+
+

‘महिलाहरूका लागि चाडबाडले कामको बोझ बढाउँछ’

दशैंको अन्तर्य नै खानपिन, रमाइलो, भेटघाट र फुर्सद हो । आधारभूत रूपमा अहिले पनि दशैं यही हो । भेटघाट गर्ने, साथीहरूसँग रमाउने समयका रूपमा दशैं स्थापित भएको छ ।

कैलाश राई कैलाश राई
२०७९ असोज १७ गते १३:०९

हिन्दु दर्शन पछ्याउनेका लागि दशैं अहिले पनि धार्मिक अनुष्ठानको महत्वपूर्ण हिस्सा हो । नयाँ पुस्ता र हिन्दु दर्शनको मूलधारबाट बाहिर रहेकाहरूका लागि भने दशैं सामाजिक सम्बन्धको नवीकरण गर्ने माध्यम हो । यसको अर्थ हिन्दु दर्शन पछ्याउनेहरूले सम्बन्ध नवीकरण गर्दैनन् भन्ने होइन ।

दशैंको अन्तर्य नै खानपिन, रमाइलो, भेटघाट र फुर्सद हो । आधारभूत रूपमा अहिले पनि दशैं यही हो । अधिकांश मानिस कामकाजी भएका छन् । आफ्नो पेशागत जीवनबाट उनीहरूले फुर्सद निकाल्न सकिरहेका छैनन् । त्यसैले अहिले दशैं धेरैका लागि फुर्सदको समय भएको छ । फुर्सदिलो समयलाई साथीभाइसँग भेटघाट गर्ने मौका भएको छ । गाउँ फर्किएर आफ्ना स्मृति, सम्बन्ध ताजा बनाउने माध्यम बनेको छ, दशैं । नयाँ पुस्तामा त दशैंमा घुम्न जाने लहर नै चलेको छ । भेटघाट गर्ने, साथीहरूसँग रमाउने समयका रूपमा दशैं स्थापित भएको छ ।

आज दशैंलाई बजारले आफ्नो नियन्त्रणमा लिएको छ । बजारले आफ्ना उत्पादनको प्रचार गरेर समाजलाई उपभोक्तामुखी बनायो । सँगसँगै वैदेशिक रोजगारी र देशभित्रै बढेका आम्दानीका आयामले हाम्रो क्रयशक्ति पनि बढायो । विदेशबाट आएको अधिकांश पैसा यस्तै चाडबाडको समयमा खर्च हुन्छ । चाडबाडकै समयमा विदेशबाट पनि धेरै रकम नेपाल आउँछ । क्रयशक्ति बढेसँगै हामीले दशैंलाई बजारको जिम्मा लगायौं । दशैंले दिने खुशी निक्र्योल अब बजारले गर्न थालेको छ ।

पहिला दशैंमा आफ्नै घरमा बनाइएका वा उत्पादित सामग्रीको प्रयोग अत्यधिक हुन्थ्यो । अहिले यो चलन लगभग हराइसक्यो । विशेषगरी खाद्य सामग्रीमा हामी बजारकेन्द्रित भएका छौं । दशैंको वैभव र खुसी बजारले निर्धारण गर्न थालेको छ । गाउँका अधिकांश युवा र श्रमशक्ति विदेशिएका छन् । गाउँमा उत्पादन घटेको छ । र, यस्ता चाडबाड मनाउन रेमिट्यान्सको भर पर्नुपरेको छ ।

शहर वा विदेश जहाँ भए पनि मानिसहरू दशैंमा आफ्नो गाउँ नै जान खोज्छन् र, धेरैजसो जान्छन् पनि । सबै गाउँमा जम्मा हुने भएकाले पनि अधिकांश मान्छे गाउँ जान्छन् । त्यसमाथि शहरसँग सामूहिकताको भावना हुँदैन ।

हामी धेरैजना गाउँबाटै शहर छिरेको हुनाले पनि गाउँसँग हाम्रो भावनात्मक सम्बन्ध छ । गाउँप्रति हाम्रो प्रेम छ । यही प्रेम र भावनात्मक सम्बन्धले चाडबाडमा सबैलाई गाउँतर्फ तान्छ । सबैतिरबाट गाउँमा मान्छे भरिन्छन् चाडबाडको समयमा । यही मेसोमा मान्छेहरू एकअर्कासँग नजिकिन्छन्, सम्बन्धको कसी बलियो बनाउँछन् ।

महिलाहरूका लागि चाड कामको थप बोझ लिएर आउँछ । दशैंमा नवदुर्गाको पूजा गर्ने भनिन्छ तर, घरमा भएका महिलाहरूले भने यो समयमा अरूबेला भन्दा बढ्ता काममा खटिएका हुन्छन् । घरका दिदीबहिनी, भाउजू, आमा, बुहारी, श्रीमतीलाई चाडबाडले कामको बोझ बढाउँछ । हाम्रो खाद्य संस्कृतिमा आएको परिवर्तनले भान्साको पकवान फेरेको छ ।

थोरबहुत पुरुषहरू पनि काममा सहयोग त गर्छन् तर, त्यो पर्याप्त छैन । अधिकांश घरायसी काम अहिले पनि महिलाको जिम्मा लगाइएको छ । भान्सा, पाहुनाको स्वागत सत्कार, बालबच्चा स्याहार्ने, सरसफाइ जस्ता कामको बोझ चाडबाडमा बढ्ता हुन्छ । त्यसमाथि कामकाजी महिलालाई यो चाडबाडको समयमा झन् बढी कामको दबाव हुन्छ । त्यसैले यस्ता चाडबाडले महिलामा उमंग ल्याउँछन् जस्तो मलाई लाग्दैन । कामको दोहोरो बोझले महिलाहरूको उमंग, उत्साह खोस्छ ।

(अध्येता राईसँग अनलाइनखबरकर्मी सागर चन्दले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?