+
+
अनलाइनखबर ब्रिफिङ :

मधेशमा बांगाटिंगा गठबन्धन बनाउने कोसिस

दलहरुले समग्र देशका लागि भनेर रणनीति बनाए पनि हालको मधेश प्रदेशमा त्यो सम्पूर्ण रुपमा कामयाबी हुन कठिन छ । यहाँ अहिले राष्ट्रिय रुपमा भइरहेका गठबन्धन भन्दा भिन्न अरु गठबन्धनहरु बन्न सक्ने सम्भावना देखिएका छन् ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ भदौ २८ गते १९:२३

मधेश आन्दोलन सकिएसँगै मधेशकेन्द्रित क्षेत्रीय दलहरुको राष्ट्रिय प्रभाव केही घटेको देखिन्छ । तर उनीहरु अझै पनि निश्चित संसदीय शक्तिसहित आफ्नो वर्चश्वमै छन् । दलहरुले समग्र देशका लागि भनेर रणनीति बनाए पनि हालको मधेश प्रदेशमा त्यो सम्पूर्ण रुपमा कामयाब हुन कठिन छ ।

त्यहाँभित्रका बांगाटिंगा शक्ति सम्बन्ध यसको मुख्य कारक हो । ०७४ को चुनावलाई नै हेरौं न । देशभरि एमाले माओवादी केन्द्रलगायतको वाम गठबन्धनको हावा बेतोडले चल्यो । मधेशमा त्यसको असर नै परेन ।

दोस्रो संघीय चुनाव आउन दुई महिना मात्रै बाँकी रहेको परिप्रेक्ष्यमा मधेशमा अहिले के चल्दैछ ? किनभने उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोहरु मात्रै होइन, नयाँ खेलाडीहरु पनि त्यहाँ प्रवेश गरिसकेका छन् । सीके राउतको जनमत पार्टी एउटा उदाहरण हो । अनि कांग्रेस, एमाले र माओवादीका पनि आ–आफ्नै रणनीति छन् ।

यसै सन्दर्भमा अनलाइनखबरले आठ बुँदे ब्रिफिङ तयार पारेको छ । बाँकी दुई महिनाको मधेश राजनीति यसै वरिपरि चल्ने सम्भावना बढ्ता छ । हामीले त्यसका सुरुवाती सूचनाहरु पाएका छौं ।

एक– सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीचमा जुन न्यूनतम समझदारी बनिरहेको छ, जनता समाजवादी पार्टीसँग त्यही स्तरको समझदारी बन्न सकेको छैन । ऊ गठबन्धनमा ३२ सिट दाबी गर्दैछ । कम्तीमा २२ सिट उसको बटमलाइन हो ।

अरु दलहरु, खासगरी कांग्रेस त्यसमा तयार छैन । आफ्नै कार्यकर्ताको दबावमा फसेको कांग्रेस १२ सिटभन्दा बेसी उपेन्द्र यादवका लागि छुट्याउन तयार देखिंदैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन बैठकहरुको दृश्यांश सुनाउँदै हामीसँग यो भनिसके । यस्तो प्रतिक्रियापछि उपेन्द्र यादव दुईपल्टसम्म बालुवाटारबाट फन्किएर हिंडिसकेका छन् ।

दुई– सत्ता गठबन्धनमा रहँदा पनि जसपा अध्यक्ष उपेन्द्र यादवले विकल्पहरु हेरिरहेका छन् । उनले आफूहरुलाई सम्मानजनक भाग नमिले विकल्पहरुमा जाने चेतावनी दिएका छन् । उनी कतै एमालेसँग तालमेलमा जाने त होइनन् भन्ने आशंकामा कांग्रेस र माओवादी थिए । अरु दलका लागि प्रतिनिधिसभाका सिटहरु प्राथमिक हुन् । यादवका लागि चाहिं मधेश प्रदेशको नेतृत्व निर्णायक विषय हो । अघिल्लो चुनावमा एमाले लहर चल्दा पनि तत्कालीन प्रदेश-२ मा पाँचौं भएको एमालेका लागि हालको मधेश प्रदेशमा तालमेल महत्वपूर्ण कुरा हो ।

तीन– यस्तो अवस्थामा एमाले अध्यक्ष केपी ओलीले जसपासँगको सहकार्यको सम्भावनालाई खुलै राखेका छन् । दुई दिनअघि जनकपुरमा गएर उनले यसको संकेत समेत दिए । उनले जसपाबाट फुटिगएको लोसपाका नेता तथा सांसद राजेन्द्र महतोलाई यसपल्ट आफ्नो सहयोगको आश नगर्न अग्रिम सूचना दिए ।

सत्ता गठबन्धनले अध्यादेश ल्याउन दिएर जसपा फुटाइदिएपछि क्षुब्ध अध्यक्ष यादव हाल त्यही समूहमा त छन्, तर उनका सरोकार केही भिन्न छन् । उपेन्द्र यादवले अनलाइनखबरसँग कुरा गर्दै आफू सत्ता गठबन्धनमा रहे पनि सबै विकल्पका लागि खुला रहेको बताए । ‘चुनाव आइसकेकै अवस्था हो, त्यसैले हामीले त्यसका लागि सबै डोर ओपन गरेका छौं,’ उनले भने । उनको यो अभिव्यक्ति निकै अर्थपूर्ण छ । यसबारे पाँचौ बुँदामा चर्चा हुनेछ ।

चार– यादवबाट फुटेर गएका महन्थ ठाकुर नेतृत्वको लोसपाले सत्ता गठबन्धनको निम्तोको खुबै प्रतीक्षा गर्‍यो । हालकै क्याबिनेटमा उसले मन्त्री पठाउने चर्चा पनि निकै दिन चल्यो । उसले आगामी चुनावका लागि जम्मा ८ सिट मागेको थियो, जसमध्ये ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झाका चार सिट अग्रिम बुकिङ भइहाले । बाँकी चार व्यवस्थापन गर्ने विषय उसका लागि महत्वपूर्ण थियो ।

तर कांग्रेसलाई भाग पुर्‍याउन निकै कठिन छ । त्यसमाथि मधेशमा उसको प्रतिस्पर्धी नै लोसपा र जसपा हो । अझ लोसपामा गएका नेताहरुको पृष्ठभूमि कांग्रेस नै छ । कांग्रेस मधेसमा माओवादी र एससँगको तालमेलमा लगभग सहज छ । तर उसको एउटै डर– जसपा र लोसपामध्ये कोही एक, या दुवैले मिलेर एमालेसँग तालमेल गरिदिने हुन् कि ? किनभने अघिल्लो चुनावमा पहाडमा ओली, दाहालले कांग्रेसलाई ढिम्किनै दिएनन्, मधेसमा यादव, ठाकुर, महतो, भण्डारी र झाहरुले ।

ठीक यही बेला उपेन्द्र यादवले सबै विकल्प खुला राखेर चुनावको तयारी गरिरहेको बताएका छन् । यो विकल्प खुला गर्दा सीके राउत पक्ष समेत समेटिन आउँछ ।

पाँच– मधेशकेन्द्रित पार्टीहरुका दोस्रो तहका केही नेताहरु बितेका दिनमा जे भए पनि जसपा र लोसपालाई चुनावसम्म मिलाएर लैजान चाहन्छन् । उनीहरुले जसपा, लोसपा र सीके राउतको जनमत पार्टीबीच काठमाडौं र जनकपुरमा एक–एक वटा बैठक डाकिसके ।

राउत पहिलोपल्ट प्रतिनिधिसभा तथा प्रदेश चुनावमा भाग लिदैछन्, जसलाई यसअघि मौजुदा क्षेत्रीय पार्टीहरुले सानोतिनो थ्रेटका रुपमा विश्लेषण गरेका छन् । राउतले सप्तरीको त्यो क्षेत्रमा चुनाव लड्ने घोषणा गरेका छन्, जहाँ उपेन्द्र यादवले यसअघि जित्दै आएका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले हामीसँग कुरा गर्दै भने, ‘एउटा चिह्न लिएर जाने अवस्था बनेको भए त्यसको सकारात्मक प्रभाव पर्ने थियो । अब तालमेल मात्रै हुन सक्छ । त्यो पनि केही सिटहरुमा ‘गुडविल’ का आधारमा हुन्छ ।’

यादवले जनमत पार्टीलाई निश्चित क्षेत्रविशेषमा प्रभाव रहेको शक्तिका रुपमा आकलन गरेका छन् । उनले त्यसलाई धेरै कमजोर भने ठानेका छैनन् । तर मुख्य प्रतिस्पर्धा भने लोसपासँगै हुने उनको विश्लेषण छ । लोसपाका नेताहरुसँग इतिहासका विभिन्न चरणमा एकता र फुटको शृंखला बेहोरिसकेका यादवले अनलाइनखबरसँग भने, ‘यसअघि उहाँहरु (लोसपा) ले कमजोरीहरु नगरेको होइन, तर त्यसको आन्तरिक समीक्षामात्रै गरे पनि अगाडि मिलेर जान सम्भव छ । मैले ढोका बन्द गरेको छैन ।’

लोसपाका एक शीर्ष नेताले मधेश प्रदेशमा यादवसँग अहिले पनि बलियो आधार रहेको भन्दै विगतमा आरोप प्रत्यारोप जे भए पनि मिलेर जाने सम्भावना रहेको बताए । ‘पहिले ओलीजीसँगको छलफल कसरी अघि बढ्छ हेर्न दिनुहोस्’ उनले भने, ‘त्यसपछि हामी आफ्नो निर्णय दिइहाल्छौं । अब धेरै टाइम लाग्दैन ।’

मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले यादव, ठाकुर र राउतको बीचमा मिलेर चुनावमा जाने सहमति बन्न सक्ने सम्भावना सुनाए । उनले यसका लागि काठमाडौं र जनकपुरमा विभिन्न अनौपचारिक गृहकार्य भइरहेको पनि खुलाए । यस्तो अवस्था आएमा मधेशमा कांग्रेसलाई छाडेर उनीहरु अघि बढ्न सक्छन् । अनि यसमा प्रचण्डको रुचीले पनि काम गरेको छ । ताजा चुनावमा यसको कारण र असर देखियो ।

छ– गत स्थानीय चुनावमा कांग्रेस, माओवादी, एस र जसपाबीच तालमेल गर्ने सहमति भए पनि मधेशका १२६ पालिकामध्ये वीरगञ्ज, सिमरा, जनकपुर, लहानलगायत केही ठाउँमा मात्रै कामयाब बन्न सक्यो । नत्र अन्तर्घात र असहयोगका कारण गठबन्धन प्रभावकारी बन्न सकेन ।

त्यसले प्रतिविम्बित गर्‍यो– माओवादी कार्यकर्ताहरु मधेशमा कांग्रेस या एससँग होइन, जसपासँग सहज महसुस गर्छन् । माओवादी उम्मेदवार भएका ठाउँमा जसपाको सहयोग, अनि जसपा उम्मेदवार भएका ठाउँमा माओवादी सहयोगले बढ्ता काम गरेको देखियो ।

विश्लेषक तुलानारायण साहका अनुसार, माओवादी र जसपाले ०६३ को परिवर्तनपछि सँगै संघीयताका लागि काम गरेका शक्ति भन्दै माओवादी र जसपाले सहकार्य गर्ने सम्भावना छ । कांग्रेससँग जसपाको कुरो मिलेन भने पनि यो विकल्पमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव तयार रहन सक्छन् ।

‘अहिलेको सत्ता गठबन्धनमा जो जहाँ भए पनि मधेशमा प्रचण्ड र उपेन्द्रजी सँगै रहने देखिन्छ,’ साहले भने, ‘महन्थजी यसमा थपिने कि नथपिने भन्ने प्रश्न हो ।’ यी तीनको गठबन्धन मधेशमा भयो भने प्रचण्डको पल्ला अझै भारी हुन सक्छ । त्यस्तो अवस्थामा मधेशमा तीनवटा ध्रुव बन्न सक्नेछन् । जसमध्ये कांग्रेस पहिलो पोलमा, एमाले दोस्रो पोलमा, अनि मधेशी गठबन्धनका नेताहरु तेस्रो पोलमा । यस्तो भएमा मधेश प्रदेशमा प्रादेशिक चुनावको नतिजा करिब ०७४ कै जस्तो आउन सक्नेछ ।

सात– सिट संख्या र प्रदेश सरकारको किचलो मिलाउन जसपालाई कांग्रेससँग जुन समस्या परेको छ, लोसपासँग त्यस्तो पर्नेछैन । लोसपा यसै पनि पछिल्लोपटक कमजोर अवस्थामा छ । अहिले मधेश प्रदेश सभामा यादवको जसपासँग ३९ सिट छ । कांग्रेससँग १९ सिट, लोसपासँग १५ सिट, एमाले र माओवादी केन्द्रसँग आठ, आठ सिट ।

यस्तो अवस्थामा उनीहरुले पाँच वर्षअघि तत्कालीन सघीय समाजवादी पार्टी र तत्कालीन राजपाकै समझदारी कायम गर्न सक्छन् : मधेसमा जसले बढी भोट ल्याउँछ, त्यसैले मुख्यमन्त्री पाउने । लोसपाका नेताहरु भने पहिल्यै मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने हो भने सिटसंख्याबारे पनि छलफल गर्न सकिने बताउँछन् ।

लोसपा कार्यकारिणी सदस्य तथा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल तत्काल जसपासँग मिलेर जाने सम्भावना कमजोर रहेको बताउँछन् । त्योभन्दा नयाँ विकल्पहरुमा छलफल हुन सक्ने उनको भनाइ छ । ‘राजनीतिमा असम्भव केही हुँदैन, तर तत्काल उपेन्द्रजीसँग मिल्ने सम्भावना अब अलिक कमजोर भयो,’ उनले भने ।

नेताहरुको बीचमा कतिपय तुषहरु रहे पनि आउँदो चुनाव जित्नु उनीहरुका लागि अनिवार्य बाध्यता हो । चुनावमा गइसकेपछि सिट संख्या सत्य, अरु भ्रम । चुनावी प्रणालीका कारण एक्लै अघि बढ्न दलहरुलाई कठिन छ । यस्तो अवस्थामा कोसँग मिलेर गए जितिएला त ? मधेशी पत्रकार संघका अध्यक्ष सिंह भन्छन्, ‘चुनावका लागि नेचुरल एलाइन्स पनि चाहिन्छ, त्यो भनेको जसपा, लोसपा र सिकेको मेलमिलाप नै हो । त्यसको सम्भावना अझै बाँकी छ । हेर्दै जाऔं ।’

आठ– अन्तिम विकल्प भनेको अहिलेकै गठबन्धनलाई जारी राख्ने । उपेन्द्र यादवले एमाले या लोसपासँग मिलेर नयाँ ध्रुव खडा गरे, त्यो कांग्रेसका लागि प्रत्युत्पादक हुनेछ । अनि माओवादी यसमा समेटिए त सकिइहाल्यो, नसमेटिए उसलाई मधेशमा थप क्षति हुनेछ । यसका लागि यादवले मागेका ३२ सिट नै प्राप्त नगरे पनि न्युनतम चासो सम्बोधन गर्न कांग्रेस, माओवादी र एक हदसम्म एकीकृत समाजवादी तयार हुनुपर्छ । अन्यथा मधेशमा बांगाटिंगा गठबन्धन र समीकरणहरुको प्रतीक्षा टाढा छैन ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?