
१० असोज, काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले रुस–युक्रेन युद्धलाई अमेरिका र युरोपले भड्काइरहेको टिप्पणी गरेका छन् । उनले सोमबार एकसाथ धेरै नै ट्वीट गर्दै रुस-युक्रेन युद्धलाई लिएर अमेरिका र युरोपेली मुलुकलाई निशाना बनाएका हुन् ।
ट्वीट सन्देशमा उनले युद्धप्रतिको प्रेम युरोपेली मुलुकको संस्कृतिको हिस्सा भएको टिप्पणी गरेका छन् । ‘तीन हजार वर्षभन्दा बढी लिखित इतिहास युरोपेली देशहरूबीच भएका युद्धहरूसँग जोडिएको छ,’ उनले लेखेका छन् ।
दोस्रो विश्वयुद्धमा जर्मनीले पराजित भएपछि रुससँगको साझेदारी तुरुन्तै समाप्त गरिदिएको उनले उल्लेख गरेका छन् । ‘रुसलाई नयाँ शत्रुको रूपमा चिनियो र दशकौंसम्म शीतयुद्ध लडियो,’ ट्वीट सन्देशमा उनले लेखेका छन्, ‘अहिले कुनै शीतयुद्ध नहुँदा पश्चिमले अप्रत्यक्ष रूपमा रुसविरुद्ध युद्ध गरिरहेको छ ।’
अमेरिका र युरोपको यस्तो कदमले अहिलेको अवस्था बिग्रने र तेस्रो विश्वयुद्ध लड्नुपर्ने अवस्था आउने उनको टिप्पणी छ । यस्तो युद्धमा सबै नयाँ हतियारहरू प्रयोग गर्न सकिने र एक पटक फेरि युवाहरू गर्वले मर्ने उनले ट्वीट सन्देशमा लेखेका छन् ।
‘युद्धमा नेटोले तपाईलाई हतियार र पैसा दिनेछ,’ नेटोविरुद्ध निशाना सोझ्याउँदै उनले लेखेका छन्, ‘पश्चिमा देशहरू युक्रेनसँग मिलेर लड्दैनन्, युक्रेन नेटो र युरोपेली संघको सदस्य होइन। पश्चिम र अमेरिका युक्रेनको समर्थनमा युद्धमा जान बाध्य छैनन् ।’ यसले युरोपेली र अमेरिकी युवाहरूलाई बचाउने र जुन धेरै राम्रो कुरा भएको उनको टिप्पणी छ ।
‘युक्रेनी जनता युद्धमा मारिनेछन्, घाइते हुनेछन्, युक्रेनीले विनाश झेल्नेछन्,’ उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘यो एक राम्रो रणनीति हो। पश्चिमी मित्रहरू धेरै चलाख छन्। तिनीहरू रसियाको विरुद्धमा यसरी लडिरहेका छन् कि तिनीहरूको कुनै पनि युवा मारिनेछैनन् ।’
WAR
1. When atom bombs were dropped on Hiroshima and Nagasaki, humanity realised that they now have the capacity to destroy the whole world and themselves as its inhabitants.https://t.co/1LyUgWWiEV
[A thread]
— Dr Mahathir Mohamad (@chedetofficial) September 26, 2022
प्रतिक्रिया 4