशासनले प्रहरीको सहयोगले कुनै अप्रिय घटना हुन नपाएको जनाएको छ । नेविसंघका कार्यकर्ताहरु शुक्रबार जमलस्थित एक होटलमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकमा पनि जबरजस्ती प्रवेश गरेर कागजातहरु खोसेर लगेका थिए ।

बेलुकी साढे ४ बजे नेविसंघमा आबद्ध विद्यार्थी हौं भन्दै गएका उनीहरुले उपस्थित पदाधिकारीलाई दुर्व्यवहार गरेको विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?