+
+
नयाँ अनुहार १४ :

दैलेखको आवाज सिंहदरबारलाई चर्को गरी सुनाउने सपना

दैलेख–२ बाट उम्मेदवार बन्न चाहेका उनले आफूले नै टिकट पाउने आशा राखेका छन् । उम्मेदवार बन्न इच्छुक पार्टी नेताहरुको लहरलाई उनी स्वाभाविक मान्छन् । रिजाल दैलेखमा धेरै सम्भावना भएको भए पनि अझै धेरै कुरामा पछाडि रहेको भन्दै त्यहाँको कुरा चर्को गरी सिंहदरबारलाई सुनाउन उम्मेदवार बन्न चाहेको बताउँछन् ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असोज ६ गते २०:४०

६ असोज, काठमाडौं । दैलेखका विष्णु रिजाल, यस्ता व्यक्ति हुन् जसले कक्षा ९ मा पढ्दै नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुकाे जिल्ला अध्यक्ष बन्ने अवसर पाए । यो २०५३ सालको कुरा हो, जतिबेला उनी मात्र १७ वर्षका थिए ।

कलिलैमा विद्यार्थी संगठनको जिल्ला नेतृत्व गर्ने अवसर पाउनु पछाडि विद्यालय पढ्दैदेखि मञ्चमा मज्जाले बोल्न सक्ने आत्मविश्वास र क्षमतालाई नै कारक भएको उनी मान्छन् ।

उनका अनुसार त्यतिबेला कक्षा ९ मा पढ्ने ठिटो अध्यक्ष बन्नु चर्चाको विषय थियो । ‘किनभने ९ मा पढ्ने विद्यार्थी जिल्ला अध्यक्षमा गएको प्रायः देखिंदैनथ्याे’ रिजाल सम्झन्छन्, ‘मभन्दा सिनियर साथीहरु त्यो कमिटीमा हुनुहुन्थ्यो, सायद जिल्ला नेतृत्वले त्यसबेला यत्तिको मान्छेले गर्नसक्छ भनेर विश्वास गर्नुभयो ।’

त्यसो त रिजालको राजनीतिप्रति लगाव भने अझै पुरानो हो । २०४६ पछि गाउँको राजनीतिक माहोल, दाइले घरमा ल्याउने राजनीतिक पुस्तक र पत्रपत्रिकाले उनलाई सानैदेखि राजनीतिप्रति आकर्षित गराएको थियो ।

‘२०४६ सालको आन्दोलन उत्कर्षमा हुँदा गाउँघरतिर नारा घन्किएको र आमसभा भइरहेको देख्थें’ उनी सम्झन्छन्, ‘त्यसैले मलाई राजनीतितिर तानेको हो भन्ने लाग्छ ।’

अहिले नेकपा एमालेबाट दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारी गरिरहेका रिजालको राजनीति हाराहारीकै पत्रकारिता करिअर पनि छ । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह पढ्दै गर्दा नेपाल प्रेस इन्स्टिच्युटको तीन महिने तालिम लिएर उनी लेखनीसँग जोडिएका थिए ।

प्रेस इन्स्टिच्युटको तालिम लिएका उनले आठ वर्ष पार्टीको मुखपत्र बुधबार साप्ताहिकको सम्पादक बनेर काम गरे । त्यसबेला व्यावसायिक भन्दा पनि ‘राजनीतिक मिसन पत्रकारिता’ गरेको उनी बताउँछन् ।

‘मेरो धेरै रुचि पढ्ने, लेख्नेमै हुन्थ्यो । त्यसलाई अभिव्यक्त गर्ने माध्यम पत्रकारिता रोजेको थिएँ’, रिजाल भन्छन् । उनी पछि पत्रकारिता सम्बद्ध पार्टी निकट प्रेस चौतारीको महासचिव हुँदै सह–इञ्चार्जसम्म पनि बने ।

राजनीतिको सुरुवात अखिलबाट गरेको भए पनि रिजालले पत्रकारिता पृष्ठभूमिकै कारण एमाले धेरै जिम्मेवारी पाएका छन् ।

२०६२ पहिलो पटक उनले एमाले केन्द्रीय प्रचार विभाग सदस्यको रुपमा पार्टीमा जिम्मेवारी पाएका थिए, जति बेला प्रदीप नेपाल विभाग प्रमुख थिए ।

२०६६ सालमा नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार भए । ‘मैले काम गर्दै गएँ, नेतृत्वले विश्वास गर्दै गयो, जिम्मेवारी पनि पाउँदै गएँ,’ उनी भन्छन् ।

२० महिना प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी सम्हालेपछि भने उनले आफूलाई राजनीतिमा पूर्णकालीन बनाउने निर्णय गरे । एमाले केन्द्रीय प्रचार विभाग सचिवका रुपमा सक्रिय भए ।

३ जेठ २०७५ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि भने अझ फराकिलो ‘राजनीतिक स्पेस’ पाए । दुई पार्टी मिलेर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीमा उनले प्रवेश पाए । त्यति मात्र होइन, पार्टीभित्र महत्वपूर्ण मानिने विदेश विभाग उपप्रमुखको जिम्मेवारी पनि पाए ।

एमालेको १० औं महाविधेशनपछि पुनः केन्द्रीय समिति सदस्यको जिम्मेवारी पाए । सँगै केन्द्रीय प्रचार विभाग उपप्रमुख र दैलेख जिल्ला सहइन्चार्ज पनि भए ।

दैलेख–२ बाट उम्मेदवार बन्न चाहेका उनले आफूले नै टिकट पाउने आशा राखेका छन् । त्यही क्षेत्रबाटै एमालेका नेताहरु लक्ष्मी पोखरेल, राजबहादुर बुढा, राजबहादुर शाही र विनोद शाह पनि सिफारिस भएका छन् ।

उम्मेदवार बन्न इच्छुक पार्टी नेताहरुको लहरलाई उनी स्वाभाविक मान्छन् । ‘पार्टीभित्र प्रतिष्पर्धा पनि हुन्छ, सहकार्य पनि हुन्छ’ उनी भन्छन्, ‘योग्यहरुबीचमा योग्यतम निकाल्न अझ बढी कठिन हुन्छ, त्यसैले पार्टीभित्र हुने प्रतिस्पर्धालाई म अप्ठ्यारो मान्दिनँ ।’

रिजाल दैलेखमा धेरै सम्भावना भएको भए पनि अझै धेरै कुरामा पछाडि रहेको भन्दै त्यहाँको कुरा चर्को गरी सिंहदरबारलाई सुनाउन उम्मेदवार बन्न चाहेको बताउँछन् । त्यसलाई प्रष्ट्याउँदै उनी भन्छन्, ‘कुनै ठूला विकास परियोजना अहिलेसम्म दैलेख गएको छैन, भएका सडक पनि हामीले सुधार गर्न सकेका छैनौं । जनताको स्वास्थ्य, खानेपानी, सरसफाइ, रोजगारीका कुरा हाम्रा लागि चुनौती बनेर उभिएका छन् ।’

गाउँका अधिकांश युवा अझै पनि रोजगारीका लागि भारतका गल्लीगल्ली धाउनुपर्ने अवस्थाप्रति चिन्तित रहेको उनी बताउँछन् ।

‘निर्वाचनका बेला फोन गरी गरी बोलाउनु पर्दा दुःख लाग्छ’ उनी भन्छन्, ‘आफ्ना सम्भावनालाई पनि उत्खनन गर्न सकेका छैनौं, त्यसैले दैलेखको यो अवस्थालाई म सिंहदरबारसमक्ष सुनाउन चाहन्छु, अझ ठूलो र चर्को स्वरमा सुनाउन चाहन्छु ।’

जिल्लाका समस्यामा केन्द्रसम्मको सेतु बन्नु बाहेक पार्टीले अघि सारेको नारालाई सफल बनाउनु नै आफ्नो एजेन्डा हुने उनी बताउँछन् । ‘राष्ट्रियरुपमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा अघि सारेको छ, त्यसलाई आफ्नो ठाउँमा योगदान दिनेमा मेरो भूमिका रहन्छ,’ उनले भन्छन् ।

दैलेख–२ मा आफ्नो पार्टीले लगातार चुनाव जित्दै आएको भन्दै उनी त्यहाँको चुनावी प्रतिस्पर्धामा आफ्ना लागि चुनौती कम र सहजता बढी रहेको बताउँछन् ।

‘मैले अवसर नै अवसर देखेको छु’ उनी दाबी गर्छन्, ‘दैलेखमा आजको दिनमा प्रतिस्पर्धामा उत्रिने कुनै राजनीतिक दल छैन, उहाँहरु जतिसुकै मोर्चा बनाएर आए पनि भ्यागुताको धार्नी पुग्दैन ।’

कति भोट ल्याएर जितिन्छ भन्ने कुरा गठबन्धनको उम्मेदवार टुंगिएपछि थाहा हुने बताउने रिजाल अघिल्लो पटक जित्दाको मतान्तर यसपालि पनि कायमै हुने सुनाउँछन् ।

नयाँ अनुहार
लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?