+
+

विद्रोहको पर्व तीजलाई कसरी बुझ्ने ?

राजनीतिक आँखाले हेर्दा पितृसत्तात्मक सामन्ती समाज विरुद्धको भण्डाफोर गर्ने विद्रोह दिवस भन्न सकिन्छ । सामाजिक र राजनीतिक दुई पक्षलाई ओझेल पार्दै धर्म र आडम्बरको रूपमा चित्रण गर्न खोज्नु यो पर्वको नकारात्मक पक्ष हो ।

कल्पना धमला कल्पना धमला
२०७९ भदौ १४ गते १०:५९

भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीज हिन्दू महिलाहरूले मनाउने गरेको महत्वपूर्ण पर्वको रूपमा स्थापित छ । यो पर्वलाई निकै महत्वको साथ मनाइरहँदा यसको पौराणिक र ऐतिहासिक पृष्ठभूमि कस्तो छ ? कसरी मनाउन सुरु गरियो ? धार्मिक सन्दर्भ कसरी जोडियो ? किन हिन्दू महिलाहरूले मात्र मनाउँछन् ? आजको सन्दर्भमा कसरी बुझ्ने ? जस्ता ज्वलन्त प्रश्न छन् । यी सबै प्रश्नहरूसँग हिन्दू महिलाहरूको जीवन, भावना, वेदना र विद्रोह जोडिएको छ । यो पर्व मनाइरहँदा भावना, वेदना, धर्म र संस्कार मात्र होइन, यसले दिन खोजेको सन्देशबारे बहस, छलफल गर्नु उपयुक्त हुन्छ ।

ऐतिहासिक पृष्ठभूमि

एक किंवदन्तीका अनुसार तीजलाई शिव र पार्वतीबीचको प्रेम र विवाहको प्रसंगसँग जोड्ने गरिन्छ । पार्वतीले शिवलाई मन पराउँथिन् र उनीसँग आफ्नो विवाह गर्न चाहन्थिन् । उनका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग गरिदिने निर्णयमा पुगेपछि उनी संकटमा परिन् । आफूमाथि परेको समस्या साथीहरूलाई सुनाइन् । साथीहरूले पार्वतीलाई सहयोगस्वरूप हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाए ।

त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही दिन पार्वतीले शिव पति पाऊँ भनी निराहार व्रत बसिन् । साथीको सहयोगमा शिवसँग भेट पनि भयो र उनीहरूको प्रेम विवाहमा परिणत गर्न सम्भव भयो । एकातिर निराहार व्रत बसेकै कारण पार्वतीको मनोकांक्षा पूरा भयो भनियो । तर, व्याख्या गर्ने गरिएको भाष्य नियाल्दा सत्य अर्कै थियो । साथीहरूको सहयोग र एकप्रकारको विद्रोहमा उनले आफ्नो प्रेम हासिल गरिन् । शिव र पार्वतीको विवाहको खुसियालीमा साथीहरूले खुसियाली मनाए । धार्मिक मान्यताअनुसार यसकै निरन्तरता हो तीज पर्व ।

कसरी भयो व्रत अनिवार्य शर्त ?

पार्वतीले त आफ्नो घरपरिवारबाट साथीहरूको सहयोगमा विद्रोह गरेको कारणले उनको इच्छा पूरा भएको कुरा सत्य हो । तर धार्मिक पुरोहितहरूले पार्वतीले आफ्नो इच्छा पूरा गर्न शिव पति पाउ“m भनी निराहार व्रत गरेको कारण इच्छा पूरा भएको हो भन्ने मान्यता स्थापित गरिदिए ।

विवाह भएकाले पतिको दीर्घायुको कामना गर्दै निराहार व्रत गर्नुपर्छ, अन्यथा महिलाहरूले दुःख, कष्ट झेल्नुपर्नेछ भन्ने डर र त्रासको भ्रम छरिदिए । पार्वतीले हिन्दू परम्परा र खासगरी पितृसत्तासँग गरेको विद्रोह हिन्दू पुरोहितहरूलाई मन परिरहेको थिएन । महिलालाई धर्म र संस्कारभित्र रहेका कतिपय अलौकिक र अदृश्य अन्धविश्वासभित्र कैद गराइदिनुका साथै परनिर्भर र परजीवी वस्तु हुन् भन्ने भाष्य सावित गर्ने प्रयास हुँदै आयो । पितृसत्तालाई शक्तिशाली बनाइराख्न धर्मलाई कानुनको रूपमा उभ्याइयो । तीजमा व्रत बस्ने अघोषित र अनिवार्य शर्त बनाइयो ।

हिन्दू महिलाहरू तीजलाई किन महत्व दिन्छन् ?

हिन्दू समाजभित्र महिलालाई पुरुषको चरणकै दासीको रूपमा हेरिन्थ्यो । अझै पनि त्यो अवशेष जबर्जस्त नै रहिरहेको छ । एकातिर देवीको रूपमा पुज्ने र अर्कोतिर सधैं पितृसत्ताको नियन्त्रणमा राख्ने गरी परजीवी, परनिर्भर वस्तुको रूपमा सानो छँदाको बाबुको, विवाहपछि पतिको र वृद्ध भएपछि छोराको नियन्त्रणमा बस्नुपर्ने संस्कारको रूपमा स्थापित गरियो। महिलाहरू स्वतन्त्रतापूर्वक बाँच्न, सोच्न र केही गर्न सक्दैनन् र उनीहरूलाई पितृसत्ताको आज्ञाकारी बनाइराख्न धर्म, समाज र संस्कारको बन्धन बाँधियो । तीजको नाममा पुरुषकै सेवामा समर्पित भएर भए पनि वर्षको एकदिन वर्षभरि आफूमाथि भएका अन्याय, अत्याचार, समाजमा घटेका दुःख, विपत्तिका घटनामा आधारित रहेर गीत रच्ने, गाउने, रमाउने गरिंदै आइएको छ ।

सामाजिक, सांस्कृतिक आँखाले हेर्दा आमाबाबुबाट टाढा रहेका छोरीहरू माइत जाने, राम्रो लगाउने, मिठोमसिनो खाने, भावनाहरू साटासाट गर्दै सामीप्यता बढाउने कुरा यो पर्वको सबैभन्दा राम्रो पक्ष हो । राजनीतिक आँखाले हेर्दा पितृसत्तात्मक सामन्ती समाज विरुद्धको भण्डाफोर गर्ने विद्रोह दिवस भन्न सकिन्छ

वर्षभरि अर्काको घरमा काम गरेर थाकेको शरीर, घोचपेच र अन्यायले भावनामा चोट पुगेको मन लिएर माइतमा बाबुआमा, दिदीबहिनी, दाजुभाइको साथमा सुख, दुःख बाँड्ने, मिठोमसिनो खाने, राम्रो लगाउने र साथीसंगीहरूसँग भावना साटफेर गर्दै नाच्ने, गाउने र एकदिन भए पनि स्वतन्त्रता महसुस गर्न पाउने भएकोले यस पर्वलाई हिन्दू महिलाहरू निकै महत्वका साथ मनाउने गर्छन् ।

तीज पर्व : विगतदेखि वर्तमानसम्म

तीज पर्व मनाउने तरिका, सोच र चिन्तनहरू विगतदेखि अहिलेसम्म नियाल्दा धेरै बदलिएको छ । पौराणिक कालमा धर्मको नाममा मात्रै आधारित रहेर मनाएको पाइन्छ भने समाज रूपान्तरणसँगै तीज पर्व मनाउने तरिकामा पनि बदलाव आइरहेकै छ ।

कुनै बेला हाम्रो समाजमा बालविवाहको कुप्रथा थियो । सानैमा विवाह गरेर अर्काको घरमा गएकी छोरी वर्षभरि माइत आउन पाउँदैनथे । मिठोमसिनो खाने र राम्रो लाउने रहर मात्रै हुन्थ्यो । त्यसमाथि पनि सासू, ससुरा, नन्द, आमाजु, देवर, जेठाजु र श्रीमान्को समेत उत्पीडनबाट ग्रसित हुनुपर्दथ्यो । त्यस्तो उत्पीडनको भण्डाफोर तीजको गीति माध्यमबाट गर्थे र त्यो अभिव्यक्तिसँगै आफ्ना भावनामा लागेको चोटमाथि मल्हमपट्टि नै लगाएको महसुस गर्दै मनाउँदै आइरहेका थिए ।
विस्तारै महिलाहरू घरबाट बाहिर निस्किएर राजनीतिक परिवर्तनको आन्दोलनमा जोडिन थाले । पढ्न, लेख्न र बाहिर सरकारी सेवासँगै श्रम बजारमा आउन थाले । तीज मनाउने तरिकामा पनि परिवर्तन भयो र राजनीति जागरण राज्यले गरेको विभेद, समाजको अन्याय र अत्याचार विरुद्धको आवाजहरू बुलन्द गर्दै एकप्रकारको संघर्षको स्वरूप बन्दै पनि आयो । यो क्रम जारी नै छ ।

आजकल भने यो पर्व निकै भड्किलो र विकृत बन्दै गइरहेको छ । महिनौं दिनसम्म तडकभडकपूर्ण महँगा गहना र कपडासहित पार्टी प्यालेसहरूमा दर खाने गरिएको छ । गीतहरू पनि अश्लील र केही सन्देश प्रवाह नगर्ने खालका दोहोरी र झ्याउरेमा रूपान्तरित गरिएका छन् ।

निष्कर्ष

तीज पर्वलाई हेर्ने र बुझ्ने दृष्टिकोण एकातिर छ भने यसको मर्म र भावना अर्कोतिर छ । अहिलेसम्म आउँदा ठूलो हिस्सा धार्मिक परम्पराको रूपमा हेर्छन् र मुख्य धार्मिक पर्वकै रूपमा स्थापित छ । सामाजिक, सांस्कृतिक आँखाले हेर्दा आमाबाबुबाट टाढा रहेका छोरीहरू माइत जाने, राम्रो लगाउने, मिठोमसिनो खाने, भावनाहरू साटासाट गर्दै सामीप्यता बढाउने कुरा यो पर्वको सबैभन्दा राम्रो पक्ष हो । राजनीतिक आँखाले हेर्दा पितृसत्तात्मक सामन्ती समाज विरुद्धको भण्डाफोर गर्ने विद्रोह दिवस भन्न सकिन्छ ।

सामाजिक र राजनीतिक दुई पक्षलाई ओझेल पार्दै धर्म र आडम्बरको रूपमा चित्रण गर्न खोज्नु यो पर्वको नकारात्मक पक्ष हो । तीजलाई मनाउनुको अर्थ धर्म, व्रत, पाठपूजा र रमाइलो मात्रै हो भनेर बुझियो र महिलामाथि शोषण कायमै राख्ने धार्मिक कानुनलाई जीवितै राखिरहने हो भने यो पर्वले दिन खोजेको सन्देश र पार्वतीले पितृसत्तासँग गरेको विद्रोहको कडी जोडिरहन सक्दैन । यो पर्वलाई परिवार, साथीसंगीसँगको सामीप्यता साटासाट गर्ने र महिला उत्पीडनको विरुद्ध सामाजिक रूपान्तरण गर्ने ‘स्मृति दिवस’को रूपमा मनाउनु सान्दर्भिक हुनेछ ।

(लेखक संविधान सभा सदस्य तथा पूर्वमन्त्री हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?