+
+
Shares

लाल मोहम्मद हत्यामा अन्डरवर्ल्ड डन छोटा राजन समूह जोडियो

भारतविरुद्ध गतिविधि गरेको आरोपमा जति पनि नेपाली मारिएका छन्, उनीहरुको हत्यामा छोटा राजन वा बब्बु श्रीवास्तवको समूह प्रयोग हुने गरेको इतिहास छ । उनीहरुलाई भारतीय खुफिया निकायले प्रयोग गर्ने गरेको विगतमा गठन भएका छानबिन समितिका प्रतिवेदनहरुले बताउँछन्, मोहम्मद हत्यापनि यसैको सेरोफेरोमा भएको सुरक्षा अधिकृतहरू बताउँछन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ असोज ५ गते २०:२०

५ असोज, काठमाडौं । सोमबार साँझ गोठाटारमा भएको लाल मोहम्मद हत्यामा अन्डरवर्ल्ड डन छोटा राजन समूहको कनेक्सन भेटिएको छ ।

हत्याको अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराई नेतृत्वमा गठित अनुसन्धान समितिले मोहम्मदको हत्यामा भारतको दिल्ली घर भइ नेपाल बस्दै आएका नितिन मदनको संलग्नता भेट्टाएकोे छ ।

नितिन मदन तिनै व्यक्ति हुन्, जसको छोटा राजन समूहका एक मुख्य सहयोगी उदय सेट्ठीसँग सम्बन्ध छ । नितिन मदनको अपहरण आरोपमा हाल रसुवा कारागारमा रहेका अन्डरवर्ल्ड डन सेट्ठीसँग नियमित टेलिफोन सम्पर्क हुने गरेको पाइएको छ ।

विगतमा नेपालमा मारिएका कमलसिंह नेपाली, सांसद मिर्जा दिलसाद बेग, अब्दुल मजित मनिहार र कारागारमा भएको युनुस अन्सारीको हत्या प्रयासमा पनि छोटा राजन समूहको संलग्नता खुलेको थियो ।

भारतविरुद्ध गतिविधि गरेको आरोपमा जति पनि नेपाली मारिएका छन्, उनीहरुको हत्यामा छोटा राजन वा बब्बु श्रीवास्तवको समूह प्रयोग हुने गरेको इतिहास छ ।

कारागारमा युनुस अन्सारीलाई मनमित सिंहले गोली हान्दा नेपाल प्रहरीका एक अधिकृतलाई छोटा राजन बताउने व्यक्तिले फोन गरेर आफूले मार्न लगाएको बताएका थिए । जमिम शाहको हत्यामा बब्लु श्रीवास्तवको समूहको संलग्नता देखिएको थियो ।

छोटा राजन र बब्लुलाई भारतीय खुफिया एजेन्सीले प्रयोग गर्ने गरेको विभिन्न समयमा गठित छानविन समितिका प्रतिवेदनहरुको निष्कर्ष छ । लाल मोहम्मद हत्यामा पनि त्यही दोहोरिएको देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

खुल्यो नजिकै होटलमा बस्ने आरोपी पहिचान

मोहम्मद मारिनु तीन दिन अघिबाट नितिन मदन घटनास्थलबाट ३ सय मिटर अगाडि रहेको कोशीपारि गेष्ट हाउस एण्ड होटलमा बसिरहेको पाइएको छ ।

होटलका कर्मचारीले अनलाइनखबरलाई बताएअनुसार रजिष्टरमा उनले जितेन खानका रुपमा आफ्नो परिचय खुलाएका छन् ।

‘जितनको नामबाट त्यहाँ बसेको व्यक्ति नै नितिन मदन भएको खुलेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनले नै हतियार व्यवस्थापनदेखि सुटरसम्म ल्याउने काम गरेको देखिएको छ ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंले होटल कोशीपारि गेष्ट हाउसको क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि संकलन गरेको छ, जसमा मोहम्मदलाई भेट्न आउने व्यक्तिहरु पनि देखिएका छन् । तिनैमध्येका दुईजना सुटर हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

उनीहरुले प्रयोग गरेको एउटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । यद्यपि, त्यो मोटरसाइकल मोहम्मद हत्याका क्रममा प्रयोग भएको थिएन ।

सेट्ठी र नितिन मदनको नियमित सम्पर्क

अन्डरवर्ल्ड डन सेट्ठी भारतमा मोस्ट वान्टेड भएपछि नेपाल छिरेका अपराधी हुन् । उनको अन्डरवर्ल्ड डन छोटा राजन समूहसँग निकट सम्बन्ध छ ।

कुनैबेला मुम्बईमा रहेर त्यहाँका कारागारहरुमा खाना पुर्‍याउने काम गर्ने  सन्तोष  सेट्ठीमार्फत उनले छोटा राजन समूहसँग सम्बन्ध बनाएको स्रोतको भनाइ छ ।

सन्तोषले त्यसबेला मुम्बईको चर्चित फजल अल रहमान समूहसँग पनि काम गरेका थिए । सन्तोषमार्फत नै उदय छोटा राजन समूहसँग नजिकिएका थिए ।

भारतमा इन्काउन्टरमा पर्ने जोखिम बढेपछि उनी २०५९ सालमा नेपाल प्रवेश गरेको विशेष ब्यूरोको एक रिपोर्टले देखाउँछ । नेपाल छिरेपछि उनी ‘किडन्यापिङ किङ’ अमर टण्डनसँग जोडिएका थिए । त्यसपछि उनले टण्डनसँग मिलेर नेपालमा अपहरणको श्रृंखला चलाएका थिए । २०६४ सालको फागुनमा टण्डन पक्राउ परेपछि सेठ्टीले अपहरणको गिरोह चलाएका थिए ।

टण्डन पक्राउ परेपछि सेठ्टीले आफ्नो समूह बनाएर पहिलो पटक सामाखुशीका व्यवसायी केदार कक्षपतीका छोरा निरजलाई अपहरण गरेर एक करोड ५० लाख रुपैयाँ फिरौती असूलेका थिए ।

पछि २०६६ साल पुसको अन्तिमतिर तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अर्जन भन्ने उदय सेट्ठी, प्रह्लाद महत, विष्णु जिसी, टासी गुरुङ र विकास कार्की गरी ५ जनालाई पक्राउ गरेको थियो ।

मुम्बईमा रहेर त्यहाँका कारागारहरुमा खाना पुर्‍याउने काम गर्ने गर्दागर्दै सेट्ठीले अन्डरवर्ल्डका सदस्यहरुसँग सम्बन्ध बनाएका थिए । मुम्बईमा इन्काउन्टरमा मारिने डर भएपछि उनी नेपाल आएर अपहरणको धन्दामा संलग्न भएका थिए ।

अनुसन्धानमा संलग्न एक अधिकृतले बताए अनुसार रसुवा कारागारमा रहेका अन्डरवर्ल्ड डन उदय सेट्ठीले जेलमै बसेर पनि आफ्नो गतिविधि सञ्चालन गरिरहेको पाइएको छ । त्यसका लागि उनले नितिन मदनलाई पनि प्रयोग गर्ने गरेको पाइएको छ ।

स्रोतको दाबीअनुसार नितिन मदनले पटकपटक रसुवा कारागारमा गएर पनि सेट्ठीलाई भेटेको पाइएको छ । सेट्टीले पनि रसुवा कारागारबाट पटकपटक फोन गरेको देखिन्छ ।

स्रोतका अनुसार एक वर्षअघि न्यूरोडमा हुण्डी कारोबारको ७० लाख नेपाली रुपैयाँ र ३० लाख भारतीय रुपैयाँ लुटिएको थियो । त्यसपनि मदनको समूह जोडिएको आशंका गरिएको छ ।

पछिल्लो समय भने नितिन मदन, लाल मोहम्मदसँग नजिकिएका थिए । उनै नितिन मदनको योजनामा लाल मोहम्मद मारिएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

श्रृंखलाबद्ध हत्यामा छोटा राजन कनेक्सन

नेपालमा रहेर भारतविरुद्ध गतिविधि गरेको अभियोगमा २०५५ सालपछि हालसम्म १० जना नेपालीको श्रृंखलाबद्ध हत्या भएको छ । अधिकांश हत्यामा पेशेवर अपराधी प्रयोग भएका छन् ।

तर यसको अन्तर्यमा भारतको रिसर्च एण्ड एनालाइसिस विङ (रअ) र क्राइम ब्रान्चको एन्टी एक्स्टर्सन सेल (एईसी) बाट उनीहरुलाई परिचालन गरेको देखिन्छ । आतंकवाद र अन्तरदेशीय अपराध हेर्ने नेपाल प्रहरीको विशिष्टकृत इकाइ विशेष ब्यूरोका एकजना पूर्वप्रमुखका भनाइमा भारतका खुफिया निकायले पेशवर अपराधीको प्रयोग गरेर नेपालमा विभिन्न व्यक्तिको हत्या गर्ने गरेका छन् ।

नेपालमा भारतीय पक्षका संलग्नता देखिने गरी भएका व्यक्ति हत्यामा मुख्य गरी भारतीय अन्डरवर्ल्ड डन छोटा राजन र बब्लु श्रीवास्तवका समूहका समस्य मुख्य डिजाइरका रुपमा देखिने गरेका छन् ।

अन्डरवर्ल्ड डन छोटा राजन ।

नेपालमा मारिने व्यक्तिविरुद्ध जाली भारतीय रुपैयाँको कारोबार, पाकिस्तानमा बस्ने अन्डरवर्ल्ड डन डाउद इब्राहिमको डि–कम्पनीको एजेन्ट र भारतले आतंकवादी भनेका व्यक्तिलाई सेल्टर दिएको आरोप लाग्ने गर्छ ।

कुनै बेला छोटा राजन दाउदकै समूह रहेर काम गर्थे, मुम्बईमा मोस्ट वान्टेड भएपछि दाउद भागेर दुबई गएका थिए । दाउद दुबई गएपछि छोटा राजन दाउदका दाहिने हात भएर काम गर्थे ।

तर छोटो समयमै मुम्बईमा उनले प्रभाव बढाए । दाउदभन्दा बलियो हुँदै गए । छोटा राजनको मुम्बईमा प्रभाव पढ्दै गएपछि उनले दाउदले छोटा राजन निकट खिमबहादुर थापाको हत्या गराएका थिए ।

सुरुमा उनले दाउदलाई त्यति शंका गरेनन्, पछि उनका अन्य निकटवर्ती पनि मारिन थालेपछि दुईबीच दुस्मनी बढ्दै गएको थियो । छोटो राजनलाई पनि मुम्बईमा एकलौटी राज गर्नु थियो ।

दुईबीच द्वन्द्व उत्कर्षमा पुगेको चाहिँ मुम्बई १२ मार्च १९९३ मा भएको विष्फोटपछि हो । घटनापछि मुम्बईमा हिन्दु–मुस्लिम विवाद चर्किएको थियो । त्यसक्रममा कट्टर हिन्दु राजन र दाउद स्पष्टरुपमा छुट्टिएका थिए ।

त्यसयता दाउदविरुद्ध भारतीय प्रहरीले छोटा राजनको समूहलाई पनि प्रयोग गर्न थालेको थियो । त्यही श्रृंखला स्वरुप जाली नोटको कारोबार गर्ने भनिएका लाल मोहम्मद काठमाडौंमा छोटा राजनको सहयोगमार्फत मारिएको हुनसक्ने सुरक्षा निकायको आशंका छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?