+
+

हाँस्नुहोस् त गज्जबले

डा. योगी विकासनन्द डा. योगी विकासनन्द
२०७९ असोज २३ गते १४:४५

एकपटक धक खोलेर जोडले हाँस्नुहोस् त, के हुन्छ ?

क्षणभर नै सही, तपाईंको मनबाट रिस–राग, दुःख–पीडा, गुनासो–बिलौना हटेर जान्छ । हठात तनाव हट्छ । मन प्रफुल्ल हुन्छ । हृदयमा उमंग छाउँछ । मात्र एकपटक हाँस्दैमा ।

यी त भावनात्मक कुरा । शरीर विज्ञानमा पनि यसको प्रभाव कम्ता छैन । जब तपाईं ढुक्कले हाँस्नुहुनेछ, शरीरका तन्तुहरु सक्रिय हुनेछन् । रक्तसंचार प्रणाली सहज हुनेछ । फोक्सोमा अक्सिजनको मात्रा बढ्नेछ ।

त्यती मात्र कहाँ हो र ? तपाईंको आसपासका वातावरण नियाल्नुहोस् । तपाईं हाँसेको देखेर अरुको मुहारमा पनि मुस्कान छाएको छ । वातावरण रसिक बनेको छ । निर्धक्क हाँस्नु भनेको सकारात्मक भावनाको स्वतस्फूर्त अभिव्यक्ति पनि हो ।

हाँस्नुको फाइदै फाइदा छ । जबकि यति हाँस्नका लागि न तपाईंले अतिरिक्त पैसा खर्च गर्नुपर्छ न कुनै कुरा गुमाउनु नै । भुक्तभोगीहरु भन्छन्, ‘हाँस्नु स्वास्थ्यका लागि अति लाभदायक छ ।’ तर दुःखको कुरा हाँसो हाम्रो जीवनबाट गायब हुँदै गएको छ । किन ?

मनभित्र गुम्सिएको गुनासो, कुष्ठा, अपेक्षा आदिले गर्दा हामी खुलेर हाँस्न सकिरहेका छैनौं ।

हाँसो किन हराउँदै गइरहेको छ ?

मान्छे दुःखी होइन, खुसी हुन चाहन्छन् । हाँस्नु भनेको खुसी हुनुकै एउटा लक्षण हो । दुःखमा मान्छे हाँस्दैन । खुसी, उमंग, उत्साहमा मान्छे हाँस्छ । अतः मान्छेले आफुलाई खुसी तुल्याउन अनेक उपाय अपनाउने गरेका छन् । जस्तो सिनेमा हेर्ने, किताब पढ्ने, जोक्स सुन्ने, टिकटक हेर्ने, गेम खेल्ने । तर यी माध्यामबाट खुसी बाहिरी चिजबाट होइन, आफैभित्रबाट प्रस्फुटन हुनुपर्छ ।

खुसी, उमंग, हाँसोको स्रोत बाहिर छैन, हामीभित्रै छ । हामीले आफुभित्रको यही स्रोत पहिल्याउनुपर्छ, ताकि हाँस्नका लागि कुनै बाहाना नचाहियोस् ।

नकारात्मक हाँसो

कतिपय मान्छेहरु अरुको पीडामा हाँस्न सक्छन् । कोही व्यक्ति हिलोमा पछारिए पनि मान्छे हाँस्छन् । यस्तो हाँसो भने स्वस्थ हाँसो होइन । यसले मान्छेलाई आनन्दित बनाउने भन्दा पनि उनको रिस, कुण्ठा अरु बढाइदिने काम गर्छ । अरुलाई घोचपेच गरे, अरुको मजाक उडाएर, अरुलाई दुःख दिएर हाँस्नुको कुनै अर्थ छैन । बरु मानव जीवनको लागि त्यो अनर्थ हो ।

त्यसैले हाँसो पनि स्वस्थ हुनुपर्छ । जस्तो सिनेमामा खलनायक हाँस्छ, यसले उनमा उत्तेजना र आवेग बढाउने सिवाय केही गर्दैन ।

सकारात्मक र रचनात्मक

हामीबाट किन हाँसो गायब भयो ? किन हामीबाट खुसी भाग्यो ? किनभने हामीभित्र विकार तत्व भण्डार हुँदै गयो । हामीमा नकारात्मक भाव हावी हुँदै गयो । यसले हाम्रो खुसीको स्रोत बन्द गरिदियो ।

त्यसैले उन्मुक्त हाँस्ने हो, खुसी हुने हो भने सबैभन्दा पहिलो सर्त हो, आफुलाई सकारात्मक राखौं । सकारात्मक मनमा कुष्ठा, आवेग, इष्र्य, जलन, गुनासो हुँदैन । जब यी विकार हुँदैन तब हामी फुरुंग हुन्छौं । हाम्रो मन चंगा हुन्छ । यस्तो मन भएपछि मनैबाट हाँस्न सकिन्छ । ओंठमा मात्र हाँसो ल्याउने प्रयास गरिरहनु जरुरत पर्दैन । मन नै खुसी हुन्छ र हाँसो पनि मनबाटै पैदा हुन्छ । अनि हामी निर्धक्क हाँस्न सक्छौं ।

मान्छे सकारात्मक र रचनात्मक हुनुपर्छ, ताकि खुसी हुनका लागि अरुको भर पर्न नपरोस् । रचनात्मक भएपछि मान्छेले आफ्नो संसार आफैले सिर्जना गर्छन् । मान्छेले आफ्नो खुसी आफै सिर्जना गर्छन् । यसले उनमा आत्मगौरव प्राप्त हुन्छ । आत्मगौरव मिलेपछि मान्छेलाई हाँस्न कुनै कठिन हुँदैन ।

रचनात्मक काम गरेपछि मान्छेको आत्मसम्मान चुलिन्छ । खुसी हुनका लागि यो राम्रो तरिका हो ।

हाँस्नु वास्तवमै राम्रो कुरा हो । यो मानव जातिको मूल गुण पनि हो । हाँस्नका लागि मान्छेले कुनै पाठ पढ्नुपर्दैन, कुनै प्रशिक्षण लिनुपर्दैन । यो मान्छेभित्रबाट स्वतस्फूर्त प्रस्फुटन हुने मूल गुण हो । साथसाथै मानव जीवनको लागि यो अनमोल हिस्सा पनि हो । त्यसैले रिसराग, गुनासो, कुण्ठा त्यागेर मस्त हाँसौं । जति धेरै हाँस्न सक्छौं, उत्तिनै सुन्दर जीवन बाँच्न सक्छौं ।

डा. योगी विकासनन्दसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?