+
+
भैरहवाको भुईंबाट-११ :

विमानस्थलको सन्नाटाले अत्ताल्लिए लुम्बिनीका होटल व्यवसायी

विमानस्थल चल्यो, तर अर्बौं लगानी भएका होटलमा २० प्रतिशत पनि अकुपेन्सी छैन । सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठ भन्छन्, ‘२-४ वटा कोठा बेचेर कसरी होटल चलाउने ?’

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ असोज २ गते २१:२२
बुद्धचोकमा बनिरहेको पाँचतारे होटल

२ असोज, काठमाडौं । भैरहवामा गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि रुपन्देहीका बुटवल, तिलोत्तमा, भैरहवा, लुम्बिनी र आसपासका क्षेत्रमा होटल लगानी ह्वात्तै बढ्यो । स्थानीय मात्रै हैन, काठमाडौं र विदेशका समेत लगानीकर्ता रुपन्देहीमा होटल बनाउन पुगे ।

कोरोना महामारीले पर्यटन क्षेत्र बढी प्रभावित हुँदा लगानी गर्न रोकिएकाहरु केही जुर्मुराएको कालबेला थियो, त्यो । २ जेठ २०७ बाट भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भने परिस्थति अलग बन्दै गएको छ । पर्याप्त उडान नभएर विमानस्थल सुनसान रहँदा लगानीकर्ताको उत्साह सेलाउँदै गएको छ ।

विमानस्थल बन्ने भएपछि विदेशी पर्यटक ओइरिने आशमा यो क्षेत्रमा कति लगानी थपियो भन्ने आँकडा कसैसँग छैन । रु. ३० अर्बभन्दा बढी लगानी भएको व्ययसायीहरुको अनुमान छ ।

भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु भएको करिब ४ महिने अवधिमा होटलहरुको अकुपेन्सी रेट यति कमजोर रह्यो कि व्यवसायीहरु लगानी थप्न डराइरहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरबाट आउने बौद्धमार्गी पर्यटक लक्षित होटलहरुका लगानीकर्ता विमानस्थलको परिदृश्यबाट अत्ताल्लिएका छन् ।

‘विमानस्थल चल्यो, तर होटलमा २० प्रतिशत पनि अकुपेन्सी छैन’, सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठ भन्छन्, ‘२-४ वटा कोठा बेचेर कसरी होटल चलाउने ?’

सीमावर्ती भारतीय सहरहरुबाट आउने पर्यटकले शुक्रबार र शनिबार केही चलपहल भएपनि अन्य दिन भैरहवाका होटलहरु सुनसानप्रायः हुन्छन् । महामारीपछि व्यवसायीहरुको अपेक्षाअनुसार अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटक ल्याउन सकेन ।

गौतम वुद्ध विमानस्थल प्रयोग गर्ने ९५ प्रतिशत यात्रु वैदेशिक रोजगारीमा जाने-आउने नेपाली छन् । पर्यटक स्तरका होटलमा बास बस्न आउनेेहरु ज्यादै न्युन हुन्छन् । यसले होटलका लगानीकर्तामा तनाव बढाएको छ ।

बुद्धचोक नजिकै बनिरहेको होटल

यस्तो बेला बैंकहरुले ८ प्रतिशत ब्याजदरको ऋणलाई १६ प्रतिशतसम्म पुर्‍याएको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवाली बताउँछन् । बैंकहरुले तरलता अभाव देखाएर लगानी पनि नगर्दा थप समस्या भएको उनले बताए ।

‘होटललाई उद्योगसरह सुविधा दिन सरकार हिच्किचायो, यसले गर्दा लगानी उठ्ने वातावरण नबनेर हामीलाई समस्या परिरहने भयो,’ उनले भने ।

सिद्धार्थ होटल संघका अध्यक्ष श्रेष्ठ पनि होटलमा लगानी भएको बैंकहरुको ऋणको ब्याज महँगिदा तनाव बढेको अवस्था छ ।

उनका अनुसार, रुस-युक्रेन युद्धको प्रभावले निर्माण सामग्री महँगिएर बनिरहेकाले होटलमा थप लगानी गर्नुपर्ने अवस्था आएको छ । बनिसकेका होटलमा पनि पर्याप्त पाहुना छैनन् ।

राष्ट्र बैंकले मौद्रि क नीतिमार्फत दिएको सुविधा पनि यो वर्षबाट कटौती गरेको छ । यो सबै समस्याबीच होटलमा गरिएको लगानीले प्रतिफल दिने ग्यारेन्टी नदेखिएको श्रेष्ठले बताए ।

‘बौद्धमार्गी पर्यटक लुम्बिनीमा आएकै छैनन्, युरोपियन पर्यटक फाट्टफुट्ट आएका छन्,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘विमानस्थल बनेर मात्रै हुँदैन, पर्यटन प्रवर्द्धन र चुस्त सडकसहित पर्यटकीय पूर्वाधार बनाउन भएको ढिलाइ र लापरवाहीले समस्या पारेको छ ।’

अहिले बुटवल-भैरहवा-लुम्बिनी क्षेत्रका होटलका अधिकांश पाहुना भारतीय हुन् । उनीहरु स्थलमार्गबाट आउने हुन् । भारतबाट हवाईमार्गबाट लुम्बिनी आउनसक्ने पर्यटकलाई भने अझै यातायात सुविधा छैन ।

‘कम्तीमा भैरहवा-दिल्ली दैनिक उडान हुन्थ्यो भने भारतबाट सोझै लुम्बिनी आउने पर्यटक बढ्थे,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘तर, वैदेशिक रोजगारीमा जानेहरुलाई मात्रै लक्षित गरेर जजिरा एयरलाइन्सले सीमित उडान गरिरहेको छ । यसले तारे र पर्यटकीयस्तरका होटललाई योगदान गर्न सक्दैन ।’

व्यवसायीका अनुसार अहिले टिक्नु नै महत्वपूर्ण सवाल बनेको छ । कमजोर अकुपेन्सीका कारण धेरै होटलले सञ्चालन खर्च नै धान्न नसकिरहेको उनीहरु बताउँछन् ।

सरकारले विमानस्थल सञ्चालन गर्दा भारतसँग रुट लगायत समस्या समाधान नगर्दा र सोझै हुनसक्ने अन्तर्राष्ट्रिष्य उडान प्रवर्द्धन पनि नहुँदा यो अवस्था आएको लुम्बिनी होटल संघका अध्यक्ष ज्ञवालीको गुनासो छ ।

‘लगानी उठ्ने वातावरण नै बनेन,’ उनी भन्छन्, ‘सरकार भने हप्तामा तीनवटा अन्तर्राष्ट्रिय उडान गराएर हात बाँधेर बसेको छ ।’

लुम्बिनीमा धार्मिक पर्यटक आउने भनिएपनि महामारीपछि धेरैजो मनोरञ्जनका लागि आउने देखिएको अनुभव ज्ञवाली सुनाउँछन् । त्यसकारण अन्यत्रका भन्दा यस क्षेत्रका व्यवसायी बढी मारमा परेको उनको दाबी छ । यस क्षेत्रका अधिकांश व्यवसायीले अझै पनि पूर्ण क्षमतामा कर्मचारी राखेर होटल चलाउन नसकेको अध्यक्ष ज्ञवालीले बताए ।

एरपोर्ट नजिकै बनिरहेको होटल

‘लुम्बिनी आएका पर्यटकको बसाइ लम्बाउन पनि सकेनौं,’ उनी भन्छन्, ‘लुम्बिनी घुमेर बास बस्न अन्यत्र पुग्ने क्रमलाई रोक्न सकेनौं ।’

जोखिममा अर्बौंको लगानी 

भैरहवा विमानस्थललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गरिएसँगै रुपन्देहीमा पर्यटक लक्षित ठूला होटलमा लगानी बढ्न थालेको थियो । भारतीय सीमा नाका नजिक अन्तर्राष्ट्रिय विमानस्थल नै सञ्चालन हुने भएपनि व्यवसायीले स्तरीय होटलहरुमा लगानी बढाएका थिए ।

अहिले नै भैरहवा र लुम्बिनी क्षेत्रका होटलले एक रातमा करिब १० हजार पर्यटकलाई सेवा दिनसक्छन् ।

भैरहवामा ६ वटा क्यासिनो र विदेशी पर्यटक लक्षित रेष्टुरेन्टहरु खुलेका छन् । कतिपय व्यावसायीले पुराना होटलको स्तरोन्नति गरेका थिए । वाटर फन पार्कसमेत निर्माण भएका छन् । तर, पछिल्लो परिस्थितिका कारण निर्माणको चरणमा रहेका होटलहरु भने सुस्त गतिमा बनिरहेका छन् ।

कृष्ण घिमिरेको व्यावसायिक समूहले भैरहवा बुद्धचोकमा पाँचतारे होटल बनाउँदैछ । रिद्धिसिद्धी ग्रुपले गौतमबुद्ध विमानस्थल नजिक चारतारे होटल बनाइरहेको छ । भैरहवा र बुटवलमा एक अर्बभन्दा बढी लगानीमा ‘होटल मेगा’ र ‘मेगा-३’ निर्माण भइरहेका छन् ।

लुम्बिनीलाई लक्षित गरेर विदेशी लगानीमा पाँचतारे ‘होटल भिलाजियो’ निर्माणको तयारी हुँदैछ । भैरहवाको अञ्चलपुरमा पनि चारतारे स्तरकै सिद्धार्थ इन्टरनेसनल होटेल बनिरहेको छ ।

लुम्बिनी होटल संघका अध्यक्ष ज्ञवालीका अनुसार ठुलो-सानो गरेर रुपन्देहीमा ५० भन्दा बढी होटल र रिसोर्ट निर्माणका क्रममा छन् । तर, महामारीपछि सिर्जित समस्या र विमानस्थल चलेपछि देखिएको निरासाजनक अवस्थाले लगानीकर्ताहरु हतोत्साही भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

बुटवल-भैरहवा सडक खण्डको कोटिहवाबाट एक किलोमिटर पश्चिम बाउन्नकोटी सामुदायिक वन नजिकै ५ अर्बभन्दा बढी लगानीमा पाँचतारे ‘टाइगर प्यालेस’ होटल चलिसकेको छ । भैरहवा-लुम्बिनी सडकखण्डमा तीन अर्ब लगानीमा चार तारे होटल पवन प्यालेस इन्टरनेसनल पनि सञ्चालनमा छ । १४७ कोठा रहेको पवन प्यालेसका रेस्टुरेन्ट र स्विमिङ पुल सञ्चालनमा छन् ।

हालसालै भैरहवामै चार तारेस्तरको एशियन बुद्ध होटलले सेवा थालेको छ । रुपन्देहीको मणिग्राममा ड्रिमल्याण्ड रिसोर्ट र भैरहवा-परासी सडक खण्डमा ‘बोधी रेड सन होटल’ स्तरोन्नति गरेर चलाइएको छ । लुुम्बिनीमा होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन् ।

भैरहवामा नान्स, मोरिया, निर्भाना र होटल ड्रिमल्यान्ड लगायतले सेवा दिइरहेका छन् । भैरहवामै होटल लाकौल, एसआर, प्रकाश एण्ड प्रकाश, पटवा, जोशी, सिटी सेन्टर, होटल यती, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सिटी म्याक्स, सिटी सेन्टर, लाकौल इन, माउन्ट एभरेस्ट, मानसरोवर, होटल ममता चलिरहेका छन् । कोटिहवाको यती पार्टी प्यालेस र मणिग्राममा होटल मदानी र छापिया क्षेत्रमा होटल लुम्बिनी पिस प्यालेस  सञ्चालनमा छन् ।

यसैगरी लुम्बिनीमा होटल जाम्बला, बुद्धमाया प्यालेस, ब्याम्बो रिसोर्ट, शाक्य गेस्ट हाउस, होली बर्थ, मिराजइन, आदर्श इन, हाम्रो गेस्ट हाउस, लुम्बिनी गि्रन भ्यु, सेभेनस्टप गेस्ट हाउस, बेबिलोन, सुरम्मा, बुद्ध इन्टरनेसनल, बुद्ध प्यालेस, सनˆलावर, बुद्ध रेजेन्सी, जयबुद्ध, आनन्द ईन, लिटल बुद्ध, पिस ल्यान्ड, लुम्बिनी गेस्ट हाउस, मायादेवी गेस्ट हाउस, सिद्धार्थ गेस्ट हाउस, होटल अशोकाइन, आकाश इन्टरनेसनल, स्तुप, लगायतका पर्यटकीय होटल सञ्चालनमा छन् ।

बुटवलमा होटल फ्लामिङ्गो, क्लब डेनोभो, एभिन्यु, डार्सिज, न्यू इरा, सिन्दुर, एभरेष्ट, महाराजा रिसोर्ट लगायतका होटल सञ्चालनमा छन् । आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज, एसियन, अम्रपाली कटेज, दियालो, मिरर इन, वृन्दावन पनि चलिरहेका छन् । तिलोत्तमामा टुलिप, पौवा, लक्ष्मी, बोधि भिल्ला रिसोर्ट, एसआर र सुनगाभा रिसोर्ट सञ्चालनमा छन् । लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर विभिन्न ठाउँमा एग्रो र अग्र्यानिक रिसोर्टहरु पनि चलेका छन् ।

‘होटल बनाउन, सेवामा सुधार र पूर्वाधारको स्तरोन्नतीमा लगानीमाथि लगानी गरेका छौं,’ लुम्बिनी होटल संघका अध्यक्ष ज्ञवाली भन्छन्, ‘तर, अपेक्षित ढंगको पर्यटकीय वातावरण तयार नहुँदा कतिपय व्यवसायी त व्यवसायबाटै पलायन हुने अवस्था देखिसक्यो ।’

तस्वीर :आर्यन धिमाल

(भैरहवाबाट फर्किएर)

भैरहवाको भुईंबाट–१

भैरहवाको भुईंबाट–२

भैरहवाको भुईंबाट-३

भैरहवाको भुईंबाट-४

भैरहवाको भुईंबाट-५

भैरहवाको भुईंबाट-६

भैरहवाको भुईंबाट-७

भैरहवाको भुईंबाट-८

भैरहवाको भुईंबाट-९

भैरहवाको भुईंबाट-१०

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?