+
+
चाडबाडले नछुने बाआमा :

जो वृद्धाश्रम बस्‍न डोल्पाबाट जहाजमा काठमाडौं आए

‘दशैं तिहार त परिवार हुनेहरुका लागि हो । मेरो लागि त जसरी आउँछ उसैगरी गइजान्छ । न कोही आउने आशा ल्याउँछ न केही बिराउने पछुतो,’ दशैंको संघारमा भावुक हुँदै वृद्धाश्रमका हरेक बाआमा सुनाउँछन् ।

अंगद सिंह अंगद सिंह
२०७९ असोज ९ गते १४:०५

काठमाडौं । डोल्पाको दुनै थलाका ७३ वर्षीय नन्दबहादुर रोकाय काठमाडौंको पशुपतिमा रहेको समाज कल्याण केन्द्र वृद्धाश्रममा झोक्र्याएर बसेका छन् । नयाँ ठाउँ, नयाँ मान्छे, नौलो परिवेश । खाना-खाजा खाने नयाँ समयतालिका । आफूजस्तै उमेरले नेटो काटेर बुढ्यौलीले गाजिसकेका बुढाबुढीको जमात ।

उनका लागि सहर नयाँ । सहरका मान्छे बिराना । आफ्नो भन्नु वरपर कोही छैन । वृद्धाश्रममा कसले के गरिरहेका छन्, उनले एकोहोरो हेरेर जान्न खोजिरहेका छन् । दुनै छुट्यो । आफन्त छुटे । तर दुनैको माया छुटेको छैन रोकायको मनबाट । छुटोस् पनि कसरी । उनको जन्मथलो न हो दुनै । दुनैको ढुंगामाटोसँग उनको भावना जोडिएको छ । बाल्यकाल बिताएका छन् । त्यहाँका उकाली ओरालीमा जिन्दगीका ७३ वसन्त पार गरेका छन् ।

दुनै छुटे पनि दुनैबाट ल्याएको लौरौ भने उनले छाडेका छैनन् । दुनैको सम्झनाको सहारा भनेको त्यही मसिनो सर्लक्क परेको लौरो हो ।

टाउकोमा कालो टोपी । आँखामा कालो पावरवाला चश्मा । चाउरिएका गाला, लत्रिएका परेली, । ठुटा दाह्री अनि बुढो शरीर । यति हो काठमाडौंको वृद्धाश्रममा उनको परिचय । चश्मा मिलाउँदै उनी वृद्धाश्रमका कुना काप्चासम्म आँखा डुलाइरहेका छन् । बोल्न आउनेसँग चिनजान बढाइरहेका छन् । आफू काठमाडौंमा भए पनि उनको मन दुनैका पाखा पखेरामा उडिरहेको छ ।

‘जन्मेको माटो, कुदेको बाटो, चिनेजानेका आफन्त छाडेर वृद्धाश्रममा बस्न मन त थिएन । तर न गाउँमा आफ्ना छन्, न त गरेरै खान सकिन्छ,’ नन्दबहादुरले सुनाए । आज पाँच दिन मात्रै भएको छ, नन्दबहादुर वृद्धाश्रममा बस्न आएको । हरेकलाई दशैं लागेको छ । दशैं मान्न सर्वसाधारण गाउँ गइरहेका छन् । तर उनी यहीबेला सहर पसे ।

न सन्तान, न सहारा दिने आफन्त

रोकायाका कोही सन्तान छैनन् । न त उनलाई सहारा दिने कोही आफन्त नै छन् । काम गरेर खाना गाह्रो भएपछि उनका लागि आफ्नै गाउँ बिरानो भयो । अनि वृद्धाआश्रमको बाटो रोज्नुको विकल्प देखेनन् ।

नन्दबहादुर रोकाय दुनैबाट नेपालगञ्ज आए, नेपालगञ्जबाट काठमाडौ । वृद्धाश्रमको बासका लागि उनी पहिलोपल्ट हवाइजहाज चढे । घरपरिवार भएका र हुनेखाने घुम्न र रमाइलो गर्न हवाइजहाजमा सयर गर्छन् भने उनी ओत लाग्ने छानो र गाँस दिने सहारा खोज्न काठमाडौं छिरे ।

शरीरमा बल हुँदासम्म उनले खनिखेत गरेर बनिबुतो गरे । तर काम गर्न नसक्ने भएपछि उनी एक्लै बाँच्न नसक्ने अवस्थामा पुगे । ‘दशैं तिहार त परिवार हुनेहरुका लागि हो । मेरो लागि त जसरी आउँछ उसैगरी गइजान्छ । न कोही आउने आशा ल्याउँछ न केही बिराउने पछुतो,’ दशैंको संघारमा भावुक हुँदै उनले सुनाए ।

चाडबाडले उनको मनमा खुसी नल्याएको वर्षौं भइसक्यो । बाल्यकालका केही वर्ष उनको जीवनमा हर्षोल्लास र सन्तुष्टि थियो, तर त्यसपछि उनले त्यो खुसी र आनन्द कहिल्यै महसुस गर्न पाएनन् । उनी खुसी खोज्दै गए । तर खुसी उनीबाट भाग्दै गयो । जिन्दगी बिताउन खोजेकाहरुको साथ छुट्दै गयो । साथ छाडेकाहरुले कुनै मायाको चिनो छाड्न सकेनन् ।

‘न श्रीमती रहिन् न सन्तानको चिनो । जिन्दगी सोचेजस्तो कहाँ हुँदो रहेछ र ? मेरा सपना त पहिल्यै भेरीमा बहिगए,’ आँखाको चश्मा मिलाउँदै रोकाय सुनाउँछन् ।

डोल्पाबाट पशुपति वृद्धाश्रममा आएका नन्दबहादुर रोकाय

काम गर्ने तागत रहुन्जेल एक्लो महसुस नगरे पनि कमजोर हुदै गएपछि उनी निराश र उदास हुँदै गए । घरमा बोल्न समेत मान्छे भएनन् । आफू नभएसम्म न खाना पाक्ने न उज्यालो बल्ने । काम गर्न नसक्ने भएपछि उनी सहाराका लागि नाताले भाइ पर्नेकी छोरीको घरमा बसे ।

नेपालीमा एउटा भनाइ छ, इष्टमित्रको घरमा धेरै बस्नु हुँदैन हेला हुन्छ । तीन वर्ष बसेपछि उनलाई अब ती छोरीको घर छाडेर आफ्नो बाटो लाग्नुपर्छ लाग्यो । आफ्नो कारणले ती छोरीलाई परिवारले गाली गरेको सुनेको हेर्न र देख्न चाहेनन् । अनि तिनै छोरीलाई आफूलाई वृद्धाआश्रम पु¥याइदिन आग्रह गरे ।

छोरीले आफूसँगै बस्न भनिन्, तर उनको आग्रह रोकायले मानेनन् । कारण थियो, इष्टमित्रले हेला नगरुन्, छोरीले कुरा नसुनोस् । रोकायले नमानेपछि उनलाई काठमाडौंको पशुपतिमा रहेको वृद्धाश्रममा राख्ने विचार गरिन् ।

सरकारले दिने वृद्धभत्ता निरन्तर पाइरहेका थिए उनले । भत्ताबाटै आफ्नो खर्च चलाइरहेका उनले केही पैसा जोगाएका पनि थिए । बुढो शरीर लिएर डोल्पाको दुनैबाट काठमाडौं पुग्न सहज थिएन उनलाई । बसको दुःखदायी यात्राभन्दा उनले हवाइजहाजको यात्रा रोजे ।

उनी दुनैबाट नेपालगञ्ज आए, नेपालगञ्जबाट काठमाडौ । वृद्धाश्रमको बासका लागि उनी पहिलोपल्ट हवाइजहाज चढे । घरपरिवार भएका र हुनेखाने घुम्न र रमाइलो गर्न हवाइजहाजमा सयर गर्छन् भने उनी ओत लाग्ने छानो र गाँस दिने सहारा खोज्न काठमाडौं छिरे ।

हवाइजहाज चढेपछि दुनै क्षणभरमै अलाप भयो । उनी कुनै पनि याद लिएर आउन चाहँदैनथे दुनैका । तर मनले कहाँ मान्दो रहेछ र ? अहिले पनि दौडिंदै बेलाबेला मन दुनैको काँखमा पुगिरहन्छ ।

‘वृद्धाश्रम पुग्न जिन्दगीमा पहिलोपल्ट १४ हजार तिरेर हवाइजहाज चढे । गाँसबासका लागि के के न गर्नुपर्दो रहेछ । सासले धोका दियो । नत्र त बुढेसकालमा किन आउनुपर्थ्यो,’ रोकायले भने । दुनैबाट उड्दै गरेको हवाइजहाजसँगै उनका सपना र चाहना पनि उडे । जहाजका पाताघुमे जस्तै उनको मुटुमा भावनाका छालहरुले फन्का मारिरहे ।

जहाज बादलमाथि पुगेसँगै उनको दुनै बिरानो हुँदै गयो । उनले एक्लो महसुस गरे । जहाजको सिटबाट अन्तिमपटक दुनै हेरे ।

स्कुल पढेका छैनन् रोकायले । एकातिर उनको पालामा गाउँमा स्कुल थिएन भने अर्कातिर घरको आर्थिक अवस्था कमजोर । उमेर भएपछि उनले विवाह गरे । विवाह भएको केही वर्षपछि श्रीमतीले छाडेर गइन् । श्रीमतीले छाडेर गएपछि उनले दोस्रो विवाह गरे । तर दोस्रो  श्रीमती केही वर्षपछि सधैंका लागि छाडेर गइन् ।

त्यसपछि उनले विवाह गर्न आँट गरेनन् ।  उनलाई एक्लै जिन्दगी कटाउँछु लाग्यो । र, आज पर्यन्त उनी एक्लै छन् । तर जिन्दगीसँग कुनै गुनासो छैन उनको । सोच्छन् किस्मतमा नभएपछि जति गर्दा नि नहुने रहेछ ।

उनका  आफ्नै साख्खै दाइभाइ छैनन् । नत्र उनी उतै सुखदुःख काट्थे । कुनै विकल्प नभएपछि उनी दुनैबाट लौरोको सहारा लिएर काठमाडौं पुगेका हुन् ।

‘अब त कति नै बाँचुला र ? बुढेसकालमा गाउँ छुट्यो । माटो बिरानो भयो आफन्त रहेनन् यति दुःख छ । दशैंतिहार त केही वर्ष मात्रै आयो मेरा लागि । जतिबेला म बाआमासँग थिए,’ उनले सुनाए । यति भन्दै वृद्धाश्रममा खाजा खाने बेला भयो । उनी खाजा खान जान्छु भन्दै खाजा खान गए ।

चाडबाडले नछुने बाआमा

मैनापोखरी चरिकोट दोलखाकी पम्फा कार्की ८७ वर्षकी भइन् । उनी २५ वर्षदेखि वृृद्धाआश्रममा बसिरहेकी छन् । पेटीमा बसेर पानी खाँदै आँगनमा चरिरहेका परेवा हेरिरहेकी छन् उनी ।

जिब्रोमा दाना आएर उनले खाजा नखाइ पेटीमा बसेकी हुन् । उनी तातो पानी खाइरहेकी छन् ।

जिन्दगीका रहर पहिल्यै मरिसकेका हुन्, उनका जतिबेला उनलाई आमाले छाडेर गइन् । आमाले छाडेर गएपछि उनी एक्लो परिन् र आजसम्म उनी एक्लै छिन् ।

दशैंतिहार हरेक वर्ष आउँछ जान्छ, उनलाई खासै मतलब हुँदैन । उनको दैनिकी एकनासकै हुन्छ दशैंको बेला पनि । भलै निधारमा रातो टीका र कानमा जमरा नै किन नहोस् ।

‘दशैं त छोराछोरी, घरपरिवार हुनेहरुले मनाउने हो । आफ्नो न घरबार छ, न शाखा सन्तान,’  उनी भन्छिन्, ‘न छोराछोरी आउने आश हुन्छ, न खुसी फर्किने ।’

घरको आर्थिक अवस्था सुधारका लागि कार्कीका बुबा भारत पसे । पम्फा चार वर्षकी हुँदा बुबा भारतमै बिते । तीन दिदीको बिहे भइसकेको थियो ।

विवाह गरेपछि आमा एक्लै पर्छिन्, सहारा कोही हुँदैन भनेर उनले विवाह नगरी बसिन् । घरकी कान्छी छोरी उनै थिइन् । बुवाको काजकिरियादेखि आमाको पालनपोषण र किरियासम्म उनैले गरिन् ।

दोलखाबाट पशुपति वृद्धाश्रममा आएकी पम्फा कार्की
रामेछाप मन्थलीकी ७७ वर्षीया तुलमाया पुरी सुनाउँछिन्-  आश्रम बस्नु रहर होइन । बाध्यता र विवशताले मजबुर भएपछि बस्नु परेको हो । जन्मेको ठाउँ, हुर्की-खेलेको घर खनेर खाएको माटो कसलाई प्यारो नलाग्ला र ? जिन्दगीको कुनै ठेगान नहुनी रैछ ।

२०२८ सालमा आमाको मृत्यु भएपछि उनलाई घर बस्न मन लागेन । उनी काम गर्नका लागि भन्दै काठमाडौं आइन् । २०३० सालमा काठमाडौं झरेकी कार्कीले काठमाडौंमा टिक्नका लागि विभिन्न काम गरिन् । कहिले बालुवा चालिन् भने कहिले इँट्टा बोकिन् । कहिले अफिसमा सरसफाइ गरिन्, कहिले काठ र फलाममा पुटिङ गर्ने, रंग लगाउने काम गरिन् ।

‘उति बेला काम गर्ने तागत थियो, काम गरेर खाएँ । काम गर्न नसक्ने भएपछि सहारा चाहिंदो रहेछ । सहारा खोज्दै यहाँ आइपुगें । यही घर भयो, यहाँका साथीभाइ नै आफन्त भए,’ कार्कीले सुनाइन् ।

काठमाडौंमा केही वर्ष काम गरेपछि उनलाई गाउँ फर्किन मन नलागेको भने होइन । तर गाउँमा बाआमाको नाममा भएको जग्गाजमिन आफन्तले आफ्नो भन्दै दाबी गरेपछि उनको मन म¥यो । कहिल्यै गाउँ गइनन् ।

‘बाआमा पालेर काजकिरिया मैले गरें । अन्तिममा घरखेतमाथि अर्कैले कब्जा जमायो । त्यसपछि मनले दोलखा जानै मानेन,’ उनी सुनाउँछिन् ।

दशैं त बाल्यकालको मात्रै रमाइलो थियो उनका लागि । आफ्नै सपना थिए । आफ्नै चाहना थिए । त्यो बालापन सम्झेर अहिलेको दशैंको कुनै पर्वाह गर्दिनन् उनी । दशैंले न उनको मनमा बहार भर्न सक्छ, न त कुनै नयाँ भावना नै ल्याउँछ ।

‘दशैं आउँछ जान्छ म बूढीलाई के दशैं लाग्नु र बाबु । आफ्ना भए पो दशैं,’ भावुक हुँदै उनी भन्छिन् ।

***

झापाका ६८ वर्षीय प्रदीप ताजुरियालाई पनि चाडबाडले छुँदैन । मनले माने हरेक दिन, नत्र कहिल्यै उनलाई चाडबाड आएन । चाडबाडले ताजपुरियाको मन जित्न नसकेको वर्षौं भइसक्यो ।

उनी लौरो टेक्दै दिउँसो वृद्धाश्रममा टहलिरहेका थिए । उनी न खुसी छन्, न त दुःखी नै । खुसी भनौं घरबार छैन । दुःखी भनौं छोराछोरी भएकाले पनि दुःख पाएका छन्, वृद्धाश्रममा छन् । उनको चित्त बुझाउने मेसो हो यो ।

‘छोराछोरी नभएका त वृद्धाश्रममा आउँछन् नै भएकाहरुले पनि दुःख पाइरहेका छन् । अरुको सहारामा बाँचिरहेका छन् । जिन्दगीमा के हुन्छ कसैलाई पत्तो नहुनी रैछ,’ उनी सुनाउँछन् ।

झापाबाट पशुपति वृद्धाश्रममा आएका प्रदीप ताजपुरिया

ताजपुरिया समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्न थालेको १० वर्ष बढी भइसक्यो । खुसी र सन्तुष्टि कहीं कतै गएर वा खोजेर नपाइने उनले महसुस गरेका छन् ।

उनका लागि आश्रम नै घर हो । त्यसमै उनी जिन्दगी  बिताइरहेका छन् ।  ‘दशैंले मन नछुने त होइन छुन्छ । तर जुन रौनक परिवार हुँदाको हुन्छ त्यो महसुस नै गर्न पाइएन । के दशैं भन्नु, के तिहार,’ ताजपुरिया भन्छन् ।

***

रामेछाप मन्थलीकी ७७ वर्षीया तुलमाया पुरीको मनमा पनि दशैंतिहारले खुसी ल्याएको छैन । ‘कोही नहुनेहरुका लागि के दशैं के तिहार । अब त सास जाने बाटो हेरिरहेकी छु,’ चाडबाडको कुरा सुन्ने बित्तिकै उनले भनिन् ।

पुरी आफ्ना श्रीमानसँग २०६८ सालमा मन्थलीबाट काठमाडौं आएकी थिइन् सहारा खोज्न । छोराछोरी नभएपछि बुढेसकालमा काम गरेर खान नसक्ने भएपछि उनीहरु दुवै तत्कालीन गाउँ विकास समितिको सिफारिस पत्र लिएर आश्रम पुगेका थिए ।

आश्रम बसेको पाँच वर्षपछि उनका श्रीमानको मृत्यु भयो । जीवनसाथीले छाडेर गएदेखि उनी एक्लो परेकी छन् । बेलाबेला श्रीमानलाई सम्झिंदै आकाशतिर नजर डुलाउँछिन् उनी ।

रामेछापबाट पशुपति वृद्धाश्रममा आएकी तुलमाया पुरी

‘आश्रम बस्नु रहर होइन । बाध्यता र विवशताले मजबुर भएपछि बस्नु परेको हो । जन्मेको ठाउँ, हुर्की-खेलेको घर खनेर खाएको माटो कसलाई प्यारो नलाग्ला र ? जिन्दगीको कुनै ठेगान नहुनी रैछ,’ पुरीले भावुक हुँदै सुनाइन् ।

ज्यानले साथ दिन छाडेको छ । नजर कमजोर बन्दै गइरहेको छ पुरीको । ‘जिन्दगीबाट सुख त जहिल्यै दूर भाग्यो । अब त श्रीमानले बोलाउँछन कि भनेर पर्खेर बसेकी छु । बाँच्नका लागि केही आशा र सपना हुनुपर्दो रहेछ,’ आश्रमको पेटीबाट आकाशतर्फ नजर डुलाउँदै पुरी भन्छिन् ।

पशुपति परिसरभित्र रहेको समाज कल्याण केन्द्र वृद्धाश्रमका अनुसार आश्रममा ९८ जना वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । जसमा ३७ जना पुरुष र ६१ जना महिला रहेका छन् ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?