+
+

कपन आगलागीका प्रत्यक्षदर्शी भन्छन् : ‘बम पड्किएको’ जस्तो आवाज पटक पटक आयो

गौरव पोखरेल गौरव पोखरेल
२०७९ असोज ६ गते २०:१९

६ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११, राम मन्दिरकी गोमा बुढाथोकीले बुधबार बेलुकी ६ बजेतिर ‘बम पड्किएको’ जस्तो ठूलो आवाज सुनिन् । कोठामा गफिइरहँदा विष्फोट भएको आवाज सुनेपछि हस्याङफस्याङ गर्दै उनी बाटोतिर निस्किन् ।

‘पल्लो कोठामा केही पड्कियो कि क्या हो भनेर हेर्न पनि गएँ,’ बुढाथोकी भन्छिन्, ‘बाहिर निस्किँदा अरु पनि के आवाज आयो भनेर जम्मा हुँदै रहेछन् ।’ सबै एकअर्काको कोठामा पड्किएको हो कि भन्ने शंका गर्दै घरघर हेर्दै निस्किएका थिए ।

वरिपरिका मानिसहरु भेला भएको केहिबेरमै फेरि अर्को विष्फोट भयो । केहिबेरमा विष्फोटको श्रृंखला नै चल्यो । ‘एकैछिनपछि त १५/२० सेकेण्डको फरकमा पड्किएको पड्क्यै गर्‍यो,’ उनले अनलाइनखबरसँग भनिन्, ‘बम नै पड्किएको हो कि भन्ने भयो, डाँडामा आएर हेर्दा अलिपरको घरबाट धुँवाको मुस्लो आइरहेको देखियो ।’

आगोको मुस्लो देखेपछि उनीसहितका मानिसहरु त्यतातिर गए । बाटामो निस्किँदा अरु मानिसहरु पनि त्यही मुस्लोतिर गइरहेका थिए । ‘त्यहाँ पुग्दा तीन तलाको एउटा घरमा दनदनी आगो बलिरहेको थियो,’ बिहीबार राम मन्दिर नजिक भेटिएकी उनले भनिन्, ‘केहीबेरमै दमकलहरु आइपुगे ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार आगलागी भएको जानकारी पाउने बित्तिकै काठमाडौं, ललितपुर र भक्तपुरको दमकल बोलाइएको थियो ।

तर आगो यति तीब्र गतिमा फैलिरहेको थियो कि सहजै नियन्त्रण हुने अवस्था नै थिएन । आगो अन्यत्र पनि फैलिनसक्ने अवस्था देखेपछि नेपाली सेनाको दमकल पनि मगाएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुक बताउँछन् ।

धानुकका अनुसार आगलागी तीब्ररुपमा फैलिरहेको देखेपछि सेनाको दमकलसँगै विपद् व्यवस्थापन गणको टोलीलाई पनि खटाइएको थियो । टोलीका अधिकारीहरुले ‘फायर फाइटर’ ज्याकेट लगाएर आगो छिचोल्दै माथिल्लो तलामा गएका थिए । तर घरमा अरु मानिसहरु थिएनन् ।

पछि सशस्त्र प्रहरी बल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरी ९ दमकल र १० वटा पानी ट्यांकर आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो । प्रहरी वृत्त बौद्धका एक अधिकृतका अनुसार प्रहरी टोली पुग्दा भुइँ तलामा दुईजना चिन्दै नचिनिने अवस्थामा भेटिएका थिए ।

एकजना बाहिर गम्भीर घाइते अवस्थामा भेटिएको बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्ष राजु अधिकारी बताउँछन् । ‘अनुहार पनि लगभग पूर्णरुपमा जलिसकेको थियो, बचाउन सकिने झिनो आश लिएर अस्पताल पठाएका थियौं’, अधिकारीले अनलाइनखबरसँग भने, ‘तर सम्भव भएन ।’

प्रहरी वृत्त बौद्धका अनुसार भुइँतलामा २० वटा अक्सिजन सिलिण्डरको ग्याँस र १० वटा एलपी ग्याँस थियो । ग्याँसबाटै आगलागी सुरु भएको हुनसक्ने आशंका छ ।

प्रहरीका अनुसार घटनामा संखुवासभा घर भइ सुकेधारा बस्ने अशोक राई, ताप्लेजुङ घर भएका कर्सा तेञ्जी शेर्पा र काठमाडौंं–२५ का छेवाङ शेर्पाले ज्यान गुमाएका छन् ।

कपन बस्ने २८ वर्षका कुशल बुढाथोकी गम्भीर घाइते छन् । उनको दायाँ हात, दुवै खुट्टा र अनुहारको दायाँ भागमा चलेको छ । चुनिखेलस्थित करुणा अस्पतालमा उनको उपचार चलिरहेको छ ।

प्रहरीका अनुसार टंक घिसिङको घरको भुइँ तला भाडामा लिएर निर्मल पूर्जा र मिङ्मा डेबिड शेर्पाले एलाइट हिमालयन एड्भेन्चर नामक ट्रेकिङ एजेन्सी चलाएका थिए । ज्यान गुमाउनेहरु यही एजेन्सीका गर्ने कामदार हुन् ।

वडाध्यक्ष अधिकारीका अनुसार अन्य समयमा त्यहाँका कर्मचारीहरु बेलुकी ५ बजे नै निस्किसकेका हुन्थे । तर बुधबार काम धेरै भएकाले अबेरसम्म बसेका थिए । ‘एकजना कर्मचारी बाहिर चुरोट लिन गएकाले जोगिएछन्,’ उनले भने ।

जब गर्भवती महिलाले फाल हानिन्…

छिमेकी विनोद केसीले बाहिर निस्किएर हेर्दा घिसिङको घरमा आगो दन्किरहेको थियो ।

‘पड्किएको आवाज आएपछि बाहिर निस्किएर हेरेको थिएँ, भुइँ तलामा आगो लागिरहेको थियो,’ केसीले अनलाइनखबरसँग भने, ‘भुइँ तला ट्रेकिङ एजेन्सीले भाडामा लिएको थियो ।’

उनका अनुसार घरमा घिसिङका परिवारका छोरा, आमालगायत परिवारका अन्य सदस्य पनि बस्ने गरेका थिए । तर संयोग बुधबार उनीहरु घरमा थिएनन् ।

छिमेकी सानु केसीका अनुसार घरको माथिल्लो तलामा घिसिङकी साली फुर्पा शेर्पा मात्र थिइन् । उनी तल आगोको मुस्लो देखेपछि माथिबाट खेततिर फाल हानेर बचेको सानु बताउँछिन् ।

‘उहाँ गर्भवती पनि हुनुहुन्थ्यो, तर ज्यानै जान लागेपछि के वास्ता हुन्छ र ?’ उनले भनिन्, ‘धन्न उहाँलाई त्यस्तो धेरै चोटपटक लागेको छैन ।’

उनका अनुसार सुरुमा दमकलले पानी हाल्दा झन् आगो दन्किएको थियो ।

जानकारहरुका अनुसार ग्याँसबाट भएको आगलागीमा सामान्य पानीले मात्र नियन्त्रणमा लिन सम्भव हुँदैन । तर सुरुमा त्यही गल्ती भयो । पछि मात्रै केमिकल भएको दमकल आएर आगो नियन्त्रणमा लिएको थियो ।

प्रहरी वृत्त बौद्धका अनुसार भुइँतलामा २० वटा अक्सिजन सिलिण्डरको ग्याँस र १० वटा एलपी ग्याँस थियो । ग्याँसबाटै आगलागी सुरु भएको हुनसक्ने आशंका छ ।

प्रहरी स्रोतका अनुसार तल्लो तलामा ट्रेकिङ कम्पनीका कर्मचारीहरु बस्नेसमेत गरेका थिए । आगलागी हुनुअघि उनीहरुले ग्याँस बालेर खाजा बनाएको हुनसक्ने देखिएको छ । त्यहीँबाट आगलागी सुरु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?