+
+

मिटरब्याजीको बिगबिगी : दीपनारायणलाई आफ्नै भाइले घात गरे

हरि अधिकारी हरि अधिकारी
२०७९ भदौ १४ गते ८:०५

१४ भदौ, विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१२, कोसी प्रोजेक्टका दीपनारायण यादव पेशाले सब–ओभरसियर हुन् । पछिल्लो समय उनी आफ्नै भाइको ठगीमा परेर न्यायका लागि धाइरहेका छन् । आफ्नै कान्छो भाइ शिवनारायण यादवले मिटरब्याजमार्फत २२ लाख ठगी गर्न लागेपछि न्यायको खोजीमा भौंतारिनुपरेको उनले बताए ।

घरजग्गा घेराबारा गर्न ५ कात्तिक २०७० मा भाइ शिवनारायणबाट एक लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको चार महिनापछि फागुन १२ गते ब्याजसहित एक लाख ६९ हजार ५० रुपैयाँ तिरेको उनी सुनाउँछन् ।

तर, त्यसको आठ वर्षपछि भाइले जिल्ला अदालत मोरङमा २१ लाख ९९ हजार ३३३ रुपैयाँ दाबीसहित लेनदेन मुद्दा दायर गरेपछि आफ्नो भोकतिर्खा हराएको उनले बताए । ‘डेढ लाख ऋण लिंदा १२ लाखको कागज गर्नुपर्छ भनेअनुसार गरिदिएँ’, दीपनारायण भन्छन्, ‘ब्याजसहित ऋण चुक्ता गरेर कागज च्यात् भन्दा हुन्छ, आमालाई साक्षी राखेर गरेको च्यातिहाल्छु भन्थ्यो । तर, अहिले जाली मुद्दा दायर गरेको छ ।’

उनका अनुसार भाइ शिवनारायणले व्यावसाय गर्छु भनेपछि २०६७ सालमा आफ्नो नामको घरघडेरीको धनीपूर्जा दिएका थिए । शिवनारायणले पछि त्यो फिर्ता गरेका थिए । त्यही भाइले आफूमाथि कल्पना बाहिरको घात गरेको दीपनारायण बताउँछन् ।

उनका अनुसार, २०७८ फागुन ४ गते लेनदेन मुद्दा दायर गरेका शिवनारायणले दाइको सबै अचल सम्पत्ती लेनदेन रोक्काका साथै सावाँ १२ लाख र १० प्रतिशतले हुन आउने ब्याज भराइदिन अदालत समक्ष माग गरेका छन् । आफ्नै भाइको लेनदेन फन्दामा परेका दीपनारायणले मोरङ जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजमा ठगिएको भन्दै उजुरी गरेका छन् ।

यता दीपनारायणका भाइ शिवले भने दाइलाई १२ लाख रुपैयाँ नै दिएको दाबी गर्छन् । परिवारका कान्छा सदस्य  शिवले जेठा दाइसँग पनि लेनदेनको विवाद भएको बताए । अदालतमा लेनदेनको मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको बताउँदै उनले कागज अनुसारको रकम नदिएपछि  मुद्दा हालेको बताए ।

****

विराटनगर– ६ की आशा साह भने मिटरब्याजका कारण घरबार विहीन हुने अवस्थामा पुगेकी छन् । विराटनगर–९ का सुमित साहबाट तीन वर्षअघि लिएको २ लाख रुपैयाँ ऋणको सावाँ–ब्याज गरी ३ लाख २० हजार तिरिसकेको उनी बताउँछिन् । ‘तर, अझै १६ लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै धम्काइरहेको छ । राति १०–११ बजे घरमा आएर थर्काउँछ,’ साहले भनिन्, ‘पैसा नतिरे जे पनि हुन्छ भनिरहेको छ ।’

मोरङकै जहदा गाउँपालिका–२ का जलेश्वर ऋषिदेवको आठ कठ्ठा जग्गा मिटरब्याजी मनोज साहले आफ्नो बनाएका छन् । २०७१ माघमा जग्गा राखेको कागज बनाएर लिएको एक लाख र त्यसपछि थपेको ५० हजार रुपैयाँ ब्याजसहित तिरे पनि साहुले जग्गा फिर्ता नगरेको उनले बताए । ‘अझै १४ लाख तिर्न बाँकी रहेको र त्यो चुक्ता गरेमात्र जग्गा फिर्ता गर्छु भन्दैछ’, ऋषिदेव भन्छन् ।

****

रंंगेली नगरपालिकाकी बिहरीदेवी पासवानले छोरीको विवाह गर्न ३ लाख रुपैयाँ गाउँका मन्तोष साहसँग लिएकी थिइन् । १८ धुर जग्गा राखेर लिएको ऋण उनले पटक–पटक गरेर तिरिसकिन् । तर साहले जग्गा फिर्ता गरेनन् । लेखपढ गर्न नजान्ने उनलाई एक दिन साहुले जग्गा पास गरिदिन्छु भन्दै मालपोत कार्यालय लिएर गए । सहीछाप गरेपछि उनले धनीपूर्जा मागिन् । उनलाई झुक्याएर साहुले अर्कै व्यक्तिको नाममा नामसारी गरिदिए । आफ्नो जग्गा माग्दा १८ लाख दिएपछि मात्रै दिने भन्दै धम्की दिइरहेको उनले गुनासो गरिन् ।

विराटनगरकी गायत्रादेवी साहलाई आफूले कसैसँग ऋण लिएको जानकारी छैन । तर विराटनगरकै जितेन्द्र साह र शीतल पाण्डेले पाँच लाख कर्जा र ३ लाख ब्याज गरी ८ लाख तिर्न दबाब दिइरहेका छन् ।

उनका अनुसार श्रीमान मदिरा सेवन गर्छन् । मदिरा सेवन गराएर दुई जनाले पाँच लाखको कागज गरी ठगी गरेको उनको गुनासो छ । उनका भतिजा दीपेन्द्रकुमार साहका अनुसार त्यति धेरै रकम तिर्ने आर्थिक हैसियत काका–काकीको छैन । पैसा नदिएको भन्दै मिटरब्याजीले धम्की दिंदै १० कठ्ठा जग्गा हडपेका छन् ।’

को–को छन् मिटरब्याजी ?

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका– १८ का मिटरब्याजी धनजित मण्डल, विराटनगर–१७ का शिवु विश्वकर्मा र बुधनगर–६ (हाल विराटनगर–१८) का गुलाबचन्द यादव, विराटनगर–७ का ललन ठाकुर, विराटनगर–१२ का शिवनारायण यादव, विराटनगर–४ का महानन्द यादव, विराटनगर–१४ का लक्ष्मीकान्त विश्वासविरुद्ध मिटरब्याजमा लगानी गरि ठगी गरेको उजुरी परेको छ । विराटनगर–२ का प्रविण जैनविरुद्ध दुई वटा उजुरी परेका छन् ।

विराटनगर–८ का श्यामकुमार यादव, विराटनगर–१३ का राजकुमार शर्मा धवानी, विराटनगर–७ का सञ्जयकुमार करवा र विराटनगर–९ का सञ्जयप्रसाद रौनियारले पनि मिटरब्याज लिएर ठगी गरेको उजुरी परेको छ ।

मिटरब्याजी विराटनगर–१७ का दिलिपकुमार ताम्राकार, साविक विराटनगर– २१ का बुधनप्रसाद साह तेली, विराटनगर–१५ का जितेन्द्रकुमार रजकविरुद्ध पनि उजुरी परेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका मोरङमा मिटरब्याजीबाट ठगिएको भन्दै ४२ वटा उजुरी परेका छन् । तीमध्ये विराटनगर महानगरपालिकाभित्रका मात्रै १७ वटा छन् ।

धनपालथान गाउँपालिकाका ४, रंगेली नगरपालिकाका ४, पथरी–शनिश्चरे नगरपालिकाका ७, जहदा गाउँपालिकाका ३, कटहरी गाउँपालिकाका २, सुनबर्सी नगरपालिकाका १ र ग्रामथान गाउँपालिकाको एउटा उजुरी छ ।

उजुरीहरु थोरै ऋण दिएर धेरैको कागज गरेको, ऋण तिरेपनि धरौटी बापत राखेको जग्गा फिर्ता नगरेकाहरु छन् । देशभरको उजुरी अध्ययनपछि मिटरब्याजीलाई कारवाहीको दायरामा ल्याउने सरकारले गठन गरेको मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदलका संयोजक भीष्मकुमार भुसालले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?