+
+

विद्यार्थीको स्तर स्कुलबाटै नसुधार्दा समस्या : महाश्रम शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १९:४२

२२ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको गतिविधिलाई हेरेर मूल्याङ्कन गर्न सकिने स्थितिमा अहिल्यै नपुगेको बताएका छन् ।

बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको ‘राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित परीक्षा सञ्चालन तथा मूल्याङ्कन विधि समीक्षा’ कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् ।

उनले ‘अहिले हामीले पाठ्यक्रममा आधारित रहेर मूल्याङ्कन गर्छौं । पाठ्यक्रममा भन्दा बाहिर अर्थात बच्चाको गतिविधिलाई हेरेर मूल्याङ्कन गर्न सकिने अवस्थामा पुगेका छैनौं । त्यसको लागि विद्यालय तहबाटै मिहिनेत गर्नुपर्छ ।’ अध्यक्ष शर्माले विद्यालय तहबाटै मिहिनेत गर्न पर्ने भएकाले मूल्याङ्कन प्रणाली मात्रै सुधार गरेर नहुने जिकिर गरे ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनशका डीन प्रा.डा.बालचन्द्र लुइटेलले विद्यालय शिक्षा गुणस्तर सुधार्न कक्षाकोठाको सिकाइ प्रभावकारी हुनुपर्ने र शिक्षक सिर्जनात्मक हुनुपर्नेमा जोड दिए । ‘शिक्षकले पाठ्यक्रममा आधारित भएर मात्रै नभई पढ्ने र खोज्ने गर्नु पर्‍यो । शैक्षिक गुणस्तर उकास्न शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । मिहिनेत गर्न नसक्ने शिक्षकले पेशा परिवर्तन गरे हुन्छ ।’ उनले भने ।

यस्तै प्याब्सनका अध्यक्ष डीके ढुंगानाले विद्यालय शिक्षाले विश्वविद्यालयका शिक्षालाई गुणस्तरमा प्रभावित पार्ने भएकाले यसबारे सामूहिक बहसको थालनी गरेको बताए ।

कार्यक्रममा सहभागीहरुले बोर्डको मूल्याङ्कन प्रणाली सुधार गर्नुपर्ने कुरा राखेका थिए । बोर्डले सार्वजनिक गरेको यो वर्षको नतिजामा अंग्रेजी, गणित, सामाजिक अध्ययनमा बढी एनजी ल्याएको पाइएको छ । त्यसैले अरु विषयमा राम्रो अंक ल्याउने र एउटा विषयमा फेल गरेको अवस्थामा विद्यालय व्यवस्थापन तथा विषय शिक्षक पनि जिम्मेवार बन्नुपर्ने सहभागीहरुले उठाएका थिए ।

विद्यालय शिक्षामा निरन्तर मूल्यांकन पद्धति लागू भएपछि कक्षोन्नति गर्ने गरिएको छ । त्यसकारण नेपाली भाषा, व्याकरणमा मात्र नभई सामाजिक शिक्षा, गणित, अंग्रेजी, विज्ञानलगायत विषयमा विद्यार्थीको बुझाइ र ज्ञानको स्तर खस्किएको सहभागी विज्ञहरुले बताए ।

शिक्षाविज्ञद्वय ज्ञानेन्द्र वन र हरि मुस्यानले ‘परीक्षा सञ्चालन तथा मूल्यांकन विधि समीक्षा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुले कार्यपत्रमा परम्परागत शिक्षा पद्धतिलाई बढी प्राथमिकता दिइएकाले सिर्जनात्मक हुन नसकेको औल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?