+
+

गठबन्धन गर्दा माओवादीका यी नेताको चुनाव क्षेत्र के होला ?

२०७४ सालमा नेकपा माओवादी केन्द्रले जितेका एक दर्जन चुनाव क्षेत्रमा यस पटक कांग्रेस र एकीकृत समाजवादीले पनि दावी गरेका छन् । दलहरुबीच सहमति गर्दा यीमध्ये कुनै क्षेत्र माओवादी केन्द्रले छाड्ने स्थिति आउने नेताहरुले बताएका छन् ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ भदौ १२ गते २१:२३

१२ भदौ, काठमाडौं । २०७४ सालमा नेकपा एमालेसँग मिलेर प्रतिस्पर्धा गरेको नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितको गठबन्धनमा रहेर प्रतिस्पर्धा गर्दैछ ।

सिट भागवण्डाका लागि गठबन्धनको कार्यदलमा लगातार बैठकहरु चलिरहेको छ, तर भागवण्डा मिल्न सकेको छैन । एउटा निर्वाचन क्षेत्रमा गठबन्धनभित्रैका एक भन्दा बढी दलको दावी रहेका कारण सिट बाँडफाँटमा समस्या देखिएको छ ।

२०७४ सालमा नेकपा माओवादी केन्द्रले जितेका एक दर्जन चुनाव क्षेत्रमा यस पटक कांग्रेस र एकीकृत समाजवादीले पनि दावी गरेका छन् । दलहरुबीच सहमति गर्दा यीमध्ये कुनै क्षेत्र माओवादी केन्द्रले छाड्ने स्थिति आउने नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनको भागवण्डाका क्रममा यी नेताले गुमाउन सक्छन् सिट

अग्नि सापकोटा

२०७४ सालमा सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोक–१ बाट निर्वाचित भएका थिए । त्यतिबेला उनले नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई झण्डै १० हजार मतान्तरले पराजित गरेका थिए ।

तर यसपटक गठबन्धनका दलहरु फेरिएकाले विगतमा प्रतिस्पर्धा गरेकै व्यक्तिसँग सहकार्य गर्नुपर्ने स्थिति आइपरेको छ । यी दुई नेताको क्षेत्र व्यवस्थापन सत्ता गठबन्धनका लागि निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

बस्नेतले उक्त क्षेत्रबाट आफूले चुनाव लड्न पाउनुपर्ने दाबी गरेका छन् । हालै सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकमा बस्नेतले आफूलाई उक्त क्षेत्रको टिकट नदिए विद्रोह गरेर भए पनि चुनाव लड्ने चेतावनी दिएका थिए ।

सापकोटा पनि आफूले २०६४ र २०७० सालमा समेत जितेको उक्त क्षेत्र छाड्न चाहँदैनन् । सभामुख भएका कारणले उनले खुलारुपमा त्यस्तो इच्छा जाहेर त गरेका छैनन्, तर निर्वाचन क्षेत्र लक्षित उनका निरन्तरका गतिविधिले उनी त्यो क्षेत्र छाड्न तयार नरहेको बुझ्न सकिन्छ ।

सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले चुनाव लड्ने, नलड्नेबारे कुनै टुंगोमा नपुगेको बताए । ‘के गर्नुहुन्छ, कसो गर्नुहुन्छ भन्नेबारे अहिले नै निक्र्र्योल गर्ने बेला भएको छैन जस्तो लाग्छ’, उनले अनलाइनखबरसित भने ।

शक्तिबहादुर बस्नेत

एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको जाजरकोटबाट अघिल्लो पटक नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत निर्वाचित भएका थिए । एमालेसँगको गठबन्धनमा बस्नेतले कांग्रेस नेता राजिवविक्रम शाहलाई १० हजार मतान्तरले पराजित गरेका थिए ।

माओवादीका शीर्ष नेता भएकाले बस्नेतलाई टिकट दिनैपर्ने बाध्यता एकातिर छ भने अर्कातिर शाहले यसपटक आफूले नै टिकट पाउनुपर्ने दाबीसहित निर्वाचन केन्द्रित गतिविधि गरिरहेका छन् ।

बस्नेत र शाहलाई यहाँ कसरी व्यवस्थापन गर्ने भन्ने टाउको दुःखाइको विषय गठबन्धनलाई हुने छ ।

चक्रपाणि खनाल

२०७४ सालमा माओवादी नेता चक्रपाणि खनाल कपिलवस्तु–१ बाट निर्वाचित भएका थिए । तत्कालीन समयमा भारतका लागि नेपाली राजदूत छाडेर आएका कांग्रेस नेता दीपकुमार उपाध्याय खनालसँग करिब ८ सयको झिनो मतले मात्रै पराजित भएका थिए ।

यसपटक पनि उक्त क्षेत्रमा उपाध्यायले दावी गरेका छन् । खनाल र उपाध्यायमध्ये एकजनामात्र उम्मेदवार हुने अवस्थामा गठबन्धनलाई नेता व्यवस्थापन कठिन बन्ने देखिन्छ ।

राम कार्की

माओवादी केन्द्रका सचिव राम कार्की २०७४ सालमा झापा–१ बाट निर्वाचित भएका थिए । नेकपा एमालेसँगको गठबन्धनमा उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।

अहिले कांग्रेससँगै गठबन्धन भएकाले झापा–१ शर्मालाई दिने कि कार्कीलाई भन्ने छलफल चलेको छ । शर्माले आफू झापाबाटै उम्मेदवार बन्ने बताइसकेका छन् । कांग्रेसका महामन्त्री समेत भएकाले गठबन्धनले पनि शर्मालाई नै प्राथमिकता दिन सक्ने सम्भावना पनि छ ।

माओवादी सचिव कार्कीले अघिल्लो पटक पनि शर्मासँग मिलेरै प्रतिस्पर्धा गरेको र यसपटक पनि मिलेरै टुंग्याउने बताए । ‘विश्वप्रकाश र मैले पहिले पनि मिलेरै प्रतिस्पर्धा गरेको हो,’ कार्कीले अनलाइनखबरसँग भने, ‘अब पनि मिलेरै कुरा गर्छौैैं । अहिले त्यहाँको वस्तुस्थितिको आकलन हामीले गरिराखेका कसरी जित्न सकिन्छ भन्नेबारे । त्यसपछि हामी निष्कर्षमा पुग्छौं ।’

झापा–१ आफूले नपाए ओखलढुंगाबाट टिकट पाउनुपर्ने कार्कीले दाबी गरेका छन् । अनलाइनखबरले यसबारे सोध्दा उनले नेपालका जुनसुकै क्षेत्रबाट पनि चुनाव लड्न तयार हुनुपर्ने तर्क गर्दै ओखलढुंगा आफ्नो जन्मथलो समेत भएको बताए ।

हितबहादुर तामाङ

२०७४ सालमा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले नुवाकोट–१ मा कांग्रेस नेता डा. रामशरण महतलाई पराजित गरेका थिए ।

महत स्वयं यसपटक चुनाव नलड्ने मनस्थितिमा भए पनि कांग्रेस प्रवक्ता प्रकाशरण महतले यसपटक उक्त क्षेत्रबाट लड्ने इच्छा देखाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र समेत भएकाले महतलाई टिकट दिनुपर्ने दबाव उनलाई छ । अर्कातिर यो क्षेत्रमा कांग्रेसकै जगदिश्वर नरसिंह केसीले पनि दाबी गरिरहेका छन् । यस्तोमा तामाङले निरन्तरता पाउलान् या नपाउलान् भन्ने चासो धेरैलाई छ ।

अमनलाल मोदी

अघिल्लो चुनावमा मोरङ–४ मा कांग्रेस नेता महेश आचार्यलाई पराजित गर्दै माओवादीका नेता अमनलाल मोदी निर्वाचित भएका थिए ।

यसपटक गठबन्धनले मोदीलाई नै दोहो¥याउँछ वा कांग्रेस नेता आचार्यलाई टिकट दिन्छ भन्ने चासोको बिषय बनेको छ ।

हेमकुमार राई

एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा अघिल्लो पटक माओवादी नेता हेमकुमार राईंले कांग्रेसका पुराना नेता बलबहादुर केसीलाई पराजित गरेका थिए । कांग्रेसका पुराना नेता केसीले यसपटक आफूले नै टिकट पाउनु पर्ने दाबी गरिरहेका छन् ।

यसपटक कांग्रेससँग गठबन्धन गरेको माओवादीले उक्त क्षेत्र पाउला या नपाउला भन्नेमा धेरैको चासो छ ।

हरि अधिकारी

गोरखा–१ मा २०७४ सालमा माओवादी केन्द्रबाट पोलिट्व्यूरो सदस्य हरि अधिकारी निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठलाई पराजित गरेका थिए ।

गठबन्धनमा यसपटक उक्त क्षेत्र कसले पाउने भन्ने टुंगिएको छैन । माओवादीले भने गोरखाका दुबै क्षेत्रमा दाबी गरेको छ । ‘कांग्रेससँगै सहकार्य हुन्छ’ माओवादी केन्द्र गोरखाका जिल्ला संयोजक लेखबहादुर थापाले भने, ‘प्रतिनिधिसभाका दुई र प्रदेशका २ सिटमा माओवादीको दाबी छ । यसलाई छलफल गरेर टुंग्याउन सकिन्छ ।’

उक्त क्षेत्रमा माओवादीबाट अधिकारी, कृष्ण धिताल, अम्मर तमु, सुशीला सिंखडा लगायत आकांक्षी छन् । कांग्रेसबाट श्रेष्ठका अलवा राजेन्द्र बजगाईं पनि दाबेदार छन्।

सुदन किराती

एक मात्रै क्षेत्र भएको भोजपुरमा अघिल्लो पटक माओवादीका सुदन किराती निर्वाचित भएका थिए । उनले कांग्रेसका उमेशजंग रायमाझीलाई पराजित गरेका थिए । यसपटक किराती र रायमाझी दुबैको दावी छ । गठबन्धनमै रहेको एकीकृत समाजवादीका सचिव राजेन्द्र राईंले पनि भोजपुरबाट प्रतिनिधिसभामा दाबी गरेका छन् ।

टेकबहादुर बस्नेत

एक मात्रै क्षेत्र रहेको सल्यानमा यसअघि माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेत निर्वाचित भएका थिए । उनले कांग्रेसका राजेन्द्रकुमार शाहलाई १० हजार मतान्तरले पराजित गरेका थिए । यसपटक उक्त क्षेत्रमा कांग्रेसका नेता शाहसँगै एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला पनि आकांक्षी छन् ।

एमालेसँगको गठबन्धनमा मुख्यमन्त्रीको आश्वासनसहित प्रदेशमा लड्न तयार भएका उनी यसपालि प्रतिनिधिसभाको चुनाव लड्न चाहन्छन् । विशेष गरि बस्नेत र ज्वालाको व्यवस्थापन गर्न गठबन्धनलाई अप्ठ्यारो हुने गठबन्धनका नेताहरु बताउँछन् ।

बिना मगर

अघिल्लो चुनावमा माओवादी केन्द्रकी बीना मगर कञ्चनपुर–१ बाट बिजयी भएकी थिइन् । उनले कांग्रेसका दिवानसिंह विष्टलाई करिब १८ हजारको मनतान्तरले पराजित गरेकी थिइन् ।

यो क्षेत्रमा माओवादीले आफूलाई बलियो दाबेदार ठानेको छ भने कांग्रेसका विष्टले पनि दाबी दोहोर्‍याएका छन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?