+
+
दशैं सम्झना :

‘होस्टेलमा कक्षाअनुसार दक्षिणा पनि बढ्दै जान्थ्यो’

रीमा विश्वकर्मा रीमा विश्वकर्मा
२०७९ असोज १४ गते १४:१२

दशैं भन्नासाथ बाल्यकालमा बसेको होस्टेलको सम्झना ताजा भएर आउँछ । बर्दिया घरबाट टाढा एक्लै होस्टलमा बसेर म पढ्थें । एक हिसाबले होस्टेलमै हुर्किएँ भन्दा पनि हुन्छ ।

दशैं आउँथ्यो, होस्टेलका प्रायः सबै साथी घर जान्थे । मेरो भने घर टाढा । लिन आउन र पुर्‍याउन पनि सहज थिएन, फेरि अहिलेजस्तो यातायातको पहुँच पनि थिएन । त्यसैले कौसीबाट साथीहरुलाई बिदा गर्दैगर्दा मलाई नरमाइलो अनुभूति हुन्थ्यो ।

सोच्थें, म पनि घर गएको भए कति रमाइलो हुन्थ्यो भनेर । होस्टेल मेरो दोस्रो घरजस्तै थियो । त्यहाँका शिक्षक-शिक्षिका मेरा अभिभावक । कक्षामा हुँदा दशैंको नौ दिनसम्म के कस्ता पूजा हुन्छ भनेर पढाइ हुन्थ्यो । तिनै कुरालाई व्यवहारमा उतार्न शिक्षक-शिक्षिकाले मद्दत गर्नुहुन्थ्यो । हामीलाई दशैंको घटस्थापनाको दिन आफैं जमरा राख्न लगाइन्थ्यो । बालुवा राख्ने, साँझपख पानी हाल्न लगाउने, पूजा गर्ने तरिका सिकाउने गरिन्थ्यो । यसबाट दशैंको महत्व नजिकबाट बुझ्न पाइन्थ्यो ।

घर जान सहज नभए पनि होस्टेलमा बिताएको दशैंको मीठो सम्झना छ । लुगा महिनैपिच्छे किनिदिने भएकाले नयाँ लुगाभन्दा दशैंमा हातमा कति दक्षिणा पाइएला भन्ने कुराले रोमाञ्चित हुन्थें । होस्टेलमा रहेका हामीले कक्षाअनुसार दक्षिणा पाउँथ्यौं, दक्षिणा कति आउँछ भन्ने पहिले नै थाहा हुन्थ्यो । अलिअलि गर्दा पनि हजार-पन्ध्र सय पाउँदा खुसी हुन्थ्यौं । कक्षा अनुसार दक्षिणाको दर पनि बढ्ने भएकाले कक्षा चढ्दै जाँदा उत्साहित हुन्थें ।

म बच्चैदेखि बोलिहाल्ने, हरेक कार्यक्रममा सहभागी हुने हँसिलो र चुलबुल स्वभावकी थिएँ । कसैले पाँच रुपैयाँ दिएर नाच भन्ने बित्तिकै नाचिहाल्ने खालको थिएँ । दशैंजस्ता धेरै कार्यक्रममा सहभागी भएर पुरस्कार पनि पाउने गर्थें ।

दशैंमा होस्टेलमा मासु नै मासुका परिकार पाकेको, मिलिजुली पकाउन लगाएको, पिङ खेल्न शिक्षकहरुले चोक-चोक लगेको सम्झना अझै मानसपटलमा छ । एकपटकको दशैंमा विदेशी विद्यार्थी आएका थिए । जति सक्छौ त्यति चकलेट लिऊ भनेपछि दुईवटा हातले अटाईनअटाई चल्केट सोरेको मेरो लागि बिर्सिन नसक्ने पल हो ।

दशैंमा घरपरिवारको सम्झना

दशैंमा घर जान पाए के-के न हुन्थ्यो जस्तो हुने, खल्लो लाग्ने, याद धेरै नै गर्थें परिवारलाई । तर सम्भव थिएन । साथीहरु जाँदै गर्दा कौसीमा बसेर बाईबाई गर्दा नरमाइलो लाग्थ्यो । उनीहरु आउँदा टन्न मिठाई जस्ता कोसेली ल्याउँथे । त्यो देख्दा म पनि गएको भए ल्याउँथे भन्ने हुन्छ ।

जब एलएलसी दिएँ, त्यसपछि भने म मामाघर गएँ । त्यो दशैंमा मामाघरको हजुरबुबाले थानको कपडा किनिदिएको अझै याद आउँछ । होस्टेलमा धेरै समय बिताएकाले घरपरिवारसँग राम्ररी बालापन बिताउन पाइनँ । त्यतिबेला भन्दा अहिले पो बालापन आएको महसुस हुन्छ मलाई ।

तास खेल्न पाएको थिइनँ, अहिले खेल्छु, पहिला मनाउन नपाएको दशैं अहिले सबैलाई भेला पारेर मनाउन थालेको छु ।  त्यो बेला दशैं मनाउन चाहँदा चाहँदै पनि नपाएको र कल्पनामै बितेको दशैं सम्झिएर अहिले सबैको साथमा सपरिवारसँग बसेर मनाउने गर्छु ।

दशैं भन्ने बितिकै सबै भेला हुने चाड हुने भएकाले विशेष लाग्छ । अरुबेला सधैं व्यस्त हुने हुँदा यो बेलामा मिष्ठान्न परिकार बनाउने, सबैसँग दुःखसुख आदानप्रदान गर्ने र रमाइलो गरी मनाउनुपर्छ ।

(अभिनेत्री तथा सञ्चारकर्मी रीमा विश्वकर्मासँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?