+
+

अंक फेरबदलको मुद्दामा त्रिवि सेवा आयोगका अध्यक्षले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १७:१९

५ असोज, काठमाडौं । विशेष अदालतले उत्तरपुस्तिका परीक्षण र अंक फेरबदल गरेर भ्रष्टाचार गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा सहितका पदाधिकारीहरुलाई सफाइ दिएको छ । दुई जनाबाहेक आरोप लागेका सेवा आयोगका कर्मचारीहरु दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु यमुना भट्टराई र डा. खुशीप्रसाद थारुको इजलासले मंगलबार पदाधिकारीहरुमाथिको आरोप पुष्टि हुन नसक्ने ठहर गर्दै संलग्न कर्मचारीहरुलाई मात्रै दोषी ठहर गरेको विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए ।

त्रिवि सेवा आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइरालालाई भने ९ महिना कैद सजाय भएको छ । उनले ८ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । प्रश्नपत्र जोडिएको अर्को मुद्दामा भने पुस्तकालयकी सहप्रशासक इन्दिरा घिमिरे बाहेक सबैले सफाइ पाएका छन् ।

मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिविका प्राध्यापक टेकनाथ ढकाल, सह–प्राध्यापकहरु राजेश्वर न्यौपाने र राम बहादुर पाण्डे क्षेत्री दोषी ठहर भएका छन् । उनीहरुले ४ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । यीमध्ये रामबहादुर पाण्डे क्षेत्रीको निधन भइसकेको छ ।

आरोपितमध्ये प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापकहरु ताराप्रकाश पौडेलले सफाइ पाएका छन् । अख्तियारले १८ असार २०७६ मा १० जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

उनीहरुमाथि त्रिवि सेवा आयोगबाट सार्वजनिक भएको विज्ञापनका लागि भएको लिखित परीक्षामा प्राप्तांक फेरबदल गरी पदाधिकारी र कर्मचारीहरुले आफन्त उतीर्ण गराई अनियमितता गरेको आरोप थियो ।

२८ फागुन २०७३ का विभिन्न पदमा भएका १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदको विज्ञापनमा अनियमितता भएको थियो । शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मूख्य लेखा सहायक, मूख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ वटा पदहरुको लिखित परीक्षामा अनियमितता भएको थियो ।

शाखा अधिकृतका लागि २४ जनाको पद रहेकोमा ६ जनाको उत्तरपुस्तिका शंकास्पद रुपमा केरमेट र फेरबदल भएको थियो । एकजना परीक्षार्थीलाई पहिलो विषयमा १७ र तेस्रो विषयमा १६ नम्बर थपेर पास बनाइएको थियो । अर्को एक जना परीक्षार्थी पास हुनुपर्नेमा नाम छुटाइ फेल बनाइएको थियो ।

अरु २ जनामध्ये एकजनाको दुई विषयमा ९ र १४ अंक घटाएर फेल बनाइएको थियो । अख्तियारले यो काममा उत्तरपुस्तिका परीक्षक गोविन्द ढकाल र टेकनाथ ढकालको संलग्नता भएको आरोप लगाएको थियो ।

२४ वटा लेखा अधिकृत पदमा समेत त्यस्तै भयो । कतिपयको अंक घटाउने र कतिपयको बढाउने काम भएको थियो । सम्परिक्षणका क्रममा समेत अंक फेरबदल भएको थियो । अख्तियारको दावी अनुसार, ७ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट भएको थियो । यीमध्ये सबै जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा अंक थपिएको थियो । अख्तियारले लेखाको कपी जाँच्ने क्रममा राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएको थियो ।

सहायक कानुनी सल्लाहकार पदको परीक्षामा समेत त्यस्तै भयो । तीनजना मध्ये एकजनाको ३७ नम्बर आएकोमा १५ थपिदिएर ५२ पु¥याइएको थियो । अरु दुई जनाको अंक घटाएर ५० बनाइएको थियो । यो काममा ताराप्रकाश पौडेल संलग्न भएको अख्तियारको आरोप थियो । मुख्य लेखा सहायक पदमा समेत यस्तै भयो । अख्तियारले त्यसमा राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालमाथि भ्रष्टाचार गरेको आरोप लगायो ।

मूख्य कार्यालय सहायक पद भएको अनियमिततामा रामबहादुर पाण्डे र संपरीक्षक टेकनाथ ढकालमाथि भ्रष्टाचार मुद्दा लाग्यो । कार्यालय सहायक पदमा भएको लिखित परीक्षामा समेत अनियमितता भयो । अख्तियारले यसमा समेत टेकनाथ ढकालको संलग्नता रहेको आरोप लगायो । आरोपपत्र अनुसार, केरमेट गरी सच्याउने काम सबैजसो विद्यार्थी उतीर्ण भएका थिए । केरमेट गरिएकोमा पनि अधिकांश उत्तरपुस्तिकाहरुको शुरुमा दिएको अंक नबुझिने गरी केरिएको थियो ।

नातेदार पास गराएका थिए

परीक्षामा पास हुनेमध्ये अधिकांश त्रिवि सेवा आयोगका पदाधिकारीका नातेदार र आफन्त थिए । अख्तियारको आरोपपत्र अनुसार, अध्यक्ष शर्माकी भतिजी पार्वती सापकोटाको शाखा अधिकृत र मुख्य कार्यालय सहायक दुवै पदमा नाम निस्केको थियो । आयोगका कार्यालय प्रमुख कोइरालाकी छोरी नमिता अधिकृत पदमा पास भएकी थिइन ।

त्रिविका प्रिन्सिपल कृष्ण आचार्यकी छोरी कल्पना आचार्य सहायक लेखापाल पदमा उतीर्ण भएकी थिइन् । पूर्वरजिष्ट्रार तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको छोरी ज्वाइँसमेत प्रतिस्पर्धामा नाम निकाले । छोरी सन्ध्याको सहायक लेखापाल र ज्वाइँ प्रकाश थापाको मुख्य कार्यालय सहायकमा नाम प्रकाशित भएको थियो ।

अख्तियारको आरोपपत्र अनुसार परीक्षामा लोकसेवा आयोगका प्रतिनिधिलाई प्रश्नपत्र निर्माण, उत्तर पुस्तिका कोडिङ र लिखित परीक्षाको नतिजा प्रकाशनमा संलग्न गराइएको थिएन । परीक्षामा बदनियतपूर्ण तरिकाले लापरवाही गर्दै आएको भन्दै लोकसेवाका सदस्य एवं त्रिविका प्रतिनिधि ब्रम्महदेव रायले हस्ताक्षर गरेका थिएनन् ।

आयोगको आन्तरिक कार्यविधिमा आयोगमा कार्यरत कुनै शिक्षक÷कर्मचारीको कुनै नातेदार वा आफु स्वयं आयोगको परीक्षामा सामेल हुने भएकाले त्यसको लिखित जानकारी दिनुपर्छ । त्यसपछि सम्बन्धित कर्मचारी परीक्षा सञ्चालनको कामबाट अलग हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?