+
+

‘दिनमा ६०० कमाउँछु, ५ करोड कर छलीको मुद्दा छ’

अरूको खेतमा काम गर्छु, दिनको ६०० रुपैयाँ हाजिरा आउँछ । त्यसले सात जनाको परिवार पाल्छु । सरकारले जनता आवास भनेर दुई कोठाको घर बनाइदिएको छ । त्यसमा प्लास्टर र भुईं ढलाइ भएको छैन । अचम्म मलाई ५ करोड कर छलीको मुद्दा छ ।

रामधारी ऋषिदेव, ज्यालादारी कृषि श्रमिक रामधारी ऋषिदेव, ज्यालादारी कृषि श्रमिक
२०७९ भदौ ३१ गते ९:०२

पहिले म कटहरी बजारमा मजदुरी गर्थें । बजारबाट घुर्दा (घर आउँदा) बाटोमा जुडी खोला घाट नजिकै मन्दिर छ । मन्दिरमा एक जना बाबाजी बस्छन् दास किसन यादव । म पनि दास नै हो, कबिर भक्त । काम नहुँदा बुढ्वा (दास) को सेवा गर्न जान्थें । खेतमा पनि काम गरिदिन्थें । धान काट्ने, झार्ने अरू अरू पनि गरिदिएँ । बाबाजी पनि दास भएकाले माया गरे । उनी मलाई दोसर बेटा (दोस्रो छोरा) भन्थे । मलाई माया पनि गर्थे ।

बाबाजीले नै धेरै पहिले विराटनगर– २ तीनपैनी चोकका प्रकाश उप्रेतीसँग चिनजान गराएर एक पटक काठमाडौं पठाएका थिए । उनीहरू दुई जनाबीच पहिलेदेखिकै सम्बन्ध थियो कि थिएन त्यो त म भन्न सक्दिनँ तर, प्रकाशले सुरुमा बाबाजीका छोरालाई काठमाडौं लैजान खोजेका थिए, उनी नमानेपछि हामीलाई जानु भने ।

घुम्छौ, फिर्छाै, हाजिरा पनि पाउँछौ भनेपछि कहिल्यै नगएको काठमाडौं जाउँ न त भन्ने लाग्यो । ठूलो सहर घुमेको पनि थिएन । त्यसपछि हामीलाई प्रकाश उप्रेतीले लिएर गए । म, लखन ऋषिदेवसँगै बसमा प्रकाश उप्रेती पनि गए ।

काठमाडौंको कलंकीमा उतारेर बानेश्वर लगेर लजमा राखे । त्यहाँ प्रकाश घिमिरेलाई भेट गराए । उनीहरूको पुरानै चिनजान रहेछ । उनीहरूसँग बसेर गफ गरेपछि हाम्रो नागरिकता मागेर कागजपत्र बनाए । हामीलाई सहीछाप गर्न लगाए ।

फारम भर्ने ठाउँमा ठूलो भीड थियो । विद्यार्थी पनि थिए त्यहाँ । हामीलाई दिएको फाइलमा ४–५ हजार पैसा राखेर भित्र अफिसमा पठाए । अफिसमा पैसा निकालेर त्यहाँका मान्छेले राखे, एकछिनपछि फाइल हामीलाई नै दिए । त्यसपछि बैंकमा फाइल लिएर गए । उनीहरूले आफ्नै कम्पनी हो, आफैं काम गर्ने हो भनेर सिकाए, बैंकमा हामीले त्यही भन्यौं ।

फारम भरेपछि हामीलाई पठाए । बैंकबाट बाहिर निस्किएपछि सुरुमा आफूलाई प्रकाश घिमिरे भनेर चिनाएका व्यक्तिले हामीबाट फाइल लिएर राखे । त्यसपछि नाम लेख्न लगाए । किन भनेर सोधेपछि महिनाको पाँच हजार घरमा पठाइदिन्छु भने । दिनभरि काम गर्दा ६०० कमाउँथें, पाँच हजार दिन्छु भनेपछि हुन्छ भनिदिएँ ।

त्यसपछि हामीलाई भाडा र दुई दिनको दुई हजार रोजी (हाजिरा) दिएर घर पठाए । काठमाडौं दुई दिन मात्रै बसें, गाडी भाडा खानपान सबै उनीहरूले नै गरे दुई दिन । हामी घर आएपछि दुई महिनासम्म पैसा पनि पठाइदिए । त्यसपछि फोन लागेन ।

म खेतमा काम गर्ने मजदुर हुँ, घरमा फर्किएपछि म आफ्नै काममा लागें । परिवार पाल्न अरूको खेतमा मजदुरी गरिरहें । १९ मंसिर २०७८ मा अदालतको पत्र आएपछि चाहिं डर लाग्यो । पत्र देखेपछि गाउँका मान्छेले अब तँलाई पुलिसले समात्छ, जेल हान्छ भनेर डर देखाए । अरू अरू के के पनि भने । गल्ती केही गरेको छैन तर पनि थुन्छ भनेपछि डर लाग्यो । अहिले पनि लागिरहन्छ ।

चिठी आएपछि डर लागेर सांसद शिवकुमार मण्डल दाजुलाई भेट्न गएँ । शिवकुमारलाई भेटेर कुरा राखें, उहाँले लेखेर राख्नुभयो । दाजुले पनि कता कता फोन गरेर यी मान्छेलाई फसाइएको छ, हेरविचार गरिदिनू भन्नुभयो । दाजुले फोन गरेपछि फेरि पत्र घरमा आएको छैन ।

म किसान मान्छे, आफ्नो खेत दुई कट्ठा मात्रै छ मोहीमा (अरूको जग्गा गर्दा पाउने हक) पाएको । हजुरबुबाको पहिले अढाइ बिघा (दुई बिघा १० कट्ठा) जग्गामा मोही थियो । विराटनगरमा लड्दा लड्दा सात कट्ठा पाएको थिएँ । पाँच कट्ठा मुद्दा गर्दा सकियो ।

अरूको खेतमा काम गर्छु, हाम्रो गाउँमा काम गर्दा दिनको ६०० रुपैयाँ हाजिरा आउँछ । म काम गर्न जाँदा ६०० हाजिरा पाउँछु । त्यही हाजिराले सात जनाको परिवार पाल्छु । मेरो आफ्नो घर सानो थियो । सरकारले दुई कोठाको (जनता आवास परियोजना अन्तर्गत) घर बनाइदिएको छ । घरमा प्लास्टर र भुईं ढलाइ भएको छैन । अचम्म मलाई ५ करोड कर छलीको मुद्दा छ ।

मैले कक्षा ९ सम्म पढेको छु । बासको बेरा लगाएर सद्गुरु कबिरको सत्सङ्गको ठाउँ बनाएका छौं, म त्यहाँ गाउँका ३०–४० जना केटाकेटी पढाउँछु ।

हाम्रा बालबालिका स्कुल पनि जाँदैनन्, अभिभावकहरू पनि पढेका छैनन् । म दिउँसो मजदुरी गर्छु, साँझमा गाउँका केटाकेटीलाई भेला गरेर सित्तैंमा ‘क’ देखि ‘ज्ञ’ सम्म, १ देखि १०० सम्म गिन्ती सिकाउँछु । स–सानो हिसाब पनि सिकाउँछु । मैले सिकाउन थालेको असारदेखि मात्रै हो । मैले पैसा लिने भए यहाँ पढ्न आउँदैनन् । हाम्रो गाउँका घरमुलीले दिनमा हाजिरा गरेर पैसा कमाउँछन् । तर जोगाउन सक्दैनन् ।

(५ करोड ५३ लाख कर छलीको आरोपमा उच्च अदालत पाटन, ललितपुरमा मुद्दा चलिरहेका दक्षिणी मोरङका ज्यालादारी श्रमिक रामधारी ऋषिदेवसँग अनलाइनखबरकर्मी हरि अधिकारीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?