+
+

नेताका घरमा टिकट माग्नेको थामिनसक्नु भिड

कम्पाउण्डभित्र छिरेपछि नेता कार्यकर्ताको लाइन सुरु हुन्छ । भेटघाट कक्षमा छिर्ने ढोकामा ठेलमठेल छ । एकल भेटघाटमा आउनेहरुको संख्या न्यून छ । धेरैजसो नेता कार्यकर्ता जिल्लाबाट समूहसहित आएका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ भदौ २८ गते २०:५१
कांग्रेस महामन्त्री गगन थापाको घरमा लागेको भिड

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा हाल दुई शक्ति केन्द्र छन् । एउटा शक्ति केन्द्रको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाको हातमा छ । कार्यकारी पद महामन्त्रीको जिम्मेवारीमा रहेकाले अर्को खेमाको नेतृत्व गगन थापाले गरेका छन् ।

पार्टीभित्र थापा खेमाको नेतृत्व नेता डा. शेखर कोइरालाले गरे पनि उनीसँग कार्यकारी पद छैन । तसर्थ, एउटा खेमामा बढी आश थापामा छ ।

कार्यकर्ता बाठा भइसके । ‘जय नेपाल’ भन्न जुनसुकै सम्मानित नेता भेटे पनि टिकट र लाभ पाउन कार्यकारीकै पछि लाग्नुपर्‍यो । सभापति देउवा प्रधानमन्त्रीसमेत रहेकाले उनलाई भेट्न हत्तपत्त नेता कार्यकर्ताले पाउँदैनन् । देउवा स्वयंले भेट्न इच्छा गरे भने मात्रै नेता कार्यकर्ताका लागि बालुवाटारको ढोका खुल्छ ।

देउवासँग भेट्न पाउनेले त पाए, देउवासँग भेटेकामध्ये कतिपय, नभेटेकाहरू चाहिँ महामन्त्री थापाकहाँ पनि धाउँछन् ।

देशभरबाट आएका नेता कार्यकर्ता देउवा वा थापाका घरमा लाइन लाग्नुको एउटै कारण छ – ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ।

महामन्त्री विश्वप्रकाश शर्मा उपचाररत रहेकाले उनीकहाँ पुगेर टिकटको हारगुहार गर्ने अवस्था अहिले छैन । उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङकहाँ टिकटको भनसुन गर्नेहरुको भिड छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा पनि फाट्ट फुट्टमात्र नेता कार्यकर्ता पुग्छन् ।

गृह जिल्ला तनहुँका नेता कार्यकर्ता सोमबार विहान उनको निवास पुगेका थिए । उक्त भेटघाटको मूल उद्देश्य पौडेलको गृह जिल्ला तनहुँका आकांक्षीको व्यवस्थापनमा केन्द्रित रहेको सहभागी आस्था विन्दु मल्ल ठकुरीले जानकारी दिइन् । उनी प्रदेशसभातर्फ समानुपातिकमा सिफारिसमा परेकी छन् ।

अन्य नेताको निवासमा कार्यकर्ताको उपस्थिति पातलो छ । नेता कार्यकर्ताको आँखा या देउवा निवास बालुवाटारमा छ, या महामन्त्री थापाको निवास रातोपुलमा ।

महामन्त्री निवासको मंगलबार विहानको दृश्य

महामन्त्री थापाले जिल्लाबाट आएका नेता कार्यकर्तालाई भेट्नका लागि विहान ८ बजेपछिको समय निर्धारण गरेका छन् । तर, विहान ७ बज्दा नबज्दै कार्यकर्ताको भिड लागिसकेको थियो । देशभरबाट आएका नेता कार्यकर्ताको ताँती मूलबाटोबाट थापाको भेटघाट कक्षसम्म पुगेको छ ।

कम्पाउण्डभित्र छिरेपछि नेता कार्यकर्ताको लाइन सुरु हुन्छ । भेटघाट कक्षमा छिर्ने ढोकामा ठेलमठेल छ । एकल भेटघाटमा आउनेहरुको संख्या न्यून छ । धेरैजसो नेता कार्यकर्ता जिल्लाबाट समूहसहित आएका छन् । आउनेहरु अधिकांश उम्मेदवारमा नाम सिफारिस भएका नेताहरु छन् ।

ठेलमठेलका बीच यमुना देवी श्रेष्ठ महामन्त्री थापालाई भेट्न पुगिन् । उनले आफ्ना कुरा राख्ने समय जम्मा पाइन् एक मिनेट ।

श्रेष्ठको नाम काठमाडौं–१० बाट प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस भएको छ । श्रेष्ठ तिनै पात्र हुन्, जो स्थानीय तहको निर्वाचनअघि चन्द्रागिरि नगरपालिकाको मेयरको उम्मेदवारको आकांक्षा राखेर केन्द्रीय कार्यालय धाएकी थिइन् । स्थानीय तहको चुनावमा उनले टिकट पाइनन् ।

प्रतिनिधिसभामा क्षेत्र, जिल्ला हुँदै उनको नाम प्रदेशबाट सिफारिसमा परेपछि हारगुहार गर्न उनी महामन्त्री थापाकहाँ आइपुगेकी छन् । ‘मैले त मेरो कुरा आधा मिनेटमा भनेर सकें । मान्छेको हुल छ । धेरै समय कहाँ पाउनु ?’ महासमिति सदस्य श्रेष्ठले भनिन्, ‘हेरौंला भन्नुभएको छ । आशा गरेकी छु ।’

केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायत पार्टीका विभिन्न तहका नेता कार्यकर्ताको थापा निवासमा भिड छ । मधेशबाट आउनेहरुको संख्या अन्य प्रदेशबाट भन्दा बढी छ ।

मधेशका जिल्लाहरुमा निर्वाचन क्षेत्र बढी भएकाले उम्मेदवार आकांक्षी पनि स्वभाविक रुपमा बढी छ । मधेशका प्रत्येक जिल्लामा चार प्रतिनिधि सभा र आठवटा प्रदेश सभा क्षेत्र छन् ।

महामन्त्री थापाकै निवासमै भेटिएका बाराका लोकेश सिंहले सभापति देउवा बाहेक शीर्ष तहका सबै नेतालाई भेटेको सुनाए । उनी बारा ४ क बाट प्रत्यक्ष उम्मेदवार सिफारिस भएका छन् ।

टिकटको आकांक्षा राखेर आउनेहरु संस्थापनइतरका मात्रै छैनन् । पार्टीको महामन्त्री तथा सिट बाँडफाँट कार्यदलमा समेत थापा रहेकाले धेरैले उनीबाट आशा राखेका छन् । रामचन्द्र पौडेललाई सहजै दुई पटक भेट्न पाएको, तर महामन्त्रीलाई भेट्न लामो समयदेखि प्रतीक्षा गरिरहेको चितवनका कांग्रेस नेता  टिकाराम भट्टराईले सुनाए ।

‘शक्ति भन्ने चिज कस्तो हुने रहेछ है ? रामचन्द्र दाइलाई दुई पटक भेटें । सजिलै भेट्न पाएँ’, भट्टराईले अनलाइनखबरसँग भने, ‘उहाँकोमा नेता कार्यकर्ता कम जान थालेछन् । महामन्त्रीका यस्तो अवस्था छ ।’

भट्टराईको नाम चितवन ३ ‘ख’ बाट समानुपातिकमा सिफारिसमा परेको छ । महामन्त्रीसँग एकै मिनेट कुरा गर्न पाए पनि समानुपातिकमा परौंला भन्ने उनको आशा छ ।

महामन्त्री थापाले आफ्नो निवासमा आउने सबैजसोसँग भेट्ने र छोटो भए पनि कुरा सुन्ने गरेका छन् । आशा गरेर आउँदा पनि भेट नदिए खराब प्रभाव पर्ने भएकाले छोटो समय भए पनि भेटाउने तारतम्य मिलाइएको थापाको सचिवालयका एक सदस्य बताउँछन् ।

‘युवा उमेरको आएर दाइ तपाईंले पार्टीमा युवा आउनपर्छ भन्नुभएको होइन ? म युवा सिफारिस भएँ । मलाई नबनाएर कसलाई उम्मेदवार बनाउनुहुन्छ, भन्छन् ।’ सचिवालयका एक सदस्य भन्छन्, ‘अर्को ७४ वर्षको आउनुहुन्छ । जीवनभर कांग्रेसमा लागें । अहिलेसम्म केही पाएको छैन । मेरो पहिलो र अन्तिमपटक यही हो । म उम्मेदवार बन्छु भन्नुहुन्छ ।’

नेताकोमा किन भिड लाग्छ ?

कांग्रेसको विधान अनुसार प्रत्यक्षतर्फ मनोनयन दर्ता हुनुभन्दा एक महिना अघि उम्मेदवार चयन गरिसक्नुपर्दछ । विधानको उक्त व्यवस्था कांग्रेसले लत्याइसकेको छ । निर्वाचन आयोगले असोज २३ गतेलाई प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको समय तोकेको छ । त्यसअनुसार, निर्वाचन आयोगले दिएको समय अनुसार समय घर्किसकेको छ । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट टुंगो लाग्न नसकिरहेको अवस्थामा कांग्रेसले आफ्ना उम्मेदवार तय गर्नसक्ने परिस्थिति पनि छैन ।

विधानको व्यवस्था पालन नगर्दा नेताहरुकहाँ भिड बढेको छ । विधानतः क्षेत्र, जिल्ला र प्रदेश समितिले प्रत्यक्ष तथा समानुपातिक तर्फ बढीमा ३/३ जना हुने गरी माथिल्लो तहमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर उनीहरुले आकांक्षी देखिएका सबैको नाम सिफारिस गरिदिन्छन् । सबैको मन राख्नलाई नाम पठाउने प्रचलन छ । कतिपय अवस्थामा के पनि छ भने क्षेत्रबाट नआएको नामलाई जिल्लाले सिफारिस गरिदिने र जिल्लाबाट नआएको नाम प्रदेशबाट थप्ने गरिएको छ ।

तीनै तहबाट नाम थपिँदै आउँदा केन्द्रमा एकै क्षेत्रका लागि दर्जनौं नामहरु आइपुग्छन् । सात प्रदेशका सबै प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकमा सिफारिस नामहरु केन्द्रमा आइसकेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘नाम सिफारिसमा परेपछि प्रत्यक्ष वा समानुपातिकमा परिन्छ कि भनि दौडधुप गर्नु स्वभाविक हुन्छ’, पर्वतको ख बाट समानुपातिकमा नाम परेर महामन्त्रीलाई भेट्न आएकी राधा क्षेत्रीले सुनाइन्,‘नाम परेपछि आशा हुने भएर आएकी हुँ ।

सिफारिसमा परेका, तिनीहरुका नजिकका र सिफारिसमा परेकालाई भनसुन गर्न आउनेहरुको लर्को नेताकहाँ लाग्छ ।

उम्मेदवार बनाउने मापदण्ड नै गलत रहेको औंल्याउँदै कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्,‘योग्यता र क्षमताको आधार हेरर केन्द्रले जिल्लामा नै टिकट पठाइदिन्छौं भन्ने हो भने को आउँछ यहाँ ?’

क्षेत्रबाट योग्य उम्मेदवारसँगै असक्षम व्यक्तिहरुको पनि सिफारिस हुने प्रचलनले समस्या बढेको उनी बताउँछन् । सिफारिस गर्ने विधानको व्यवस्थालाई कडाइका साथ लागु हुनुपर्ने उनले बताए । उनी भन्छन्, ‘अघिल्लो महिना भ्रातृ संस्थाको सदस्य बनाइदिनु नै भन्नेहरु अहिले मेरो नाम त सिफारिसमा पर्‍यो भन्दै भनसुन गर्न आएका छन् ।’ उम्मेदवार सिफारिस भन्दा पनि आकांक्षा राख्ने सबैको नाम संकलन गर्ने प्रचलन रहेको उनी बताउँछन् ।

मंगलबार दिउँसो १ बजेसम्म थापाले ७८६ जनालाई भेटेका थापाको सचिवालयले जानकारी गराएको छ । ‘एक/एक गरेर त कहाँ सबैलाई भेट्नसक्नु र? समूह समूहलाई भेट गराएका हौं ।’ सचिवालयका एक सदस्य भन्छन् । उनका अनुसार सिफारिसमा परेकाहरुको कुरा सुन्नकै लागि महामन्त्री थापाको निर्वाचन क्षेत्रका कार्यक्रम मंगलबारका लागि हटाइएको थियो ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?