
२० भदौ, पाल्पा । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पाल्पाले क्षेत्र नं. २ मा सोमप्रसाद पाण्डेको नाम एकल सिफारिस गरेको छ ।
पार्टीको तानसेनमा बसेका जिल्ला सचिवालय बैठकले पाण्डेयलाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका पाण्डेय २०५१ सालदेखि भएका सबै चुनाव यही क्षेत्रबाट उठ्दै आएका छन् ।
२०६४ को चुनावमा पराजित भए पनि अरु सबै चुनाव उनले जितेका पनि छन् । तर यसपटक उनी फरक पार्टी र फरक चुनाव चिह्नबाट चुनाव लड्दै छन् ।
नेकमा एमालेबाट पटक पटक सांसद भएका पाण्डे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एकीकृत समाजवादीमा समाहित भएका थिए ।
पाण्डे एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका सम्धी समेत हुन् । सम्धीको पछि नलागेर अन्तिम अवस्थासम्म पार्टी मिलाउने भन्दै एमालेमै रहेका उनी अन्तिममा अध्यक्ष ओली पार्टी जोगाउने पक्षमा नरहेको भन्दै एकीकृत समाजवादीमा गएका थिए ।
गठबन्धनबाट मिल्ला त टिकट ?
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि सत्ता साझेदार दलहरुबीच केही साताअघिदेखि सिट बाँडफाँटबारे छलफल चलिरहेको छ । दैनिकजसो बैठक भए पनि सहमति भने हुन सकेको छैन् ।
गठबन्धनमै आवद्ध दलले पाल्पा २ बाट आफ्ना उम्मेदवार सिफारिस गरेका छन् । तर गठबन्धका आवद्ध दलका जिल्ला स्तरीय नेताहरु पाल्पा २ एकीकृत समाजवादीकै भागमा पर्नेमा ढुक्क जस्तै छन् । उनीहरु पाल्पा २ मा पाण्डेले नै टिकट पाउने गरी केन्द्रमा सहमति हुने विश्वासमा छन् ।
जिल्लास्थित पाँच दलीय गठबन्धनका अधिकांश नेताहरुले पाण्डेलाई नै स्वीकार गर्नेमा आफूहरु विश्वस्त रहेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे(कमल)ले बताए । गठबन्धन दलको पाल्पाबाट हाल प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सासंद पाण्डे मात्रै हुन् ।
स्थानीय तह निर्वाचनमा गठबन्धन दलको मतपरिणाम हेर्ने हो भने गठबन्धनमा नेपाली कांग्रेस बलियो मानिन्छ ।
समाजवादीबाट अरु क्षेत्रमा पनि सिफारिस
एकीकृत समाजवादीले पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि लेखनाथ पोखरेलको नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खसआर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको पार्टीका प्रचार विभाग प्रमुख पदम गैरेले बताए । यस्तै क्षेत्र नं. १ को समानुपातिकमा लुम्बिनी प्रदेश मन्त्री रहेकी रमा घर्तीको नाम एकल सिफरिस भएको छ ।
समाजवादीको बैठकले प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली पनि टुंगो लगाएर सिफरिस गरेको छ । जस अनुसार क्षेत्र नं. १ (क) बाट प्रत्यक्षमा विनोद श्रेष्ठ र कमल सेन, क्षेत्र नं १ (ख) बाट पदम अर्याल, टोपबहादुर जर्घा र ईश्वरी श्रेष्ठको नाम सिफारिस भएको छ ।
समानुपातिकमा क्षेत्र १ (क) बाट महिलामा तारा कँडेल, दलितमा सर्वजित विश्वकर्मालाई सिफारिस गरिएको हो । क्षेत्र १ (ख) मा महिलाबाट नारायणी खनाललाई सिफारिस गरेको प्रचार विभाग प्रमुख गैरेले बताए । गैरेका अनुसार क्षेत्र २ (क) मा खिमानन्द पाण्डे, मोहनलाल गैरे, वसन्त जीआर, निमनारायण ढुंगाना तथा क्षेत्र २ (ख)मा झलक रायमाझी र कमल रायमाझीलाई उम्मेदवार सिफारिस गरेको छ ।
यस्तै समानुपालिकतर्फ क्षेत्र नं. २ (क) बाट गोदावरी ज्ञवाली तथा क्षेत्र नं. २(ख) बाट बलबहादुर सुनार र दुर्गा भण्डारीलाई सिफारिस गरेको नेकपा एकीकृत समाजवादी पाल्पाले जनाएको छ ।
प्रतिक्रिया 4