+
+

सौखको संसार : लाखौंको कुकुर पाल्छन् नेपाली पनि

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ भदौ २६ गते १६:२५

काठमाडौं । त्यसो त मान्छे र कुकुरको नाता अहिलेको होइन, ढुंगेयुगदेखि नै यी दुई प्राणीबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । जंगल चहार्दै हिंड्ने, ओडारमा बस्ने मान्छेले कुकुरलाई आफ्नो साथी बनाए । वन्यजन्तुको सिकार गर्नदेखि मान्छेको सुरक्षा गर्नसम्म कुकुरले अटुट साथ दिंदै आयो । त्यसैले मानव समुदायमा प्रचलित धारणा छ, कुकुर जस्तो बफादार अरु साथी हुँदैन ।

बफादारीको कथासँगै कुकुरलाई मान्छेले कहिले वैज्ञानिक अनुसन्धानका लागि प्रयोग गरे त कहिले अपराध अनुसन्धानका लागि । यतिबेला भने सुरक्षासँगै एक्लोपनबाट मुक्त हुन मान्छेले कुकुरको साथ खोजिरहेका छन् । त्यसैले त मान्छेले मन खोलेर कुकुरमा खर्च गर्न थालेका छन् र थरीथरी प्रजातिका कुकुरलाई घरमा भित्र्याइरहेका छन् ।

अहिले नेपालमा जापानिज स्पिज, जर्मन सेफर्ड, गोल्डेन रेट्रिभर, पग, ल्याब्राडोर, ककर स्पायनिल, बक्सर जस्ता प्रजातिका कुकुर पाल्नेहरु बग्रेल्ती छन् । त्यति मात्र कहाँ हो र ? यी कुकुरको स्यहारसुसार, तालिम, खानपान, होस्टल आदिका लागि मनग्य खर्च गर्न पनि उनीहरु हार्दिक तयार छन् ।

बुल डग, टिबेटेन मास्टिभ, सामोयिड, पोमोरियन जस्ता महंगा जातका कुकुर पाल्नेहरु पनि कम छैनन्, जसको मूल्य लाख रुपैयाँ हाराहारी पर्छ । के नाइन डग ट्रेनिङ एन्ड केयर सेन्टरका प्रविन बज्राचार्य भन्छन्, ‘नेपालमा कम्तीमा पाँच हजारदेखि चार लाख रुपैयाँसम्मका कुकुर खरिद बिक्री भइरहेका छन् ।’

बज्राचार्यका अनुसार सामान्यतः जापानिज स्पिज धेरैले रुचाएका छन् । यो पाँच हजार रुपैयाँमा नै उपलब्ध हुन्छ । त्यसपछि पग, जर्मन शेफर्ड, हस्की, गे्रट डेन पाल्ने गरिएको छ । यी जातका मूल्य ३० हजारदेखि एक लाख रुपैयाँसम्म पर्छ ।

बालबच्चालाई खुसी बनाउनकै लागि कति अभिभावकले घरमा कुकुर भित्र्याउने गरेका छन् । घरभित्रै राखेर कुकुरसँग खेल्ने, घुम्ने गरेका छन् । कतिपयका लागि भने कुकुर एक्लोपनको साथी बनेको छ ।

कुकुरका सौखिनहरु बढेसँगै बजारमा कुकुर खरिद बिक्री गर्ने केनल क्लब मात्र होइन, डग सप, डग क्लिनिक, डग होस्टेल, डग केयर सेन्टर पनि सञ्चालनमा छन् । कुकुरका लागि खाने विभिन्न किसिमका पौष्टिक खानेकुरा, खेलौना, लुगा आदिको कारोबार बढ्दो छ । यससँगै कुुकुरलाई स्यहारसुसार गर्ने र तालिम दिने डग केयर सेन्टर खुलिरहेका छन् ।

धेरैजसोले फेमेली डग रुचाउने गरेका छन्, जो घर–परिवारमा घुलमिल भएर बस्छन् । कतिपयले घरको सुरक्षाका लागि पनि कुकुर पाल्छन् । कतिपय प्रजातिका कुकुर यस्ता पनि हुन्छन्, जसलाई शारीरिक रुपमा अशक्तहरुले आफ्ना सहयोगीको रुपमा पाल्न सक्छन् । यस्ता कुकुरले उनीहरुलाई बाटो पहिल्याउने, डोहोर्‍याउनेदेखि आपतकालीन अवस्थामा बचाउनेसम्म गर्छन् ।

फेमिली डग

घरको सुरक्षा र वन्यजन्तु सिकारका लागि मान्छेले कुकुरलाई साथी बनाए । तर अहिले सुरक्षा र सिकारभन्दा पनि साथीको रुपमा कुकुरको उपस्थिति बढ्दो छ । खासगरी बालबच्चाहरु कुकुर पाल्न रहर गर्छन् ।

बालबच्चालाई खुसी बनाउनकै लागि कति अभिभावकले घरमा कुकुर भित्र्याउने गरेका छन् । घरभित्रै राखेर कुकुरसँग खेल्ने, घुम्ने गरेका छन् । कतिपयका लागि भने कुकुर एक्लोपनको साथी बनेको छ ।

त्यसो त कुकुरका कति यस्ता जात छन्, जसलाई ‘फेमिली डग’को रुपमा पाल्न सकिन्छ । जस्तो जापानिज स्पिज, ल्याब्राडोर, पग, चिहुआहुआ, हस्की, गोल्डेन रेट्रिभर आदि घरपरिवारसँग चाँडै घुलमिल हुने र रमाउने खालका हुन्छन् ।

गार्ड डग

घरमा चोरी डकैती हुने वा अपरिचित मान्छे, जनावर पस्ने भयले पनि कतिपयले कुकुर पाल्ने गरेका छन् । यस्ता कुकुरलाई घरको सुरक्षार्थ खटाइन्छ । जर्मन शेफर्ड, डोरम्यान, ल्याब्रोडर, बक्सर, बुलडग जातका कुकुर घरको सुरक्षाका लागि उपयुक्त हुन् । गाउँघरमा भने जुनसुकै जातका कुकुरलाई पनि घरको सुरक्षाका लागि पाल्ने गरिएको छ ।

नेपाली समाजमा कतिपय मिथक र कथा यस्ता छन्, जसले कुकुरको बफादारीको बखान गर्छ । ती सबैको एउटै सार छ, कुकुरले जस्तोसुकै खतरा मोलेर पनि आफ्नो मालिकलाई बचाउँछ ।

कुकुरलाई तालिम

कुकुरलाई घरमा ल्याएपछि जथाभावी दिसापिसाब गरिदिने, जेसुकै खाइदिने, फूलहरु भाँचिदिने गर्न सक्छन् । ‘यद्यपि यस्तो चकचक सानो उमेरमा वा राम्ररी पालन पोषण गरिएको छैन भने मात्र गर्छ,’ बज्राचार्य भन्छन्, ‘कुकुरलाई आधारभूत तालिम दिनुपर्छ ।’

कुकुरलाई निश्चित ठाउँमा दिसापिसाब गर्ने बानी गर्न सकिन्छ । यसैगरी उनीहरुलाई खाने तालिका र सुत्ने ठाउँ पनि निश्चित गर्न सकिन्छ । सामान्य तालिम दिएकै भरमा कुकुरले यी सबै कुरा सही ढंगले गर्छन् । घरधनीलाई दुःख दिंदैन ।

घरबाहिर लिएर हिंड्दा जेसुकै खान, जतासुकै दौडिन नदिन पनि तालिम दिन सकिन्छ । बज्राचार्यका अनुसार कुकुरलाई पारिवारिक वातावरणमा कसरी घुलमिल हुने भन्नेबारे आधारभूत तालिम दिनुपर्ने हुन्छ । कुकुरलाई राम्रो तालिम प्राप्त भयो भने तिनीहरू अनुशासित र बफादार हुन्छन् । आधारभूत तालिमपछि कुकुरलाई कतै बाहिर लैजानुपर्‍यो भने सजिलो हुन्छ ।

त्यसो त सहरमा कुकुरलाई तालिम दिने र हेरचाह गर्ने ठाउँ पनि छन् । एउटा कुकुरलाई तालिमका लागि १५ देखि २० हजार रुपैयाँसम्म लिने गरेको पाइन्छ ।

कुकुरलाई खोप र हेरचाह

डीएचपीपीआइल, रेबिज, कोरोना लगायत खोप कुकुरलाई ४५ दिनको उमेरबाट दिन सुरु गर्नुपर्छ । खोप लगाएको एक महिनापछि पुनः दोस्रो डोज दिनुपर्छ । यी खोप प्रत्येक वर्ष दिनुपर्छ ।

कुकुरलाई प्रत्येक तीन महिनामा तौल अनुसार जुकाको औषधि पनि खुवाउनुपर्छ । ६ देखि ७ महिनाको उमेरमा बन्ध्याकरण गराउनुपर्छ । खोपको लागि वार्षिक १२ सयदेखि १५ सय रुपैयाँसम्म खर्च लाग्छ । अन्य समयमा बिरामी परेको खण्डमा भने अतिरिक्त खर्च गर्नुपर्छ ।

सौखले मात्र पुग्दैन

धेरैले आफ्नो सौख पूरा गर्न कुकुर पाल्ने गरेको पाइन्छ । यद्यपि यसमा शौखले मात्र नपुग्ने बज्राचार्य बताउँछन् । ‘यदि कुकुरलाई समय दिन सक्नुहुन्छ, ऊसँग खेल्न र रमाउन भ्याउनुहुन्न, उसलाई सही स्यहारसुसार गर्न फुर्सद हुन्न भने तपाईंले कुकुर नपालेकै राम्रो,’ उनी भन्छन् ।

घरमा कुकुर पालेपछि उसका लागि पनि पुग्दो समय दिनुपर्ने बज्राचार्यको भनाइ छ । कुकुरलाई के खुवाउने, कति खुवाउने, कसरी खुवाउने, कहिले नुहाइदिने, के कस्ता औषधि उपचार गरिदिने, के कुरा गर्न सिकाउने जस्ता कुरा जान्नुपर्ने उनी बताउँछन् ।

‘कुकुरलाई नियमित खोप लगाउनुपर्छ, सही खानपान गराउनुपर्छ,’ बज्राचार्य भन्छन्, ‘ऊसँग खेल्ने, बोल्ने पनि गर्नुपर्छ ।’

कुकुर पाल्नेले आफ्नो आवश्यकता के हो ? कुन प्रयोजनका लागि कुकुर पाल्न लागेको हो ? कुकुरको स्याहारसुसार कसरी गर्ने ? जस्ता कुरा जान्नुपर्छ । बज्राचार्य भन्छन्, ‘कुकुरलाई घरमा बाँधेर राख्नु, खोरमा थुनेर राख्नु ठीक होइन ।’

कुकुर पाल्नेले ध्यान दिनुपर्ने कुरा 

कुकुर पाल्ने चाहना राख्नेले घरको वातावरण वा ठाउँ अनुसारको जात छान्नु राम्रो हुन्छ । यदि घरमा पर्याप्त खुला ठाउँ छैन भने कम उचाइ हुने सानोखाले कुकुर पाल्नु उचित हुन्छ । जर्मन शेफर्ड, बक्सर डोर म्यान जस्ता ठूला जातका कुकुरलाई खेल्न उफ्रिन धेरै ठाउँ चाहिने भएकाले सानो ठाउँ हुनेहरुले नपालेकै राम्रो हुन्छ । कुकुरलाई पाल्दा उसको स्वास्थ्यको विषयमा ध्यान दिनुपर्छ । स्वास्थ्य जाँचको लागि खोपको लागि समय–समयमा अस्पताल लैजानुपर्छ ।

उसको शरीरलाई चाहिने जति पोषण र व्यायाम पुगेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा तालिम हो, उसलाई परिवारका सदस्यसँग घुलमिल हुन तालिमको आवश्यकता पर्छ ।

देखासिकीमा कुकुर पाल्नेहरु

कतिपयले अन्धाधुन्ध वा देखासिकीमा कुकुर पाल्ने गरेका छन् । उनीहरुलाई कुकुर कसरी पाल्ने, के कस्ता स्याहारसुसार गर्ने भन्ने हेक्का हुँदैन । साथै कुकुरमा हुनसक्ने सम्भावित स्वास्थ्य समस्या, त्यसको उपचारबारे जानकारी हुँदैन । केवल अरुले पालेको देखेर उनीहरु पनि कुकुर भित्र्याउने रहर गर्छन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?