+
+

फरैना : उत्पीडितको बुलन्द आवाज

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते ६:००

दिनहरू बित्दै गइरहेका थिए । समयको सिर्के सिरेटो सबैको शिर छुँदै, भाग्दै गरिरहेथ्यो । घाम, जून, मैदान र नदीहरू आफ्नै लयमा बाँचेका थिए । देशमा चेतनाको लहर क्रमशः फैलँदै थियो । देशमा विवेकको बत्ती बल्नु भनेको झिङ्नी गाउँ पनि धेरथोर उज्यालो हुनु थियो ।

यसै सिलसिलामा कमैया मुक्ति आन्दोलनपछि गठित आयोगले आफ्नो प्रतिवेदन पेस गर्यो । उक्त आयोगले सरकारी नीति निर्देशनबमोजिम व्यावहारिक रूपमा हालसम्म कार्यान्वयन हुन नसकेको भन्दै ती पीडितहरूकै पक्षको प्रतिवेदन जनसमक्ष ल्यायो यद्यपि जमिनदारहरूको तीव्र दबावले गर्दा त्यो पनि यथासमय कार्यान्वयनमा आउन भने सकेन ।

त्यसपछि शोषित वर्गबाट लगभग आन्दोलन हुने निश्चित भयो । पीडित थारू समुदायको बृहत् भेला भयो । जसमा आफ्ना माग पूरा नभएसम्म नारा र जुलुससहित आन्दोलन गर्ने निर्णय भयो । जुलुसको नेतृत्व गर्ने जिम्मा फरैनालाई दिइयो । फरैना मन, वचन र कर्मले प्रतिबद्ध भई आन्दोलनमा होमिइन् ।

फरैनामाथि ठूलो जिम्मेवारी र चुनौती थपियो । उनले सबैसँग सहमति लिँदै आफ्नो जिम्मेवारी पूरा गर्ने आँट गरिन् । के कसरी आन्दोलनलाई सफल पार्ने ? सरकारसमक्ष केके कुराको माग गर्दै दबाव दिने ? जमिनदार तथा समाजका अन्य टाठाबाठाहरूले अवरोध खडा गर्न खोजेमा त्यसको प्रतिकार कसरी गर्ने ? यसका लागि कसरी धैर्यशील र लगनशील रहने ? यिनै महत्त्वपूर्ण विषयहरूमा विशेष ध्यान दिँदै आफ्नो हक तथा हितको सुनिश्चित गर्नेतर्फ सबैलाई सचेत एवम् सतर्क गराउँदै आफ्नो भूमिकालाई सशक्त बनाउन फरैना कम्मर कसेर लागिन् ।

जसले साँचो दिलले कुरा चिताउँछ, उसको उद्देश्य लगभग पूरा भएरै छोड्छ । अन्तर्व्रह्म जागेपछि मानिसमा अचानक आत्मविश्वासको अभिवृद्धि हुन्छ । आत्मविश्वासले अगाडि बढ्न थप बल प्रदान गर्दछ । आन्दोलनको दिन नजिकिँदै गर्दा सर्वत्र यसबारे हल्ला फैलियो । अब भने जमिनदारहरूलाई चिन्ताले सताउन थाल्यो । उनीहरूले सकभर यो आन्दोलन नभए हुन्थ्यो भनेर चल्मलाउने कोसिस गरे । बीचमा घुसपैठ गरेर चलखेल गर्न पनि खोजे किनकि यदि यो आन्दोलन भयो भने उनीहरूको वर्गीय स्वार्थ विपरीत हुन्छ भन्ने कुरा विदितै थियो । त्यसैले सकेसम्म यो आन्दोलनलाई तुहाउने पक्षमा जमिनदारहरू थिए ।

भोलि आफूहरूले थारू समुदायलाई कजाउन नपाइने र उनीहरूलाई मोहीयानी हक प्राप्त भएमा आफ्नो जग्गाजमिन काटेर दिनुपर्ने, कमैया, कमलरी राख्न नपाउँदा आफूहरूलाई कामको दुःख हुने कुराले जमिनदारहरू भयभीत थिए । अतः कुनै हालतमा पनि यो आन्दोलनलाई तुहाउनुपर्छ भन्ने कुदृष्टि उनीहरूमा पलायो ।

चर्चित आन्दोलनको सफलता लगभग सुनिश्चित देखिएकाले अहिले नै यस्तो ठूलो आन्दोलन गर्न उचित नभएको भन्दै त्यसो नगर्न जमिनदारहरूले आग्रह गरे । यसका साथै डर, धम्की देखाउनसमेत लागे । कतिपयले त दमित थारूहरूलाई फकाई फुल्याई गर्नसमेत पछि परेनन् यद्यपि कमैयाहरूको यो आन्दोलन कदापि रोकिने छाँट भने देखिएन ।

अतः पीडित आन्दोलनकारीहरूको भूमिका अझ सशक्त बन्दै गयो । सामन्तवादी जमिनदारहरूले जुनसुकै लोभलालच देखाए पनि आन्दोलन रोकिने अवस्थामा थिएन । उनीहरूले कल्पना गरेको भन्दा बलियो ढङ्गबाट आन्दोलन धेरै अगाडि बढिसकेको थियो ।

आन्दोलनमा होमिएका थारू समुदायहरू कुनै पनि बहानामा र कसैको दबावमा पछि फर्किन सक्ने अवस्था थिएन । उनीहरू पछाडि फर्किनु भनेको आफ्नो जीवन र आउँदो पुस्ताको भविष्य धेरै अन्धकारमा रुमलिनु पनि हो । यो तथ्यलाई उनीहरूले हृदयङ्गम गरिरहे ।

थारू समुदायको कार्ययोजनाअनुरूप आन्दोलन अघि बढ्यो । ठाउँ ठाउँबाट जुलुसहरू निस्किए । यत्रतत्र नारा घन्किन थाले । झण्डा, ब्यानर र प्लेकार्डहरू हात हातमा थिए । निकै भव्य र शान्त जुलुस गाउँगाउँ बस्तीबस्ती हुँदै शहर पस्यो । अरू शुभचिन्तक र सहयोगीहरूलाई समेत समेट्दै जुलुस अगाडि बढ्यो । साथमा विभिन्न पत्रकारहरूसमेत थिए । जुलुसमा कसैले फोटा खिच्दै र कसैले आन्दोलनकारीहरूलाई यसको औचित्यबारे सोध्दै गर्न थाले ।

जुलसमा शान्ति सुरक्षाका लागि खटिएका प्रहरीहरूले पहरा दिइरहेका थिए । शान्तिपूर्ण जुलुस सार्वजनिक स्थानमा पुगी आमसभामा परिणत भयो । आन्दोलनकारी धेरै व्यक्तित्वहरूले यो आन्दोलन गर्नुको बाध्यता र औचित्यबारे स्पष्ट पारे ।

त्यो समयले म र मजस्ता धेरै छोरीहरूको नाम लेखेर राख्न दिएको थिएन । राम्रा नाम लेखे पनि गिद्धेदृष्टि पर्ने कस्तो समाज ? हाम्रा नामहरू जेजे लेखिएका छन्, ती नामका वास्तविक अर्थ पनि खुल्न सकेका छैनन् ।

यसैक्रममा जब यस आन्दोलनकी नायिका फरैनाको बोल्ने पालो आयो, तब सबैका आँखा र कान उनीतिरै तानिए । मन्तव्यको सिलसिलामा फरैनाले निकै सारगर्भित, मर्मस्पर्शी एवं प्रभावकारी शब्दहरू प्रकट गरिन् । जुन कुरा बडो शिष्ट र मर्यादित तवरले मीठो बोलीद्वारा प्रकट भएको थियो ।

मन्तव्यको क्रममा फरैनाले सरकारी नीतिबमोजिम चाँडै आफ्ना अधिकार कार्यान्वयनका लागि सरकारसँग मर्यादित रूपमा आग्रह गर्दै बोलिन् ः आदरणीय उपस्थित आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू ! समाजका सम्पूर्ण वर्गले हाम्रो आन्दोलन सफल पार्न प्रत्यक्ष वा परोक्ष रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ । हाम्रो आजको आवश्यकता तथा यस शान्तिपूर्ण आन्दोलनको मर्म र भावनालाई बुझी सार्वजनिक रूपमा यो खुला कार्यक्रममा कुनै रोकावट नगरी हामीलाई अप्रत्यक्ष सहयोग पुर्याएकोमा सरकार, स्थानीय प्रशासन, सुरक्षाकर्मी, मानव अधिकारवादी एवम् सर्वसाधारण सबैमा हामी सम्पूर्ण आन्दोलनरत पक्षबाट र म फरैना चौधरीकोे व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन गर्दछु । फरैनाले यति सम्बोधन गर्दा उपस्थित जनमानसबाट पटटट ताली बज्यो ।

कैयन् बुढाबुढी कमैयाहरूको आँखाका डिल हर्षको आँसुले भरियो । उनको आवाजमा सबैले मौन समर्थन जनाइरहेका थिए ।

वास्तवमा हाम्रो यो आन्दोलन कुनै राष्ट्र, राष्ट्रियता, जातजाति, वर्ग, समुदायका विरुद्धमा पक्कै होइन भन्ने कुरा सबैमा जानकारी गराउन चाहन्छु । यो त वर्षौंदेखिको पछौटेपन, विकृति, विसङ्गति एवम् सामाजिक शोषण,उत्पीडन, अन्याय, अत्याचारका विरुद्धमा गरिएको आन्दोलन हो । हाम्रो आवश्यकता अनि लामो प्रतीक्षा र धेरै वर्षौँदेखिको धैर्यपछि आज हामी एउटा सामाजिक खुड्किलामा पाइला टेक्न सफल भएका छौँ । आज यसरी हामीले सार्वजनिक तवरले आफ्ना पीडायुक्त आवाजहरू सुनाउन पाएका छौँ । यसको श्रेय हाम्रो समाजका धैर्यशील एवम् कर्तव्यनिष्ठ सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूलाई नै जान्छ । यो सफलता कोही एक दुईजना व्यक्तिहरूको कारणले मात्रै प्राप्त हुन सकेको होइन । जसका लागि यहाँहरू सबैको ठूलो देन छ त्यसैले यहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ । यो हामी सबैको साझा खुसी हो किनकि हामीमा पनि एकता र धीरता रहेछ भन्ने कुरा आजको यो विशाल उपस्थितिले उजागर गरिदिएको छ ।

त्यसो त यसलाई यो अवस्थासम्म आउन र सबैलाई चेतना दिलाउन एवम् हामीलाई एकताबद्ध हुन साहस दिलाउने सम्पूर्ण सञ्चारमाध्यमहरूको पनि ठूलो योगदान रहेको छ । यहाँहरूको सहयोगबिना हामी एकताबद्ध हुन सक्ने थिएनौँ होला । त्यसका लागि सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मी साथीहरूलाई हृदयदेखि नै धन्यवाद छ । हामी पनि यही देशका नागरिक हौं । देशका नागरिक भएर पनि स्वतन्त्र रूपमा बाँच्न पाएका छैनौं । हामीले हाम्रो संविधानप्रदत्त धेरै स्वतन्त्रताका हकहरू आजसम्म पनि व्यावहारिक तवरले प्राप्त गर्न सकेनौं । जुन कुरा उल्लेख भयो, त्यो आजसम्म केवल कागजमा मात्रै सीमित रह्यो त्यसैले त्यो जमिनको उपभोगको अधिकार, स्वतन्त्रता र समानताको अधिकार प्राप्त गरी उपभोग गर्नका लागि हामी यसरी एकजुट भएका हौं ।

हामी त केवल आफ्नो स्वतन्त्रता र अधिकार प्राप्तिका लागि एकताबद्ध भएका छौं । पुस्तौंदेखि हामी अर्काको घरमा दासदासी भएर बस्न बाध्य पारियौँ । समाजमा विद्यमान शोषण, दमन, उत्पीडन, अन्याय र अत्याचारको पराकाष्ठालाई सहन गर्दै आयौं । अब हामी कदापि चुप लागेर बस्ने अवस्थामा छैनौं । यो आन्दोलन हाम्रो बाध्यता हो ।

सरकारबाट घोषित नीति नियमको यथाशीघ्र कार्यान्वयन होस् भन्ने हाम्रो साझा माग हो । कागजमा लेखिनु र व्यवहारमा कार्यान्वयन हुनु फरक कुरा हो । अब हामी कदापि पछि हट्नेवाला छैनौं । हामी पहिलेका जस्ता निरीह र कमजोर पनि छैनौं । यदि हामीलाई अझै पनि कसैले शोषण, दमन गर्ने दुस्साहस गर्न खोज्छ भने हामी अरिङ्गाल भएर खनिने छौं । हामी आगो भएर सल्किने छौं । आँधी भएर अगाडि बढ्ने छौं । हामी हुरी भएर उडाउने छौं । यो आवाज आज फरैनाको मात्रै होइन, परम्परादेखि अन्याय र अत्याचार सहँदै आएका हजारौं उत्पीडितहरूको पीडारूपी आवाज हो त्यसैले सरकारसँग हाम्रो अनुरोध यो छ कि हाम्रो मुलुकको संविधान, ऐन, नियम कानुनबमोजिम व्यावहारिक रूपमा हक, अधिकार प्राप्त होस् । समाजका सबै बुद्धिजीवी वर्ग, भद्र भलादमी, सञ्चारकर्मी एवम् आम नागरिक दाजुभाइ, दिदीबहिनीहरूमा आजको यो साथ, एवं सदाशयताका लागि धन्यवाद दिँदै र अबका दिनमा यहाँहरूको रचनात्मक सहयोग र सल्लाहको लागि समेत हार्दिक अनुरोध गर्दै आफ्नो भनाइ यही टुङ्ग्याउँछु । धन्यवाद !

उपस्थित सबै जनाबाट पुनः पटटट ताली बज्यो । फरैनालाई सबैको आवाज समेटिएको मीठो बोलीको सम्बोधन भनेर धेरैले बधाई तथा शुभकामना दिए । फरैनाले सायद सन्तुष्टिको लामो सास फेरिन् । सबैसँगको कुराकानीमा पनि उनले अझै अगाडि बढ्न थप प्रेरित र प्रफुल्लित हुँदै शुभेच्छुक सबैमा आभारसमेत प्रकट गरिन् । जसको कारण फरैनाको नेतृत्व एकदमै प्रभावकारी बन्दै गयो ।

यो औपचारिक समारोहपछि धेरै पत्रकारहरूले फरैनासँग अन्तर्वार्ता लिए । उनले पनि निर्धक्कसँग जवाफ दिइन् । पत्रकारले सोधे, “तपाईंहरूको आन्दोलनको वीज कहाँबाट सुरु भयो ?”

फरैनाले भनिन्, “यसको सुरुवात हाम्रै बस्तीबाट भयो । हामीबाटै भयो । हाम्रा कैयौं पुस्ता अरूको दासदासी भएर बाँचे । अझै हामीले मुख खोलेनौं भने हाम्रा सन्ततिहरूको पनि उही दुर्दशा हुनेछ त्यसैले यो प्रयासको सुरुवात हामीले आफैंभित्रबाट गर्यौं ।”

पत्रकारले फेरि सोधे, “तपाईंहरूले यो शृङ्खलाबद्ध आन्दोलन भन्नुभएको छ । यो कहिलेसम्म लम्बिन्छ ?” फरैनाले भनिन्, “जबसम्म हाम्रा मागहरू न्यायोचित ढङ्गबाट सम्बोधन गरिँदैन, तबसम्म यो शृङ्खला जारी रहन्छ ।”

+++

फरैनालाई जुन जुन कामको जिम्मेवारी दिइयो, ती सबै समस्याहरू धमाधम समाधान हुन थाले । जहाँ पनि बोल्न सक्ने, चल्न सक्ने र कुनै पनि विषयवस्तुहरूमा निर्णायक भूमिका खेल्न सक्ने अपार क्षमता उनमा थियो । उनको क्षमताकै कारण धेरै मानिसले उनलाई नेतृत्वका लागि अघि सारेका थिए । फरैनाले धेरै कार्यक्रमहरूमा बोल्ने अवसर पाइन् । आफ्ना विचार र दृष्टिकोण स्पष्टसँग व्यक्त गर्दै गइन् । यत्रतत्र उनको प्रशंसा हुन थाल्यो । गाउँ समाजमा पनि उनको भूमिका अत्यन्तै प्रभावकारी मानियो ।

त्यसो त उनको व्यक्तित्वको विस्तार जिल्लास्तरमा मात्रै होइन, केन्द्रीयस्तरसम्म हुन थाल्यो । अवसर मिले उनले जुनसुकै भूमिकामा पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्छिन् भन्ने कुरामा धेरै मानिस विश्वस्त हुन थाले । यसैको परिणामस्वरूप फरैनालाई राष्ट्रियस्तरमै पीडित कमैया मुक्ति मोर्चाको अध्यक्षताका लागि सबैबाट अनुरोध आयो । त्यो अनुरोधलाई उनले नकार्न सकिनन् ।

उनको काँधमा विशेष जिम्मेवारी थपियो । एउटा कुरामा भने फरैना ढुक्क थिइन् । त्यो के भने, कुनै पनि कठिन कामलाई यदि सरल ठान्ने हो भने त्यो सहज रूपमा सम्पन्न गर्न सकिन्छ । त्यही सरल कामलाई कठिन ठान्ने हो भने त्यो असहज हुन सक्छ । यो उनको सकारात्मक सोचको उपलब्धि थियो । यस्तै सकारात्मक सोचले अघि बढेमा हरेक कामहरू सजिलै समाधान गर्न सकिन्छ भन्ने कुरामा उनी दृढ थिइन् । गाउँघरमै सीमित रहेकी फरैना अब भने जिल्ला तथा केन्द्रीयस्तरमै नेता फरैना चौधरीको नामले चर्चित बन्दै जान थालिन् ।

फरैनाका बुवा रूपलालले विद्यालयमा पहिलोपटक उनलाई भर्ना गर्दा फरैना लेखाइदिएका थिए । नाम लेख्ने शिक्षकले सोधेका थिए ‘फरैना भनेको के हो ? यो फरैनाको अर्थ थाहा छ ?’ तर, रूपलालले यसको अर्थ यही हो भन्न सकेका थिएनन् । ‘थारू समुदायमा यस्तै–यस्तै नाम राख्ने प्रचलन भएकोले यो नाम राखिदिएको हो’ भन्ने विचार उनको मनमा आएको थियो ।

बुबाले त्यतिबेला शिक्षकसँग गरेको त्यो कुरा, ती संवाद अहिले आएर फरैनाको मस्तिष्कमा गम्भीर प्रश्न बनेर उभियो । ‘म फरैना हुँ । फरैना को हो ?’ मेरो नाम किन फरैना राखियो ? म जन्मिएको समाज र समाजमा अन्य सबै जातजातिका छोरीहरूका कति सुन्दर नाम छन् । ती नामहरू जे छन्, तिनका आफ्नै महत्त्वपूर्ण अर्थ पनि सँगै जोडिएका छन् । हुन पनि त्यो समयले म र मजस्ता धेरै छोरीहरूको नाम लेखेर राख्न दिएको थिएन । राम्रा नाम लेखे पनि गिद्धेदृष्टि पर्ने कस्तो समाज ? हाम्रा नामहरू जेजे लेखिएका छन्, ती नामका वास्तविक अर्थ पनि खुल्न सकेका छैनन् । अर्थपूर्ण नाम पनि लेख्न नदिने यो समाजले हामीलाई कति चरमशोषण गरेको रहेछ भन्ने कुरा पनि फरैनाले बिस्तारै बुझ्न थालिन् ।

(गायक तथा संगीतकार सन्तोष श्रेष्ठको पहिलो उपन्यास ‘फरैना’को एक अंश । यो उपन्यास शुक्रबार पर्यटन बोर्डको हलमा सार्वजनिक गरिएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?