+
+
तीज विशेष :

मैले संगत गरेका तीन नारी

‘ल बाबु अब छिट्टै एउटा भाइको पनि मुख हेर्ने रहर छ हामीलाई,’ एकजना ६० कटेकी महिलाले भनिन् । मेरो खुसी अनायास फूल ओइलाए जस्तै भयो । अनि फेरि आफैंलाई सम्हालेँ ।

प्रल्हाद गैरापिप्ली प्रल्हाद गैरापिप्ली
२०७९ भदौ १४ गते १७:०९

आज हिन्दु नेपाली नारीहरूको महान् चाड हरितालिका तीज । देवीको उपासना, कुमारीको पूजासँगै नारीको शक्तिलाई सम्मान गर्नको लागि हाम्रा यस्ता चाडपर्वहरूको विकास भ‌एको हुनुपर्छ। मेरा जीवनका तीन नारी आमा, ‌श्रीमती र छोरीसँगै रहँदाको हरेक पलले बिशेष सम्झना गराउँछन् । आउनुस् तपाईंलाई पनि म उनीहरूसँग सम्बन्धित मेरो कथा सुनाउँछु ।

विवाह र यस लगत्तैको भूकम्प

२०७२ साल वैशाख महिनामा हाम्रो विवाह भयो । म विराटनगरमा सरसफाइ तथा स्वच्छता सम्बन्धि एउटा परियोजनामा काम गर्थेँ र एक महिनाको छुट्टी लिएर घर आएको थिएँ । बिहेको दोस्रो तेस्रो दिनसम्म पनि हाम्रा रीतिरिवाजहरू चलिरहेका थिए । चौंथो दिन बिहानीको खाना खाएर यसो थकान मेट्न के बसेको थिएँ, जमिन एक्कासी हल्लियो। भागाभाग र दौडादौडको स्थिति आयो ।

महाभूकम्प गयो । केहीबेरमा देशभरिका समाचारहरू रेडियोमा सुन्दै भगवान पुकार्‍यौं । पराकम्पनहरू बीचबीचमा गइरहेकै थियो। घरबाट खाद्यान्न, पानी र मुख्यमुख्य कागजात बोकेर बाहिर खुल्ला मैदानमा पाल टाँगेर बस्थ्यौँ । बुबाआमा अनि हामी दुई । यो विषम समयले हामीलाई सामान्य भन्दा नजिक हुन र माया गर्न थप सिकायो ।

हुन त वैशाख १२ गतेको भूकम्प गइरहँदा पनि मैले आमा र उनी दुवैको हात समातिरहेको थिएँ । डरले आत्तिएर हात झड्कालेर आमा खुल्ला ठाउँमा भाग्नुभयो । हामी भने माटोको घरको मूल ढोकामा बसिरह्यौं । अनि कम्पन बन्द भएपछि आमा भएको ठाउँमा गयौं । राति पनि हामी कहिले कानेखुसी गर्दै त कहिले च्याट गरेर त कहिले म्यासेज गरेर मनका कुरा साटासाट गर्थ्यौं । भूकम्पले गर्दा हामी छोटो समयमा नै निकै नजिएको आभास भइरहेको थियो ।

एक महिनाको छुट्टीको समय यताउता भाग्दाभाग्दै सकियो । हामी धेरै आफन्तहरूको घरमा जान सकेनौँ तर विराटनगर जाँदैगर्दा हेटौंडामा पस्नुपर्ने भयो । हामी दुवै बिदा भएर गाडीको बाटो प्रस्थान गर्‍यौं । मलाई गाडीको लामो यात्रा एकदम पट्यार लाग्थ्यो र प्रायः विराटनगरबाट प्लेनमा नै आवतजावत गर्थें । तर यो पटकको अनुभव फरक रह्यो ।

आफूलाई माया गर्ने मान्छेसँग गीत गुन्गुनाउँदै गरेको यात्रामा समय बितेको पत्तो नै नहुने रहेछ । सायद जीवनको यात्रा पनि यस्तै होला, जहाँ परिवारभित्र माया ममता कायम रहन्छ । उनको र मेरो सम्बन्ध कसिलो हुँदै थियो । छोटो समयमै हाम्रो निकटता देखेर साथीभाइ पनि बेलाबेला जिस्काइरहन्थे।

परियोजनाको जागिर र प्रियसीको माया

म विराटनगरमा महेन्द्र चोकबाट थोरै भित्र बस्थेँ । प्रोजेक्टको जागिर, खाना बनाउने समय नै नमिल्ने भएकोले म बाहिरै खान्थें । मलाई बाहिर खाँदा खासै सजिलो लाग्दैनथ्यो तर मैले नभनिकनै उनले बुझिहालिन्। अझै उनी खानामा बिशेष पारखी भ‌एकोले झन् मीठो मीठो परिकारहरू बनाउँथिन् । हामी माया साट्दै खाना खान्थ्यौ । यता घरमा बुबाआमा मात्र, त्यो पनि म कान्छो छोरा । सबै दिदीहरूको विवाह भैसकेको थियो ।

घरको यादले हर समय सताइरहन्थ्यो। मलाई जसरी पनि केही समयपछि काठमाडौं फर्किनु थियो । म मौका कुरीरहेको थिएँ । केही समय पछि नाकाबन्दी भयो । मेरो काम खासै भएन, तलब मात्र आएर के गर्नु ? मलाई मेरो करियरलाई अगाडि बढाउनु थियो । म भौतारिन थालें । उनी सान्त्वना दिइरहन्थिन् । परीक्षा र अन्तरवार्ता दुवैमा बोलाउने तर जागिर मेरो हातमा पर्दैनथ्यो।

यही बीचमा हामीले प्लानिङ गर्ने सल्लाह गर्‍यौँ । उनले आफ्नै रहरमा बच्चाको खाँचो महसुस गरिन् भन्ने मैले बुझेँ । किनकि अरुका कचकच यहाँसम्म आउँदा बन्द भैसकेका थिए । नभन्दै उनको महिनावारी बन्द भयो अनि म बाबा बन्ने भएँ ।

उनी मलाई सधै ढाडस ‌दिँदै भन्थिन्, ‘तपाई यो भन्दा राम्रो डिजर्भ गर्नुहुन्छ त्यै भएर यसमा भएन ।’ म पनि हो भन्थें र अर्को प्रयास गरिरहन्थें ।

नभन्दै ७ महिना जति पछि म काठमाण्डौँमा आधारित जागिरमा छनौट भएँ । पद र तलब सबै आँखा चिम्लेर म जाने निधो गरेँ । तर विराटनगर र इटहरी मेरा अनन्य मित्र भैसककेका थिए जसले मलाई जीवन उपयोगी धेरै पाठहरू सिकाए ।

समाजका केही बुज्रुकहरू

हामी काठमाण्डौं बसेपछि यताउता विभिन्न चाडपर्वहरूमा जान्थ्यौँ । बिहे गरेको दोस्रो वर्ष के हुनपाउँथ्यो, हामीलाई खै त यसो सुरसार गर्ने होइन ? अब दुईबाट तीन कहिले, फलानोको त बच्चा जन्मियो, ढिस्कानी पनि दुईजिउकी छ रे, हाम्राले खै कहिले सुरसार गर्ने हुन् भन्नेहरू प्रशस्तै भेटिन थाले ।

हामी दुवै पढेलेखेका मान्छे, दुवैलाई बच्चा भन्दा पहिले आफ्नो करियर स्टेबल बनाउन बढी खाँचो थियो । हरेक व्यक्तिहरूले भनेका त्यस्ता विभिन्न सामाजिक दवाब (वा खै के भनौँ) हरूलाई हामी शेयर गर्थ्यौं । म त्यसको वास्ता नगर्न भन्थेँ । हामीसँगै हुँदा भन्नेहरूलाई म जवाफ दिन्थेँ । उनी एउटा रिसर्चमा काम गर्न थालिन् अर्घाखाँची र दैलेखमा । अब हाम्रो भेट पातलो भयो । म चाहिँ काठमाडौंमा नै थिएँ । नजिकै त्यो पनि मोटरसाइकलमा २ घण्टामा सजिलै पुगिने हुँदा सप्ताहन्तमा घर जान्थें ।

हाम्रो समाज अचम्मको छ, बिहे अरु कै लागि गरिदिनुपर्ने जस्तो बच्चा अरुकै लागि पाइदिनुपर्ने जस्तो । अनि खै त जीवनको मूल्य अनि यसको स्वतन्त्रता ? सल्लाह त मागे पो दिनु । यस्तै बुज्रुक स्वाँठहरूले समाज अनि परिवारमा शान्ति भङ्ग गरिदिन्छन् । अनि स्वतन्त्रताका पक्षधर आम युवा जमातको स्वतन्त्रता भङ्ग गर्न खोज्ने, आफ्नो लक्ष्यबाट विचलित गराउन खोज्ने अनि भित्रभित्रै त्यसबाट आफू मजा लिने । यस्ता तत्वहरू हाम्रो वरिपरि छन् जुनबाट हामीले बच्नुपर्छ र आफ्नो लक्ष्यमा निरन्तर लागिरहनुपर्छ ।

उनी पश्चिमको रिसर्चमा जाँदाको समय मलाई बारम्बार आमाले जस्तै खाना खाजा समयमा खाए नखाएको, समयमा सुत्नेउठ्ने गरेनगरेको चेक गरिरहन्थिन् । मलाई आफ्नो समय तालिका अनुसार चल्न घच्घच्याइरहन्थिन् । म उनी नहुँदाको समयमा खाएका खानाहरू तस्बीर मार्फत् पठाउँथेँ । उनी आफ्ना काम र खानाहरू मलाई शेयर गर्थिन् । बर्खाको समय पहाडी जिल्ला घर-घरमा गएर रिसर्च गर्नुपर्ने उनको काम कठीन थियो । आकाशमा बादल मडारिरहँदा मलाई पनि पीर लागिरहन्थ्यो । निकै लामो लाग्यो तीन महिनाको समय ।

यता म उनी गएदेखि दारी नकाटी बसेको थिएँ । आएको पहिलो दिन नै उनले मलाई निन्द्राबाट एक्कासी बिउँझिदा नचिनेर डराइन् । अनि मैले भोलिपल्ट नै सफाचट हुनेगरी दारी काटेँ ।

मातृत्वको गम्भीरता र महत्व

बिहे भएको तेस्रो वर्ष भयो । अब उनी लोकसेवा आयोगको तयारी कक्षा जान थालिन् । यही बीचमा हामीले प्लानिङ गर्ने सल्लाह गर्‍यौँ । उनले आफ्नै रहरमा बच्चाको खाँचो महसुस गरिन् भन्ने मैले बुझेँ । किनकि अरुका कचकच यहाँसम्म आउँदा बन्द भैसकेका थिए । हामी डक्टरको सल्लाह लिन गायौँ र आवश्यक कुरा बुझेर आयौँ । नभन्दै उनको महिनावारी बन्द भयो अनि म बाबा बन्ने भएँ ।

यो समय उनको लागि अति कष्टकर रह्यो । खान नपाई बान्ता हुने । उनी झन् दुब्लाउँदै गइन् । म सोच्थेँ- एकदुई महिना गर्भाधारण गर्न मिल्ने भए उनलाई पालो दिन्थे । तर त्यो सृष्टिको अदम्य साहस हामी पुरुषहरूमा कहाँ र ? जे जस्तो भएपनि उनैले भोग्नु नै छ त्यो सबै समय । हस्पिटल जाँदा सकेसम्म म आफैँ साथी जान्थें, ताकि उनलाई केही असहज नहोस् । हामी कुरा गरिरहन्थ्यौँ । मलाई छोरीको धेरै रहर थियो । उनी छोराको पक्षमा थिइन् । दुईमध्ये एकको जीत पक्का थियो ।

जस्तो अवस्थामा पनि ट्याक्सी वा अन्य गाडी भन्दा उनी मेरै बाइकमा यात्रा गर्न रुचाउँथिन् । दशैँमा हामी घर, ससुराल र मामाघर सबैतिर गयौँ । तर तिहारमा हाम्रो परिवारमा सुतक थियो । म टीकाको दिन मात्र घर गएँ । उनी एक्लै बस्न सक्छु भनिन् । फेरी डाक्टरले दिएको डेलिभरी समय आउन तीन हप्ता बाँकी थियो ।

उनी धेरै रात भैसकेको थियो सजिलोसँग सुत्न नसकेको । रातभरि डुलिरहन्थिन् । म पनि उठ्थेँ । ‘तपाईलाई भोलि अफिस जान गारो हुन्छ, सुत्नु’ भन्दै आफू पनि ढल्कन्थिन् । तिमीलाई डुलुवा लाग्यो क्यार भनेर म जिस्काउँथे पनि । तर एकदिन उनलाई धेरै गारो भयो । यसरी भएन, अब एकपटक हस्पिटल जानैपर्छ भनेँ । छठको दिन भएकोले नजिकका प्राइभेट अस्पतालमा कहीँ फोन उठेन ।

फेरि पहिलेदेखि चेकअप नगराएको ठाउँमा हेर्न गारो मान्छ भन्ने सल्लाह पनि पायौँ र हामी महाराजगञ्जबाट सिभिल हस्पिटलतर्फ हुइकियौं । इमरजेन्सीबाट गाइनोवार्डसम्म पुग्दा मन डराइरहेको थियो । हामीले सोच्यौँ- केही औषधि दिएर पठाउला, तर तेस्तो भएन ।

आमाको महत्त्व

‘अब उहाँको समय भैसकेको छ, हामी यहाँ गर्छौं, तपाईं बच्चाको कपडा र गाउनको व्यवस्था गर्नुस्,’ नर्सले भनिन् । मन थोरै आत्तियो । केही कम्प्लिकेसन हुने हो कि तीनतीन हप्ता समय बाँकी नै थियो । तैपनि मनलाई धैर्य गराउन नजिक हुनुभाको दिदीहरू र भाउजुलाई फोन गरेँ । साँझसम्म सबै जम्मा हुनुभयो । अनि निकै साहस पनि बटुलियो ।

उनलाई त्यो रात भित्रबाट बेडमा सिफ्ट गरे । छट्पटि उस्तै थियो । सबै कुराहरू टुलु हेर्‍यो । आफूले हेर्ने मात्रै । त्यो पीडा र छट्पटिले मलाई मन भारी बनाउँथ्यो अनि फेरी उता आमाको याद पनि । कसरी दशदशवटा सन्तानलाई जन्मदिइन् होला मेरी आमाले । त्यो पनि घरमै, अझ छोराको आशले त होला ।

किन हाम्रो समाजले छोरा र छोरीलाई समान तबरले हेर्न सक्दैन आदि आदि सोच्दै थिएँ । भोलिपल्ट भयो ।

नर्मल हुन्छ डेलिभरी भनेको छ । उनको कठिनाई दिन दुईगुना रात चौगुणा बढिरहेको थियो । म खाना खान र लिन केही समय हस्पिटलबाट बाहिर निस्कें । म फर्किंदा उनी अत्यन्तै गाह्रो अवस्थामा छट्पटाई रहेकी थिइन् । अनि पसिनाले निथ्रुक्क भिजेकी र बर्बराई रहेकी ।

भाउजु साथमा हुनुहुथ्यो । म त्यो प्रसव बेदना हेर्न नसकेर आँखाभरि आँसु पार्दै बाहिरिएँ । सोचेँ- अहो ! आमाको महत्व, आमालाई किन धर्ती समान सहनशील भन्छन्, सबै छर्लङ्ग देखें । अन्ततः उनको सबै प्रकियाहरू सफल भयो । छोरी जन्मेको थाहा भएपछि म गद्गद् भएँ । छोरीलाई काखमा लिएँ अनि उनलाई हृदयबाटै धन्यवाद भनें ।

भोलिपल्ट नै हामी डिस्चार्ज भयौं । घर जान अलि लामो यात्रा हुनेहुँदा हामी केहीदिन काठमाडौँमा नै बस्यौं । मैले छोरीको खबर सामाजिक सञ्जालमा हालेलगत्तै फोनमा र मेसेजमा सहकर्मी एवम् आफन्तजनहरूबाट बधाईको ओइरो लाग्यो । म पनि छोरीको बाबु बनेकोमा गद्गद् थिएँ । घरमा फोन गरें । ममीले भन्नुभयो- ‘लक्ष्मीपूजा लगत्तै घरमा लक्ष्मीको उदय भयो ।’ म झनै खुसी भएँ ।

हुन त मेरी आमा जीवनको साठी दशक मनाइरहेकी हुनुहुन्छ । उहाँको जीवनको हरेक पाना संघर्षले भरिएको छ । उहाँको भोगाई र अनुभव चाहे त्यो मेलापात, गाउँबेसी, धारो पँधेरो गर्दा होस् वा हामी सन्ततिको लालनपालनसँग जोडिएको होस् । ती कुराहरू बाँडिरहँदा हामीलाई त्यो कुनै एउटा फिल्मको कहानीभन्दा कम लाग्दैन । हो, यस्तै कुराहरूले आमाको महत्त्व स्पष्ट पार्छन् ।

नयाँ नारीको नामकरण र सामाजिक परिदृश्य
छैठीको दिन नै हामीले लामो अध्ययन र छलफल गरेर छोरीको नाम अक्षदा राखेका थियौँ । न्वारन पनि भव्य भयो । सबै परिवार जम्मा भयौं । त्यो दिन मैलै उपस्थित सबैलाई टिका दक्षिणा गरेँ ।

‘ल बाबु अब छिट्टै एउटा भाइको पनि मुख हेर्ने रहर छ हामीलाई,’ एकजना ६० कटेकी महिलाले भनिन् । मेरो खुसी अनायास फूल ओइलाए जस्तै भयो । अनि फेरि आफैंलाई सम्हालेँ । यस्तो उत्सवको समयमा त्यस्ता संकुचित सोचले बेरिएका कुरालाई मैले वास्ता गरिनँ । तर, फेरि सोचें- त्यो कुरा यदि मेरी नाबालक छोरीले सुनिन् भने उसलाई कस्तो लाग्ला ? म सोचमग्न भएँ ।

समय बित्दै गयो । कोरोना भाइरसबाट बच्न सुरक्षा उपायहरू अपनाउँदै वर्क फ्रम होमको अभ्यास शुरु भयो । घरबाट काम गर्ने क्रममा म छोरीसँग झनै नजिक भएँ । धरै मिटिङ कलहरू आउनासाथ म उसको निन्द्रा भंग होला भनेर तुरुन्तै बाहिर दौडन्थें ।

सुन्दा मात्र हुने मिटिङहरूमा हेडसेट लगाउथेँ । प्रायः दिनहरूमा अफिसको समय सुरु हुनुभन्दा पहिल्यै म छोरीलाई सकेसम्म घाममा राखेर तेल लगाईदिन्थेँ । खुवाउने, डाईफर बदल्ने, कपडाहरू धुने, नुहाईदिने सबै काममा म बेलाबेलामा वर्कब्रेक लिँदै सघाइरहन्थे ।

आज नारीहरूको विशेष पर्व मनाइरहेका बखतमा मेरो जीवनका महान् नारीहरूसँगको विशेष अनुभव यहाँ साटिरहेको छु । पुरुषले मात्र हैन हरेक नारीले अर्की नारीको सम्मान र ईज्जत गर्न सकून् ।

यदाकदा पुरूषहरूबाट हुने विश्वासघातको अन्त्य मात्र हैन कुनै एउटी नारीले अर्की नारीको कुनै कुरामा आघात नगरून् । यो दिनमात्र हैन, नारीहरूका हरदिन उत्सव अनि उमंग बनून् । एउटी नारीले संसारको सृष्टि गर्ने र यसलाई बदल्ने अदम्य साहस बोकेकी हुन्छिन् । सबै नारीहरूमा बिशेष सम्मान र शुभकामना छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?