+
+

‘हात्तीलाई गाईभैंसी जस्तै सोच्ने प्रवृत्ति छ’

अहिले त बँधुवा हात्तीको संख्या नै धेरै घटिसक्यो । भारतबाट ल्याउन पनि गाह्रो छ । साइटिस नै हेर्ने हो भने घरमा जन्मिएका हात्ती मात्र यसरी ल्याउन मिल्ने भनिएको छ । तर म के भन्छु भने कसैले पाल्नै सक्दिनँ भन्यो भने त बिक्री गर्ने वातावरण पनि बनाउनुपर्छ ।

बाबुराम लामिछाने, प्रमुख जैविक विविधता संरक्षण केन्द्र बाबुराम लामिछाने, प्रमुख जैविक विविधता संरक्षण केन्द्र
२०७९ भदौ २० गते ९:२०

अहिले त बँधुवा हात्तीको संख्या नै धेरै घटिसक्यो । भारतबाट ल्याउन पनि गाह्रो छ । साइटिस नै हेर्ने हो भने घरमा जन्मिएका हात्ती मात्र यसरी ल्याउन मिल्ने भनिएको छ । तर म के भन्छु भने कसैले पाल्नै सक्दिनँ भन्यो भने त बिक्री गर्ने वातावरण पनि बनाउनुपर्छ ।

काजलकली हात्तीको मृत्यु भएको घटनाले बँधुवा हात्तीपालनमा देखिएको समस्यालाई बाहिर ल्याएको छ । उनीहरूलाई लामो समयसम्म मान्छे बोक्ने काममा लगाउने अनि भारतमा बेच्ने प्रवृत्ति पुरानै हो । तर, काजलकलीको मृत्युपछि यो कुरा बहसमा आएको छ ।

हामीले सुनेअनुसार यो हात्ती ५०/६० लाखमा खरिद गरिएको थियो । काम गर्न नसक्ने अवस्थामा पुगिसकेपछि पनि ७५ लाखमा बेचेको भन्ने सुनिन्छ । तर, प्रहरीले हस्तक्षेप गरेर यो हात्ती फर्काइएको थियो । समग्रमा तुलना गर्ने हो भने त भारत भन्दा नेपालका हात्ती राम्रो अवस्थामा छन् । तर, उनीहरूको कल्याणका लागि जति गर्नुपर्ने हो त्यो हुनसकेको छैन ।

कम्तीमा नेपालमा हात्तीको खान्कीमा नाइँनास्ति गर्दैनन् । हेरचाह गर्ने मान्छे पनि छन् । कतिपय माहुतेले धेरै माया पनि गर्छन् । त्यसैले हात्तीको कल्याणका लागि पहिले माहुतेलाई पनि राम्रो सुविधा दिनुपर्छ भन्छु म ।

बँधुवा हात्तीको समस्या भनेको उनीहरू बस्ने ठाउँ एकदमै साँघुरो छ । बर्खामा हिलाम्ये हुन्छ । दिसापिसाब पनि एकैठाउँमा हुने अवस्था छ । यसको सुधारमा ध्यान दिनुपर्ने आवश्यक छ ।

अहिले हात्तीको प्रयोगको ‘डिमान्ड’ कम छ, किनकि पर्यटक नै कम छन् । तर पर्यटक धेरै हुँदा निरन्तर लामो समयसम्म मान्छे बोक्न हात्तीको प्रयोग गर्ने गरिन्छ । अहिले हात्तीको संख्या घट्दै गएको छ, यसले सिजनमा हात्तीको प्रयोग झन् बढाउँछ । र, एउटै हात्तीले लामो समयसम्म काम गर्नुपर्ने हुनसक्छ ।

प्रकृति संरक्षण कोषले पनि पाँच वटा हात्ती राखेको छ । विगतमा यी हात्ती पनि पर्यटकको प्रयोजनका लागि प्रयोग गरिन्थे । तर, कोषका हात्तीले कोभिड–१९ भाइरसको महामारीपछि पर्यटक बोक्दैनन् । गत वर्षदेखि आधिकारिक रूपमै पर्यटकीय प्रयोजनका लागि बन्द गरिएको भनेर घोषणा गरेका छौं ।

कोषमा भएको एउटा हात्ती ८० वर्षभन्दा माथि उमेरको हो । त्यो हात्तीलाई प्राकृतिक वातावरणमा एकदमै केयर गरेर राखेका छौं । बिहान छाडिदिन्छौं, दिनभरि चर्छ । आफ्नो हिसाबले दिन बिताउँछ र साँझ फेरि आउँछ ।

बिहान खाएर निस्किएको हुन्छ, फर्किएपछि पनि कुँडो तयार गरेर राखेका हुन्छौं । जाडोको समयमा त्रिपालले बेरेर राख्छौं । जाडोमा ज्याकेट पनि राख्छौं, त्यसैले यी जोगिएका हुन् । पहिले यो कोषले रिसर्चको कामका लागि राखेको हो । ३५ वर्ष काम गरेपछि यिनीहरू ‘रिटायर्ड’ भएका हुन् ।

अहिले कोषका पाँच वटा हात्ती पाल्दा २० लाख जति खर्च हुन्छ । यो भनेको ठूलै रकम हो । कोषले हात्तीको राम्रो पालनपोषणका लागि अन्य शीर्षकको बजेट पनि कटौती गर्नुपर्छ । अहिले चाहिं अन्य कुनै विकल्पमा यिनीहरूबाट केही न केही आम्दानी गर्न सकिन्छ कि भनेर सोचिरहेका छौं । कम्तीमा उनीहरूकै खर्चका लागि अलिअलि रकम संकलन भए सहज हुन्थ्यो भन्ने लाग्छ ।

स्यान्चुअरी मोडल (हात्तीका लागि उपयुक्त हुने वातावरणसहितको एउटा निश्चित क्षेत्रमा राखेर पर्यटकलाई देखाउने) मा लगेर मान्छेलाई देखाउने कि भन्ने पनि सोचेका छौं । यसका लागि मान्छेहरू पनि कम भए हुन्छ । तर जग्गा चाहिन्छ, त्यसैले यसका लागि अलि छलफल चलाउनुपर्छ ।

हात्ती सफारीको ठाउँमा हात्तीसँग हिंड्ने अभियान थालौं भन्ने बहस पनि चितवनमा चलेको छ । तर नयाँ कुरा अभ्यास गर्न आँट गरिहालेका छैनन् । हात्तीमा चढेर सफारी गर्ने काम विस्तारै बन्द हुन्छ । पहिले पर्यटक सरकारी हात्ती नै चढ्थे । तर बन्द भयो । पछि कोषका चढ्थे, त्यो पनि बन्द भयो । पछि निजी चढिरहेका थिए । तर त्यो पनि धेरैले बन्द गर्न थालेका छन् ।

हात्तीले जुन रेस्पेक्ट पाउनुपर्ने हो, त्यो हात्तीमा चढेर पाउँदैन । हात्तीमा चढेपछि बाघ जस्तै संकटोन्मुख जनावर हो भनेर महसुस गराउनै सक्दैनौं । अहिल्यै बन्द गर्ने भन्यो भने त बँधुवा हात्तीको झन् विजोग हुन्छ । तर विस्तारै यसलाई सुधार्दै अरू खाले काममा हात्तीलाई प्रयोग गर्नुपर्छ ।

हामीले हेर्दा हात्ती संकटमा रहेको जीव हो, प्राकृतिक वातावरणमा बस्नुपर्छ भन्ने लाग्छ । तर हात्तीको मालिकले हात्तीलाई मेरो गाई–भैंसी जस्तै जनावर हो, खान दिएकै छु, पालेकै छु, परेको बेला काम चलाउँछु भनेर सोच्छन् । अरू बेला बाँधेरै बस्ने हो भन्ने फिलिङ धेरैमा छ । त्यही भएर यो कुरा मैले कार्यक्रममा जंगली हात्ती हाम्रो नियन्त्रणमा बसेको मात्रै हो भनेर सम्झाउने गरेको छु ।

हात्तीलाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ भनेको छु । हाम्रा कानुनमा पनि समस्या छ । हात्ती संकटमा रहेको जीव हो भनेपछि निकुञ्जमा, वनमा चर्न दिनुपर्छ भन्ने लाग्छ । केही अघि एकजनाले फोन गरेर निकुञ्जमा हात्तीलाई चर्न लैजान अनुमति मागेका थिए । अहिले हात्तीलाई सामुदायिक जंगलमा मात्र चर्न जान दिइन्छ । अन्यत्रका लागि अनुमति दिनुपर्छ ।

खासमा हात्तीलाई जंगलमा हुँदा १४ देखि १८ घन्टा खाँदै हिंड्नुपर्छ । बाहिर ‘कन्सन्ट्रेड डाइट’ दिएकाले सहज हुने हो । पहिले हात्ती धेरै हुँदा चितवनमा हात्ती महोत्सव पनि हुन्थ्यो । हात्ती महोत्सवमा समस्या भनेको हात्ती केन्द्रमा हुँदैन, मनोरञ्जन केन्द्रमा हुन्छ । पहिले हात्ती पोलो पनि हुन्थ्यो । हात्तीलाई दुःख हुन्छ भनेर टाइगर टप्सले बन्द गर्‍यो ।

हात्ती पोलो नेपालका लागि पायोनियर नै थियो । तर, हात्ती अभियन्ताहरूको विरोधपछि यो रोकिएको छ । हात्ती रेस भनेर दौडाउने गथ्र्यौं, अहिले फुटबल भनेर गर्छन् । त्यसलाई फेरेर अरू काम गर्न सकिन्छ । पर्यटकको ध्यान तान्ने यो एउटा माध्यम हो । तर, हात्तीलाई नै केन्द्रमा राखेर गर्नुपर्छ ।

अहिले त बँधुवा हात्तीको संख्या नै धेरै घटिसक्यो । अहिले भारतबाट ल्याउन पनि गाह्रो छ । भारतले पर्मिट (अनुमति) नै दिंदैन । साइटिस नै हेर्ने हो भने घरमा जन्मिएका हात्ती मात्र यसरी ल्याउन मिल्ने भनिएको छ । तर म त के भन्छु भने कसैले पाल्नै सक्दिनँ भन्यो भने त बिक्री गर्ने वातावरण पनि बनाउनुपर्छ ।

(प्रकृति संरक्षण कोष अन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रका प्रमुख लामिछानेसँग अनलाइनखबरकर्मी शाश्वत पन्तले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?