+
+
दशैं संस्मरण :

आमा, यो दशैंमा पनि मैले नयाँ लुगा लगाइनँ नि

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ असोज २३ गते १२:२२

यो २०७९ सालको दशैंको अनुभव हो, बोझले थिचिएको मानसिकतामा दशैंको रौनक पटक्कै छैन । त्यसमाथि बिहानैदेखिको झरीले बजारको शून्यतालाई थप बल पुर्‍याएको छ ।

दशैंमा चरिकोटबाट धेरै मानिस गाँउतिर गए । गाँउघरको दशैं उल्लाहसपूर्ण बन्यो । गाँउमा लिंगे पिङहरु मच्चिए । आफन्त जम्मा भएर रमाइलो गरे । घरघरमा खसीबोका ढले । चरिकोटले त यात्रुले खचाखच भरिएको बस र सुमोहरुको धुँवा मात्र खेप्नुपर्‍यो ।

फूलपातीपछि क्रमशः चरिकोट बजार सुनसान हुँदै गयो । विजयादशमी टीकाको मध्यदिनबाट माइत, ससुराली, मामाघर र जेष्ठजनको हातको टीका थाप्ने स्थानीयको चहलपहल सुरु भए पनि पूर्णे (कोजाग्रत पूर्णिमा)यता चरिकोटको पूर्ण चहलपहल फर्कने छाँट देखिएको छैन ।

यही चरिकोटको डाँडा हो, जहाँ मैले बाल्यकालमा धेरै उछलकुद गरेको छु । १०÷१२ को अल्लारे उमेर, बिहान-बेलुकाको समय र स्कुल छुट्टीको समय घरमा बासै उन्थेन । बजारमा कहिले पाइपको मोटर बनाएर गुडाउन व्यस्त, कहिले ढुंगाको चाङमा मोजा पोको पारेर बनाएको बलले हिर्काएर खेल्ने गेम (लक्कु डाल) खेलमा व्यस्त अनि कहिले भलचौरी, लुकामारी र कक्फाइटमा व्यस्त । कति रमाइलो जिन्दगी ! न आश्रयको चिन्ता, न कुनै कुराको अभाव ।

 खै ! अब कहिले फर्किएला र चरिकोटको त्यो सुन्दरता । कहिले फर्किएला र त्यो रोमाञ्चित माहोल सहितको दशैंको रौनक । त्यसैले अब त दशैंमा नयाँ लुगा लगाउने आकांक्षा पनि मरिसकेको छ ।

पैंतीस छत्तीस सालतिर त एक महिनाअघिदेखि नै दशैं लाग्थ्यो हामीलाई । त्यतिबेला दुई कुराको लालच- नयाँ लुगा र टीकाको दिन जम्मा हुने पैसा । सखारै घरको पिंढीमा कमेरो माटोको चक्काले भरिएको डोको थुप्रिन थालेपछि हामी केटाकेटीको खुसीको पारो क्रमशः उकालो लाग्न सुरु हुन्थ्यो । दशैं आउनु एक महिनाअघिदेखि नै ढुङ्गा माटोले बनेको चरिकोटका घरहरुमा सेतो कमेरो माटोले लिपेर चिटिक्क पार्न सुरु हुन्थ्यो ।

हामी केटाकेटी नयाँ लुगा र टीकाको दिन जम्मा हुने पैसाको लालचमा अभिभावकले लाउने अह्राउने हरेक काम सकिनसकी गरिरहेका हुन्थ्यौैं । घर लिप्न पानी ओसार्ने, कमेरो माटो भिजाउने, कोठाको सामान पन्छाउने, उस्तै परे कमेरो छ्याप्ने सबै काममा सहयोगी हुन्थ्यौं हामी । दशैं नजिकिंदै गर्दा सबै घरहरु चिरिच्याट्ट भइसक्थे । मुख्य बजार त अहिलेको पुरानो बजार भएको ठाँउमा थियो । अहिलेको सातदोबाटो चोक र बीच बजारतिर मेरो मामाघर र अरु केही घर मात्र थिए । सफा र हरियालीको बजार । सबै घरमा आफन्तहरु जम्मा हुन्थे, खसी ढल्थ्यो, पूजा हुन्थ्यो । पुरानो बजारको ठूलो बारीको पाटामा र मेरो मामाहरुको बीच बजारमा रहेको घर तलको अर्को ठूलो बारीको पाटामा राँगो ढालिन्थ्यो । बजारका सबै आफन्त, छिमेकहरुले गच्छेअनुसार राँगाको मासु लाने गर्थे ।

आमा, कति प्यारो अभिभावक । आफूलाई दशतिर च्यातिएको फरिया र मोजा परेको चोलीमा सजाएर भए पनि छोराछोरीलाई दशैंमा नयाँ लुगाको जोहो गरिदिने । मेरी आमाले पनि मलाई दशैं आउनु एक महिनाअघिदेखि नै नयाँ लुगाको लागि कपडाको जोहो गरिदिनुहुन्थ्यो । आजभन्दा ४०÷४५ वर्षअघि चरिकोटमा रेडिमेड कपडा कहाँ पाउनु ? सिलाएको कपडा लगाउन एक महिनाअघिदेखि मामा (लुगा सिलाउने मास्टरजी, जसले आमालाई दिदी भन्ने गर्नुभएकाले हामी उहाँलाई मामा भन्थ्यौं) कहाँ थुप्रिएको कपडा लिन कहिलेकाहीं त टीकाकै दिन बिहानभरि धर्ना कस्नुपथ्र्यो । त्यो धर्ना कति उत्साहप्रद र कौतुहलपूर्ण हुन्थ्यो भने अलिअलि रिस उठे पनि नयाँ कपडा तयार भएपछि त्यो लिएर घरतिर दौडिंदै गर्दा रिस सबै गायब ।

अनि नयाँ कपडा लगाएर साथीहरुसँग पुरानो बजारको घरघर टीका थाप्न जान्थ्यौं । बेलुका घर फर्किएर कसको कति पैसा भयो भनेर गन्थ्यौं । दशैंको भोलिपल्टदेखि केही दिनसम्म घरमा आमासँग सुका-मोहरको लागि गनगन गर्नुपर्दैन थियो । दशैंको पैसाले झण्डै हप्ता-पन्ध्र दिन चाहेको कुरा खान र किन्न मनग्य पुग्ने । त्यतिबेला चरिकोटमा अहिलेको जस्तो बजार नभएकैले पैसा खर्च गर्ने ठाँउ पनि त थिएन ।

आमाले साथ छोडेपछि समस्याको बोझले थिचिंदै गएको छ । अब त दशैंमा न नयाँ कपडा, न कुनै उत्साह र खुसी । नयाँ कपडाको जोहो गरिदिने को छ र । आमा, मैले दशैंमा नयाँ कपडा नलगाएको त दशकौं बितेछ । यो दशैंमा पनि नयाँ कपडा लगाइन् आमा ! तिमीले पक्कै माथि कतैबाट हेरेकी छौ होला ।

समस्याको बोझले रन्थनिएको यो समयमा बाल्यकालको दशैं सम्झिएर आँखामा टिलपिलाएको आँसुसँग भक्कानिनुको अर्को विकल्प पनि त छैन । यो दशैंमा मात्र होइन, तिमीले छोडेर गएपछिका हरेक दशैंमा म तिमीलाई सम्झिएर यसैगरी भक्कानिने गरेको छु । साथमा हुँदा तिमीले गाली पनि गर्‍यौ, कुट्यौ पनि अनि मैले झगडा पनि गरें । तर त्यहाँ माया थियो, आत्मीयता थियो र न्यानो साथ थियो । अब त्यो माया, आत्मीयता र साथ टुटेको छ ।

मेरो हालत देखेर तिमी पनि धेरै रोएकी हौली । उतिबेलाको तिम्रो त्यो स्नेह र आत्मीयता सम्झिंदा मलाई के लाग्छ भने तिमी त मभन्दा बढी रोएकी हौली मलाई समस्याको बोझहरुसँग तिल्मिलाएको देखेर । भनिन्छ नि, आमाको माया छोराछोरीमाथि । म अहिले अभिभावक र घरको मूली भएपछि सम्झिरहेको छु, मेरी आमाले आफूले अभावै खेपेर पनि मेरो लागि नयाँ कपडाको जोहो गरिदिएको सत्य । समयमा नयाँ कपडा नपाउँदा आमासँग झगडा गरेको सम्झनाले मलाई पोल्ने गरेको छ, अहिले किनभने घरमूली भएर समस्याहरुको चाङसँग संघर्ष गर्नु त असाध्य कठिन पो रहेछ । मलाई ग्लानि हुन्छ त्यो बेलाको बालहठले । अनि रोमाञ्चित पनि हुन्छु त्यो फुक्का जीवनको बेपर्वाह भागदौडको सम्झनाले ।

चरिकोटको दशैं त एक दुई सालको झन् रमाइलो हुन्थ्यो रे ! ८६ वर्षमा हिंड्दै गर्नुभएका मेरो जेठा मामा नारायणकृष्ण श्रेष्ठ भन्दै हुनुहुन्थ्यो । उतिबेला चरिकोटमा जम्मा तीनवटा सरकारी अड्डा रहेछन् । झण्डै ढेड दुई सय वर्षअघि चरिकोटमा पहिलो सरकारी अड्डा हुलाक अड्डा थियो रे । त्यसपछि सेनाको जंगी परेड मिलिसिया र अदालत थपिएको नारायणकृष्ण मामाले सुनाउनुभयो ।

दशैंको फूलपातीको दिन सेनाको जंगी परेड मिलिसिया अड्डाका मिलिसियाहरुले कालो दौरासुरुवाल र सेतो पटुकी लगाएर परेड गर्दै सानो चिरिच्याट्ट चरिकोट बजारको परिक्रमापछि फूलपाती भित्र्याउँथे रे । अनि मिलिसिया अड्डामा मौलो पूजा हुन्थ्यो रे । उतिबेला दशैंमा कालो दौरासुरुवाल, सेतो पटुका र शिरमा सेतो फेट्टामाथि दर्जा अनुसारको सुन तथा चाँदीको खुर्पे, चाँद, काते आदि निशानी लगाएका मिलिसियाको रवाफ हेर्न मामाहरु जंगी परेड मिलिसिया अड्डासम्मै धाउनु हुन्थ्यो रे । अहिलेको मालपोत कार्यालय भएको ठाँउमा ।

सरकारी मौलो पूजा सकिएपछि सरकारी अड्डाका हाकिमहरुको बोका पनि त्यही ठाँउमा पूजा गर्न लाने चलन रहेछ । निर्दोष पशुबलीको रमिता हेर्न मामाहरु भोकाएको पेट मिचेरै पनि जंगी परेड मिलिसिया अड्डाको आसपास रमाउनु हुन्थ्यो रे । कालो दौरासुरुवाल, सेता पटुका र सेतो फेट्टामा सजिएका मिलिसियाको परेडको तालमा ।

फूलपाती त ७९ सालमा पनि भित्रियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको परेडले बजारमा थोरै रौनक ल्याएको हो । तर नारायणकृष्ण मामाहरु रमाउनुभएको एक-दुई सालतिरको फूलपाती भित्र्याउने जस्तो रौनक थिएन सायद यो । चरिकोट बजारको सुन्दरतामा कालो दौरासुरुवालमाथि सेतो पटुकी र शिरमा सेतो फेट्टा बाँधेका मिलिसियाहरुले गरेको परेड कति प्राकृतिक थियो होला । मामाको मुखबाट सुनेका संस्मरणले नै मेरा पाखुरीका रौं रौं उचालिएको थियो । मनमा खुसीका सारङ्गी रेटिएका थिए । स्वभाविक हो आफैंले त्यो दृश्यावलोकन गर्ने मेरो मामा र उहाँका सखीहरुले कति आनन्द लिनुभयो होला ।

अहिले त ठूलाठूला कंक्रिटका घरहरुले चरिकोटमा कृत्रिम सुन्दरता मात्र दिएको छ । त्यसको उचित व्यवस्थापन समेत गर्न नसक्दा घामले रंग खुइलाएको कागजको चित्रजस्तो बनेको छ चरिकोट । खै ! अब कहिले फर्किएला र चरिकोटको त्यो सुन्दरता । कहिले फर्किएला र त्यो रोमाञ्चित माहोल सहितको दशैंको रौनक । त्यसैले अब त दशैंमा नयाँ लुगा लगाउने आकांक्षा पनि मरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?