+
+

कठघरामा कविता ‘रियालिटी सो’

पोयट आइडलको घोषणासँगै यसको पक्ष–विपक्षमा बजार तातिरहेको छ । कतिपयले यसलाई ‘स्टन्ट’को संज्ञा दिएका छन् भने कतिले कवितालाई व्यवसायिक दुनियाँमा लैजाने प्रयासको रुपमा स्वागत गरेका छन् ।

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७९ असोज ८ गते १९:५३

गत भदौ २६ गते एक समारोहबीच कविता लेखनको रियालिटी सो ‘द पोयट आइडल’ घोषणा भयो । घोषणा कार्यक्रममा पोयट आइडलमा अन्य रियालिटी सोजस्तै दर्शकको भोटिङसमेत मुख्य निर्णायक राखिने बताउँदै निर्णायकहरू सार्वजनिक गरियो । पोयट आइडल कुनै विदेशी फ्रेन्चाइज (विदेशी कार्यक्रमको स्वीकृति लिएर त्यही ढाँचामा गरिने रियालिटी सो) भने होइन ।

निर्देशक अमनप्रताप अधिकारीका अनुसार ‘पोयट आइडल’ नेपालको इतिहासमा कविताको पहिलो रियालिटी सो हो । ‘केलाई रियालिटी सो मान्ने भन्ने कुराको लागि अन्तर्राष्ट्रिय अभ्यास हेर्नुपर्छ । हामीले भोलि अन्तर्राष्ट्रिय बजारमा पुग्ने लक्ष्यसहित नेपालको इतिहासमा पहिलोपटक विशुद्ध कविता विधाको मात्रै रियालिटी सो सुरु गरेका हौं’, अमनप्रताप भन्छन् ।

नेपाली बजारमा अन्य रियालिटी सोहरू निकै फस्टाए पनि कविता रियालिटी सो नयाँ हो । प्रतिभाको डबली, नेपाल आइडल, बुगीबुगी डान्स, को बन्छ करोडपति, कमेडी च्याम्पियन, भ्वाइस अफ नेपाल, रोडिजजस्ता रियालिटी सो नेपालमा सञ्चालन भइसकेका छन् । तीमध्ये अधिकांश रियालिटी सो गीत र नृत्यका रहेका छन् ।

डिजिटल युगका यस्ता रियालिटी सोलाई छाडेर नेपाली साहित्यतर्फ फर्कने हो भने कविता प्रतियोगिताको इतिहास निकै पुरानो भेटिन्छ । दरबार हाइस्कुलमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि नै कविता प्रतियोगिता गरिएको घटना बालकृष्ण समले आफ्नो पुस्तक ‘मेरो कविताको आराधन’मा उल्लेख गरेका छन् । आधुनिक नेपाली कवितातिर फर्किँदा पनि कविता प्रतियोगिताको इतिहास बृहत् देखिन्छ ।

नेपाली कविताको पुरानो प्रतियोगिताको रुपमा ‘राष्ट्रिय कविता महोत्सव’लाई मानिँदै आएको छ । २०२२ सालदेखि प्रत्येक वर्ष असार ९ गते हुने यस महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने कविहरूलाई राष्ट्रअध्यक्षको हातबाट नगद र पदक दिइँदै आएको छ । राजतन्त्र हुँदा राजाको हातबाट र अहिले राष्ट्रपतिबाट कविता महोत्सवका विजयी कविहरूलाई पुरस्कार दिइने गरिन्छ । जसको राशी प्रथम हुनेलाई पचास हजार रुपैयाँ रहेको छ ।

कविता महोत्सवको इतिहास रोचक छ । कविताका पारखी राजा महेन्द्र आफंैले कविताको शीर्षक दिएर सोही शीर्षकमा रहेर देशभरिबाट युवालाई कविता आह्वान गरेर प्रतियोगिता गराउँथे । २०४७ पछि प्रतियोगिताको स्वरूप परिवर्तन भई स्रष्टा स्वयंले रोजेको विषयमा कविता लेख्न पाइने भयो । पहिलो कविता महोत्सव २०२२ मा चर्चित हास्यव्यंग्यकार भैरव अर्यालको कविता प्रथम भएको थियो ।

राष्ट्रिय कविता महोत्सवबाहेक देशभित्र हुने अन्य राष्ट्रिय स्तरका कविता प्रतियोगितामा पनि छन् । प्रत्येक वर्ष भानु जयन्तीको अवसरमा विभिन्न संघ–संस्था तथा साहित्यिक संस्थाहरूले कविता प्रतियोगिता गर्दै आएको पाइन्छ । धरानको विमल गुरुङ पुस्तकालयले गर्ने राष्ट्रिय कविता प्रतियोगिता, अन्तर्राष्ट्रिय साहित्य समाजको अनेसास कविता महोत्सव, एकता दिवसमा नेपाली सेनाले गर्ने कविता प्रतियोगिता यसका उदाहरण हुन् ।

यी सबै प्रतियोगितामा सार्वजनिक सूचनामार्फत् कविता आह्वान गर्ने, त्यसपछि इमेल वा हुलाकबाट कविता संकलन गर्ने र अन्तिममा निर्णायकले पढेर मूल्यांकन गरेपछि सर्वाधिक धेरै नम्बर पाउनेलाई विजेता घोषणा गर्ने चलन छ । अर्थात् निर्णायक र कविको प्रत्यक्ष भेट नभइकन लिखित कविताकै आधारमा मूल्याङ्कन गरिने चलन छ ।

यद्यपि डिजिटल युगमा कविता प्रतियोगिताका ढाँचाहरू बदलिँदै गएको देखिन्छ । कोभिड महामारीपछि कतिपय प्रतियोगिता भर्चुअल रुपमा गरिए । कविहरूले अडियो वा भिडियो बनाएर पठाउने र आयोजकले त्यसकै आधारमा उत्कृष्ट कवि छान्ने चलन लकडाउनपछि विस्तार भयो । जसअनुसार निर्णायकले कविताको लिखित प्रति र कविकै मौलिक आवाजमा कविता वाचन हेरेरमात्र मूल्यांकन गर्नुपर्ने भयो । आवश्यक परेमात्र टेक्स्ट (लिखित प्रति) हेर्न सकिने भयो ।

एकैछिन पोयट आइडलतर्फ नै जाऔं । रियालिटी सो पोयट आइडलको परिकल्पनाकार अमनप्रताप यो कार्यक्रम कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा गरेको स्वीकार्छन् । अमनका पिता क्षेत्रप्रताप अधिकारी (१९९९–२०७०) प्रसिद्ध कवि एवं गीतकार हुन् । लामो समय साझा प्रकाशनको नेतृत्व (अध्यक्ष तथा महाप्रबन्धक) गरेका क्षेत्रप्रतापलाई नेपाली साहित्यमा ‘गामबेसीका कवि’ पनि भनिन्छ । ‘गामबेसीका गीत’ नामक कवितासंग्रहको चर्चाका कारण उनलाई यसो भनिएको छ ।

अमनप्रतापले यसअघि रोडिज, को बन्छ करोडपतिजस्ता चर्चित रियालिटी सोहरू गरिसकेका छन् । पहिलो पोयट आइडलमा उनले कवि विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कलाकार अनुप बराललाई निर्णायक (जज) तय गरेका छन् । कार्यक्रम अभिनेता दिव्यदेवले सञ्चालन (होस्ट) गर्नेछन् ।

निर्देशक अमनप्रतापका अनुसार पोयट आइडलको सुरुमा डिजिटल अडिसन हुनेछ । जसमा विश्वभरिबाट आफ्नो दुई मिनेटको भिडियो कविता पठाउन सकिनेछ । त्यसपछि स्टुडियो प्रस्तुति हुनेछ जसबाट अन्तिम १४ कवि छानिनेछन् ।

त्यससँगै दर्शकले मन परेको कविलाई भोटिङ गर्न पाउनेछन् । त्यससँगै प्रत्येक इपिसोडमा एकजना कवि बाहिरिँदै जानेछन् । अन्त्यमा निर्णायकबाट धेरै प्राप्ताङ्क तथा दर्शकबाट धेरै भोट पाउने एकजना पोयट आइडल हुने प्रावधान राखिएको छ ।

पोयट आइडलको घोषणासँगै अहिले यसको पक्ष–विपक्षमा बजार तातिरहेको छ । कतिपयले यसलाई ‘स्टन्ट’को संज्ञा दिएका छन् भने कतिले कवितालाई व्यवसायिक दुनियाँमा लैजाने प्रयासको रुपमा स्वागत गरेका छन् ।

कतिले कविता लेखनको भाष्य र रुपमा समयअनुसार परिवर्तन हुँदै गएकाले रियालिटी सो सान्दर्भिक रहेको बताइरहेका छन् । स्ल्याम्प पोयट्री (अभिनयसहित कविता भन्ने, सुनाउने) विधा मन पराउने दर्शकले यसको खुलेर प्रशंसा गरिरहेका छन् ।

नेपालको इतिहासमा नौलो प्रयोगसहित नौलो ढाँचामा सुरु हुन लागेको रियालिटी सो ‘द पोयट आइडल’माथि नेपालका लोकप्रिय कविहरूको धारणा यस्तो छ :

कवितालाई लोकप्रिय बनाउने माध्यम : तुलसी दिवस

कवितालाई लोकिप्रयताको तहमा पुर्‍याउने काम डिजिटल माध्यमबाट हुनु सुखद कुरा हो । कविता वाचन गर्ने परम्परालाई विशिष्ट बनाउने र दर्शकलाई कविता ग्रहण गर्न सहज अवस्था बनाउन सक्नु यस्ता रियालिटी सोको मुख्य उद्देश्य हुनुपर्छ ।

सँगसँगै कविताको स्तरीयता बढाउन र कविलाई थप साधनातर्फ प्रोत्साहन गर्नु पनि यस्ता कार्यक्रमको दायित्व हुनुपर्छ । समयसँगै भित्रिएको प्रविधिको सदुपयोग हुनुपर्छ । कविता प्रतियोगिताको लामो परम्परा रहेको नेपालमा आमसञ्चारका माध्यमलाई प्रविधिसँग जोडेर कविताको कार्यक्रम हुनु प्रशंसनीय कुरा हो ।

रियालिटी सोको भित्री उद्देश्य कमाउनु नै हो : स्वप्निल स्मृति

हामी अहिले चरम छटपटाहटपूर्ण पुँजीवादी समाजमा बाँचिरहेका छौँ । सिक्नको लागि होइन टिक्न र बिक्नका लागि पुँजीवादले अनेकखाले आइडिया र आइडलहरू उत्पादन गरिरहन्छ । यसको भित्री मक्सद कमाउनु नै हो । यस्ता सोहरूको सबैभन्दा बलियो माध्यम टेलिभिजन, युट्युबजस्ता श्रव्यदृश्य माध्यम हुन् जहाँ आम मानिसको पहुँच र उपस्थिति हुन्छ ।

रियालिटी सोले दूरदराजमा लुकेर रहेका प्रतिभालाई एक तहसम्म सार्वजनिक मञ्च प्रदान गरेजस्तो देखिए पनि सो सकिएपछि ती प्रतिभाहरूको कन्तबिजोग भएको पनि हामीले देखेकै हौँ । मैले यो पोयट आइडललाई लक्षित गरेर भन्दा पनि आजका रियालिटी सोहरूको आम प्रवृत्ति केलाएको हो । पहिलोपटक भएकाले पोयट आइडलले राम्रो गरोस् भनेर शुभकामना दिनमात्र सकिन्छ ।

कविताको गुणवत्तालाई ध्यान दिनुपर्छ : मोमिला

नेपालको परिवेशमा कविताको रियालिटी सो नौलो प्रयोग हो । यसले हाम्रो कविताको गरिमालाई विस्तार गर्छ । बुझेर पढ्नुपर्ने विधा भएकाले कवितालाई आम मानिसले त्यति धेरै महत्त्व नदिरहँदा यसलाई प्रस्तुतिकरणको माध्यमबाट आम पाठक, दर्शकसम्म पु¥याउन खोज्नु सुन्दर कुरा हो ।

यद्यपि कविता प्रतियोगितामा केवल प्रस्तुतिलाई मात्र ध्यान दिनु हुँदैन । कविताको गुणवत्तालाई कायम राखेर प्रस्तुति गरियो भने राम्रो हुन्छ । काव्यिक मूल्यलाई जोगाउँदै रियालिटी सो गरियो भने नेपाली कविता सबैको प्रिय बन्न सक्छ र पोयट आइडल साहित्यको इतिहास नयाँ दस्तावेज बन्न सक्छ ।

कवितामा वाचन गौण हो, विचार केन्द्र हो : भूपाल राई

कविता भनेको पर्फर्मेन्स आर्टमात्र होइन । कविता मूलतः विचार हो । कवितालाई भाषण वा पर्फर्मेन्सको आधारमात्र मूल्याङ्कन गरिनु हुँदैन । पूँजीवादले संसारका सारा वैचारिकीमाथि प्रहार गरिरहेको छ । अहिलेको अवस्थामा कवितालाई पनि त्यसले निश्चय नै आफ्नो साधन बनाउन खोजेको छ ।

यस किसिमको रियालिटी सोहरूले कवितामा हामीले गरिरहेको वैचारिक संघर्षमाथि प्रहार गरेको छ । भुइँमान्छेले कविताबाट गर्न खोजेको संघर्षलाई ओझेलमा पार्ने काम गर्छ । यसर्थ म स्पष्ट छु, कवितामा वाचन वा प्रस्तुति गौण पक्ष हो । कवितामा भएको विचार वा चेतना नै मुख्य कुरा हो ।

आइडलको चिन्तन र अवधारणा नै हास्यास्पद छ : विनोदविक्रम केसी

मलाई यो रियालिटी सो भनेकै ‘बेवकुफीको सुपरमार्केट’ जस्तो लाग्छ । दुनियाँलाई बेवकुफ बनाउने उद्यमजस्तो लाग्छ । अर्काे कुरा, रियालिटी सोबाट भयंकर प्रतिभाहरू जन्मिन्छन् भन्ने कुरा वाहियात हो । प्रतिभा जन्माउने कुनै कार्यक्रमले होइन, समग्र पर्यावरणले हो । पोयट आइडलका निर्देशक अमनप्रताप अधिकारीले कतै भनेको सुनेको थिएँ, ‘कविता र कविहरूलाई नेपालमा धेरै हेपियो । कसैले कविलाई स्टार बनाएन । अब हामी बनाउँछौं ।’

उनको यो चिन्तन र अवधारणा नै हास्यास्पद छ । जुन देशको स्कुल, कलेजमा अनगिन्ती कविको जीवनी पढाइन्छ, त्यहाँ कवि र कवितालाई हेपिएको हुन्छ ? जुन देशको प्राज्ञिक संस्थानले दर्जनौं कवि÷साहित्यकारलाई पालेको छ, त्यहाँ अवहेलनाको कुरा कसरी आउँछ ?

कवि र साहित्यकारलाई कुनै देशले सबैभन्दा बढी सम्मान गरेको छ भने नेपाल भन्ने देशले नै गरेको छ । यो देशले आफ्नो गच्छेभन्दा बढी दिएको छ, कवि र साहित्यकारलाई । कुरो आर्जनको हो भने मजदुरलाई दुई छाक खान नपुग्ने देशमा कसैलाई कविता लेखेर खान पुग्दैन भने नपुगिरहोस् ।

जहाँसम्म जजको कुरा छ, यहाँनेर मेरो अलिकति चित्तदुखाइ छ । उपेन्द्र सुब्बा, विप्लव प्रतीक र अनुप बराल यो देशका महत्वपूर्ण प्रतिभा हुन् । तीनै जनाको काव्यचेत उच्च छ । मैले यी तीनै जनाले भनेको सुनेको छु— कविता लेख्न सिकाउन सकिंदैन, कविताको प्रतियोगिता हुँदैन, कविता जोख्ने कसी हुँदैन ।

अर्काे खतरनाक कुरा पनि छ । पोयट आइडल कसको स्मृतिमा हुने रे ? क्षेत्रप्रताप अधिकारीको स्मृतिमा । क्षेत्रप्रताप अधिकारी को हुन् ? जीवनभर महेन्द्रीय राष्ट्रवादको उलिन्काठ बोक्ने कवि हुन् । पञ्चायतलाई सांस्कृतिक मलजल गर्नेमध्येका एक हुन् । बुद्ध, सगरमाथा, पहाड, हिमाल, वीरका विम्बहरूले पोषण गरेको तातो न छारोको राष्ट्रवाद छ नि एउटा, क्षेत्रप्रताप त्यसका मास्टर क्य्राफ्टसम्यानमध्ये एक थिए ।

लोकतन्त्रका पक्षधर उपेन्द्र सुब्बा, विप्लव प्रतीक र अनुप बराललाई के त्यस्तो खण्ड आइलागेछ, उनीहरू राजतन्त्रपक्षधर क्षेत्रप्रताप अधिकारीको स्मृतिमा हुने कार्यक्रममा जज बन्न तयार भएछन् । उनीहरूले हामीलाई बताइदिऊन्, उनीहरू क्षेत्रप्रताप अधिकारीको राजनीतिक विचारसँग सहमत भएका हुन् ? कसैको सम्मानमा सम्मिलित हुनु भनेको उसले बोकेको विचार, राजनीति, निष्ठा र आस्थालाई पनि स्वतः स्वीकार्नु हो ।

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?