+
+
ब्लग :

दिदी ! तपाईंको गहना छैन ?

यमुना अर्याल (काफ्ले) यमुना अर्याल (काफ्ले)
२०७९ भदौ १४ गते १३:०१

मभन्दा उमेरले धेरै पाकी, अवकाश पाउन चानचुन एक वर्षजति समय बाँकी होला । कार्यालय फरक–फरक भए पनि आक्कलझुक्कल उहाँसँग भेटघाट भइरहन्छ । फोनमा भने प्रायःजसो कुराकानी भइरहन्छ । उमेरले मेरो आमा समानकी भए पनि म दिदी नै भनेर सम्बोधन गर्छु ।

‘तिमी जत्री त मेरी कान्छी छोरी छ बैनी, त्यही भएर तिमीलार्ई बेलाबेलामा कान्छी भन्छु म’, दिदीले कान्छी भन्दा आमाले बोलाएजस्तै लाग्छ । दिदी शहरमा बस्न थालेको जुग भइसक्यो भन्दा पनि हुन्छ । उहाँकी कान्छी छोरी नै मास्टर्स पढ्दैछ, ठूलो छोराकी छोरी पाँच वर्षकी भइसकिन्, ठूली छोरीको छोरो सात वर्षको भइसक्यो ।

तीन छोराछोरी, दुई नातिनातिनाकी हजुरआमा भइसकेकी दिदी मैले देख्दा जति सरल हुनुहुन्थ्यो एक दशकपछि पनि उहाँको जीवनशैलीमा कुनै परिवर्तन आएको देख्दिनँ ।
‘दिदी तपाईंबाट निकै प्रभावित छु म’, बेलाबेलामा दिदीलार्ई भन्ने गर्छु ।

‘मलार्ई चमकधमक गर्नतिर कहिल्यै मन भएन बैनी’, एकदिन कुरैकुरामा दिदीले विगततर्फ फर्काउनुभयो । ‘तपाईंका बहिनीहरू त निकै जाँगरिला देखिनुहुन्छ यो मामलामा, झन् जेठी छोरी भएर किन अल्छी मान्नुहुन्छ हँ दिदी ?’ अर्को जिज्ञासा तेर्साएँ ।

मेरो प्रश्नमा दिदी एकैछिन रोकिनुभयो र बोल्नुभयो, ‘किन र बैनी म त्यति धेरै सिम्पल छु र ? तिमीलार्ई त्यस्तो लाग्यो ?’ मैले ‘हो दिदी’ भनें । एकछिन फेरी केही नबोली बस्नुभयो दिदी । ‘के गर्नु बैनी, अरूलाई देखाएर के के न गर्‍यौ भन्ने जमात एउटा छ जे छ त्यसमै रमाउन सिक्नुपर्छ भन्ने जमात अर्कै छ । म पछिल्लो जमातमा परें बैनी । मलाई बाहिरी चमकधमक मन पर्दैन, सिम्पल नै राम्रो लाग्छ ।’

उहाँले विगतको पोयो फुकाउने क्रम रोकिएन ।के गर्नु बैनी, कोही देखाउनको लागि सिम्पल बन्छन् कोही बाध्यताले । पहिले पहिले उमेरमा चाहेर पनि राम्रो लगाउन पाइएन बैनी । अहिले लगाउन सक्ने भएर पनि लगाउन मन लाग्दैन । उमेरमा त लाइएन, अब बुढेसकालमा के को चमकधमक गर्नु जस्तो पनि लाग्छ । विगतमा व्यवहारले थिचेपछि सोच आएन, अहिले उमेरले पनि होला खासै त्यतातिर ध्यान लाग्दैन बैनी ।

मेरा पाँच जना बहिनीहरू छन्, म जेठी हुँ । कर्मले जेठी, भाग्यले नै जेठी, व्यवहारले पनि म जेठी हुँ । म माइतकी पनि जेठी छोरी हुँ घरकी पनि जेठी बुहारी । मेरो विवाह १८ वर्ष पुग्दानपुग्दै भयो । मेरा श्रीमान् भर्खर २२ वर्षका थिए । घरमा पाँचवटी त नन्द आमाजु थिए ।

माइतमै पाँच बहिनी र दुई भाइ हुर्काएर खारिएकी म माइतमा पाँच नन्द आमाजुको चंगुलमा परें । मेरा श्रीमान् स्कुलमा पढाउँथे, त्यो जमानामा । छोरीले त पढ्न पाउने बेला थिएन, बुहारी त कहाँ पढ्न पाउनु र ?

अझ घरमा मेरै उमेरका कोही मभन्दा साना नन्दहरू थिए । गाउँको आर्थिक अवस्थाले कसरी थेग्नु ? घर–व्यवहारले यति थिचिएँ कि दायाँ–बायाँ कहींकतै सोच्न सकिनँ । मेरा बुवाले जसरी पनि छोरी पढाउनुपर्छ भन्नुहुन्थ्यो त्यो बेलामा पनि ।

गहनाले खुसी मिल्ने भए सुनपसले जतिको खुसी को हुन्थ्यो होला र ? नयाँ कपडाले खुसी मिल्ने भए कपडा पसले जतिको खुसी अरू कोही नहुनुपर्ने हो । आत्मा खुसी हुनुपर्छ, आडम्बरले केही हुँदैन ।

बिहे हुँदा एघार कक्षामा पढ्दैथिएँ, बिहे पछि पढाइ रोकियो । मनमनै सबै इच्छा दबाएँ, मेरा श्रीमान् पढ्दै पढाउँदै गर्नुहुन्थ्यो । पछि श्रीमान्कै जोडबलले म फेरि पढ्न थालें, तीनजना नन्दहरू पढ्थे, दुई जना आमाजुको बिहे भइसकेको थियो ।

गाउँभरि मेरो कुरा काटियो, फलानोले बुहारीलाई पढायो भनेर । जसले जे भने पनि मेरा ससुराले पढाउनुभयो, म १२ कक्षा पास गरें, गाउँमै स्कुलमा पढाउन थालें, स्वयंसेविकाको पनि काम गर्न थालें । बिएमा भर्ना भएँ, बिए दोस्रो वर्षमा पढ्दा ठूली छोरी जन्मिई, तेस्रो वर्षको जाँच दिने बेलामा छोरो जन्मियो ।

क्याम्पस जान नपाए पनि फाराम भरें, जाँच दिएँ, दुई छोराछोरी जन्माएरै बिए पास गरें । झन् आत्मविश्वास बढ्यो । मास्टर्स पनि पढ भन्नुभयो ससुरा र श्रीमान्ले । यतिबेलासम्म श्रीमान्ले सरकारी जागिर खाइसकेको हुनुहुन्थ्यो ।

‘अब त अधिकृत नै दिन पाउँछौ, पढ भन्दै ढाडस दिए । फेरि कान्छी छोरी जन्मिई, मास्टर्स सिध्याउन पाइनँ । करारमा सरकारी सेवामा विज्ञापन देखें, मास्टर्स पछि पढ्छु पहिले जागिर खान्छु भनें । जाँच दिएँ, दैव संयोग नाम निस्क्यो । करारमा सुब्बा सरहको जागिर खाएँ । पाँच सात वर्षपछि स्थायीको विज्ञापन भयो, फेरि फाराम भरें नाम निस्क्यो । छोराछोरी हुर्कंदै थिए, म जागिरमा लड्दै थिएँ ।

कतिजना मेरो प्रगतिमा आगो हुन्थे, कतिले हौसला दिन्थे । ११ पढ्दापढ्दै डोली चढेकी केटी सरकारी पोशाक लगाएर अफिस जाने भइस् है, मेरा माइतका छिमेकी बुवा, काकाहरूले झटारो हान्नुहुन्थ्यो बेलाबेलामा । उहाँहरूले डाहले होइन, मायाले भनेको कुरा प्रष्टै बुझ्थें ।

माइतमा भाइ सानै थिए, कमाउन सक्ने थिएनन् । बहिनीहरू सानै थिए । बुवाले ऋणपान गर्दै सबैको बिहे गरिदिनुभयो । अहिले भाइहरू कमाउने भइसके, पाँचजना दिदीको बिहेको तिरोतारो भर्खर सके होलान् ।

यता घरमा हेर्छु, दुई जना आमाजु, तीनवटी नन्द सबैको बिहेमा ऋण अवश्य लाग्यो । त्यो तिर्ने जिम्मा लिए पनि नलिए पनि हाम्रै हो । एक्लो छोरो भएपछि कुनै विकल्प छैन र हुँदैन । छोराछोरी पढाउनै पर्‍यो ।

गाउँको बेचबिखन गरेर जमानामा काठमाडौंमा जग्गा जोडियो । त्यसैमा बस्ने बास बनायौं । छोराछोरी यतै हुर्के, यतै पढे । उनीहरूलाई न गाउँको याद छ न भोगाइहरू नै । तर मसँग सिंगो इतिहास छ, जहाँ जान्छु त्यहीं सँगै जान्छ बैनी ।

मेरा पाँचवटी बहिनी हुनेखाने छन् । ज्वाइँहरू एकदम सम्पन्न, बहिनीहरू राजकुमारी जस्तै बनेर हिंड्छन् । एकदिन आफन्तको बिहेको निम्तो आयो । म अफिसमै थिएँ, अफिसबाटै गएँ । मेरा बहिनीहरू चिन्न नसकिने गरी बिहेमा आएका थिए ।

सबैजनाले गुप्रमा फोटो खिचौं भने । म पनि बहिनीहरूसँगै उभिएँ । आफ्नै बहिनीले मलाई कटाक्ष गरी । ए दिदी बरु हामीलाई भनेको भए हुन्थ्यो, कम्तीमा बिहेमा, पार्टीमा आउँदा देख्न लायक भएर आउनुपर्छ नि ! एउटा गतिलो गहना सेट छैन तपाईंसँग ? सधैंभरि यस्तै भएर हुुन्छ ? ‘त्यत्रो कमाएर के गर्नुहुन्छ हो दिदी ? भिनाजु पनि कमाउँछन् त …’ अर्की बहिनीले कटाक्ष गरी …. !

म अवाक् बनें । ल तिमीहरू फोटो खिच । म अफिसमा तुरुन्त जानुपर्ने भयो भनेर बेहुलाबेहुलीलार्ई आशीर्वाद दिएर हिंडें । मनमनै गम खाएँ, ए बाबा म अफिसबाट गएको मान्छे, अफिसको सारी–चोलो लाएकै थिएँ । गहना र बहिनीहरूका जस्ता चिरिच्याट्ट परेका कपडा नहुँदा म उनीहरूको समूहमा अटाइनँ । मलाई अपशोच छैन, किनकि म सदाबहार यस्तै हुँ ।

तीज गहना देखाउनेहरूको मात्रै होइन, गहना हुँदै नहुनेहरूको पनि हो । यो चाड पार्टी प्यालेसमा महिना दिनदेखि खानेहरूको मात्रै होइन हुँदा खानेहरूको पनि हो । सबैभन्दा ठूलो गहना नैतिकता हो, इमान हो, इज्जत हो, संस्कार हो, संस्कृति हो ।

मेरो पनि मन त पक्कै हुन्छ होला । मेरा बहिनीहरूले मैलेजति दुःख भोगेनन् । ज्वाइँहरू धनीमानी पाइहाले, उनीहरू सुखसयलमै हुर्के भन्दा पनि भयो । म आफू चमकधमकतिर लागें भने बहिनीहरू बिग्रन्छन् कि भन्नतिर लागें । मलाई त्यतातिर ध्यान कहिल्यै गएन ।

बिहे भएर घरमा आएँ, माइतमा भन्दा चर्को व्यवहार मिलाउनु पर्‍यो । आफूले लगाउँदा नन्द आमाजुले के भन्लान् ? उनीहरूलाई नदिइकन कसरी लगाउने ? गहना, कपडा भन्दा पनि पढ्नुपर्छ, जागिर खानुपर्छ भन्नेतिर ध्यान गयो । अरूतिर सोच्न फुर्सदै भएन ।

छोराछोरी जन्मिए, उनीहरूलाई हुर्काउने, पढाउनेमै ध्यान गयो आफ्नो लागि सोचिएन । अलिअलि कमाएँ, माइतमा आमाको लागि केही भए पनि छोरीको कमाइ भनेर गहना जोडें, घरकी सासूआमाको लागि जोडें, उहाँहरूको खुसीमा आफूलाई भुलाएँ ।

मेरी सासूको घाँटी खाली राखेर मैले छड्के तिलहरी ढल्काउन चाहिनँ । मैले कमाउँछु, चाहें भने लगाउन सक्छु भन्ने लाग्यो र आमाको लागि दूधको भारा तिर्छु भनेर गहना बनाइदिएँ ।
एक वर्षमा एकजना आमाजुलाई, अर्को वर्ष अर्की नन्दलाई एउटा भए पनि माइतीको चिनो भनेर बनाइदिएँ । चेलीहरू खुसी हुँदा मलाई सन्तुष्टि मिल्थ्यो । मलाई केको कमी छ र ? आफ्नो कमाइ छ, कसैसँग माग्नु पर्दैन, कसको लागि देखाउनुपर्ने हो र ? म जे छु त्यही ठिकै छु । अरूलाई देखाएर के हुन्छ भन्ने म, मान्छेले के भन्छन् ? यत्रो कमाउने भएर पनि यस्ती भएर हिंड्छे भन्ने मेरा बहिनीहरू एक महिना अघिदेखि तीजका कार्यक्रममा व्यस्त हुन्छन् ।

आज लगाएका लुगा भोलि लगाउनै नहुने, गहनाधरी फेरी–फेरि लगाउने । उनीहरूको सोख देखेर उदेक पनि लाग्छ । एक वर्षलार्ई पुग्ने खर्च त मेरा बहिनीहरू एउटा तीजमै सिध्याउँछन् । एकदिन दर खान पनि बोलाउँदिन भन्छन् ।

दरखाने दिन माइतमै सबै भेट भइहाल्छ, बेला न कुबेला केको दर भन्छु म । उनीहरूलाई सधैं तीज हो, ज्वाइँहरू कमाउँछन् बहिनीहरू सानले हिंड्छन् । मेरो तीजको दिन जम्मा एक दिन विदा हुन्छ, त्यो दिन के गर्ने ? उनीहरूको सामु म केही नहुने जस्तै देखिन्छु । कोही किन अर्कालाई देखाउन यतिविधि मरिहत्ते गर्छन् ? सोच्न पनि सक्दिनँ ।

भगवान प्रसन्न गराउन भगवानको आराधना गर्ने हो, तिमीहरूका गहना कपडा चाहिंदैन भन्ने म । तर मेरा बहिनीहरू आधा दिनसम्म मेकअप र सिंगारपटारमै व्यस्त हुन्छन् । मानौं गहना र नयाँ कपडामा नसजिएसम्म भगवान प्रसन्न हुन्नन जसरी ।

तीज त माता पार्वतीले पतिको रूपमा महादेवलाई पाऊँ भनी व्रत बसेको र महादेव पार्वतीको तपस्याबाट प्रसन्न भएको दिनको अवसरमा मनाइने चाड हो । पतिको दीर्घायु र अविवाहिताहरू सुयोग्य पति पाऊँ भनी मनाउने पावन चाड हो । संस्कृति एकातिर, व्यवहार अर्कातिर भइरहेको छ ।

मान्छेको तौल र गहनाको थिचाइले मेरा बहिनीहरू मात्रै होइन अधिकांश महिला आडम्बरताको नमूना देखाइरहेका देखिन्छन् । हरेक चाडमा गहना र कपडा फेर्ने ध्याउन्नमा लाग्दा संस्कृतिको मर्म कहाँ पुग्ला ? आज मेरा बहिनीहरू मसँग फोटो खिच्नधरी अन्कनाउने भइसके । आडम्बरमा किन यतिविधि लगाव छ पछिल्लो पुस्ताको ? सबै यस्तै आडम्बरमै रमाउने हो भने भुइँमान्छेले चाडै नमान्ने त ?

दिनभरि घामपानी भनेर डालोमा, डोकोमा व्यापार गर्ने आमा, दिदी बहिनीहरू, अर्काको घरमा काम गरेर जीविका चलाउने दिदीबहिनीहरू, चर्को घाममा ज्यामी काम गरेर जीविका चलाउनेहरूको पनि त तीज हो नि ! उनीहरूले कसरी मनाउने चाड ? के उनीहरूलाई नयाँ सारीमा पहेंलपुर भएर हिंड्न मन नलागेको होला र ? उनीहरूलाई पनि पार्टी प्यालेसको खानाको स्वाद पक्कै मन पर्दो हो । हामीले रवाफ देखाउँदा यी महिलाको पनि प्रतिनिधित्व गर्न सक्नुपर्छ ।

दुईचार महिनाको तलब खर्च गर्ने हो भने म पनि पहेंलपुर बन्न सक्थें । मेरो श्रीमान्को कमाइ छ, ल मलाई यति पैसा दिनु भन्दा नाइँनास्ति पक्कै गर्नुहुन्न होला तर मलाई आडम्बरमा लगाव छैन । व्यावहारिक पाटोबाट हेर्छु सधैंभरि, मैले कहिल्यै पनि आफूलाई केन्द्रमा राखिनँ ।

साँच्चिकै मसँग गहना छैन बैनी । केको लागि, कसको लागि देखाउनु छ र गहना ? जे लगाउँछु त्यो साथमै हुन्छ, एकसरो सामान्य गहना छ तर पार्टीको लागि, तीजको लागि, फोटो खिच्नको लागि भनेर मसँग गहना छैन बैनी ।

म सन्तुष्ट छु, खुसी छु तर मेरो छेउमा उभिंदा मेरा बैनीहरू बेखुसी हुन्छन् । मलाई अपशोच छैन, म उमेरमा चाहेर पनि झकिझकाउ बन्न सकिनँ, अहिले मनले मान्दैन । म जे छु ठिकै छु, गहना नभए पनि चाड विगतदेखि वर्तमानसम्म मनाएकै छु, जति दिन बाँचिन्छ यसैगरी मनाउँछु ।

दिदीको भोगाइले आफूलाई पनि कताकता चसक्क बनायो । आफ्नो धरातल आफंैलाई थाहा छ दिदी, अरूलाई देखाएर केही हुँदैन । भगवानले गहना–कपडा हेर्दैनन्, आफ्ना भक्तको भक्तिभाव हेर्छन् दिदी । आफ्ना भोगाइ पनि दिदीले नै बोलेजस्तै लाग्यो, मौन समर्थन जनाएँ ।

गहनाले खुसी मिल्ने भए सुनपसले जतिको खुसी को हुन्थ्यो होला र ? नयाँ कपडाले खुसी मिल्ने भए कपडा पसले जतिको खुसी अरू कोही नहुनुपर्ने हो । आत्मा खुसी हुनुपर्छ, आडम्बरले केही हुँदैन ।

अन्त्यमा दिदीलाई भनें, ‘दिदी तीज गहना देखाउनेहरूको मात्रै होइन गहना हुँदै नहुनेहरूको पनि हो । यो चाड पार्टी प्यालेसमा महिना दिनदेखि खानेहरूको मात्रै होइन हुँदा खानेहरूको पनि हो । सबैभन्दा ठूलो गहना नैतिकता हो, इमान हो, इज्जत हो, संस्कार हो, संस्कृति हो, त्यो तपाइँसँग छ ।’

सबैलाई हरितालिका तीजको शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?