+
+

मदन भण्डारी राजमार्ग : राजनीतिक स्वार्थले नयाँ विवाद

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७९ भदौ १४ गते १८:१०

१४ भदौ, विराटनगर । चुरे क्षेत्रका वस्तीहरुलाई सडक सञ्जालमा जोड्न पाँच वर्षअघि सुरु भएको मदन भण्डारी राजमार्ग निर्माणको काम पूर्वी क्षेत्रमा निराशाजनक रुपमा सुस्त छ ।

सुनसरीको धरानदेखि झापाको शान्तिनगरसम्मको १२० किलोमिटर निर्माणमा हालसम्म ३० प्रतिशत मात्र काम भएको छ । तीन वर्षयता त निर्माणको काम ठप्प प्रायः छ । जबकी, यो राजमार्ग आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरिसक्नुपर्नेछ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–६ कि अमृता विश्वकर्मा मिक्लाजुङ–मधुमल्ला क्षेत्रमा कतैकतै नाला बनाएको देखिए पनि मदन भण्डारी राजमार्ग निर्माण अघि नबढेको बताउँछिन् । ‘सडक बनाउने भनेर जग्गा खाली गरेको तीन बर्ष भइसक्यो’, उनी भन्छिन्, ‘तर, हाम्रो इलाकामा नाला खोस्रिनेबाहेक अरु काम गरेको देखिएको छैन ।’

पहिलो प्याकेजअन्तर्गत आर्थिक वर्ष ०७६/७७ मा ९३ करोड रुपैयाँमा ठेक्का लागेको २४ दशमलव ८ किलोमिटर (धरान–केराबारी) सडक खण्डमा परेको साढे चार किलोमिटर वन क्षेत्रमा रुख काट्न टाँचा लगाउने काम भइरहेको आयोजनाका इन्जिनियर सूर्यनारायण मण्डलले बताए ।

उनले भने, ‘त्यसबाहेक पुल निर्माण र कतिपय स्थानमा सडक विस्तारको काम भइरहेको छ ।’

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)ले राजमार्गको पूर्वी खण्डमा करिब १७ किलोमिटर वन क्षेत्रमा ३५ सय ८१ वटा रुख काट्नुपर्ने देखाएको थियो ।

निर्माण ठेक्का लागेको धरान–केराबारी (पहिलो खण्ड) मध्ये करिब ६ किलोमिटर वन क्षेत्र पर्छ । मोरङको केराबारीदेखि झापाको बेलडाँगीसम्मको २८ किलोमिटर दोस्रो खण्डमा सात किलोमिटर वन क्षेत्र छ । त्यस्तै, बेलडाँगीदेखि शान्तिनगरसम्मको १० किलोमिटर तेस्रो खण्डमा करिब चार किलोमिटर वन क्षेत्र पर्छ ।

दोस्रो प्याकेज अन्तर्गत केराबारी–बेलडाँगी खण्ड निर्माणका लागि १ अर्ब २९ करोड रुपैयाँको ठेक्का लागेको छ । तेस्रो प्याकेजको १० किलोमिटर निर्माणको लागि ३७ करोड ९५ लाख रुपैयाँमा ठेक्का लागेको छ । कुल यो १२० किलोमिटर सडक खण्डमध्ये ६३ किलोमिटरको मात्र ठेक्का लागेको छ ।

ठेक्का लागेर काम थालिएका सुनसरी, मोरङ, झापा र इलाम जिल्लाका तिनवटै खण्डका धेरैजसो ठाउँमा कतै स्थानीयको अवरोध त कतै वन क्षेत्रको झमेलाले सडक निर्माण अलपत्र परेको छ ।

झापाबाट इलाम जोड्दै पुनः झापाकै अन्तिम विन्दुमा आउने यो राजमार्गको लागि पर्याप्त बजेट भएपनि सडक सीमा निर्धारण, जग्गा अधिग्रहण लगायत समस्या कायम रहेको आयोजनाका इन्जिनियर मण्डल बताए । उनले भने, ‘खास गरेर स्थानीयवासीको व्यवधानले गर्दा कामलाई गति दिन कठिनाइ भइरहेको छ ।’

उनका अनुसार कतिपय ठाउँमा सडकको सीमा निर्धारण नहुँदा जग्गा अधिग्रहण हुन सकेको छैन । अधिग्रहणको काममा मुआब्जा विवाद छ भने सडक क्षेत्रभित्र पर्ने वनको रुख कटान प्रक्रिया ज्यादै लामो र झञ्झटिलो छ ।

यो परियोजनाको थालनी सुनसरी, मोरङ, झापा र इलाम जिल्लाका ३१ वटाखोलामा पुल निर्माणबाट भएको छ । यीमध्ये मोरङको लेटाङ र केराबारीबीचको चिसाङ र मोरङको मधुमल्ला र झापाको दमकबीचको मावा खोलामा पुल बनिसकेको छ । बाँकी २९ वटा पुल निर्माणाधीन छन् ।

३१ वटै पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते एकै पटक गरेका थिए ।

रुट परिवर्तनले विवाद

मदन भण्डारी राजमार्गको पूर्वी खण्डको अधिकांश भागमा नयाँ ट्रयाक खन्नुपर्दैन । चल्तीकै सडकहरुलाई रुट तोकिएकाले १४० फिट चौडामा स्तरोन्नति गर्दा हुने अवस्था छ । तर, प्रस्तावित रुटमा परेका कतिपय गाउँहरूलाई छल्दै एकाएक रुट परिवर्तन गरिएपछि नयाँ विवाद थपिएको छ ।

राजनीतिक स्वार्थका कारण रुट बदलेको भन्दै स्थानीय स्तरमा उठेको असन्तुष्टि अझै हल भएको छैन । यस्तो बिबाद सबभन्दा बढी लेटाङ–जाँते–मधुमल्ला खण्डमा छ ।

मदन भण्डारी राजमार्गलाई लेटाङको गुवाबारीबाट जाँते बजार, खोलीटार, टाँडीको धोबिनी, मधुमल्लाको तोरीबारी हुँदै झापाको बेलडाँगी लैजाने सर्भेअनुसारको योजना थियो । पछि लेटाङ बजारमुनिबाट जाँतेको मदनचोक, कत्लेको मिक्खुखोला हुँदै मधुमल्ला पुछारमा पुर्‍याउने गरी रुट परिवर्तन गरियो ।

यसमा पूर्वप्रधानमन्त्री ओलीले आफ्नो  गृहनगर दमकमा बनाउन लागेको भ्यूटावरमा राजमार्ग पुर्‍याउने उद्देश्य रहेको असन्तुष्ट क्षेत्रका वासिन्दाहरु बताउँछन् । अहिलेको काम नयाँ रुटअनुसार नै भइरहेको छ ।

सरकारले उच्च प्राथमिकताप्राप्त आयोजनाका रुपमा अगाडी बढाएको मदन भण्डारी राजमार्गको पुर्वी खण्ड अबको तिन बर्षमा सक्नुपर्नेहुन्छ, तर काम अति सुस्त हुदा निर्धारित समयमा निर्माण सकिन लगभग असम्भव देखिएको छ ।

यसमा माथिल्लो भेक (पहिलेको रुट) का जनतामा ठूलो असन्तुष्टि रहेको लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौलाले बताइन् ।

उनका अनुसार केराबारीको भलुवा खोलाबाट लेटाङको गुवाबारी हुँदै झापाको बेलडाँगीतिर सिधा लैजानुपर्ने राजमार्गलाई दमकतर्फ सोझ्याइएको छ ।

‘मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले राजनीतिक दबाव रहेको भन्दै पूर्व-पश्चिम राजमार्गनजिकै अर्को राजमार्ग बनाउन लागेको छ’, उपमेयर निरौला भन्छिन् ।

उनका अनुसार, मदन भण्डारी राजमार्गको परिवर्तित रुटमा २५ सयभन्दा बढी घर भत्कने अनुमान छ । त्यसमध्ये लेटाङमा ३०० र मिक्लाजुङमा १०० घर भत्किने अनुमान छ ।

केराबारी गाउँपालिकाका पुर्वअध्यक्ष रोहित कार्की पहिलाको रुट मुख्य बजार क्षेत्र छलेर गएको बताउँछन् । ‘तर, परिवर्तित रुटले केराबारीमै पनि ४०० भन्दा बढी घर भत्काउने अवस्था छ’, उनले भने ।

छिमेकीबीच मुद्दा

मदन भण्डारी राजमार्ग निर्माणले मिक्लाजुङका छिमेकीबीच ठुलै किचलो उत्पन्न भएको छ । मिक्लाजुङ वडा नम्बर ९ र ६ मा प्रस्तावित सडक उत्तरका १० घरपरिवारलाई प्रतिवादी बनाएर लक्षिणका छिमेकीले जिल्ला अदालत मोरंगमा गत वैशाखमा मुद्धा दर्ता गरेका छन् ।

वडा नम्बर ९ का पूर्वअध्यक्ष सोमनाथ अधिकारीका अनुसार, त्यहाँ अहिले चलिरहेकै बाटोलाई राजमार्गमा बिस्तार गर्ने सर्भे भएपछि दक्षिणका शारदा रिमाल, नैनबहादुर तामाङ, रत्न तामाङ, भीमबहादुर खड्का लगायतले तीन वर्षअघि अमिन ल्याएर आप्mनो जमिन नापेका थिए ।

‘जग्गा नाप्दा हालको सडक उनीहरुकै नम्बरी जग्गा भएको देखियो’, अधिकारी भन्छन्, ‘२०३६ साल अघिबाटै चलिरहेको बाटोमा माथिल्लो टोलवासीको घरहरु रहेको भेटिएपछि समस्या उत्पन्न भयो ।’

त्यसपछि सडक दक्षिणकाले नक्साको बाटोबाट राजमार्ग लैजान र उत्तरकाले जहाँबाट सर्भे भएको हो, त्यही विस्तार गर्न अडान लिए । स्थानीय तहमा समझदारी गराउन भएको दुई तर्फको अडानका कारण असफल भएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?