+
+

खोटाङमा गठबन्धन विरुद्ध कांग्रेसका बागी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १९:०५
मनोनयन दर्ता गराउन जाँदै गरेका सत्तारुढ गठबन्धनका उम्मेदवारहरू ।

२३ असोज, खोटाङ । खोटाङमा गठबन्धन विरुद्ध कांग्रेसले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधिसभा माओवादी केन्द्र, प्रदेशसभा (क) नेकपा (एकीकृत समाजवादी) र प्रदेशसभा (ख) कांग्रेसको भागमा परेपछि असन्तुष्ट कांग्रेस नेताले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै पूर्वसांसद एवम् पूर्व राज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा (क)मा पूर्वसभापति सुवासकुमार पोखरेल र उपसभापति धर्मराज पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरुले गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई (पासाङ) र प्रदेशसभा ‘क’मा उठेका नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई विरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
गठबन्धनबाट प्रदेशसभा ‘ख’मा उठेका नेपाली कांग्रेसका भूपेन्द्र राई विरुद्ध भने स्वतन्त्र उम्मेदवारी दर्ता भएको छैन ।

यद्यपी, उनीहरुले आफ्नो स्वतन्त्र उम्मेदवारलाई सहयोग गरे मात्र गठबन्धनबाट प्रदेशसभा ‘ख’मा टिकट पाएका भूपेन्द्रलाई सहयोग हुने संकेत गरेका छन् ।

स्थानीय तहको मतपरिणामको आधारमा एक प्रतिनिधिसभा वा दुई प्रदेशसभा मध्ये एक पाउनुपर्ने माग सुनुवाइ नभएकाले स्वतन्त्र उम्मेदवारी दिनु परेको कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले बताए ।

निर्णय सच्याउनका लागि शनिबार कांग्रेस केन्द्रीय समितिलाई ज्ञापन–पत्र बुझाएको टोलीले आइतबार जिल्लामा फर्किए लगत्तै बैठक राखेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो ।

जिल्लाको वस्तुगत यथार्थता र सांगठनिक अवस्थाको विश्लेषण नगरी गरिएको निर्णयले खोटाङ कांग्रेसमा गम्भीर आघात पुर्‍याएको सभापति राईले बताए ।

‘हामीले गठबन्धनलाई अवज्ञा गरेको होइन । टिकट वितरण न्यायोचित भएन भनेका हौं । कांग्रेसलाई कि संघ दिनुपर्‍यो, की दुई प्रदेश दिनुपर्‍यो भनेका थियौं । २ हजार–एक्काईस सय मत भएको र २६ हजार मत भएको कांग्रेसलाई एउटै क्याटागोरीमा राखियो । त्यसमा हाम्रो आपत्ती हो,’ राईले भने, ‘हामीलाई रुख चिह्नबाट वञ्चित गराइयो । गठबन्धनको उद्देश्य नेता नेतृत्वको व्यवस्थापन मात्र नभएर सिंगो पार्टी कार्यकर्ता र जनताको भावनाको समेत व्यवस्थापन हो । कार्यकर्ता र जनभावना विपरित गरिएको निर्णयले पार्टीमा गम्भीर क्षति हुने देखिन्छ ।’

गठवन्धन जोगाउने नाममा नेकपा (एकीकृत समाजवादी)लाई प्रदेशसभा (क) दिँदा गठबन्धन सुरक्षित नहुने र प्रतिगमन पनि रोक्न नसकिने असन्तुष्ट पक्षको दावी छ ।

रोचक पक्ष त के छ भने प्रदेशसभा ‘क’मा कांग्रेसका असन्तुष्ट पक्षका दुई नेताले एकैक्षेत्रमा मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सँगै पुगेका पोखरेलद्वयले एकैठाउँमा उम्मेदवारी दर्ता गरेको विषयलाई चासोका साथ हेरिएको छ । कतिपयले ‘बागी विरुद्ध अर्को बागी’ उठे/उठाइएको अर्थ लगाइरहेका छन् भने कतिपयले एक जनालाई ‘ब्याक’ गर्नेगरी एकैठाउँमा दुई जनाको मनोनयन दर्ता गरिएको अनुमान गरिरहेका छन् । आगामी २६ असोजसम्ममा दुईमध्ये एकलाई ‘ब्याक’ गरिने सभापति राईले बताए ।

एमाले उत्साहित

केन्द्रको निर्णय अनुसार जिल्लामा गठबन्धनको उम्मेदवार मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको केही समयपछि कांग्रेसको विद्रोही पक्ष मनोनयन दर्ता गर्न पुगेका थिए ।

गठबन्धन बिरुद्ध गठबन्धन दलकै स्वतन्त्र उम्मेदवारी परेपछि एमालेलाई उत्साहित बनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट बिशाल भट्टराई, प्रदेशसभा ‘क’बाट पाँचकर्ण राई (पिके) र प्रदेशसभा ‘ख’बाट रामप्रसाद दंगालको उम्मेदवारी दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?