+
+
स्थलगत :

झापा २ : एमालेमा मारामार, कांग्रेसभित्र भागाभाग

बिनु सुवेदी बिनु सुवेदी
२०७९ भदौ २९ गते २०:३०

२९ भदौ, बिर्तामोड (झापा) । नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय देवराज घिमिरे र अग्नि खरेल दुवै काठमाडौंमा छन् । पार्टीको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दुई नेताको नाम सिफारिस गरेपछि सिंगो झापा २ को चासो पार्टी नेतृत्वबाट टिकट कसले ल्याउँछ भन्नेमा छ ।

अरु त अरु एमालेसँग प्रतिस्पर्धा गर्ने मुख्य दाबेदार नेपाली कांग्रेस समेत एमालेको उम्मेदवार टुंगो लगाएपछि मात्रै आफ्नो उम्मेदवार फाइनल गर्ने भनेर जोखना हेरिरहेको छ ।

कम्युनिष्टहरुको किल्ला मानिएको झापा २ एमाले बलियो रहेको क्षेत्र हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि खरेल महान्याधिवक्ताबाट राजीनामा दिएर झापा झरेका थिए र पछिल्लो दुई वर्ष अधिकांश समय बिर्तामोडमै छन् । आफूलाई भूगोलको राजनीतिमा केन्द्रित गर्न भनेर झापा जिल्ला इन्चार्जको जिम्मेवारी लिएका खरेलले बिर्तामोडमा घर समेत किनेका छन् ।

यतै बस्ने, यतैका नागरिकका साना ठूला दुःख फुकाउने, जनसम्बन्धलाई राजनीतिक आस्था भन्दा पनि स्थानीयको आवश्यकताका आधारमा विस्तार गर्ने, अरु पार्टीसँग उत्तिकै राम्रो सम्बन्ध राख्ने खरेलको विशेषतालाई अरुले पनि मन पराएका छन् ।

सुधीर शिवाकोटी, कांग्रेस नेता

‘उहाँले स्थानीयस्तरका अप्ठ्यारा फुकाउन कुन एमालेको कुन अरु पार्टीको भनेर हेर्नुभएको छैन,’ ७० सालको प्रतिनिधिसभा निर्वाचनमा झापा २ बाट जितेका र अहिले पनि उम्मेदवार सिफारिस भएका नेपाली कांग्रेसका नेता सुधीर शिवाकोटीले अनलाइनखबरसँग भने, ‘अग्निजी हुँदा काम बोकेर काठमाडौं जानु पनि परेको छैन, उहाँको पहुँच छ एउटा फोनको भरमा पनि भइरहेको छ ।’

विस्तार गरेको सम्बन्ध, स्थानीय स्तरमा गरेका कामहरुका आधारमा खरेल झापा २ का नागरिकका माझमा नयाँ नाम होइन । तर उनको पार्टी एमालेको क्षेत्रीय कमिटीले उनलाई निर्विरोध उम्मेदवार सिफारिस गरेको छैन । खरेलसँगै कार्यकर्ताहरुका माझ भिजेका पुराना नेता देवराज घिमिरे, वर्तमान प्रतिनिधिसभा सदस्य पवित्रा खरेल र ध्रुव शिवाकोटीको पनि नाम सिफारिस भएको छ ।

पार्टीको प्रदेश १ ईन्चार्ज समेत रहेका घिमिरेको पनि नाम सिफारिस भएपछि एमालेका स्थानीय कार्यकर्ता पार्टी अध्यक्ष ओलीले कसलाई उम्मेदवार बनाउलान भनेर उत्सुकतासहित हेरिरहेका छन् ।

भूमिगतकालदेखि नै यही क्षेत्रमा राजनीति गरेका घिमिरे बिर्तामोडका पुराना बासिन्दा पनि हुन् । पार्टीको संगठन बनाएकाले होला, एमाले कार्यकर्ता घिमिरेलाई बढ्ता सम्मान र माया गर्छन् । तर दुबै नेताको आआफ्नो गुण भएकाले जसलाई टिकट दिए पनि जिताउन लाग्ने नेता कार्यकर्ता बताउँछन् ।

संगठनभित्र घिमिरे प्रिय, सम्बन्ध विस्तारमा खरेल

एमाले स्थायी कमिटी सदस्य घिमिरेले भूमिगतकालीन राजनीति कोशीवारी नै गरे । भूमिगत कालमा उनले इलाममा पार्टी सचिव भएर काम गरे । पूर्वी पहाडको सबै क्षेत्रमा संगठन विस्तारको काम गरेका घिमिरे २०४८ को चुनावका बेला मेचीको चुनावी कमाण्डर थिए । त्यसबेला मेचीका चारवटा जिल्लाका सबै निर्वाचन क्षेत्र एमालेले जितेको थियो । २०५४/०५५ सालसम्म घिमिरेले मेचीमा पार्टी प्रमुख भएरै काम गरे ।

देवराज घिमिरे

माधवकुमार नेपाल पार्टीको महासचिव भएपछि घिमिरेलाई बुद्धिजीवी फाँट हेर्ने जिम्मेवारी दिए । त्यसपछि पार्टी राजनीति गर्न राजधानीमै केन्द्रित भए । स्थानीयसँग सम्बन्ध टुट्यो ।

पार्टी नेतृत्वमा नेपालको एकछत्र रहुन्जेल घिमिरेले भूगोलको जिम्मेवारी पाएनन्, नरेश खरेलले यस क्षेत्रको नेतृत्व गरे । पार्टीको नेतृत्वमा ओली आएपछि घिमिरे फेरि भूगोलमा फर्किए, पछिल्लो समयमा प्रदेश १ को इन्चार्जको जिम्मेवारीसमेत उनलाई दिइएको छ ।

महाकाली सन्धि पास गर्ने या नगर्ने भन्ने विषयमा एमालेभित्र मतभेद रहेका बेला वैकल्पिक केन्द्रीय सदस्य रहेका घिमिरेको भोट महाकाली सन्धी पास गर्ने निर्णयमा निर्णायक बनेको थियो ।

लामो समयदेखि पार्टी कमिटीमा र संगठन विस्तारमा काम गरेका घिमिरेले यसपालि एकटपक जनताको भोटबाट अनुमोदन हुने चाहना व्यक्त गरेका छन् । ‘मैले जिन्दगीको लामो समय पार्टी संगठन निर्माणमै बिताएँ, यसपालि जनताकहाँ जान चाहन्छु, यो मेरा लागि पहिलो र अन्तिम मौका पनि हो’, घिमिरेले भने ।

एमाले झापा २ का क्षेत्रीय संयोजक बद्री भट्टराई पनि पार्टीले आफ्ना नेताको गुण नबिर्सिन र एमालेमा न्याय मरेको छैन भन्ने अनुभूति दिलाउन पनि यसपटक घिमिरेलाई टिकट दिनुपर्ने बताउँछन् । ‘अग्नि कमरेड पार्टीको झापा जिल्ला इन्चार्ज पनि हो, यो निर्वाचनमा उहाँले धैर्य गर्नुपर्छ । झापाका १५ वटै निर्वाचन क्षेत्रमा एमालेलाई जिताउने भूमिका खेल्नुपर्छ’, भट्टराईले भने, ‘यसपटक त्यो भूमिकामा रहनुभयो भने अर्काे निर्वाचनदेखि जुनसुकै क्षेत्रबाट उठ्नुभयो भने पनि हामीले उहाँलाई बोक्न तयार छौं ।’

देवराज घिमिरे नै अहिले प्रतिनिधिसभा सदस्य हुनुपर्छ भन्ने कतिपय नेताहरुमा त्यसपछि आफूहरुकै पालो आउनसक्छ भन्ने चाहनाले पनि काम गरेको छ । ‘सबै स्वार्थले चल्ने हो । देवराज कमरेड हुनुभयो भने अग्निभन्दा अलि छिटै फेजआउट हुनुहुन्छ । अग्नि उठेपछि अर्को तीनवटा चुनाव उहाँ नै लड्नु होला । त्यसैले पनि केही स्थानीय नेता देवराजका पक्षका छन्’, एमालेका एक नेता भन्छन् ।

अग्नि खरेल

खरेललाई नै उम्मेदवार बनाउनुपर्छ भन्ने नेताहरु भने उनको परिचित छविका कारण झापा २ को विकासमा थप सहयोग पुग्नसक्ने बताउँछन् । खरेल स्वयं पनि झापा २ का नागरिकले आफ्नो क्षेत्रलाई शिक्षा, स्वास्थ्य र उद्योगको हब बनाउन चाहेको र त्यसको योजना आफूसँग रहेको बताउँछन् ।

‘हामीमध्ये को बलियो र को कमजोर भन्ने नै छैन । यहाँका नागरिकले आफ्नो क्षेत्रको आवाज बलियोसँग संसदमा राख्न सक्ने जनप्रतिनिधि खोज्नुभएको छ भन्ने बुझेको छु’, खरेलले भने । खरेल संविधान निर्माणदेखि कानुनी जटिलता फुकाउनेसम्मका काममा ओलीलाई सघाउँदै आएका छन् । ओली सरकारका पालामा उनी महान्याधिवक्ता पनि भएका थिए । खरेल त्यसअघि नै कानुनमन्त्री भइसकेका व्यक्ति हुन् ।

घिमिरेले एक साताअघि बिर्तामोडमा पत्रकार सम्मेलन गरेर आफू लामो समय पार्टी संगठनमा नरहेकाले झापा २ का नागरिकसँग पछिल्लो समय अन्तर्क्रिया हुन नपाएको बताएका थिए । त्यसलाई एमाले पंक्तिले नोटिसमा राखेको छ ।

‘देवराज घिमिरे कमरेड पनि हामीलाई चाहिने मान्छे हो, त्यसैले उहाँलाई समानुपातिकको १ नम्बरमा राखेर टिकट अग्नि कमरेडलाई दिनुपर्छ,’ विर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष समेत रहेका एमाले नेता अग्नि पाण्डेले भने, ‘डुमलाल राजवंशी रंगशालाको अतिक्रमित जग्गा फिर्ता लिने, मोहनमाया स्कुलको जग्गा स्कुलकै नाममा गरिदिने, यहाँका विद्यालय र स्वास्थ्य क्षेत्रमा लगानी बढाउने काममा अग्नि कमरेडले सांसद नहुँदै नेतृत्व लिनुभएको छ, थप राम्रा कामका लागि उहाँ नै चाहिन्छ भन्ने हो ।’

पार्टीभित्र दुईथरी मत भएपनि समुदाय स्तरमा भने अग्नि खरेलले टिकट पाउनुपर्छ भन्ने मत बलियो देखिन्छ । घिमिरेलाई समानुपातिकको १ नम्बर सूचीमा राखेर खरेललाई प्रत्यक्षको टिकट दिनुपर्ने कतिपय एमाले नेता बताउँछन् ।

घिमिरे यसअघि पनि समानुपातिक सूचीको ३ नम्बरमा थिए । तर उनी सांसद बन्न पाएनन् । समानुपातिकको बन्दसूचीबाट नाम नहटेका कारण राष्ट्रियसभा निर्वाचनमा पनि उम्मेदवार हुन पाएनन् ।

बिर्तामोडमा घिमिरेलाई प्रदेश सांसद बनाएर मुख्यमन्त्रीको दाबेदार गराउने कि भन्ने चर्चा पनि चलेको छ, तर त्यो चर्चाको तहमा मात्रै छ । घिमिरे र खरेलको विषय भएकाले पार्टी अध्यक्ष ओलीले गर्ने निर्णय नै मान्य हुने स्थानीय एमाले नेताहरु बताउँछन् ।

‘हामीले हाम्रो रायसहित सिफारिस पठाएका छौं, पार्टी अध्यक्षको निर्णय नै अन्तिम हुन्छ’, एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले भने, ‘अग्नि कमरेडले टिकट पाउनुभयो भने देवराज कमरेडले प्रदेश १ भर चुनावी अभियानको नेतृत्व गर्नुपर्छ, म मातहतमा काम गर्छु । देवराज कमरेडले टिकट लिनुभयो भने अग्नि कमरेड झापाभरिको चुनावी अभियानको नेतृत्वमा रहनुपर्छ, म मातहतमा काम गर्छु ।’

बलियो उम्मेदवार खोज्दै कांग्रेस

व्यापारिक हब बन्दै गइरहेको झापा २ मा बिर्तामोडको वडा नम्बर १ देखि ९, कन्काईको वडा नम्बर ८ र ९, अर्जुनधारा नगरपालिका र बुद्धशान्तिको वडा नम्बर १, २, ३ पर्छ । गत स्थानीय तह निर्वाचनमा गठबन्धनभन्दा एमालेको मत बढी आएका १० क्षेत्रमध्ये झापा २ पनि एक हो ।

यहाँ गठबन्धनको ३५,११६ मत आउँदा एमालेले ३६,२९६ मत ल्याएको थियो । सिंगो गठबन्धनबिरुद्ध एक्लै ११ सय ८० मतले अघि रहेको एमाले मेयर उपमेयरले पाएको मतलाई आधार मान्दा अझै बलियो देखिन्छ ।

झापा २ मा राप्रपासहितकै गठबन्धन गर्ने हो भने पनि एमाले बलियो रहेको आकलन छ । त्यसैले कांग्रेसबाट सिफारिस भएका कतिपय उम्मेदवार भरसक उठ्न नपाए हुन्थ्यो भन्नेमै छन् ।

कांग्रेसबाट उम्मेदवार सिफारिस भएका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी झापा २ बाट उम्मेदवार सिफारिस भएका अरु उम्मेदवारले बलियोसँग खुट्टा नटेकेको बताउँछन् । ‘मैले धेरैचोटी भनेको पनि छु, तर हार्ने चुनाव किन उठ्ने जस्तो गर्छन्’, बुढाथोकीले भने, ‘अग्निलाई निर्विरोध छोड्न त भएन नि !’

०४८ सालको निर्वाचनदेखि नै झापा २ कम्युनिष्टहरुका थलोका रुपमा चिनिन्छ । यहाँ ०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका सुधीरकुमार शिवाकोटीले जित्नेबाहेक अरु चुनावमा कांग्रेसले जितेको रेकर्ड छैन । यसपालि कांग्रेसले बुढाथोकीसँगै सुधीर शिवाकोटी, सरिता प्रसाई, जलकुमार गुरुङ र छत्र गिरीको नाम सिफारिस गरेको छ । शिवाकोटी बल गरेर टिकट लिने पक्षमा छैनन् । उनले झापा २ मा कांग्रेसभन्दा एमाले र एमालेमा पनि अग्नि खरेल बलियो रहेको विश्लेषण सुनाए ।

यदि एमालेले खरेललाई उम्मेदवार बनायो भने कांग्रेसबाट प्रसाई र शिवाकोटी नउठ्ने आन्तरिक सहमति भइसकेको स्थानीय नेता बताउँछन् । गुरुङ पनि टिकटका लागि मरिहत्ते नगर्ने पक्षमा नै छन् । गिरिबन्धु टि स्टेटका सञ्चालकसमेत रहेका छत्र गिरी र बुढाथोकीमध्ये एकले टिकट लिनसक्ने स्थानीय कांग्रेसको आकलन छ ।

बुढाथोकी स्वयं चाहिँ उमेरका कारण आफू विश्राम लिने मनस्थितिमा रहेको सुनाउँछन् । उनले कांग्रेसको कोही बलियो उम्मेदवार झापा २ मा आए हुन्थ्यो भन्नेमा आफूहरु रहेको बताउँछन् ।

संगठनात्मक हिसाबले झापा २ मा कांग्रेसको उपस्थिति एमालेकै हाराहारी हो । तर गुटगत छिनाझपटीले गर्दा कांग्रेसले आफ्नो पोल्टामा निर्वाचनको परिणामा ल्याउन नसकेको कांग्रेसका प्रदेश १ सभापति उद्धव थापा बताउँछन् ।

‘सभा सम्मेलन हुँदा त झापा २ मा कांग्रेसका खुब धेरै कार्यकर्ता देखिन्छन्, तर मत आउने बेलामा जहिल्यै पराजित भइन्छ, गुटको असर त होला नि,’ थापाले भने । थापा स्वयं ०७४ को निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएर पराजित भएका हुन् । उनी यसपालि झापामा चुनावी मैदानबाट बाहिरिएका छन् ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?