+
+

‘बाघ बढाउन प्रभुत्वशाली वर्गको स्वार्थ छ’

नेपाली समाजको गरिबी, विपन्नता, जनजीविकाको सवाल अनि आर्थिक संकटलाई हेर्ने हो भने बाघ थोरै हुनु हाम्रो समस्या थिएन । बाघ थोरै भएको, बाघ सकिन लागेको आम नेपाली र देशको पहिलो समस्या पनि होइन ।

डा. नया शर्मा पौडेल, वातावरण विज्ञ डा. नया शर्मा पौडेल, वातावरण विज्ञ
२०७९ भदौ १३ गते २०:३९

संख्यामा भएको वृद्धिले अहिले निकुञ्जभन्दा बाहिर र चुरे क्षेत्रमा समेत बाघ देखिएको विभिन्न अध्ययनले देखाएका छन् । बाघ बढेका कारण वनमा आश्रति गरिब र विपन्न परिवारको जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव परेको छ । कति असर छ भनेर ठ्याक्कै अध्ययन नभए पनि रौतहटदेखि कञ्चनपुरसम्मका जिल्लाको करिब ४० प्रतिशत जनसंख्या प्रभावित भएको अनुमान गर्न सकिन्छ । गैंडा, हात्ती भनेको एकठाउँमा सीमित रहन्छ । तर, बाघको हकमा त्यो लागू हुँदैन ।

जनतालाई जनसंख्यामा रूपान्तरण गरेपछि त्यसको सबै ‘सेन्सेटिभिटी’ हराउँछ । यहाँ त्यही भएको छ । जसलाई दुःख परेको छ, जुन समुदाय वा वर्ग र परिवारले बाघका कारण क्षति व्यहोरिरहेका र दुःख पाएका छन् त्यसलाई समग्र जनसंख्यामा लगेर मूल्यांकन गर्ने गरिएको छ । अनि समग्र जनसंख्याको थोरै प्रतिशत भनेर तुलना गरिएको छ । जुन परिवारले आफ्ना सदस्य गुमाए, जो घाइते भएका छन् र बाघकै कारण जीविकोपार्जनमा समस्या झेलिरहेका छन् यो ठूलो र महत्वपूर्ण विषय हो । तर, यसलाई नजरअन्दाज गर्ने गरिएको छ ।

जो मानिसले जीवन गुमाएका छन्, जो घाइते भएका छन्, परिवारले सदस्य गुमाउँदाको असर समाजको उच्च वर्गलाई वास्ता हुन्न । एउटै मानिसले सम्पूर्ण परिवारको जीवन पाल्नु परिराखेको हुन्छ । जंगल जाने भनेको परिवारको सक्रिय सदस्य नै हुन्छ । उसलाई परिवारले गुमाउनु भनेको परिवार नै लथालिङ्ग हुनु हो ।

वन्यजन्तुबाट सबैभन्दा बढी को प्रताडित छन् भनेर हेर्नुपर्दछ । समाजको सबैभन्दा इलिट वर्ग जो काठमाडौं र शहरमा बस्छ ऊ सबै प्रकारबाट सुरक्षित छ । त्यो वर्गलाई बाघ, हात्ती र गैंडा केहीले छुँदैन । खासगरी समाजका गरिब र विपन्न, दलित, जनजाति र महिला जसलाई बढी जंगल जानुपर्दछ उनीहरू प्रभावित छन् । आफ्नो जग्गा-जमिन नभएका कारण नै उनीहरू जंगलको नजिकमा गएर ऐलानी पर्ती जग्गामा बसोबास गरेका हुन् । त्यहाँ बस्नु उनीहरूको रहर नभएर बाध्यता हो । नेपाली समाजको यही सीमान्तकृत वर्ग बाघको आक्रमणबाट बढी प्रभावित छ । त्यसैले अहिले सीमान्त वर्गले पाएको दुःख शहर-बजारमा बस्ने सम्भ्रान्त वर्गले वास्ता गरिराखेको छैन ।

सुकिलामुकिलाहरूलाई यो समस्या हुन्थ्यो भने संभवतः तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रसियामा भएको बाघ सम्मेलनमा गएर बाघ बढाउने भनेर नेपालका तर्फबाट हस्ताक्षर नै गर्दैनथे । अनि बाघ बढेकोमा यो विधि खुसी व्यक्त गरिंदैनथ्यो । कमजोर मानिसको पीडामा राज्य र समग्र समाज संवेदनशील नहुने विषय सामान्य र प्राकृतिक भएको छ । अब बर्दियामा बाघले मानिस खाने विषय सामान्य हुन थालिसक्यो । त्यसले समाजलाई संवेदनशील बनाउन छोडिसक्यो ।

समाजको वर्गीय असमानता यसको प्रमुख कारण हो । गरिब र विपन्न परिवारको दुःख र उसलाई परेको समस्यालाई प्रभुत्वशाली वर्गले ध्यान दिंदैन । तर, अर्को चाहिं यस्ता घटना दैनिक जसो हुन थाले र मानिसले यसलाई नर्मल रूपमा लिन थाले । तर, यस्तै घटना सम्भ्रान्त वर्गलाई परेको भए यो समस्यालाई फरक ढंगबाट लिन थालिन्थ्यो ।

अहिले वनसँगको सम्बन्ध घटाऊ, वनमा जाँदै नजाऊ, गाई-बाख्रा र भैंसी नपाल भन्न थालिएको छ । यो समाधानको बाटो होइन । अहिले काठमाडौंमा जसरी खेतीपाती गर्न छोडेर ४० लाख मानिस बसेका छन् अब देशैभरि खेतीपाती गर्न छोडेर मानिस शहरकेन्द्रित भएर बस्ने हो भने देशको हालत के हुन्छ !

नेपाली समाजको गरिबी, विपन्नता, जनजीविकाको सवाल अनि आर्थिक संकटलाई हेर्ने हो भने बाघ थोरै हुनु हाम्रो समस्या थिएन । बाघ थोरै भएको, बाघ सकिन लागेको आम नेपाली र देशको पहिलो समस्या पनि थिएन ।

यसलाई जान्न हामीले राजनीति र आर्थिक पक्षलाई ध्यान दिनु जरूरी छ । नेपालमा संरक्षित क्षेत्र कसरी आए भन्ने बुझ्नुपर्दछ । तत्कालीन राजा महेन्द्रलाई आफ्नो शिकार गैंडा र बाघ घट्दैछ भन्ने कुराको चिन्ता थियो । तत्कालीन समयमा अन्तर्राष्ट्रिय संरक्षण अभियान अघि बढेको थियो । जुलोजी सोसाइटी अफ लण्डन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का मानिसहरू आउने र राजपरिवारका सदस्यहरूसँग भेटघाट गर्ने क्रम चलेको थियो । उनीहरूले शिकारलाई पुस्तौंसम्म जोगाइराख्नुपर्‍यो भनेर राजपरिवारलाई ‘कन्भिन्स’ गरे । त्यसपछि डब्लूडब्लूएफ जस्ता संस्थाको सक्रियता बढ्यो ।

नेपालमा बाघ संरक्षण र यसको संख्याबाट खुसी हुने भनेको संरक्षणमा लाग्ने केही स्वार्थ समूह मात्रै हुन् । डब्लूडब्लूएफ, जेडिएसएल, आईयूसिएन र एनटीएनसीका लागि त यो खेतीपाती नै भयो । त्यो खेतीपातीमा अप्रत्यक्ष रूपमा हामी जस्ता मानिस पनि मिसिएका छौं । त्यहाँ हामी वातावरणीय सेफगार्ड, सोसल सेफगार्ड भनेर लागेका छौं । किनभने त्यहाँ पैसा छ । यही देशका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले देशका अरू समस्या छोडेर बाघ बढाउन गरेको प्रतिबद्धताले हामीहरू यसलाई राष्ट्रिय एजेण्डा बनाउन सफल भयौं ।

बाघको संख्या बढाउने कि पानीका मूल थप्ने भन्ने कुराको निर्णय गर्ने ठाउँमा बर्दियाका चौधरी, चितवन र नवलपरासीका बोटे र माझी त थिएनन् । त्यहाँ त हामी जस्तै खेतीपातीमा लागेका साथीहरू थियौं । त्यसकारण यो जनताको एजेण्डा भएन । बाघ बढाउने कसैको एजेण्डा थियो । त्यो एजेण्डालाई पावरफुल बनाउन विभिन्न एक्टरहरूको भूमिका हुन्छ । त्यो भूमिकामा प्रधानमन्त्री, मन्त्रीलगायत केही सीमित वर्गका मानिस लागे ।

पहिलो कुरा हामीले बाघ बढाउनै परेको छैन । यहाँ प्रश्न गर्नुपर्दछ । हामीले कति बढाउने हो ? किन बढाउने ? नचाहिएको बाघ बढाइयो । अहिले बाघ बढेर घटना बढ्न थालेपछि बाघ बढेर आक्रमण भएको होइन, मान्छे बाघसँग गएर आक्रमण भएको हो भनेर तर्क गरिन थालेको छ ।
अहिले भनिन्छ नि मानिसहरू जंगल जान हुन्न । यो एकदमै गलत र नचाहिने तर्क हो । मानिसहरू जंगलमा गएर आक्रमण भयो मानौं । तर, उनीहरू रहरले गएका होइनन् नि ! तपाईं हामी त काठमाडौंमा सुरक्षित छौं । उनीहरू पनि त हामी जस्तै सुरक्षित भएर बस्न चाहन्थे होला नि !

पहिलो त बाघको संख्या बढाउनु नै समस्या हो । संख्या बढेपछि समस्या सुरु भइहाल्छ । जहाँ समस्या भएको छ, त्यहाँ केही क्षति न्यूनीकरणका कामहरू गरिनुपर्दथ्यो । त्यो भनेको बाघ कता छन् भनेर तिनीहरूको ट्रयाकिङमार्फत जनतालाई सूचना दिने हो । यसले सम्पूर्ण रूपमा क्षति रोक्न नसके पनि थोरै मात्रामा न्यूनीकरण हुनसक्छ ।

अहिले सबैले वैकल्पिक जीविकोपार्जनको विषय उठाएका छन् । वन्यजन्तुले खाने धान, मकै गहुँ नरोप्न भनेर सल्लाह दिएका छन् । अनि बाघले खाने गाई, बाख्रा, भैंसी नपाल भन्छन् । यो त झन् उल्टो कुरा हो । समस्याको समाधान होइन ।

यसले खाद्य असुरक्षालाई बढाउँछ । बाघ, गैंडा पाल्नका लागि किसानलाई खेती नगर भन्नु हाम्रो दीर्घकालीन सुरक्षाको बाटो होइन । त्यतातर्फ त हामी जान हुन्न । हाम्रो प्राथमिकता भनेको खाद्यान्न हो । हामीले खाद्यान्न उत्पादनलाई वृद्धि गर्नुपर्दछ । संरक्षणकर्मीले अरू बालीमा जाउ भनेर सल्लाह दिएका छन् । यो समस्याग्रस्त छ ।

अहिले वनसँगको सम्बन्ध घटाऊ, वनमा जाँदै नजाऊ, गाई-बाख्रा र भैंसी नपाल भन्न थालिएको छ । यो समाधानको बाटो होइन । अहिले काठमाडौंमा जसरी खेतीपाती गर्न छोडेर ४० लाख मानिस बसेका छन् अब देशैभरि खेतीपाती गर्न छोडेर मानिस शहरकेन्द्रित भएर बस्ने हो भने देशको हालत के हुन्छ ! गाउँमा बस्ने मानिसले अलिअलि खेती गर्दैछन् र त देशको अर्थतन्त्र धानिंदैछ ।

एउटा व्यक्तिको हकमा सम्भव हुनसक्छ, वैकल्पिक पेशा । तर राज्यले समग्र समाजलाई तिमी कृषिको काम नगर, वनसँगको सम्बन्ध तोड भन्नु एकदमै खतरनाक कुरा हो ।

(फरेष्ट एक्सन नेपालसँग सम्बद्ध वन तथा वातावरण विज्ञ पौडेलसँग मुकेश पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?