+
+
२०१५ को चुनाव- २ :

यस्ताे थियाे कांग्रेसका ‘जन्मजात शत्रु’ भरतशमशेरको घोषणापत्र

सागर चन्द सागर चन्द
२०७९ भदौ २२ गते १०:४५
भरतशमशेर राणा

२२ भदौ, काठमाडौं । राणाशासन ढलेको दुई महिना पनि पुगेको थिएन । प्रधानमन्त्रीको कुर्सीमा मोहनशमशेर र गृहमन्त्री थिए, बीपी कोइराला । शासनसत्ता र जनताको मानसिकतामा राणाशासनको छायाँ अझै कायम थियो । राणाहरूमा आफ्नो रवाफको धङधङी कायमै थियो ।

राणाहरूको यही रवाफको बलमा भरतशमशेर राणाले ‘गोरखा दल’ नामक संगठन जन्माए । मृगेन्द्रशमशेरका छोरा भरतशमशेर ‘ए’ क्लास क्याटागोरीका राणा थिए । कांग्रेस र कांग्रेसीहरूलाई सिध्याउने भन्दै खुलेको गोरखा दलले काठमाडौंलाई त्राहिमाम् बनाएको थियो । भरतशमशेर र गोरखा दल त्यतिखेर कांग्रेसका लागि आतंकको पर्याय भएका थिए । यो संगठन दिनदहाडै काठमाडौंमा खुकुरी नचाएर नाराजुलूस गर्दै हिंड्थ्यो ।

‘गोरखा दल’को नाममा सुरु भएको भरतशमशेरको संगठनले प्रजातन्त्र र कांग्रेसका नेतालाई समाप्त पार्ने गरी हतियार जम्मा गरिरहेको खबर पाएपछि तत्कालीन गृहमन्त्री बीपी कोइरालाले भरतशमशेरलाई पक्राउ गर्ने आदेश दिए ।

कोइराला आफ्नो आत्मकथामा भन्छन्— ‘त्यही बखतमा राणाहरूले गोरखा दल भन्ने निकाले । म गृहमन्त्री थिएँ, म पनि अनुभवहीन मानिस । रिपोर्ट पनि त्यस्तै पार्थे, बुझिन्थ्यो कि आज उडाउँछन् कि भोलि उडाउँछन् हामीलाई ।’

गोरखा दलबारे निरन्तर यस्तै खबर आइरहेपछि कोइरालाले ३० चैत २००७ मा भरतशमशेरलाई पक्राउ गर्न लगाए ।

बिहान पक्राउ परेका भरतशमशेरलाई उनका समर्थकले साँझ हुँदानहुँदै जेल तोडेर बाहिर निकाले । भरतशमशेरका समर्थक कतिसम्म उग्र थिए भने उनीहरू बीपीलाई मार्न भनेर त्रिपुरेश्वरमा बीपी बस्ने घरमा पुगे ।

भरतशमशेरका समर्थक हतियारसहित आफू बसेको ठाउँमा आएपछि बीपीले गोली चलाए । बीपीको गोली लागेर एक जनाको मृत्यु भयो । यो घटनापछि भरतशमशेरलाई जेलमा राखियो । र, गोरखा दलमाथि प्रतिबन्ध लगाइयो ।

बीपी कोइराला

गृहमन्त्री पदबाट राजिनामा दिनु एक दिन अगाडि २६ कात्तिक २००८ मा कोइरालाले भरतशमशेरलाई पनि जेल मुक्त गरे । जेलबाट छुटेपछि कांग्रेससँग प्रतिशोध साध्न भरतशमशेरले गोरखा दललाई नै ‘नेपाल राष्ट्रवादी गोरखा परिषद्’ नाममा परिवर्तन गर्दै राजनीतिक दल बनाए ।

भरतशमशेरको ‘नेपाल राष्ट्रवादी गोरखा परिषद्’ २०१५ सालको पहिलो संसदीय चुनावमा सामेल भयो । आफूलाई जन्मजात कांग्रेस विरोधी करार गरेको यो दलले २०१५ को चुनावी घोषणापत्रमा पनि कांग्रेसको आलोचनामा प्रशस्तै शब्द खर्चेको छ ।

‘नेपालमा पहिलो आम चुनाव हुँदैछ । आज तपाईंहरूले देशका भाग्य निर्मातालाई रोज्नु छ’ भन्दै परिषद्ले चुनावी घोषणापत्रको सुरुवातमै आफू नै देशको सही भाग्य निर्माता भएको दाबी गरेको थियो ।

२०१५ को पहिलो चुनावलाई राष्ट्रवादी तत्व र कांग्रेसी तत्वबीचको द्वन्द्वका रूपमा अर्थ्याउँदै परिषद्ले लेखेको छ— ‘आजको नेपालमा सानातिना स्वार्थले प्रेरित विभिन्न गुट, मण्डल, पार्टी भएतापनि वास्तवमा राष्ट्रवादी तत्व र कांग्रेसी तत्वको बीचको यो द्वन्द्व हो ।’

आफूलाई ‘राष्ट्रवादी तत्व’ दाबी गर्दै ‘कांग्रेसी तत्व’ले ‘अराजकता, भ्रष्टाचार, अराष्ट्रियता, अनाचारको प्रतिनिधित्व गर्ने’ दाबी परिषद्को घोषणापत्रमा गरिएको छ ।

२००९ र २०१४ सालमा हुने भनिएको चुनाव कांग्रेसकै कारणले सरेको भन्दै परिषद्ले घोषणापत्रमा कांग्रेसको आलोचना गरेको थियो । आफूहरू प्रजातान्त्रिक राजतन्त्रमा ‘अटल’ विश्वास गर्ने दाबी गर्दै २०१५ को चुनावमा कांग्रेसले राजतन्त्र भन्दै राजमुकुट विरोधी प्रचार गरेको आरोप पनि लगाएको थियो ।

शासन व्यवस्थालाई दक्ष बनाउने दाबी गर्दै परिषद्ले पहाड र तराईका विभिन्न अञ्चलमा अदालतको व्यवस्था गर्ने वाचा आफ्नो घोषणापत्रमा गरेको थियो । कानुनी राजको सुरुवात गर्ने र कानुनका दृष्टिमा सबै बराबर हुन्छन् भन्दै परिषद्को घोषणापत्रमा लेखिएको छ– ‘पहाड र तराईका विभिन्न अञ्चलमा अदालतको व्यवस्था गरिनेछ । उच्च न्यायालय स्थापित गरेर जनतालाई टाढा जाने दुःख र खर्च बचाउनेछ ।’

तराईवासीका लागि सरकारी सेवाको बाटो बन्द भएकोमा चिन्ता जाहेर गर्दै परिषद्ले सरकारी जागिरमा तराई जस्ता उपेक्षित क्षेत्रका मानिसलाई विशेष प्राथमिकता दिने वाचा गरेको थियो ।

‘तराई क्षेत्रमा जनताका लागि कतिपय सरकारी सेवाहरूको बाटो बन्दैछ । यसप्रकारको व्यवस्था निन्दनीय हो । र, हामी यसलाई अजनतान्त्रिक व्यवस्था भन्ने गर्छौं । सरकारी नोकरीमा उपेक्षित क्षेत्रलाई विशेष अवसर प्रदान गर्नेछ । उपेक्षा कसैको हुँदैन, सबैले समान सुविधाको अवसर पाउनेछन्’— परिषद्ले आफ्नो घोषणापत्रमा लेखेको छ ।

घुसखोरीलाई अक्षम्य अपराध घोषित गर्दै यस्ता कर्मचारीलाई कारबाही गरिने पनि परिषद्ले आफ्नो घोषणापत्रमा लेखेको छ ।

शासनसत्तालाई काठमाडौंकेन्द्रित नबनाई विकेन्द्रित बनाउने योजना पनि परिषद्ले आफ्नो घोषणापत्रमा पेश गरेको थियो । स्थानीय समस्या समाधान गर्न स्थानीयस्तरमै संरचना बनाउने काममा परिषद् सक्रिय हुने घोषणापत्रमा लेखिएको थियो ।

‘सत्ताको बढ्ता केन्द्रीकरणबाट प्रजातन्त्रलाई बल प्राप्त हुँदैन । स्थानीय समस्या हट्न त्यहींका व्यक्तिहरूका संयुक्त प्रयासबाट समाधान होस्, ग्राम पञ्चायत, नगरपालिका र यस्तै स्थानीय संस्थाको विकास पट्टि हामी ध्यान दिनेछौं’ परिषद् घोषणापत्रमा लेख्छ— ‘गोरखा परिषद् सत्ताको विकेन्द्रीकरणमा विश्वास राख्दछ ।’

नेपाल राष्ट्रवादी गोरखा परिषदको चुनाव घोषणापत्र

‘शान्त देश र सुखी जीवन’लाई आफ्नो लक्ष्य घोषणा गर्दै आम्दानीको असमानता हटाउँदै जीवनस्तरमा असाधारण रूपले सुधार गर्ने वाचा गरेको गोरखा परिषद्को घोषणापत्रमा लेखिएको छ— ‘जनताको वर्तमान जीवनस्तर दोब्बर बढी तुल्याउनेछ ।’

‘शोषणरहित भूमि व्यवस्था’लाई आफ्नो सिद्धान्त करार गर्दै परिषद्ले प्राकृतिक सम्पत्तिलाई जनताको सम्पत्ति बनाउने वाचा गरिएको छ ।

सिंचाइको व्यापक व्यवस्था गर्दै ‘अकाल हटाउने र जनतामा खुसियाली ल्याउने’ वाचा गरेको छ ।

अनावश्यक कर्जाबाट जनतालाई मुक्ति दिलाउँदै ‘नयाँ गाउँ, नयाँ समाजको निर्माण गर्ने’ वाचा पनि गोरखा परिषद्को घोषणापत्रमा छ ।

देशभरका प्रत्येक चुनाव क्षेत्रमा हाईस्कुल खोल्ने, २/३ हजार नयाँ स्कुल, कलेज र पाठशाला खोल्ने, प्राथमिक शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने, देशभर १०० वटा डिस्पेन्सरी र सबै सुविधायुक्त अस्पताल बनाउने योजना पनि परिषद्को घोषणापत्रमा छ । मूलबाटोमा पर्ने खोला, नदीमा ठूला पुल बनाउने, देशभर २ हजार पुल बनाउने वाचा परिषद्ले घोषणापत्रमा गरेको छ ।

उद्योगधन्दाको विकास गर्ने, खानीको विकास गर्ने बुँदा पनि परिषदको घोषणापत्रमा पाइन्छन् ।

धर्मको मामिलामा आफ्नो कुनै हस्तक्षेप नहुने भन्दै गोरखा परिषद् लेख्छ— ‘धर्ममा हस्तक्षेप गोरखा परिषद्ले कहिल्यै गर्ने छैन ।’

विदेश नीतिमा गोरखा परिषद्ले एक बुँदा मात्र पेश गरेको छ । ‘विश्वशान्ति अन्तर्राष्ट्रिय मैत्री स्थापना गर्ने गोरखा परिषद्को अन्तर्राष्ट्रिय नीति हुनेछ’ भन्दै परिषद्ले आफ्नो विदेशनीति एक बुँदामा सीमित पारेको छ ।

घोषणापत्रको अन्त्यमा ‘अपील’ शीर्षकमा गोरखा परिषद्ले आफूले चुनाव जितेमा मात्र घोषणापत्रमा लेखेका कुरा पूरा गर्न सक्ने भन्दै आफूलाई सरकार बनाउन पुग्ने गरी भोट दिन अनुरोध गरेको छ । परिषद्ले आफूलाई भोट हाल्न गरेको अनुरोधसँगै कांग्रेसलाई भोट नहाल्न पनि अनुरोध गरेको छ ।

‘जनताले यो कुरा सम्झिनुपर्दछ कि कांग्रेसी तत्वलाई भोट दिनु कैयौं पटक नालायक सावित भइसकेको ध्वंसात्मक तत्वलाई भोट दिनु हो’ परिषद लेख्छ— ‘गोरखा परिषद्लाई भोट दिनु जनताको सरकार कायम गर्नु हो । भ्रष्टाचार, गरिबी निर्मूल पार्नु हो र सबैलाई सुखी, सम्पन्न बनाउनका निम्ति भोट दिनु हो ।’

‘झुपडी’ चुनाव चिह्न लिएर २०१५ को चुनावी मैदानमा होमिएको गोरखा परिषद्ले १९ सिटमा चुनाव जित्यो ।

१०९ सिटमध्ये ८६ सिटमा मात्र आफ्ना उम्मेदवार उठाएको परिषद्ले बारा जिल्लाको मध्य उत्तर क्षेत्रमा भएको उप–निर्वाचनमा थप एक सिट जितेर संसदमा २० सांसद पुर्‍यायो ।

परिषद्का अध्यक्ष भरतशमशेरले ८ हजार ८८० मत ल्याएर निर्वाचन क्षेत्र नम्बर १०७ धादिङ उत्तरबाट चुनाव जिते ।

२० सिटसहित नेपालको पहिलो संसदमा प्रवेश गरेको गोरखा परिषद् नेपाली प्रजातान्त्रिक र संसदीय इतिहासको पहिलो प्रमुख प्रतिपक्षी दल भयो ।

‘नेपालको संसदीय व्यवस्थाको इतिहासमा नेपाल राष्ट्रवादी गोरखा दल पहिलो विपक्षी दलको रूपमा स्थापित भएको थियो भने भरतशमशेर पहिलो विपक्षी नेताको रूपमा स्थापित भए’ इतिहासकार डा. राजेश गौतम आफ्नो किताब ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र विद्रोही भरतशमशेर’मा लेख्छन् ।

तर, भरतशमशेर ९ माघ २०१६ मा मात्र आफ्नो पार्टीको संसदीय दलको नेता भएका थिए । त्यस अगाडि उनका बुवा मृगेन्द्रशमशेर गोरखा परिषद्को संसदीय दलको नेता थिए ।

४ असार २०१७ मा भरतशमशेरलाई संसदले औपचारिक रूपमा प्रमुख प्रतिपक्षी दलको नेता बनायो । भरतशमशेरलाई विरोधी दलको नेता बनाएको भन्दै सबैले विरोध गरे ।

भरतशमशेर विरोधी दलको नेता छानिएको ६ महिनामै महेन्द्रले संसद विघटन गरेर पञ्चायती व्यवस्था लागू गरे ।

तत्कालीन राजा महेन्द्र

महेन्द्रले ‘कु’ गरेकै दिन १ पुसमा भरतशमशेरलाई पनि पक्राउ गरियो । ‘जेल त पटक–पटक पुगेकै हुँ । त्यतिखेर राजबन्दी रहें, यसपटक स्वेच्छाचारी राजाको कैदी । खानपिनको सुविधा अतुल्य, तर मानसिक उत्पीडन असह्य’ आफू पक्राउ परेको समय वर्णन गर्दै भरतशमशेरले डा. गौतमसँगको अन्तर्वार्तामा भनेका छन्– ‘दरबारको नजरमा प्रमुख विपक्षी नेता भएर अविश्वासको प्रस्तावद्वारा प्रधानमन्त्रीलाई पदच्युत गर्ने श्री ५ को परिकल्पना विमुख गराउने प्रमुख खलनायक ।’

जेल परेपछि भरतशमशेरले राजाको कदमको स्वागतका लागि आफू तयार भएको भन्दै दरबारमा सन्देश पठाए । ‘सरकार मेरो राजनीतिको यौवन अवस्था नै नेपाली कांग्रेसको विरोधमा बित्यो । म नेपाली कांग्रेसको जन्मजात शत्रु हुँ । सरकार मबाट भएका भूलहरू माफी पाऊँ । म सरकार र राष्ट्रको बफादार सेवक भएर बस्नेछु…’ भनेर भरतशमशेरले आफूलाई थुनामुक्त गर्न माग गर्दै दरबारमा विन्तीपत्र चढाए ।

पञ्चायती व्यवस्थाको समर्थन गर्ने र कांग्रेसको विरोध गर्ने विन्तीपत्र पठाएको करिब एक महिनापछि १५ चैत २०१७ मा भरतशमशेरलाई महेन्द्रले थुनामुक्त गरे ।

थुनामुक्त भएको करिब ७ महिनापछि ३ असोज २०१८ मा भरतशमशेर भारत गए । भारत पुगेपछि उनी एकाएक नेपाली कांग्रेसको पक्षमा लागे । नेपालमा रहँदा राजाको कदमको स्वागत गरेका उनले भारत पुगेपछि भने राजाको कदमको विरोध गर्दै नेपाली कांग्रेसले सुरु गरेको सशस्त्र विद्रोहमा आफ्नो समर्थन रहेको विज्ञप्ति निकाले । कांग्रेसको नेतृत्वमा राजाको कदमको विरोधमा आफ्नो पार्टी पनि लाग्ने निर्णय गरे, भरतशमशेरले ।

कांग्रेसको नेतृत्वमा राजाको कदमको विरोध गर्ने निर्णय गरेको दुई महिनापछि १४ पुस २०१८ मा भरतशमशेरले ‘नेपाल राष्ट्रवादी गोरखा परिषद्’ नेपाली कांग्रेसमा विलय गराए । आफूलाई जन्मजात कांग्रेसको शत्रु ठान्ने भरतशमशेरले आफ्नो पार्टी कांग्रेसमा विलय गराउँदा पनि गोरखा परिषद् कांग्रेसको विरोधी हो भन्न छुटाएनन् ।

‘हामीले नेपालमा संसदीय प्रजातन्त्रको पुनर्स्थापना निम्ति आफ्नो पार्टीलाई नेपाली कांग्रेसमा विलय गरी जनरल सुवर्णशमशेरको सबल नेतृत्वमा रहेर काम गर्ने निर्णय गरेका छौं’— भरतशमशेरले आफ्नो पार्टी कांग्रेसमा विलय गराएपछि भनेका थिए ।

तर, २३ कात्तिक २०१९ मा कांग्रेसले सशस्त्र विद्रोहको निर्णय फिर्ता गरेर सुवर्णशमशेरले राजाको कदमको स्वागत गरेपछि भरतशमशेर भारतमा बसेर एक्लै सशस्त्र संघर्ष चलाउने अभियानमा लागे । तर, भारतले पनि उनीमाथि प्रतिबन्ध लगायो । भारतको कलकत्ता छाडेर बाहिर जान प्रतिबन्ध लगाएपछि भरतशमशेर कलकत्तामा कैदी जस्तै भएर बसे ।

जेलबाट छुटेपछि २०३४ मा मेलमिलापको नीति लिएर बी.पी नेपाल फर्किए । तर, भरतशमशेर भने फर्किएनन् । २०३६ को जनमतसंग्रहमा नेपाल फर्किएका उनी त्यसपछि भने राजनीतिमा खास सक्रिय भएनन् । कांग्रेसको विरोध गरेर राजनीतिमा स्थापित भएका भरतशमशेरले आफ्नो पार्टी नै कांग्रेसमा विलय गराएर आफ्नो राजनीतिक जीवनको अन्त्य गरे ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?