+
+
स्थलगत :

बन्द रेशम चौधरीको खुला चुनौती

टीकापुर घटनाको चोट भर्ने गरी कुनै कदम नचालिएको र ठूला दलहरूसँग थारू समुदाय रिझाउने बलियो एजेण्डा समेत नभएकाले आगामी चुनावमा पनि रेशम चौधरीकै आकर्षण कायम रहने देखिन्छ । विशेषगरी कैलाली पूर्व र बर्दिया पश्चिमको क्षेत्रमा ठूला दलहरू रक्षात्मक बन्ने सम्भावना छ ।

सइन्द्र राई सइन्द्र राई
२०७९ असोज २ गते २०:३०

२ असोज, टीकापुर । आजीवन काराबासको सजाय खेपिरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीको दक्षिण–पूर्वी टीकापुरमा केन्द्रीय कार्यालय खोलेको छ ।

सुदूरपश्चिम प्रदेशकै धेरै जनसंख्या र निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा सबभन्दा ठूलो राजनीतिक शक्ति बनिसक्दा पनि यो पार्टीसँग कार्यालय थिएन ।

‘अहिलेसम्म खोलिएको कार्यालय भनेकै यही हो, अब विस्तारै अरूतिर पनि हुन्छ’, केन्द्रीय सदस्य प्रदीप चौधरी भन्छन् । रेशमकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेर ९ महिना अगाडि (पुस २०७८ मा) गठन गरिएको यो पार्टीले गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा कैलालीको १३ मध्ये चार पालिका जितेको छ ।

जिल्लाको तेस्रो ठूलो पालिका टीकापुरसहित भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाको प्रमुख जितेर पहिलो दल बनेपछि मात्रै नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय खोल्ने निष्कर्षमा पुगेको हो ।

‘यो घर रेशम चौधरीकै हो, जलेको घरलाई रंग लगाएर केन्द्रीय कार्यालय बनाउँदैछौं’ अर्का केन्द्रीय सदस्य ललित ताम्राकार भन्छन्, ‘सांस्कृतिक पहिचानको आन्दोलन अब यहींबाट अगडि बढ्छ ।’

पार्टी कार्यालय पछाडि जलेको अवस्थामा रेशमको गाडी ।

सात वर्ष अगाडि अर्थात् ८ भदौ २०७२ मा रेशम चौधरीको यो घरमा आगजनी भएको थियो । तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या भएपछि उत्पन्न आक्रोशकै क्रममा रेशमको घर, गाडी र फूलबारी एफएम जलाइएको थियो । अरू ८८ वटा घरमा लुटपाट र आगजनी भएको स्थानीय बताउँछन् । ‘आगजानी र लुटपाट भएका सबै घर थारूका थिए’, केन्द्रीय सदस्य प्रदीप भन्छन् ।

संविधान निर्माणका क्रममा थारू बहुल क्षेत्र (कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ) लाई छुट्टै प्रदेश बनाइनुपर्ने र अखण्ड सुदूरपश्चिम टुक्र्याउन नहुने पक्षधरबीच मतभेद चलिरहेकै बेला, ७ भदौ २०७२ मा टीकापुर घटना हुन पुगेको थियो । उक्त हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा रेशमसहित ५८ जना विरुद्ध मुद्दा दर्ता भयो । रेशम लगायतका केही फरार थिए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

रेशमले फरार रहँदै २०७४ को प्रतिनिधिसभा सदस्यको चुनाव जिते । त्यसबेला तत्कालीन वामगठबन्धन (एमाले र माओवादी केन्द्र) र नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन बीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

तर २१ हजार मतान्तरले वाम गठबन्धनकी मदनकुमारी शाह (गरिमा) लाई पछि पार्दै रेशमले कैलाली–१ बाट चुनाव जिते । रेशमले ३४ हजार ३४१ मत पाउँदा गरिमाले १३ हजार ४०६ मत ल्याएकी थिइन् । कांग्रेसकी ईश्वरी न्यौपाने ११ हजार २०३ मतमा सीमित भइन् ।

चुनाव जितेपछि जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका रेशमलाई एक वर्षपछि, ११ पुस २०७५ मा शपथ गराइयो, प्रतिनिधिसभा सदस्यको लोगो दिइयो । त्यसको दुई महिनापछि जिल्ला अदालत, कैलालीले रेशमसहित ११ जनालाई जन्मकैदको सजाय सुनायो ।

उच्च अदालत दिपायलले ३ पुस २०७७ मा राजकुमार कठरिया, सुन्दरलाल कठरिया र वृजमोहन डगौराको जन्मकैद उल्टी भयो भने तीन वर्ष कैद सजाय काटेर छुटेका लक्ष्मण थारूलाई जन्मकैदको सजाय सुनायो । रेशम चौधरीको जन्मकैदलाई भने उच्च अदालतले पनि सदर गर्‍यो ।

जन्मकैदको सजाय काटिरहेका रेशम, केन्द्रीय कारागार डिल्लीबजारमै बन्दी छन् । ‘जनताको आँखामा रेशम चौधरी निर्दोष हुनुहुन्छ, हरेक इमानदार नागरिकले टीकापुर घटनालाई घुसपैठ नै भन्छन्’ केन्द्रीय सदस्य ललित भन्छन्, ‘तर प्रशासनको आँखा खुलेको छैन, जनादेशको सन्देश बुझेको छैन ।’

बढ्दो आकर्षण

कानुनको नजरमा दोषी सावित भएका रेशम चौधरी, प्रमुख राजनीतिक दलहरूलाई समस्या बन्न पुगेका छन् । २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) को चिह्न छाताबाट चुनाव लडेका रेशमले आफ्नै पार्टी गठन गरेका छन् । उनको नागरिक उन्मुक्ति पार्टीप्रति अन्य दलका नेता–कार्यकर्ता र जनताको पनि आकर्षण देखिएको स्थानीयको बुझाइ छ ।

‘अरू पार्टीलाई भोट दिएर पनि केही हुने होइन, नागरिक उन्मुक्तिलाई दिए कम्तीमा रेशमलाई न्याय हुन्छ भन्ने देखिन्छ’, स्थानीय व्यवसायी बालकृष्ण बर्तौला (३०) भन्छन् । उनी आगामी चुनावमा पनि नागरिक उन्मुक्ति पार्टीले राम्रै मत पाउने अनुमान गर्छन् । ‘माहोल छ । स्थानीय चुनावले अझै धेरै आकर्षण बढाएको छ’, बर्तौलाले अनलाइनखबरसँग भने ।

२४ भदौको दिउँसो केन्द्रीय कार्यालयमा समानुपातिकतर्फको सूची तयार पार्दै गरेका प्रदीपले रेशम चौधरीलाई सोचकै संज्ञा दिए । ‘रेशम चौधरी एक सोच बन्नुभएको छ, यहाँका हरेकलाई सोध्नुहोस्, रेशम चौधरीप्रति श्रद्धा छ’, उनी दाबी गर्छन् ।

स्थानीय चुनावमा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जस्ता ठूला शक्तिलाई पछाडि पारेकाले पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने लहर देखिन्छ । एमाले कैलालीको नेतृत्व गरिसकेका प्रदेश सभा सदस्य रतन थापा कार्यकर्तासहित स्थानीय चुनावपछि यो पार्टीमा प्रवेश गरे ।

यो क्षेत्रमा राम्रै प्रभाव राख्ने कांग्रेस नेता प्रदीप चौधरी र माओवादी केन्द्रका केन्द्रीय सदस्य छोडेर ललित ताम्राकार नागरिक उन्मुक्ति पार्टीमा लागेका छन् । जनता समाजवादी पार्टी (जसपा) छोडेर कोमल ज्ञवाली केही पहिलेबाटै रेशमलाई साथ दिंदै आएका छन् ।

‘पार्टी बनेपछि नेताहरू पनि देखिन थालेको हो । यसअघि त रेशम चौधरीको प्रचार मात्रै थियो’, एक स्थानीयले भने । कतिसम्म भने २०७४ को चुनावमा रेशमकै बुवा लालवीर समेत एमालेमा थिए । एमालेले कैलाली–१ (ख) बाट लालवीरलाई उम्मेदवार बनाएको थियो ।

अर्थात् छोरोविरुद्ध लालवीरले मत माग्नुपथ्र्यो । ‘म प्रदेश सभाको उम्मेदवार भएपछि रेशमको भोट काटिन्छ र गरिमा साहले पनि जित्छिन् भन्ने हिसाबले टिकट दिएको रहेछ’, लालवीर भन्छन् । रेशमले पार्टी खोलेपछि भने उनी छोराकै पार्टी कार्यालय धाउन थालेका छन् ।

भर्चुअलबाट भौतिक

टीकापुर घटनाको योजनाको आरोप लागेपछि फरार र पछि जेल जीवन बिताइरहेका रेशमले अहिले पार्टी खोले पनि बितेको ६ वर्ष भने भर्चुअल माध्यमबाट जनतासँग जोडिए । प्रतिनिधिसभा चुनाव जित्न र स्थानीय चुनावमा आफ्ना उम्मेदवार जिताउन उनले आफ्नै नामको ‘रेशमलाल चौधरी’ यूट्यूब च्यानल खोलेका थिए । त्यही च्यानलबाट रेशमले आफ्ना कुरा राख्दै आएका छन् ।

४ माघ २०७३ मा पहिलो पोष्ट भएको यो च्यानलमा अहिलेसम्म ८७ वटा भिडियो छ । ती भिडियोहरूमा राजनीतिक अपील, गीत, कविता, टीकापुर र थारू समुदायका लागि आफूले गरेको योगदानका क्लिपहरू समावेश छन् । प्रतिनिधिसभा चुनाव जित्न फरार अवस्थामै भिडियो अपील गरेका रेशमले स्थानीय चुनावमा माहोल बनाउन अन्यायविरुद्ध लड्दा जेल परेको गीतहरू बनाएका छन् ।

उनका समर्थकहरूले त्यही गीत सुनाएर भोट मागे । ‘सबैसम्म भिडियो लिएर जानु सम्भव थिएन, धेरैले आफैं हेरेर भोट हाले’ लक्ष्मी चौधरी (२७) भन्छिन् । लुम्कीचुहा नगरपालिका–१ की सरस्वतीलाई भिडियोमा थारूको वास्तविकता भए जस्तो लाग्छ । ‘डाउनलोड गरेर राखेकी छु, आँशु आइलाग्छ’ उनी भन्छिन्, ‘हाम्रो कुरा गर्दा जेलमा बस्नु परेको छ ।’

जेल बस्न थालेपछि रेशमको भिडियो सन्देश बन्द छ, तर उनले लेखेका गीत, कविता, विगतमा गरेका भाषण, गतिविधिलगायत पोष्ट भइरहेको छ । अर्थात् मुख्य राजनीतिक शक्तिहरूकै निम्ति चुनौती बन्नुमा टीकापुर घटनापछि थारू समुदायमाथि गरिएको अन्यायको अनुभूति र रेशमको भर्चुअल अपील प्रमुख कारण देखिन्छ ।

अब चाहिं भर्चुअल र भौतिक दुवै माध्यमबाट सांस्कृतिक पहिचानको आन्दोलन अगाडि बढाउने उक्त पार्टीका नेता प्रदीप चौधरी बताउँछन् । ‘पहिचानको आवाज उठाउँदा थारू छोराहरूले झुटा मुद्दामा जेल बस्नु परेको छ’ उनको आक्रोश सेलाएको छैन, ‘पहिचानको लडाईंमा शहादत प्राप्त गर्न भनेर हामी निस्किएका थियौं, तर प्रहरीकै रगतले पहिचानको आन्दोलन धुने काम भएको छ ।’ तर अन्यायमा पर्दै आएका समुदायलाई सम्मान दिन सचेत नागरिकको साथ मिल्नेमा उक्त पार्टीका नेताहरू विश्वस्त देखिन्छन् । ‘हिजो जे भयो भयो, अब एकपटक सोच्नुपर्छ ।

सांस्कृतिक पहिचान स्थापनाको आन्दोलनमा सबै गोलबन्द हुन आवश्यक छ’, एक नेता भन्छन् । रेशम चौधरी केन्द्रमा रहेर विस्तारित यो पार्टी र आन्दोलनमा अहिले चलेको र चिनिएका नेताहरूको साथ मिल्नेमा भने प्रशस्त आशंका गर्न सकिन्छ । किनकि टीकापुर घटना हुनु अगाडिसम्म थरूहट आन्दोलनलाई राष्ट्रिय राजनीतिमै बलियो प्रभाव राख्ने नेताहरूको समर्थन थियो ।

त्यसबेला पुष्पकमल दाहाल प्रचण्ड, विजयकुमार गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, रामजनम चौधरी लगायतको समर्थन थारू आन्दोलनप्रति थियो । स्वायत्त थरूहट प्रदेशका निम्ति एमालेका राजकुमार लेखी, माओवादी विद्रोहका कमाण्डर लक्ष्मण थारू, गोपाल दहित, डिल्ली चौधरीहरूले चर्को आवाज उठाएका थिए ।

जब टीकापुर घटना भयो, त्यसपछि सबैले साथ छोडेको दुःखेसो रेशमले फरार रहँदै भिडियो सन्देशबाट दिएका थिए । ‘पहिचानको आन्दोलन गरौं भनेर हामी एक ठाउँमा बस्यौं, सरसल्लाह गर्‍यौं’ पाँच वर्ष अगाडि नै रेशमले भनेका थिए, ‘खै, आज मेरा साथीहरू कता भागिरहनुभएको छ ?’ अर्थात् ठूला दलहरूमा आबद्ध व्यक्तिको साथ नमिलेको, साथ दिन चाहनेहरूमध्ये कति फरार र कतिपय पक्राउ परेकाले पनि रेशमले भर्चुअल माध्यम प्रयोग गरे ।

संकल्प : मुक्ति, यथार्थ : बन्दी

नरसंहारकै आरोपमा आजीवन काराबास खेपिरहेका रेशम चौधरी र उनको पार्टीलाई भर्चुअल अपीलकै भरमा मत दिइनुलाई थारू समुदायको भावनात्मक पक्षमा मात्रै नरहेको स्थानीय उमानाथ अर्याल (७४) बताउँछन् । २०२९ सालदेखि टीकापुरस्थित जनता मावि मनुवामा पढाएका अर्याल, यसको पछाडि टीकापुरको इतिहास र रेशम चौधरीको भूमिका सम्झनुपर्ने बताउँछन् ।

‘टीकापुरमा घटना भइरहँदा एकातिर रेशम चौधरी थिए, तर अर्कातिर को थिए भन्ने पनि त जनताले हेरेका छन्’ उनी भन्छन्, ‘अखण्डको नेतृत्वमा शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्ट, रमेश लेखकहरू थिए ।’ राज्यसंरचना हुँदा हार्ने पक्षमा रेशम उभिएकाले अहिले पनि उनीप्रति सहानुभूति गएको अर्यालको भनाइ छ ।

उमानाथ अर्याल

उसो त, रेशमकै पृष्ठभूमिबारे पनि टीकापुर ५० को दशकबाटै परिचित थियो । रेशमलाई जान्नेहरूका अनुसार, उनी सानैबाट विद्रोही स्वभावका मात्रै थिएनन्, समूह निर्माणमा समेत चतुर थिए । ‘महेन्द्रनगरमा बंगालीहरूको उद्दण्डताले हैरान बनाएको थियो, उनीहरूलाई लखेट्न रेशम पनि साथीहरूसँग गएछन्’, उनका बुवा लालवीर सम्झिन्छन् ।

त्यसअघि नै टीकापुरमा हुने सामाजिक गतिविधिमा रेशमको सहभागिता बढ्दै गएको थियो । ‘सानैमा यिनका साथीहरू पहाडे हुन्थे, जबकि रेशमका हजुरबुवालाई जमिनदार जगतराज पौडेलले दाङबाट ल्याएका थिए’, अर्याल सम्झन्छन् । रेशम आफैंले पनि ९ वर्षकै उमेरमा वीरेन्द्र विद्या मन्दिरमा ड्रम बजाएको र पछि बालरत्न पुरस्कार पाएको बताउने गरेका छन् । पछि, उनले गोरखा दक्षिणबाहु पुरस्कार नै पाएका थिए ।

बंगाली खेद्ने अभियानमार्फत साहसी युवकको परिचय दिन खोजेका रेशम काठमाडौं आएपछि एमाले निकट अनेरास्ववियुमा जोडिए । ‘भर्खर एसएलसी दिएर आए पनि विद्रोही स्वभाव थियो, राज्यसँग लड्न तत्परता देखेपछि उम्मेदवार नै बनाउने निर्णय गरेका थियौं’, एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार सम्झन्छन् । २०५१ सालमा रेशमले अखिलबाट रत्नराज्य (आरआर) क्याम्पसमा स्ववियु सदस्य जिते । त्यसबेला राजनकुमार बस्नेत सभापति र यज्ञराजले सचिव जितेका थिए ।

स्ववियुको अर्को चुनावमा भने भीम किराँतले विद्रोही प्यानल बनाउँदा त्यही समूहमा रेशम सचिवको उम्मेदवार बने । ‘पार्टीले फिर्ता हुनु भनेपछि रेशमको उम्मेदवारी पनि फिर्ता भयो’, सुनुवार भन्छन् । टीकापुरमा रहेका बुवा लालवीरलाई पनि त्यसैबेला रेशमले एमाले बनाए ।

रेशमकै कारण पूर्वपञ्चप्रति नरम लालवीरको परिवार एमाले बन्यो । तर रेशम आफैं सक्रिय राजनीतिबाट टाढा पुगे । विशेषगरी संगीत क्षेत्रमा लागे, मार्सल आट्र्सका गुरु भए । ‘माओवादीको विद्रोह कालमा रेशम थप प्रभावित बनेको देखिन्छ, उनले लेखेको र गाएका गीतहरूमा थारू मुक्तिको कुरा धेरै सुनियो’, सुनुवार भन्छन् ।

टीकापुर र थारू समुदायको आवाज संगीत क्षेत्रबाटै उठाएका रेशमले राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि प्रधानमन्त्रीमै निवेदन दिए । आफू स्वच्छ छविको प्रधानमन्त्री बन्न योग्य रहेको भन्दै रेशमले लेखेको निवेदन दरबारले स्वीकारेन । उमेरको कारण देखाएर निवेदन अस्वीकृत भएको थियो ।

‘आफूलाई फरक देखाउने रेशमको बानी नै थियो, भारतीय वस्तुहरूको प्रभाव रहेको टीकापुरमा नेपाली गीत बजाउने र गाडी चढ्ने गर्थे’, अर्याल भन्छन् । २०६३ सालपछि टीकापुरमा रेशमको प्रभाव थप विस्तार भयो । विशेषगरी फूलबारी एफएम, सांगीतिक महोत्सव र सामाजिक गतिविधिबाट उनी चिनिए । २०६८ मा फूलबारी एफएमको सातौं वार्षिक उत्सव मनाउँदा केपी शर्मा ओली प्रमुख वक्ता बनेका थिए ।

१८ वर्ष पछाडि रेशमले टीकापुरमा बोल्ने वातावरण मिलाएकोमा ओलीले सार्वजनिक मञ्चबाटै प्रशंसा गरेका थिए । ‘फूलबारी एफएम, जो एकदमै लोकप्रिय भएको छ, जनताको माया ममता जितेको छ’ त्यसबेला ओलीले मञ्चबाटै प्रतिबद्धता जनाएका थिए, ‘यस एफएमको थप सफलताको निम्ति यदि कुनै प्रकारको केही गर्नुपर्छ भने म रेशमजीलाई भन्न चाहन्छु, रेशमजीले भन्नेबित्तिकै म हरदम तयार रहनेछु ।’

स्थानीयका अनुसार टीकापुरमा रेशमले गीतकार, संगीतकार, पत्रकार, समाजसेवी, धामी, नेता भए जति गरेर बसेका थिए । मुख्यगरी देशले चिनेका कलाकार, नेता लगायत टीकापुर लगेर रेशमले स्थानीयको विश्वास जितिरहे । ‘मिडिया, गीत–संगीत, महोत्सव गरेर टीकापुर र थारूहरूलाई उहाँले चिनाउने काम गर्नुभएको थियो’ स्थानीय जयराम चौधरी (२८) भन्छन् ।

टीकापुरको खडकसिंह चोक

रेशमको नलुकेको सपना भने टीकापुरमा खडक सिंह पछिको नेता बन्ने देखिन्छ । पञ्चायतका मन्त्री खडकको टीकापुर चोकमा मूर्ति बनाएर रेशमले त्यस्तो चाहना लुकाएका थिएनन् । राजा महेन्द्रका विश्वासिला खडकलाई टीकापुरले बस्ती निर्माणकै संस्थापक मान्छन् ।

‘खडकसिंह यहाँको ठूलो नाम हो, रानीलाई खुशी बनाएर उनले टीकापुरको बस्ती निर्माण गरेका थिए’, अर्याल भन्छन् । शिकार खेल्न दोधार जाँदा घाइते महेन्द्रलाई खडक सिंहले सहयोग गरेको उपकार रानीमा थियो ।

तर पनि खडक कट्टर पञ्च थिए, राजाकै जन्मोत्सव मनाउन दाङ जाँदा १४ पुस २०४३ मा देउखुरीमा कार दुर्घटनामा परी उनको मृत्यु भयो । त्यसैले टीकापुरमा खडकले बासको प्रबन्ध गरेको र स्वाभिमान लडाइँ आफूले लड्ने आफू निकटलाई रेशमले सुनाउँथे ।

‘अहिले पनि मामा (रेशम) अन्यायको विरुद्ध लड्नुपर्छ भन्नुहुन्छ’ रेशमकी भाञ्जी निकिता साहु (२०) भन्छिन्, ‘घरमा भने हामीलाई सधैं पीर छ ।’ बेलाबेला डिल्लीबजार कारागार पुगेर भेट्ने गरेकी निकितालाई मामाको प्राणको धेरै माया छ । ‘बाहिर निस्क्यो भने मार्दिन्छन् भन्छन् । केही गर्दा पनि सुख छैन’, उनी भन्छिन् ।

निकिता साहु

उद्देश्य : राष्ट्रिय शक्ति

रेशम चौधरीकै तस्वीर राखेर प्रचार थालेको नागरिक उन्मुक्तिको चुनावमा नारा भने पुरानै छ– ढकियामा मतदान, जीवनदान ।

२०७४ को प्रतिनिधिसभा र ३० वैशाखको स्थानीय चुनावमा पाएको मतकै कारण यस्तो नारा लगाइएको बुझ्न सकिन्छ । एकातिर, रेशम चौधरी र अर्कातिर ढकिया चिह्न राख्दा थारू भावना जित्नेमा नेताहरू विश्वस्त छन् । ढकिया थारू संस्कृतिको महत्वपूर्ण सामग्री भएकाले राष्ट्रिय पार्टी बन्ने यो नै उत्तम विकल्प हुने बुझाइ रेशम र उनी समर्थकहरूमा देखिन्छ ।

किनकि थारू मुलुककै चौथो ठूलो जनसंख्या भएको समुदाय हो । २०६८ को जनगणना अनुसार, थारू जनसंख्या १७ लाख ३७ हजार ४७० (६.५६ प्रतिशत) छ । २०७८ को प्रारम्भिक जनगणना अनुसार, वितेको दश वर्षमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेकाले थारूको जनसंख्या १७ लाख ५३ हजार ६२८ पुग्छ । नागरिक उन्मुक्तिले थारू समुदायलाई जनसंख्याकै अनुपातमा राज्यको शासकीय तहमा स्थापित गराउनुपर्ने एजेण्डालाई प्राथमिकतामा राख्दैछ । यहाँको आदिवासी भए पनि बँधुवा मजदुर, कमैया र कमलरी भएर दासकै जीवन बाँचिरहेकाहरूको उन्मुक्ति यो पार्टीको संकल्प हो ।

गैर थारू मत तान्ने पार्टीको नेतृत्वलाई समावेशी बनाउने प्रयत्न पनि सुरु गरेको छ । पार्टीको महामन्त्री रतन थापा र प्रवक्ताको जिम्मेवारी दामोदर पण्डितलाई दिएर त्यस्तो सन्देश दिन खोजिएको छ । ‘अहिले केन्द्रीय कार्यसमिति ५०÷५० को (थारू र गैर थारू) हाराहारीमा भइसक्यो, सांस्कृतिक पहिचानको एजेण्डा थारूको मात्रै होइन’, केन्द्रीय सदस्य प्रदीप चौधरी भन्छन् ।

सँगै, एमालेले पार्टी विभाजनको चोट खेपिरहेको र सत्ता गठबन्धनमा सिट बाँडफाँटको असन्तुष्टि देखिनु नागरिक उन्मुक्ति पार्टीका निम्ति सकारात्मक पक्ष हो । टीकापुर घटनापछि प्रताडित थारू समुदायलाई सम्बोधन गर्ने गरी सरकारले कुनै निर्णय नगरेकाले पनि ढकियामा मत जान सक्छ । तर त्यो आशा र सहानुभूतिको मतभार थेक्न भने नागरिक उन्मुक्ति पार्टी तयार देखिंदैन ।

किनकि यो पार्टी अहिले पनि कागजी प्रमाण र मतपेटिकामा खसेको मतमै सीमित छ । उक्त पार्टीका एक नेता पनि यो तथ्य स्वीकार्छन् । ‘भर्खर त पार्टी बनाउँदैछौं । संस्थागत रूपमा चलाउने सीप विस्तारै विकास हुन्छ’ ती नेता भन्छन्, ‘जसले यो आन्दोलनको नेतृत्व गर्नुपर्ने हो, उहाँ आफैं जेलमा हुनुहुन्छ ।’

साथमा जनक विष्ट

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?