
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाल र भुटानको संयुक्त सहकार्यमा फिल्म बन्न लागेको घोषणा गरे।
- यो फिल्ममा भारतीय प्राविधिक संलग्न हुनेछन् र नोभेम्बरदेखि छायांकन सुरु हुनेछ।
- फिल्मको शीर्ष भूमिकामा भुटानी अभिनेता सांगे सेल्ट्रिम र प्रदीप खड्का रहनेछन् र छायांकन भुटानमै हुनेछ।
काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८२’ को क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले एक महत्वपूर्ण घोषणा गरे ।
नेपाल र भुटानको संयुक्त सहकार्यमा एक फिल्म बन्न लागेको र दुई मुलुकबीच बजार विस्तार र निर्माणको क्षेत्रमा सहकार्य हुन लागेको उनले बताएका थिए ।
अध्यक्ष डीसीले यी कुरा भन्दै गर्दा कार्यक्रममा सहभागी भुटानी अभिनेता सांगे सेल्ट्रिमलाई सबैसामु परिचय पनि गराए । अभिनेता सांगे र उनका ‘ऐरी’ को-स्टार प्रदीप खड्का पनि एकसाथ थिए ।
अध्यक्ष डीसीले घोषणा गरेको यो नेपाल-भुटान संयुक्त सहकार्यको फिल्मलाई लिएर महत्वपूर्ण विकास भएको छ । अझ भनौं, यो फिल्ममा भारतीय प्राविधिकको पनि संलग्नता हुनेछ ।
आउँदो नोभेम्बरदेखि यो साइन्स फिक्सन, हरर र थ्रीलर जनरा मिश्रण भएको फिल्मको छायांकन सुरु हुँदैछ । भुटानी निर्देशकले निर्देशन गर्ने यो फिल्मको शीर्ष भूमिकामा सांगेसहित प्रदीप खड्का हुनेछन् । चरित्र कलाकार भुटानबाट लिने र छायांकन पनि भुटानमै गर्ने तयारी छ ।
स्रोतका अनुसार, यो फिल्मको लागि नेपाली अभिनेत्रीहरू आना शर्मा र साम्राज्ञी शाहसँग चरणबद्ध कुरा भैरहेको छ । यद्यपि, यो समाचार लेख्दासम्म कुनै कलाकारले साइन गरिसकेका छैनन् । यो फिल्ममा प्रदीप जोडिने पक्काजस्तै छ ।
‘ऐरी’पछि यो फिल्मको छायांकन गर्ने तयारी छ । फिल्ममा सबै प्राविधिक भारतबाट लिने कुरा छ । अध्यक्ष डीसीले भनेजस्तै, यो फिल्मले नेपाल, भुटान र भारतबीच त्रिपक्षीय सहकार्य र बजार विस्तारमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।
यो फिल्मको शीर्षक तय भैसकेको छ । यद्यपि, निर्माता खुलाउन चाहेनन् । अभिनेता सांगे केही महिनायता नेपालमा ‘ऐरी’को छायांकनमा ब्यस्त छन् । यो फिल्मको छायांकन अझै बाँकी छ ।
शाहरुख खानको बलिउड एक्सन फिल्म ‘जवान’मा अभिनय गरेका सांगे त्यसपछि नेपाली फिल्म बजारमा समेत चर्चित छन् ।
प्रतिक्रिया 4