+
+

हरिभक्तमाथि घुस मुद्दा : लाउडाका प्रमुख आरोपितको दोस्रो इनिङ

२२ वर्षअघिको बहुचर्चित लाउडा विमान भाडा प्रकरणको भ्रष्टाचार मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । त्यो घटनामा नेपाल वायुसेवा निगमको नेतृत्व गरेका तत्कालिन कार्यकारी अध्यक्ष हरिभक्त श्रेष्ठ अहिले ७३ वर्षको वृद्ध अवस्थामा अर्को घुस मुद्दामा मुछिएका छन् ।

कृष्ण ज्ञवाली अच्युत पुरी कृष्ण ज्ञवाली, अच्युत पुरी
२०७९ असोज ६ गते २०:२८

६ असोज, काठमाडौं । डेढ महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्राविधिक उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परे । १७ साउन २०७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनको साथबाट  ६ लाख रुपैयाँ बरामद गर्‍यो । खानतलासी गर्ने क्रममा उनी सवार गाडीमा थप १६ लाख ५० हजार रुपैयाँ भेटियो ।

उपसचिव नेपालले पोखराको एक प्याराग्लाइडिङ कम्पनीको इजाजतका लागि ६ लाख रुपैयाँ घुस मागेको खुल्यो ।  तर साढे १६ लाख रुपैयाँ कसले दिएको हो भन्ने खुलेन । अनुसन्धानका क्रममा उपसचिव नेपालको फोन सम्पर्कको विवरण (कल डिटेल) र उनी पक्राउ परेको रेष्टुरेन्टको सीसीटीभी फुटेज हेर्दा बीबी एयरबेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले उक्त रकम दिएको खुल्यो ।

बीबी एयरवेजको इजाजतपत्र नवीकरण गरेपावत श्रेष्ठले मन्त्रालयका उपसचिव नेपाललाई घुस खुवाएको र १७ साउन २०७९ मा बरामद भएको साढे १६ लाख त्यही रकम भएको अख्तियारको दाबी छ ।

बीबी एयरवेज गैर–आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष भवन भट्टको लगानीमा स्थापना भएको वायुसेवा कम्पनी हो । यो कम्पनीले कम्बोडियाको टोन्लेसाप एयरलाइन्सबाट बोइङ विमान भाडामा ल्याएर २०६९ सालमा काठमाडौं–मलेसियाको उडान समेत सुरु गरेको थियो, तर तीन महिनामै बन्द भयो ।

उडान रोकिएपछि टोन्लेसापले भाडामा दिएको विमान फिर्ता लगेपछि बीबी एयरवेज विमानविहीन भयो । अन्तर्राष्ट्रिय उड्डयन गर्ने कम्पनीसँग कम्तीमा पनि तीनवटा विमान हुनुपर्ने नियम छ । त्यसैले बीबी एयरवेजले २०७४ सालमा नेपाल वायुसेवा निगमको पुराना विमान किन्यो । वायुसेवा निगमले थोत्रो भएर बेचेका कारण बीबी एयरवेजले मर्मत गरेर उडाउन सकेन । त्यो विमान अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ ।

तर त्यही थोत्रो विमान देखाएर बीबी एयरवेजले लाइसेन्स नवीकरण गर्न चाह्यो । वायुसेवा इजाजत नवीकरणका लागि आवश्यक पर्ने कागजात तयार गर्ने र सम्बन्धित निकायमा समन्वय गर्न भनेर बीबी एयरवेजमा ५ कात्तिकमा २०७८ नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक समेत रहेका श्रेष्ठलाई परामर्शदाता नियक्त गर्‍यो । फागुन २०७८ लाइसेन्स नवीकरण गरेपछि उनले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाए ।

बीबी एयरवेजको इजाजतपत्र नवीकरण गरेपावत श्रेष्ठले मन्त्रालयका उपसचिव नेपाललाई घुस खुवाएको र १७ साउन २०७९ मा बरामद भएको साढे १६ लाख त्यही रकम भएको अख्तियारको दाबी छ । अनुसन्धान अधिकृतहरुका अनुसार श्रेष्ठले एयरवेजकी एक कर्मचारीसँग ‘आफूलाई पैसा चाहियो’ भनेर १२ लाख रुपैयाँ मागेका थिए । बीबी होल्टिङ नामक कम्पनीको खाताबाट झिकेर उनलाई १२ लाख दिइएको पाइएको छ भने साढे ४ लाख रुपैयाँ आफैंले जुटाएका थिए ।

बयानका क्रममा उपसचिव नेपालले पनि बीबी एयरवेजको इजाजत नविकरणसम्बन्धी फाइल दुई पटक टिप्पणी उठेर आफूकहाँ आएको तथा टिप्पणी र आदेशमा आफ्नो रायसहित सहसचिवलाई पेश गरेको स्वीकार गरेका छन् । साढे १६ लाख रुपैयाँ भने रकम भने पारिवारिक कारण देखाई श्रेष्ठसँग लिएको बताएका छन् ।

श्रेष्ठले पनि व्यक्तिगत चिनाजानका आधारमा आफूले सापटी दिएको दाबी गरेका छन् । अख्तियारले भने उपसचिव नेपालमाथि साडे १६ लाखसहित थप ६ लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठमाथि साढे १६ लाख रुपैयाँ घुस दिएको आरोप लागेको छ ।

हरिभक्तमाथि दोस्रो मुद्दा

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक श्रेष्ठ तत्कालिन वायुसेवा निगमको कार्यकारी अध्यक्ष भए ।

तत्कालिन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिनुअघि नेपालको प्रजातान्त्रिक कालखण्ड उत्तररार्धमा पुगेको तत्कालिन कांग्रेस नेतृत्वको सरकार मुछिएको बहुचर्चित लाउडा विमान भाडा प्रकरणमा निगमभित्र बसेर त्यसको योजना बनाउने प्रमुख पात्र निगमका तत्कालिन अध्यक्ष यिनै हरिभक्त थिए ।

१७ असोज २०५७ मा तत्कालिन शाही नेपाल वायुसेवा निगमले चौथो विमान भाडामा ल्याउने निर्णय गर्‍यो । तीन ठूला विमान चालु अवस्थामा रहेका बेला निगमलाई अनावश्यक भार पार्न अष्ट्रियाको लाउडा एयरबाट भाडाको विमान लिने निर्णय विवादमा पर्‍यो । सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्‍यो । ‘अख्तियारमा ६ वर्ष’ नाम आफ्नो किताबमा उपाध्यायले नागरिकताको प्रमाणपत्र राखेर नामै खुलाएर पर्ने सीमित उजुरीमध्ये लाउडा पनि भएको उल्लेख गरेका छन् ।

अख्तियारले भ्रष्टाचार गरेको आरोपमा निगमका तत्कालिन कार्यकारी अध्यक्ष श्रेष्ठ, पर्यटनमन्त्री तारिणीदत्त चटौत, सञ्चालक समिति सदस्यहरु तीर्थलाल श्रेष्ठ, सिद्धराज जोशी, गौरीनाथ शर्मा, मार्केटिङ निर्देशक रामराज उपाध्याय, अर्थ निर्देशक उपेन्द्र उपाध्याय र कर्पोरेट विभाग निर्देशक पुष्करप्रसाद वाग्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो । लाउडा एयरका दुई अधिकारीहरु एन्ड्रिया मोलिनेरी र ओटमार लेञ्जमाथि समेत भ्रष्टाचार गरेको आरोप थियो । अख्तियारले उनीहरुमाथि ३८ करोड ९७ लाख रुपैयाँ विगो मागदाबी गरेको थियो ।

अख्तियारको आर्थिक वर्ष २०५७/५८ को वार्षिक प्रतिवेदन अनुसार, लाउडा विमान भाडा प्रकरणका कारण निगमलाई ठूलो आर्थिक बोझ परेको थियो । निगममा भएको ‘नियमित क्रू’ले विमान सम्हाल्न नसक्दा लाउडाको एक सेट पाइलटलाई मासिक २१ लाख डलर तिरेर ल्याउनुपरेको थियो ।

लाउडा सञ्चालन गर्न ५ सेट पाइलटहरु आवश्यक पर्ने भएकाले नियमलाई मासिक एक करोड डलर भार परेको थियो । ‘क्याविन क्रू’बारे सम्झौतामा कुनै उल्लेख नहुदा पछि लाउडाले ७ हजार ५ सय डलर मासिक मागदाबी गरेको थियो । त्यसक्रममा जहाजको प्राविधिक निरीक्षण समेत गरिएको थिएन ।

२०५७ साल कात्तिक अघिसम्म लाउडा भाडामा ल्याउनुअघि अरु २ वटा जहाजका कारण मासिक झण्डै ९ करोड रुपैयाँसम्म नाफा गरेको निगम त्यसपछि मासिक २ करोड रुपैयाँ घाटामा जान थालेको थियो । नेपालको प्रजातन्त्र पुनर्स्थापनापछिको ठूलोमध्येको घोटाला मानिने लाउडा विमान भाडा प्रकरणले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको छविमा निकै असर पर्‍यो ।

भाडा प्रकरणमा भुक्तानी दिने मुद्रा विनिमयका लागि फाइल मन्त्रिपरिषदमा पेश भएको थियो । तत्कालिन प्रधानमन्त्री कोइराला नेतृत्वको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो । तत्कालिन प्रतिपक्षी दल एमालेले ५७ दिन प्रतिनिधिसभा अवरुद्ध गरेको थियो । पछि अख्तियारले ‘मन्त्रिपरिषदको आडमा भ्रष्टाचार हुने काम कारवाहीप्रति सचेत रहन’ निर्देशन दिने निर्णय गरेको थियो ।

लाउडामा हरिभक्त

अख्तियारको दाबी अनुसार, निगमलाई त्यतिबेला चौथो विमान आवश्यकता नै नभएको अवस्थामा नयाँ विमान भाडामा ल्याइएको थियो । तेस्रो विमान आवश्यकता रहेकाले त्यसको बन्दोबस्त गर्न अधिकार दिइएको थियो, तर श्रेष्ठले निगमलाई घाटा हुने गरी बदनियतका साथ लाउडासँग सम्झौता गरेको आरोप थियो ।

अनि मन्त्रिपरिषदले दिएको निर्देशनको पालना नगरी जानीजानी निगमलाई हानी हुने गरी विमाान भाडाामा ल्याएको आरोप थियो । उनीमाथि लण्डन गएका संचालक तीर्थलाल श्रेष्ठलाई भियना बोलाएको समेतका वदनियतपूर्ण काम कारवाही एवं क्रियाकलाप गरेको आरोप थियो । हवाइ क्षेत्रका विज्ञ रहेपनि श्रेष्ठले जानाजान निगमको हित विपरित काम गरेको आरोप थियो ।

आरोपपत्रमा भनिएको थियो, ‘हरिभक्त श्रेष्ठबाट निगमको हित विपरीत हुने गरी अधिकारको दुरूपयोग गरी निगमलाई गैरकानूनी हानी कार्य गरेको देखिँदा…..।’ अख्तियारले श्रेष्ठ लगायतमाथि ३८ करोड ९७ लाख रुपैंया भ्रष्टाचार गरेको आरोप लगायो ।

विशेष अदालतले सबै आरोपितलाई सफाइ दियो । सर्वोच्च अदालत पुगेको त्यो मुद्दा दुई जना न्यायाधीशको राय बाझिएका कारण तीन सदस्यीय पूर्ण इजलासमा पेश भएको छ । सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन भएको अवस्थामा निगमका तत्कालिन कार्यकारी अध्यक्ष एवं हाल बीबी एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठ विरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर भएको हो ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?