
१५ भदौ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको समितिका सचिव मनोज गिरीले जानकारी दिए ।
विधेयकमा नेकपा एमालेले लिखित असहमति राखेको छ । यद्यपि समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भयो ।
समितिले आफ्नो प्रतिवेदनसहित राष्ट्रिय सभामा पेश गर्नेछ । राष्ट्रिय सभाको बैठक बिहीबार नै बस्दैछ ।
एमालेको फरक मतमा के छ ?
समितिमा रहेका एमाले सांसदहरु देवेन्द्र दाहाल, भैरवसुन्दर श्रेष्ठ र भगवती न्यौपानेले भने फरक मत राखेका छन् । एमालेले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेको ७ वर्षपछि वैवाहिक अंगीकत नागरिकता दिने, यसरी नागरिकता लिंदा जन्म भएको देशको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने एमालेको फरक मत छ । विवाहपछि भने राजनीतिक र प्रशासनिक बाहेकका अधिकार उपभोग गर्न परिचयपत्र दिने र त्यो परिचयपत्र नागरिकता प्राप्तिको आधार हुने पनि एमाले सांसदहरुको फरक मतमा उल्लेख छ ।
एमालेले प्रादेशिक पहिचानसहितको नागरिकता दिने, आमाको नामबाट नागरिकता लिंदा गर्नुपर्ने स्वघोषणालाई बाध्य बनाउन नहुने पनि फरक मतमा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4