+
+
ब्लग :

‘मानसिक बलात्कार’को बढ्दो आतङ्क

स्त्री बलात्कृत भएभन्दा पनि किन एउटा पुरुष कसैको इच्छा विपरितको कुकृत्य गर्न पुग्छ ? बलात्कारजस्तो अपराध गर्दा ऊ किन आनन्दित हुन्छ ? यसको मनोसामाजिक कारण खोजौँ र नियन्त्रण गरौँ ।

भाषा पोखरेल भाषा पोखरेल
२०७९ असोज ८ गते १८:१७

बलात्कार ! उफ् ! यो शब्द आफैंमा निकै निरंकुश अनि आततायी छ । यसको आतंक सबैको मानसपटलमा कुनै न कुनै रूपमा रहेकै छ । झन् छोरीहरूलाई त यो शब्दले बेलाबेला निकै झस्काउने गर्दछ । आखिर एउटा पुरुष कसरी र किन बलात्कारी हुन्छ ? किन ऊ यौन व्यभिचारी बन्छ ? किन आफ्ना वरिपरीका आमा, दिदीबहिनी अनि छोरीहरूको शरीरलाई नियालिरहेको हुन्छ ? समाज त उही हो । महिला पुरुष सबै बसेकै छन् । तर, यो समाजमा महिला मात्रै किन सधैं असुरक्षित ?

अनि बलात्कारको परीभाषा के हो ? के बलात्कार शारीरिक मात्रै हुन्छ ? कि मानसिक पनि ? आफ्नै आफन्त, चिनजानका पुरुषहरूबाट दिनहुँ हजारौं छोरी चेलीहरूतिर तेर्सिएका तीखा र कुटील आँखाको दृष्टि बलात्कार हो कि हैन ? यदि होइन भने ती आँखाहरू किन त्यसरी तेर्सिइरहेका हुन्छन् ? के ती आँखाहरूबाट आफ्नै घरपरिवारका दिदीबहिनी अनि छोरीहरू सुरक्षित छन् ? बलात्कार शब्द सुन्ने बित्तीकै मन मस्तिष्कमा उकुसमुकुस भएर यी धेरै प्रश्नहरू एकैचोटी बर्बराउन थाल्छन् । तर, अफसोच हामीसँग यी प्रश्नहरूको उत्तर छैन ।

शारीरिक रूपमा हुने बलात्कार देखिने अपराध हो । मानौं सो अपराधीलाई कानुनले ढिलाचाँडो सजाय पनि गर्ला । अनि कुनै बेला त्यस्ता हिंसित दिदीबहिनीहरूले आफूमाथि भएको हिंसा बाहिर पनि ल्याउलान् र ल्याउनुपर्छ । तर, यो समाजमा जब्बर बन्दै गएको मानसिक बलात्कारले भने व्यक्तिलाई जीवनभर पीडा दिइरहनेछ । हामी दिदीबहिनीहरूले पाइलापाइलामा मानसिक बलात्कारको सिकार हुनुपरेको छ । मानसिक बलात्कारले निदाएको समयमा पनि झस्क्याँछ, तर्साउँछ र महिलालाई मानसिक रूपले झन् कमजोर बनाउँछ । जसरी शारीरिक रोग भन्दा मानसिक रोग जटिल मानिन्छ, त्यसैगरी मानसिक बलात्कार झनै कष्टकर र जटिल हुन्छ ।

अनि यहि समाजमा जन्मिएकी, हुर्किएकी र कर्म गरिरहेकी छोरी किन बलात्कृत हुन्छे ? छोरीहरू बलात्कृत हुनुमा कसको दोष छ ? यसमा जसरी एक हिंस्रक पुरुष दोषी छ, उसैगरी बाबुआमा पनि उत्तिकै दोषको भागिदार हुन्छन् । किनकी घरपरिवारबाटै महिलालाई प्राकृतिक रूपमा कमजोर बनाएर व्यवहार गरिन्छ । हाम्रो शारीरिक बनावटको प्रकृतीले पनि सायद कमजोर महसुस हुन्छ । त्यसैले एउटा बच्चा यदि छोरा छ भने उ हुर्कदैँ जाँदा आमाको संरक्षक बन्दछ । तर, छोरी छ भने आमा र छोरी दुवैका लागि ऊ खतरा बन्न सक्ने सम्भावना प्रबल रहन्छ ।

त्यसैले प्राकृतिक रूपमा नै कमजोर रहेको महिला शरीर माथि बलियो पुरुषले कुनै पनि प्रकारको दुस्कर्म पनि गर्न सक्छ है भन्ने कुराको हेक्का बाबुआमाले राम्रोसँग राख्न सक्नुपर्छ । छोरीलाई कहिले पनि छोरी नसम्झेर साथीलाई जस्तै व्यवहार आमाले गर्नुपर्दछ ताकि छोरीले आफुलाई परेको पीडा आफ्नो साथीको रूपमा आमालाई भन्न सकोस् । अनि छोरीले भनेको कुरालाई आमाले पनि गम्भीरतापुर्वक लिने गर्नृुपर्दछ र आफ्नो श्रीमान्सँग सल्लाह गरी उचित कदम चाल्नुपर्दछ ।

हामीलाई थाहै छ, अक्सर समाजका व्यक्तिहरू अरुको अफ्ठेरोमा रमाउने गर्दछन् । त्यो मानवभित्र रहेको पशुत्वको गुण हो । यसैको प्रतिबिम्ब कुनै विधुवा तथा डिभोर्सी महिलाहरूलाई हेर्ने नजर र गरिने व्यवहारबाट प्रष्ट हुन्छ । किनकि समाजले जहिल्यै उनलाई कालै नजरले हेरेको हुन्छ । कुनै पनि नारी विधुवा हुनु उसको रहर हैन । त्यस्तै कुनै विवाहित नारीले डिभोर्स गरी अलग रहनु पनि उनको रहर नहुनसक्छ ।

नारी बिधुवा आफ्नो श्रीमान् मरेर हुन्छन् भने त्यही श्रीमान्ले मार्छ कि भन्ने डरले नै डिभोर्स गर्न बाध्य हुन्छन् । किनकि हिजो भन्दा आज मान्छेले राक्षसी स्वरूप ग्रहण गर्दै गइरहेको छ । राक्षसरूपी मानिसले कति बेला के गर्छ कुनै थाहा हुँदैन । त्यसैले एउटा नारी सम्बन्ध विच्छेद गरेर बस्न बाध्य हुन्छे, आफ्नो सुरक्षाका लागि । अनि त्यही नारीलाई समाज र समाजका कथित सभ्य कहलिनेहरूले गर्ने व्यवहार कस्तो हुन्छ ? आफैं सम्झिनुहोस् ।

नारीहरू तबसम्म पूर्णरूपमा सुरक्षित हुँदैनन् जबसम्म स्त्री विवाह गरेर पुरुषको घरमा जान्छे । हो, यो परम्परा कायम रहेसम्म विवाहित बलात्कारको अन्त्य पनि हुदैँन । जब छोरी विवाह गरेर पुरुषको घर जान्छे, त्यहाँ उसको घर हुदैँन । ऊ जन्मेको घर माइतीमा परीणत हुन्छ । पराई घरमा उसको कुरा चल्दैन । घरका सबैलाई नै उनी अर्काकी छोरी हुन्छिन् । अनि उनीसँग आफ्नो शरीरको समेत अधिकार रहदैँन । किनकि शरीर पनि त्यही घरको हुन पुग्दछ । उनका इच्छा आकांक्षा सबै त्यस घर अनुसारका हुन्छन् । अनि उनको इच्छा श्रीमानको इच्छा हुन्छ ।

औपचारिक कार्यक्रमहरूमा लगाइने नारा – ‘आफ्नो शरीर आफ्नो अधिकार’ त केवल नारा मात्र हो । किनकि कुनै पनि विवाहित महिलामा उनको शरीरमाथि उनको अधिकार रहँदैन । यदि मेरो शरीर मेरो अधिकार भनेर कुनै बिवाहित स्त्रीले भन्छे भने उसको मृत्यु वा डिभोर्स हुने पक्कापक्की जस्तै हुन्छ । त्यही भएर सायद छोरीहरू ‘शहनशीलता’ का प्रतिरूप हुन्छन् र समाजले पनि त्यही गहनाले सुशोभित गरिदिएको हुन्छ ।

यसो समाज नियाल्ने हो भने विवाहलाई सामाजिक करार ठान्दै एउटी नारीको ‘स्वतन्त्र’ हैसियत समाप्त पारिन्छ । आखिर विवाह एउटा पुरुषका लागि अर्की महिला थुनिनुपर्ने पिंजडा हो ? नत्र किन जसरी सुगालाई पिंजडामा थुनेर घरका मानिसहरू रमाइरहेका हुन्छन्, त्यसरी नै विवाहित स्त्रीलाई वैवाहिक पिंजडामा थुनेर घरपरिवारका मानिस रमाउँछन् ? उनको स्वतन्त्र अस्तित्व र इच्छा चाहना नामेट पारिन्छ । अनि विवाहित स्त्रीले सँगै सुत्ने श्रीमान्को जबरजस्तीलाई मौन स्वीकार गर्नुपर्ने बाध्यता आइपर्छ । केही बोल्यो भने अनेक अपमान त्यही स्त्रीले नै भोग्नुपर्दछ । गल्ती सबै स्त्रीको नै हुन्छ । पुरुषले कुनै गल्ती नै गर्न जान्दैन जस्तो व्यवहार गरिन्छ ।

खासमा यस्तै संस्कृति, संस्कार र परम्पराका नाउँमा अन्ततः महिला हिंसाको सिकार हुने गरेका छन् । अनि यस्तै सोच र परम्परा नै वैवाहिक बलात्कारको कारक पनि हो । जसको न्यायिक उपचारका लागि एउटी नारी न्यायालयको ढोकासम्म पुग्ने हिम्मत पनि गर्न सक्दिनन् । किनकि उनको लागि अर्को सहारा कोही हुँदैन ।

यदि वैवाहिक बलात्कृत स्त्री न्यायलयको ढोकामा पुगिन् नै भने पनि त्यसपछि जाने कहाँ ? उनलाई समाजले गर्ने व्यवहार कस्तो हुन्छ ? उनी कहाँ बसेर लड्ने त ? उनको घर खोई ? जन्मघर माइती भयो, श्रीमानको घर पराई । अनि छुट्टै बसरे संघर्ष गर्न खोज्यो, न्याय माग्न खोज्यो परिचित अनुहारका हिंस्रक आँखाहरूले दिनप्रतिदिन सिकार गरिरहेका हुन्छन् । अब ती महिलाले गर्ने के ? जाने कहाँ ?

त्यसैले महिलाहरूले चाहेर पनि न्यायको ढोकासम्म पुग्न सकेका हुँदैनन् । उनीहरूले न्यायिक लडाइ लड्न नसक्नु र नचाहनुमा उनीहरू सुरक्षित रहेर लडाईं लड्न सक्ने आश्रय नहुनु हो । अर्को शब्दामा भन्नुपर्दा आफ्नो वास्तविक घर नहुनु नै हो । माइती बसेर लडौँ त समाजले खराब नजरले हेर्छ, श्रीमान्को घरमै बसेर लड्न सक्ने कुरै हुँदैन । किनकि न्यायिक लडाईं नै उसैविरुद्ध हुन्छ । उसले त बरु मार्न सक्छ ! त्यसैले महिलाले सोच्दछन् कि मर्नु भन्दा त अन्याय सहेर प्राण बचाउनु नै उत्तम ।

अब अलिकति ससाना बालिकाले सहनुपर्ने हिंसाका बारेमा चर्चा गरौं । बालिकाहरूले भोग्नुपर्ने यौन हिंसा र बलात्कारको पहिलो कारक बाबुआमाको व्यवहार हो । किनकि बाबुआमाले आफ्नो छोरीको जन्मेदेखि नै राम्रो रेखदेख तथा साथीत्वको व्यवहार गर्ने हो भने बालिका बलात्कार केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । बालिकाहरू मूलतः आफ्नै उमेरका साथीभाइहरूबाट भन्दा पनि बढी आफ्ना बाबुका साथीहरूबाट बलात्कृत हुने गर्दछन् ।

अपरिचित व्यक्तिले गर्ने बलात्कारका घटना कमै हुन्छन् । बालिका र किशोरीहरू बढी मात्रामा परिचितहरूबाट नै बलात्कृत भएका छन् । अनि यो अवस्था त्यति बेला मात्रै आउँछ, जब बालिकाको घरमा उसका बाबुआमाले गर्ने हेरविचार, कुराकानी आदिले बालिकाको मनोबल उच्च बनाउन सक्दैन । बालिकाको कुरा सुन्ने अभिभावकको शैली अवलोकन नगरी कुनै परिचित पुरुषले यौन दुर्व्यवहार वा बलात्कार गर्ने हिम्मत गर्नै सक्दैन ।

छोरीले परिचितहरूबाट भएको दुर्व्यव्यवहारबारे घरमा सुनाउँदा बाबुआमाले छोरीका कुरा नपत्याउने, कहाँ मेरो साथीले यस्तो गर्न सक्छ, यत्तिकै भन्छे भन्ने जस्ता कुराहरूले छोरीहरूलाई कमजोर र बलात्कारीलाई बलियो बनाएको हुन्छ ।

किनकि विभिन्न प्रकारका प्रलोभन देखाई बालिकाको शरीरमाथि खेल्ने प्रयास त्यस्तै दुष्ट अंकलले गरिरहेका हुन्छन् । बाहिर अंकलको स्वरूप धारण गरेको बलात्कारीले आफ्नो छोरी समान साथीको छोरीलाई बलात्कार गरिरहेको हुन्छ, सके शारीरिक नभए पनि मानसिक बलात्कार त गर्छ, गर्छ ।

हामीले त्यस्तो न्यायिक समाजको परिकल्पना नगर्ने हो भने म फलानोबाट बलात्कृत भएँ भनी उजुरी दिने साहस गर्ने नारी डिप्रेसनको सिकार बन्दछे । त्यसैले बलात्कृत स्त्रीलाई सम्मान गर्न सिकौँ ।

जब कुनै अंकल भनाउँदो पुरुषले आफ्नी साथीको छोरीलाई केयरिङ गरेको जस्तो नाटक गर्दछ, त्यहीँ बुझ्नुपर्छ कि उसले अनावश्यक स्पेश र मौका खोजिरहेको छ । त्यस्तो पुरुषले उपयुक्त मौका छोपी छोरीलाई मानसिक रूपमा बिरामी बनाई डिप्रेसनको सिकार बनाइराखेको हुन्छ । यदि छोरीले उसको अनौठो व्यवहार सुनाउन खोजी भने पनि आमाबुबाले सजिलै भनिदिन्छन्– ‘ऊ बाबाको मिल्ने साथी हो । उसले कहाँ त्यस्तो नचाहिने व्यवहार गर्छ ?’

यसमा अझै बढी सजक हुनुपर्ने आमा हो । किनकि कुनै पनि आमाले आफ्नी छोरीलाई बाबुसँग समेत एक्लै छाड्न सक्दिनन् । किनकि त्यहाँ बाबुसँग नै छोरी असुरक्षित हुनसक्ने । बाबुले आफ्नै छोरी बलात्कार गरेका घटना पनि त धेरै छन् ।

जब आफ्नै बाबुले आफ्नी छोरीलाई छोरी नदेखी स्त्री देख्छ भने बाबुको साथीको के कुरा रह्यो र ? के हामीले यस्ता प्रश्नहरूबारे कहिल्यै गम खाएका छौं ? कहिल्यै सोचेका छौं ? कहिल्यै महसुस गरेका छौं ? कहिल्यै आफ्ना छोरीहरूको मनोविज्ञान बुझ्ने कोसिस गरेका छौं ?

यहाँ एउटी नारी न घरमा सुरक्षित छे, न स्कुलमा, न त कार्यालयमा, न त श्रीमानसँग विवाहित घरमा नै । झन् आज समतामूलक समाजको कुरा गर्दैगर्दा हाम्रा वरिपरी भएका र भइरहेका यी र यस्तै ससाना घटना, समाजले गर्ने व्यवहार नियाल्दा जबसम्म छोरीहरू सबैतिर असुरक्षित भएर बाँच्न बाध्य छिन् भने कहिलेबन्छ समतामूलक समाज ? कहिले हुन्छ लैंगिक समानता ?

त्यसैले छोरीहरूलाई बलियो र सुरक्षित बनाउने जिम्मा राज्यको हो, कानुनको हो र अन्ततः यो समाजकै हो । कानुनले महिलालाई बलियो बनाउने प्रयास त गरेको छ तर, के यो ने पर्याप्त छ त ? निश्चित रूपमा छैन । जबसम्म समाजले सुरक्षा गर्दैन, महिला सुरक्षित हुँदिनन् । बलात्कार गर्ने पुरुषलाई सजाय दिने कुरा भन्दा महत्वपूर्ण बलात्कृत स्त्रीलाई सम्मान दिनु हो । उनलाई समाजमा पुनःस्थापित गर्नु हो ।

हामीले त्यस्तो न्यायिक समाजको परिकल्पना नगर्ने हो भने म फलानोबाट बलात्कृत भएँ भनी उजुरी दिने साहस गर्ने नारी डिप्रेसनको सिकार बन्दछे । त्यसैले बलात्कृत स्त्रीलाई सम्मान गर्न सिकौँ । स्त्रीले पनि आफ्नो अपेक्षा पूरा नभएमा कसैको जीन्दगी बर्बाद नगरी दियौँ । कानुनको सही सदुपयोग गरौँ ।

स्त्री बलात्कृत भएभन्दा पनि किन एउटा पुरुष कसैको इच्छा विपरितको कुकृत्य गर्न पुग्छ ? बलात्कारजस्तो अपराध गर्दा ऊ किन आनन्दित हुन्छ ? यसको मनोसामाजिक कारण खोजौँ र नियन्त्रण गरौँ । सुरक्षित घर अनि समाजको निर्माण गरौँ । जहाँ महिलाहरू सुरक्षित हुन्छन् त्यही समाज न्यायिक हुन्छ । त्यही समाज समृद्ध हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?