+
+

चितवनमा प्रचण्डको चुनाव लक्षित दौडधुप

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते २०:२३

१९ भदौ, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन लक्षित दौडधुप बढाएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा दोस्रोपटक प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारी गरेका प्रचण्डले पूर्वाधार कार्यक्रमको शिलान्यास तथा उद्घाटनलाई निकै प्राथमिकता दिएका छन् ।

८ भदौमा वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई लिएर चितवन आएका प्रचण्डले हुलाकी राजमार्ग अन्तर्गत माडी नगरपालिकामा बनेको रतनी पुलको उद्घाटन गरे ।

माडीमा निकुञ्जको समस्या छ, पुल उद्घाटनमा वनमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई उपस्थित गराएर उनले जनतालाई आश्वस्त पार्ने प्रयास गरे ।

त्यसको १० दिनपछि शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई लिएर भरतपुर आए । पुल्चोक नारायणगढदेखि बसपार्क चोक तथा आँपटारीसम्म विद्युत लाइन भूमिगत गर्ने कार्यक्रमको शिलान्यास गरे ।

यो आयोजनाको ठेक्का सम्झौता ८ महिनाअघि भएको हो । तर उद्घाटन चुनावको मुखमा गरिएको भन्दै आलोचना भएको छ ।

लगत्तै प्रचण्ड पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नतिसम्वन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् । पाँच वर्षअघि विमानस्थल स्तरोन्नतिको आश्वासन दिएर चुनाव जितेका प्रचण्डले यसपटक विमानस्थलको गुरुयोजना निर्माणका लागि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ सुरु गर्न भन्दै ड्रोन उडाएर अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरे ।

पाँच वर्ष अगाडि प्रचण्ड र विनोद चौधरी मिलेर नेपाल वायु सेवा निगमको जहाज सञ्चालन गराउन लगाएर विमानस्थल चल्ने सन्देश दिएका थिए । तर केही महिनापछि मेघौलीमा उडान अवतरण बन्द भयो । विमानस्थल अहिले गौचरणमा परिणत भएको छ ।

सोही क्षेत्रको प्रदेश सांसद रहेका कृष्ण भूर्तेलले मेघौली विमानस्थल कालोपत्रे गुरुयोजना लगायतका विषयमा प्रचण्डले लिएको चासोलाई ‘चुनाव लागेको’ भन्दै व्यङ्ग्य गरे । ‘उहाँ अघिल्लोपटक उम्मेदवार हुँदा समेत मसँगै थिएँ, हिजो पनि सँगै भएँ तर काम हुँदैन, कुरा हुन्छ’, सांसद भूर्तेलले भने ।

प्रचण्डले चुनाव केन्द्रित गतिविधिमा सरकार समेत सहयोगी भूमिकामा देखिएको भन्दै अरु दलले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला कुनै पनि ठूला दलका नेताले चुनाव घोषणा भइसकेपछि उद्घाटन र शिलान्यास गरेर जनतालाई भ्रम छर्ने काम गर्न नहुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?