+
+

बालेनको तेस्रो अभियान : डिजिटल डिस्प्ले र होर्डिङ बोर्ड मुक्त काठमाडौं

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ भदौ १६ गते २०:५०

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीतिको ७ औं बुँदामा लेखिएको छ ‘काठमाडौं महानगरपालिका भित्र रहेका अव्यवस्थित, अनियन्त्रित, विशुद्ध निजी फाइदाका उद्देश्यले सार्वजनिक चोक, सडकसँगै जोडेर राखिएका बोर्डहरु तत्काल हटाउने ।’

तर त्यो नीतिलाई लत्याउँदै त्रिपुरेश्वर चोकमा रहेको वल्र्ड ट्रेड सेन्टरमा यति ठूलो डिजिटल बोर्ड बनाइयो कि जसको प्रकाशले त्रिपुरेश्वर त झलमल्ल हुन्थ्यो नै, यसले थापाथली चोकमासमेत रातिमा उज्यालो छथ्र्यो । त्रिपुरेश्वर चोकमा रहेको ट्राफिक लाइटको प्रकाशलाई नै धमिलो बनाइदिने यही भीमकाय डिजिटल बोर्ड महानगर प्रहरीले बिहीबारदेखि बन्द गराएको छ ।

महानगरकाअनुसार यो बोर्डले २०७० सालमा बनेको नीतिका सबैखाले मापदण्ड मिचेको थियो । ‘पहिलो त यो बोर्ड तोकिएको आकार भन्दा ठूलो छ, दोस्रो यसले झ्याल छेक्न नहुने, सडकबाट नजिक हुन नहुने लगायतका सबैखाले मापदण्ड मिचेको छ,’ महानगरका सूचना अधिकारी वसन्त आचार्य भन्छन्, ‘यो बोर्ड पूर्ण त अवैधानिक रुपमा यत्तिका समय सञ्चालनमा थियो । जसलाई आज हामीले बन्द गराएका छौं, यसलाई त्यहाँबाट हटाउने नै हो ।’

काठमाडौंको त्रिपुरेश्वरको जस्तै डिजिटल बोर्ड दरबारमार्गको दरबार मलमा पनि छ । नेपाल ट्रष्टको भवनमा रहेको डिजिटल डिस्पेले त्रिपुरेश्वरमा जस्तै असर पुर्‍याइरहेको छ । महानगरको थापाथली, टेकु, माइतीघर, बानेश्वर, दरबारमार्ग, बागबजार कोटेश्वर लगायतका ठाउँमा यस्ता बोर्डहरु छन् ।

सूचना अधिकारी आचार्यकाअनुसार काठमाडौं महानगरका यस्ता अवैध डिजिटल बोर्ड हटाउने अभियान त्रिपुरेश्वरबाट सुरु भएको र कोटेश्वर हुँदै महानगर भरी चल्ने छ । वर्ल्ड ट्रेड सेन्टरको मात्रै नभइ यसको ठीक पूर्वतर्फ रहेको पेट्रोल पम्पको माथिको बोर्ड पनि महानगरले बन्द गर्न आदेश दिएको छ । ‘अवैध होर्डिङ बोर्ड र डिजिटल बोर्ड बिरुद्धको अभियान सुरु भएको छ,’ आचार्यले थपे, ‘सबै अवैधानिक बोर्ड हटाएर सहरलाई सफा सुन्दर बनाइने छ ।’

अनुमति एउटाको लिने, तर महानगरको सहरको सौन्दर्य नै बिगार्ने गरी अर्कै बोर्ड राखेको पाइएपछि महानगरले नीति तथा कार्यक्रममै विज्ञापन बोर्ड र डिजिटल बोर्ड सम्बन्धी नीति संशोधन गर्ने घोषणा गरिएको महानगरका राजश्व विभाग प्रमुख डा.शिवराज अधिकारीले बताए । ‘सहरका बोर्डहरु राम्रो सहरका लागि प्रेरित भएको नपाइएपछि असार मसान्तपछि अनुमति लिइएकाहरुको पनि नवीकरण रोकिएको थियो,’ अधिकारीले भने, ‘त्यसैले सबै बोर्डहरु नवीकरण नभएका अवैध हुन् । यिनीहरुलाई हटाउने अभियान थालिएको छ ।

फुटपाथ, भूमिगत पार्किङपछि काठमाडौं महानगरले आफ्नो तेस्रो अभियान होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउने कार्य भएको उनले बताए । अनुमति एउटा लिने तर काम अर्कै गर्ने परिपाटीका कारण सडक कुरुप भएपछि महानगरले यसलाई थप व्यवस्थितगर्न चाहेको अधिकारीको भनाइ छ ।

काठमाडौं महानगर प्रहरीका प्रमुख एसपी राजु पाण्डेकाअनुसार हाल महानगर भित्र रहेका कार्यालयका ३० स्क्वायर फिटका सूचना बोर्डबाहेकका सबै होर्डिङ बोर्ड अवैध हो । यस्तै सहरमा रहेका डिजिटल बोर्डहरु मध्ये केहीले अनुमति लिए पनि तिनीहरुले तोकिएको मापदण्ड विपरीत संरचना बनाएको पाण्डेले बताए । अवैध संरचना हटाउने र अनुमति लिएका तर मापदण्ड पालना नगरेकालाई तत्काल विज्ञापन र सञ्चालन गर्न रोक लगाउने अभियान सुरु भएको हो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले चालु आर्थिक वर्षको नीति तथा कार्याक्रममै विज्ञापन तथा होर्डिङ बोर्ड सम्बन्धी नीतिलाई संशोधन गर्ने निर्णय पास गराएका थिए । महानगरका सूचना अधिकारी वसन्त आचार्यकाअनुसार २०७० को नीति संशोधन गर्न र अहिलेका यस्ता संरचना हटाउन आवश्यक भएको अनुमति प्राप्त डिजिटल बोर्ड र विज्ञापन बोर्डको नवीकरण बन्द गरिएको थियो ।

नवीकरण बन्दसँगै यी बोर्डहरु साउन एक गतेबाट अवैध भएका र यिनीहरुले विज्ञापन तथा प्रचार सामग्री प्रसार गर्न नपाउने थिए । यसबारे महानगरले उनीहरुलाई सचेत गराए पनि अटेर गरेर विज्ञापन सामग्री प्रसार भइरहेको पाएपछि महानगरले यस्तो अभियान थालेको सूचना अधिकारी आचार्यले बताए ।

यस्ता बोर्ड कति छन् र कसरी चलेका छन् भन्ने विवरण महानगर प्रहरीले संकलन गरिरहेको र सबैलाई हटाइने आचार्यले बताए ।

पहिले अवैध संचरना हटाउने र त्यसपछि नयाँ विज्ञापन नीति बनाएर सहरको सौन्दर्य नबिग्रिने गरी निकै थोरै मात्रामा यस्ता बोर्डका लागि महानगरको अनुमति जारी गर्ने राजश्व विभाग प्रमुख शिवराज अधिकारी बताउँछन् । ‘यस्तो बोर्डमा कसिलो अनुसासन, सहरी सौन्दर्यको पालना, महानगरको राजश्व संकलनमा पनि प्रतिस्पर्धी व्यवहार गरिने छ’, पाण्डेले भने ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?