+
+

इन्द्रजात्रामा २५ शहरका विदेशी पाहुना बोलाउँदा दुई शहरका मात्रै आए

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १३:५३
फाइल तस्वीर

२४ भदौ, काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन अहिलेसम्म दुई शहरका विदेशी पाहुना मात्रै नेपाल आइपुगेका छन् ।

महानगरका अनुसार भगिनी सम्बन्ध भएका अमेरिकाको फेडरिकबर्ग नगर र माल्दिभ्सको राजधानी माले नगरका प्रतिनिधि काठमाडौं आइपुगेका हुन् । भुटानको राजधानी थिम्पुबाट प्रतिनिधि आउने पक्का भएता पनि प्राविधिक कारणले ढिलाइ भएको हुनसक्ने महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराईले जानकारी दिए ।

महानगरका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रालाई विश्वस्तरीय बनाउने भन्दै अन्तर्राष्ट्रय स्तरमा भगिनीसम्बन्ध भएका १८ वटा नगर र दक्षिण एशियाली मुलुक (सार्क राष्ट्र) का ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरका प्रमुखहरुलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा गरेका थिए ।

चीनसहित केही देशमा कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय आवतजावत नै बन्द गरेकोले पाहुना आउन नसकेको भट्टराईले भनाइ छ ।

‘धेरैवटा देशबाट कोभिडका कारणले पाहुनाहरु आउन नसक्ने जानकारी प्राप्त भएको छ । केही देशहरुबाट आन्तरिक कारणले पनि आउन नसक्ने जानकारी आएको छ । बेलुकासम्म थप केही पाहुन आउन सक्छन्’ भट्टराईले भने ।

यस्तै ५ महानगरपालिका र देशभित्रका आन्तरिक भगिनीसम्बन्ध भएका डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, वर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाका प्रतिनिधि भने इन्द्रजात्रामा सहभागी हुन काठमाडौं आइसकेका छन् ।

काठमाडौं महानगरका अनुसार चीनको सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा नगरसँग भगिनी सम्बन्ध कायम छ भने संयुक्त राज्य अमेरिकाका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर गरी ४ वटा नगरसँग भगिनी सम्बन्ध छ । यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, मान्मारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?