असफलता, असफलता अनि फेरी असफलता । असफलताको यो शृंखलाले उनलाई यति हत्तु–हैरान बनाइदियो कि विरक्तिएर दुबई उड्ने मनोदशामा पुगे ।
तर, जीवन आफैमा ‘सरप्राइज’ जस्तो । कहाँ–कहाँ ठोक्किएर कहाँ मोडिन्छ ? थाहा नहुने । उनलाई थाहा थिएन, यही मोडमा पुगेपछि जीवनले नयाँ चोला फेर्नेछ । र, त्यो सप्तरंगी आलोकमा सयर गर्नेछ ।
यो प्रसंगलाई एकछिन यही अल्पबिराम लगाऔं । किनभने त्यो असफल–यात्राको बखान नगरी अगाडि बढ्दा खाँट्टी कुरो कहीँ कतै छुटेजस्तो होला । यस्तो गजब कुरो त नछुटेकै उत्तम ।
पहिचान : एक भोक
‘प्रदीप खड्का’ त्यसबेला कुनै परिचित नाम थिएन । उनी फगत एक बालक थिए, चुलबुले । विद्यालय पढ्दै गरेका ।
एकपटक के भइदियो भने उनी आफन्तकहाँ विहे भोजमा गएका थिए । तीन-चार जना बच्चाले प्रदीपलाई घेरे, उनकै छिमलका । अनि भने, ‘फोटो खिचौं न ।’
अनायसै ‘प्रशंसक’ भेटिनु र फोटो खिचाउनु प्रदीपका लागि सानोतिनो कुरा भएन । अनपेक्षित रुपमा उनले आफ्नो इमान–इज्जत रहेको महसुष गरे । अनि ‘म पनि केही पो भएँ कि’ भन्ने कुराले उनलाई आत्म–गौरव मिल्यो । खास यस्तो हुनुको पछाडि एउटा सानो किस्सा छ ।
त्यसबखत नेपाल वान नामक टेलिभिजनबाट एउटा १५ मिनेटको कार्यक्रम प्रशारण हुन्थ्यो । कार्यक्रम थियो, भुराभुरीको हल्लाखल्ला । साँच्चै भन्ने हो भने यो एक किसिमको प्राङ्क भिडियो थियो ।
जुन लोकेसनमा यसको दृश्यांकन गरिन्थ्यो त्यहाँ ठाउँ–ठाउँमा भिडियो क्यामेरा लुकाइएको हुन्थ्यो । र, केही छद्म पात्रहरु त्यहाँ उपस्थित गराइन्थे । यी सबैबाट बेखबर मान्छेलाई जिल्याएर हाँसोको पात्र बनाउने गरिन्थ्यो । कार्यक्रमका लागि विद्यालयबाट छनौट भएका थिए, प्रदीप । किन उनी छनौट भए ? यसको फेहरिस्ता भनिरहनु परेन । पक्का हो, प्रदीप यस्तो उटपट्याङ गर्नमा खप्पिस थिए ।
बाटो हिँडिरहेका मान्छेलाई हठात रोकेर हजार रुपैयाँको नोट साट्न लगाउने र पैसा थुतेर भाग्ने । हात भाँच्चिएको नक्कल गरी कतै हिँडिरहेका बटुवालाई जुत्ताको लेस बाँध्न लगाउने । यस्ता अनेक–अनेक हुन्थ्यो । अनि यसरी अनेक नाटक गरिरहेका हुन्थे, प्रदीप ।
आफुले अभिनय गरेको कार्यक्रम कहिले प्रशारण हुन्छ ? उत्सुकता हुने नै भयो । तर कार्यक्रम हेर्नका लागि अर्काको घरमा पुग्नुपर्ने । किनभने केबुल नेटवर्क नजोडिएको उनको घरमा नेपाल वान च्यानल आउँदैनथ्यो ।
आफुले कार्यक्रम हेर्न नपाए पनि आफुजस्तै भुराभुरीले हेरेका रहेछन् । त्यही भएर त विहेभोजमा ती भुराभुरीले प्रदीपलाई पहिचान गरे ।
यो एक यस्तो मोड थियो, जसले प्रदीपलाई ‘पहिचान’को खोजीमा ठेलिदियो । उनलाई के लाग्यो भने समाजमा इमान बनाउनु, प्रतिष्ठा कायम गर्नु र चर्चाको घेरामा रहनु एउटा सार्थक जीवन बाँच्नु हो । यहाँसम्म आइपुग्दा उनले कहिल्यै आफुलाई प्रश्न गरेको थिएन, ‘भोलि म के बन्छु ।’ तर यही विन्दुबाट उनले एउटा जवाफ भेट्याए, ‘जीवनमा त्यस्तो केही बन्नुछ, जहाँ सबैले चिनुन् ।’
असफलता : एक नियती
एसएलसी दिइसकेपछिको फुर्सदिलो समय । प्रदीपलाई लाग्न थाल्यो, टेलिभिजनमा देखिनुपर्छ । चर्चित बन्नुपर्छ । तर कसरीे ? उनी उपायको खोजीमा लागे ।
उपाय नम्बर एक, टेलिभिजन प्रस्तोता ।
टेलिभिजनको स्क्रिनमा देखिने यो काइदाको उपाय थियो । साथसाथै आफुलाई सबैको सामुन्ने चिनाउने पनि । अब उनी ‘भिडियो जक्की’का लागि अडिसन दिन थाले । निकेश खड्का, पुष्पा जोशीले भने, ‘लु एकपटक एंकरको लागि ट्राइ गर न त ।’ प्रदीपले क्यामेरा अघिल्तिर उभिएर कार्यक्रम प्रस्तोता बन्ने अभ्यास गरे । तर जुन ढंगले, जुन लवजले, जुन हाउभाउले बोल्नुपर्ने हुन्थ्यो । उनले सकेनन् ।
उपाय नम्बर दुई, म्युजिक भिडियोको मोडल ।
आफुलाई चिनाउने अर्को उपाय थियो, मोडलिङ । उनलाई लाग्यो, म्युजिक भिडियोमा मोडलिङ बन्न कुनै महाभारत छैन । किनभने टेलिभिजन प्रस्तोताले जस्तो यसमा बोल्न परेन । शब्दभण्डार र प्रस्तुतीको कला हुन परेन । अरुले गाइदिएको गीतमा नाचे जस्तो गरिदिए पुग्छ ।
एकाध म्युजिक भिडियोमा मोडलिङ पनि गरे । तर, यतिबेला उनलाई के बोध भइदियो भने मनमा कल्पिए जस्तो सजिलो काम होइन रहेछ यो । अरुकै गीत सही, तर अभिनय गर्न त्यती सजिलो रहेनछ ।
उपाय नम्बर तीन, र्याम्प मोडलिङ ।
यसो गरे, भएन । उसो गरे, भएन । अन्ततः प्रदीपलाई लाग्यो, सबैभन्दा सजिलो भनेकै र्याम्प मोडलिङ । न बोल्न जान्नुपर्ने, न अभिनय गर्न । वस्, ¥याम्पमा उत्रिएर लयात्मक रुपमा हिँडिदिए पुग्ने । तर कोरियोग्राफरले उनलाई सोझै बदर गरिदिदै भन्यो, ‘यसमा तिम्रो उचाई नै पुगेन ।’
उपाय नम्बर चार, सिनेमाको हिरो ।
एकजना निर्देशकले खै के सोचेर फ्याट्टै भने, ‘तिमी कपाल पाल । म तिमीलाई हिरो बनाउँछु ।’ प्रदीपलाई लाग्यो ‘म हिरो बन्ने रहेछु’ । अब उनी हिरो बन्ने दौडधूपमा लागे । स्क्रिप्ट अनुसार कसरी आफुलाई दोस्रो पात्रमा रुपान्तरण गर्ने, कसरी दोस्रो पात्रको जीवन बाँच्ने, कसरी दोस्रो पात्रको हाउभाउ र मनोविज्ञान दुरुस्तै अनुशरण गर्ने । उनी अभ्यास गर्न थाले । यसै क्रममा उनलाई के पनि लाग्यो भने, ‘म त व्यवस्थापनको विद्यार्थी । फिल्म मेकिङमा पो लाग्नुपर्ला ।’
उनले आफ्नै नाममा एउटा प्रोडक्सन हाउस दर्ता गरे, प्रदीप मीडिया । त्यही अन्र्तगत ‘ठूलो मान्छे’ शीर्षकमा फिल्म पनि बनाए ।
उनले त के चाहेका थिए भने यस फिल्ममा आफुलाई केन्द्रिय पात्रको रुपमा प्रस्त गर्न सकियोस् । तर, उमेर, परिवेश, परिस्थिती अनुसार पात्रहरु फरक हुने रहेछन् । यो पात्रका लागि प्रदीप उपयुक्त देखिएनन् । अर्र्कैलाई यो भूमिका दिइयो ।
यसबाट प्रदीपलाई के दिव्यज्ञान प्राप्त भयो भने जुन पात्रको रुपमा अभिनय गर्नुपर्ने हो, उक्त पात्रको अवस्था, उमेर आदि आफुसँग मिल्दो हुनुपर्छ ।
अब उनी आफु सुहाउँदो कथा खोज्नतर्फ लागे, ताकि मूल चरित्रमा आफुलाई नै पेश गर्न सकियोस् । आखिरमा एक किशोरको जीवन चरित्र र मनोदशासँग मेल खाने कथाको रचना गरियो, जसको मूल मूद्दा लागुऔषध थियो ।
लागुऔषधको गोलचक्करमा परेको एक किशोर, जो यसको ह्याङओभरबाट मुक्त भएर सामान्य जीवनमा फर्कन चाहन्छ । अब उनलाई समाजले कसरी पुर्नस्थापित गर्छ ? यही विषयमा प्रदीपले फिल्मको कथा तयार गरे र त्यसमा आफुलाई समाहित गरे ।
सामान्य ढंगले फिल्म प्रदर्शनमा आयो । उनले आफैले फिल्म हेरें । र निर्क्यौल गरे, ‘अब म यो क्षेत्रमा धेरै लामो समय बरालिनु उचित छैन ।’ ७ बर्ष त यसै बितिसकेको थियो । अब उनमा धेरै समय नष्ट गर्ने मूर्खता थिएन । उनी चाहन्थे, चर्चा–परिचर्चाको भोक त्यागेर अब सुरक्षित भविष्यका लागि विदेशिनु नै जाती हुनेछ ।
उनले आफु अभिनित फिल्मको अन्तिम शो हेरे । बाटोमा हिँडिरहँदा होटल हायतको गेट अघिल्तिर आफ्नो फिल्मको पोस्टर देखे । उनी रोकिए । अनि पोस्टरलाई पृष्टभूमीमा राखेर फोटो खिचे । उनलाई लाग्यो, ‘किनभने यो नै त मेरो लागि अन्तिम निशानी हुनसक्छ ।’
अब सिनेमाबाट उनी पूर्णतय विमुख हुन चाहन्थे । र, विमुख हुन चाहन्थे चर्चा र लोकप्रियताको मोहबाट ।
परिबन्द : एक मोड
भिजे बनौं ? क्यामेरा अघिल्तिर धाराप्रवाह बोल्ने क्षमता छैन ।
म्युजिक भिडियोको मोडल बनौं ? अभिनय गर्ने हुति छैन ।
¥याम्पमा मोडलिङ गरौं ? ज्यानको नापतौल पुग्दैन ।
फिल्म खेलौं ? सक्कल र सामथ्र्यले ‘हिरो’ बन्न पुग्दैन ।
अब गर्ने के त ? ‘चल भाई विदेशतिर ।’ सबैतिर असफलता नै असफलताले थेचारेपछि उनले अष्ट्रेलिया जाने मनासय बनाए । कम्तीमा सुरक्षित भविष्य र ऐशको जीवन बाँच्नको लागि अब यो बाटो बाँकी छ । तर सोचेजस्तो सबैकुरा कहाँ ठीकठाक हुन्छ र ?
अष्ट्रेलियाको भिषा लागेन । त्यसपछि उनले अमेरिका ‘ट्राई’ गरे । त्यहाँ पनि भिषा लागेन । क्यानडा गरे, डेनमार्क गरे, फ्रान्स गरे । बाँकी रहेका सबैतिर गरे । कहीँ पार लागेन । अन्ततः हार खाएर उनले सोचे, ‘अब श्रम भिषामा दुबई जानुपर्छ ।’
ठीक यही मोडमा आइपुगेपछि उनलाई एउटा यस्तो अवसर प्राप्त भयो, जसले जीवनलाई ९० डिग्रीको कोणमा बदलिदियो ।
समय : एक संभावना
‘प्रेमगीत फिल्मका लागि कलाकार चाहियो ।’ पत्रिकामा विज्ञापन छापिएको थियो । संयोगले प्रदीपको नजरमा यो विज्ञापन प¥यो । उनले अडिसन दिने मनस्थिती बनाए । तर प्रदीपलाई आत्मविश्वास थिएन कि, ‘म कुनै कोणबाट हिरो बन्छु ।’
अखिर जे भएपनि उनले आफ्नो फोटो पठाए । अडिसनको दिन आयो । प्रदीप अडिसनका लागि क्यामेरा अघिल्तिर उभिए । उनको खास खुवी के भने, क्यामेराको अगाडि निर्धक्क प्रस्तुत हुन सक्ने । उनको भन्दा राम्रो सुगठित ज्यान भएको, उनको भन्दा आकर्षक आवरण भएकाहरु आए, गए ।
अनौठो त के भइदियो भने निर्माण टिमले प्रदीपलाई फोन गरेर कार्यलयमा भेट्नका लागि बोलाए । उनी कार्यलय पुगे । निर्माता सन्तोष सेनले भने, ‘हामी तिमीलाई छनौट गर्छौं, तर तिमी विदेश भाग्न भएन ।’
प्रदीपको लागि यो अर्को मोड थियो, जहाँ उनले करियर र चुनौतीमध्ये एउटा रोज्नुपर्ने हुन्थ्यो । उनले चुनौती रोजे । चुनौती यसकारण कि, कुनै नयाँ व्यानरले निर्माण गर्न लागेको चलचित्रमा खेल्नुछ । त्यसमाथि नेपाली चलचित्रको बजार डामाडोल छ । त्यसमाथि उनी स्वघोषित ‘असफल हिरो ।’
प्रेमगीतको सेटमा पहिलो पटक उभिए प्रदीप । पहिलो दृश्यांश खिचिदै थियो । प्रदीपलाई केवल खिस्स हाँस्नुपर्ने मात्र थियो । दुई, तीन पटकसम्म उनले स्वभाविक रुपमै खिस्स हाँसिदिए । प्राविधिक वा अन्य कारणले गर्दा यो दृश्यांश ‘ओके’ भएन ।
त्यसपछि प्रदीपलाई तेस्रो, चौथो, पाँचौ पटक उसैगरी हाँस्न भनियो । यतिबेलासम्म उनी हतोत्साही भइसकेका थिए । सातौं, आठौं, नवौं, दशैं जति पटक प्रयास गरेपनि उनको अनुहारबाट त्यो हाँसो निस्किएन, जुन निर्देशकले चाहेका थिए । एउटा मामुली दृश्यांशका लागि ३०–३५ टेक खाइसकेपछि प्रदीपले हार खाए, ‘अब यो काम मबाट पार लाग्दैन ।’
दोस्रो दिन उनी सेटमा गएनन् । राती सन्तोष सेनको फोन आयो । सन्तोषले थमथमाए, ‘तिमीले धेरै टेक खायौं रे । धेरै नर्भस भयौं रे । तिमी जे एक्टिङ गरेपनि गर, तिमी सेटमा आइदेउ । म जसरी पनि फिल्म हिट बनाउँछु ।’
प्रेमगीत बन्यो । प्रदर्शनमा आयो । नाफाघाटाको हिसाब आफ्नो ठाउँमा छ, तर यसले प्रदीपलाई अनपेक्षित चर्चा दिलायो । प्रेमगीत प्रदर्शनको सुरसार भइरहँदा पनि प्रदीपको सघन मनस्थिती थियो, आखिर विदेश त जानु नै पर्छ । तर प्रेमगीतले उनको मन पगाल्यो । कस्तुरीले आफ्नै पेटमा सुगन्धित बिना फेला पारे झै प्रदीपले बोध गरे, ‘अहो ! मैले बर्षौंदेखि खोजिरहेको चिज यही त हो । यही पहिचान ।’ अन्ततः उनले निधो गरे, ‘म सिनेमा छाडेर कहीँ जान्न ।’
अभिनय : एक अलग जीवन
‘ढुंगाको मोल’ शीर्षकको एउटा नीतिकथा छ । कथाको सारले भन्छ, कुनैपनि कुराको वास्तवि मोल तब मात्र थाहा हुन्छ जब त्यो सही मान्छेको हातमा पुग्छ । प्रदीप खड्काको जीवन सोही दृष्टान्तसँग हुबहु मेल खान्छ ।
उनले त ठानेका थिए, ‘म अभिनय गर्न सक्षम छैन । मेरो रुपरंग गतिलो छैन । मसँग खास त्यस्तो विशेष खुबी छैन ।’ तर, संयोगले उनी यस्ता ठाउँमा ठोक्किन पुगे, मानौं त्यो उनैलाई पर्खिरहेको थियो । प्रेमगीत भनौं वा प्रकाश, प्रदीपका लागि यी यस्ता ‘शिल्पकार’ थिए जसले उनलाई सही रुपरंगमा कुँद्ने काम गरे ।
यद्यपि यसबीचमा उनले आधा दर्जन हाराहारी चलचित्रमा काम गरे । उनी कहिले डाक्टर बने, कहिले गायक, कहिले प्रहरी । अनेक भूमिका गरिरहँदा उनलाई के कुराले घोचिरह्यो भने, ‘अलग–अलग भूमिकामा पनि किन म अलग छैन ?’ हरेक पात्रमा आफ्नो हुलिया त बद्लियो तर मूल गुण बद्लिएन । आखिर किन ?
प्रदीपले आत्मसमीक्षा गरे, ‘म फरक चरित्रमा फरक देखिएको छैन । म जुन पात्रमा बाँच्नुपर्ने हो, उसको जीवनभित्र प्रवेश गर्न सकेकै छैन ।’
तब दिग्गज रंगकर्मी एवं निर्देशक अनुप बरालले एउटा गुरुमन्त्र दिए, अनुप बरालले गुरुमन्त्र दिए, ‘पहिले कुरा त तिमी अर्को चरित्र बन्छु भनेर सोच्दै नसोच । सोच्नुपर्ने कुरा चाहिँ के भने तिमी आफु के हो ? तिमी कसरी हिँड्छौं, कसरी बोल्छौं ? तिम्रो मूल स्वभाव के हो ?’
प्रदीप सुनिरहे । अनुप बराल भन्दै थिए, ‘अब तिमीले आफ्नो हाउभाउ, प्रवृत्तिलाई सुक्ष्म अवलोकन गर । जब तिमी आफ्ना ति मूलभूत गुणहरु पत्ता लगाएर त्यसबाट बाहिर निस्कन सक्छौं, तब अर्को चरित्रमा रुपान्तरण हुन सक्छौं ।’
चलचित्र ‘प्रकाश’का लागि चरित्र निर्माणमा उनलाई जसरी अनुप बरालले मार्गदर्शन गरिरहेका थिए, त्यो उनको निम्ती एक अनमोल पाठ थियो । सुरुवाती चरणमा अनुप बरालले केही अभ्यास गराउँदै निर्देश गरेका थिए, ‘तिमी बाहिर हिँडडुल गर । मान्छेहरु कसरी बोल्छन्, कसरी हिँड्छन्, कसरी कुरा गर्छन् । उनीहरुको हाउभाउ, बोलीचाली सबै टिपेर आउ ।’
प्रदीपलाई यी कुरा खेलाँची लागेको थियो । त्यसैले पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन उनले यी सम्पूर्ण कुरा दुरुस्त उतार्ने प्रयास गरेनन् । जब चौथो दिन भयो, तब अनुप बरालले उनलाई अघिल्तिर राखेर भने, ‘हेर एउटा गायकले पनि निरन्तर रियाज गर्नुपर्छ, गायनका लागि । रोनाल्डोले पनि नियमित खेल अभ्यास गर्नुपर्छ, खेल जीवनका लागि । जुन दिन तिमी साधना गर्न छाड्छौं, त्यसदिन तिमीलाई पनि कलाले छाड्छ ।’
त्यसदिन प्रदीपलाई आफ्नो कमजोरीप्रति एकदमै लाज लाग्यो । ग्लानी अनुभव भयो । उनलाई बेस्सरी रुन मन लाग्यो । त्यसपछि नै हो, उनले अनुप बरालले भनेजसरी आफुलाई निखार्ने काममा अभ्यस्त गराएको ।
प्रकासका लागि उनी जुन पात्रको जीवन बाँच्नुपर्ने थियो, त्यो उनी हुर्के–बढेको पात्र भन्दा नितान्त अलग थियो । लामो अभ्यासपछि पनि उनी प्रकाशको जीवन बाँच्न सक्दिन कि भन्ने लागिरह्यो । अनि त उनले निर्देशक दिनेश राउतलाई भने, ‘म त यो काम गर्न सक्दिन होला ।’
दिनेशले उनलाई ढाडस दिदै यसो भने, ‘अहिलेसम्म संगत गरेपछि मलाई विश्वास छ तिमीले नै यो पात्रको जीवन बाँच्न सक्छौं । तिमीले सक्छौं ।’ उनी यतिमै रोकिएनन् । हनुमानको उदाहरण दिदै सम्झाए, ‘हनुमान उड्न सक्थ्यो । तर, उनमा उड्न सक्ने सामथ्र्य छ भनेर अरु कसैले भनिदिनुप¥यो । तब नै उसले उडेर एउटा पर्वत नै उठाएर ल्याए ।’
जीवन : एक पाठ
आफैसँग हारिसकेको एउटा ठिटो, जो पलायन हुने मनोदशामा छन् । ऊभित्र रहर छ र रहर पुरा गर्नका खातिर इच्छाशक्ति पनि । तर, उनको हरेक प्रयास असफल ठहर्छ । र, उनी आफ्नो जीवनको निचोड निकाल्छ, ‘म केही गर्न सक्षम छैन ।’
यद्यपि समयको लहरमा अनायस भेटिने पात्रहरु र उनीहरुसँगको घर्षणले एउटा दिव्य-बोध गराउँछ, ‘कोही मान्छे अक्षम हुँदैनन् । बरु उनीहरुले सही ठाउँ नपाएको हुनसक्छ ।’
तस्विर र भिडियो : शंकर गिरी
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4