+
+

यी क्षेत्रहरुमा हुनेछ रोचक चुनावी भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते ८:४१

२४ असोज, काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता सकिएको छ । चुनाव जित्ने रणनीतिका साथ ठूला दलहरुले अन्य दलसँग गठबन्धन गरेका छन् ।

यस्तो अवस्थामा कतिपय क्षेत्रमा रोचक चुनावी समीकरण तय भएको छ । नेकपा एमालेमा आएको विभाजनले पनि कतिपय क्षेत्रमा विगतका सहयात्रीहरु नै प्रतिस्पर्धीका रुपमा खडा भएका छन् ।

गत स्थानीय तहको चुनावमा वडा तहमा प्राप्त भएको मतलाई आधार मान्दा कतिपय क्षेत्रमा गठबन्धनहरुको मतहरु बराबरीजस्तो देखिएकाले पनि अर्को रोचक अवस्था बनेको छ । कतिपय दलले प्रभावशाली नेतालाई टिकट नदिएकाले स्वतन्त्र उम्मेदवारी दर्ता हुँदा पनि कतिपय चुनावी भिडन्तहरु रोमाञ्चक हुने देखिएका छन् ।

गोकर्ण भर्सेस रामकुमारी

गुल्मी–२ को चुनाव पनि पेचिलो हुने पक्का छ । त्यहाँ एमाले सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्रीको चुनावी भिडन्त पक्का भएको छ ।

झाँक्री गुल्मीको जनबोध उच्च माविमा भएको अनेरास्ववियुको कार्यक्रममा पृथ्वी माबिको स्कुल कमिटीको अध्यक्षका हैसियतमा सहभागी हुँदा विष्टसँग पहिलोपटक भेटेकी थिइन् ।

झण्डै तीन दशक लगभग एउटै दर्शनमा बाँधिएका उनीहरु गत वर्षमात्रै विभाजित भए । २ भदौ २०७८ मा एमालेबाट फुटेर एकीकृत समाजवादी बनेपछि झाँक्री एकीकृत समाजवादीतिर लागिन् भने पनि गोकर्ण विष्ट एमालेमै बसे ।

विद्यार्थीदेखि पार्टीको केन्द्रीय राजनीतिमा पुगेर संसदीय राजनीतिमा मोडिएकी झाँक्रीले पछिल्ला चुनावहरुमा विष्टका लागि भोट मागेकी थिइन् । विष्ट र झाँक्रीको पार्टी अलग्गिएपछि चुनावी मैदानमा एकअर्कालाई हराउन तम्सिएका छन् ।

यसअघि समानुपातिक सांसद रहेकी झाँक्री यसपटक कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चासहितको सत्ता गठबनधनका तर्फबाट उम्मेदवार बनेकाले चुनाव जित्नेमा आत्मविश्वासी छिन् । युवा भएको र नयाँ अनुहार पनि भएकाले झाँक्रीले जनविश्वास धेरै प्राप्त गर्ने अड्कलबाजी भइरहेका छन् ।

०४८ मा कांग्रेसका रुद्रमणि भण्डारीले जितेबाहेक यो क्षेत्र (२०७० सम्म गुल्मी ३ र हाल गुल्मी २) मा वामपन्थीहरुले जित्दै आएका छन् । ०६४ मा माओवादीले जितेको थियो भने अरु सबै चुनावमा एमालेले जित्दै आएको छ ।

विष्ट स्वयंले ०५६ देखि यो क्षेत्रमा चुनाव लड्दै आएका छन् । उनलाई ०६४ मा माओवादीका चन्द्रबहादुर थापाले हराएका थिए । अरु सबै चुनाव उनले जितेका छन् । ०७४ मा वाम गठबन्धनको बेला त उनले १४ हजारभन्दा बढी मत अन्तरले जितेका थिए ।

विगतको विरासत र लोकप्रियताका कारण एमाले सचिव विष्ट पनि कम्ता बलियो छैनन् । ३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा एमाले सबभन्दा अगाडि छ । एमालेले ३१ हजार २५३ मत पाउँदा कांग्रेसले २९ हजार ८२१ मत पाएको छ । माओवादी केन्द्रको १८४१ र एकीकृत समाजवादीको जम्मा ६५८ मत छ ।

यसलाई आधार मान्दा झाँक्रीलाई भोट बढाउने र विष्टलाई गठबन्धनका दलहरुलाई जाने भोट खोस्ने खोस्ने चुनौती देखिन्छ ।

‘मित्रवत’, तर पेचिलो प्रतिस्पर्धा

सर्लाही क्षेत्र नं. २ मा हेर्न लायक चुनावी माहोल बनेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले यो क्षेत्रबाट सांसद बन्न मनोनयन दर्ता गरेका छन् ।

महतोले धनुषा ३ छाडेका उनले सर्लाही २ मा उम्मेदवारी दिएका हुन् । २०७४ को निर्वाचनमा उनी धनुषा ३ मा कांग्रेस नेता बिमलेन्द्र निधिलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले नेता जुलीकुमारी महतो धनुषा ३ बाट उम्मेदवार बनेपछि महतो सर्लाही गएका हुन् ।

सर्लाही २ मा लोसपा र सत्ता गठबन्धनसँग भागबण्डा नमिलेपछि मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । मित्रवत भनिए पनि यो प्रतिस्पर्धा कम्ता रोचक हुने छैन । सोही क्षेत्रका निवर्तमान सांसद नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले माओवादीको चुनाव चिह्नमा चुनाव लड्ने छन् ।

नेकपा एमालले यो क्षेत्रबाट राजनारायण साहलाई उम्मेदवार बनाएको छ । यसरी ‘हेभिवेट’ नेतासहितको त्रिपक्षीय भिडन्तका कारण सर्लाही–२को चुनाव रोचक हुने निश्चित छ ।

उपेन्द्रलाई सीकेको चुनौती

सप्तरी–२ को चुनावी सरगर्मी पनि अन्यत्रको भन्दा फरक छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुर चुनावी भिडन्तमा छन् ।

सप्तरी–२ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता ठाकुरको उम्मेदवारी अध्यक्ष यादवलाई जीतको लागि प्रमुख चुनौती हो । पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका राउतले यादवका लागि अर्का चुनौती थपिदिएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनबाट पार्टीलाई उचित सिट दिलाउन नसक्ने भन्दै एमालेसँग सहकार्य गर्न पुगेका यादव कुनै हालतमा पनि जितको खोजीमा छन् ।

गत स्थानीय तहको चुनावमा वडा तहमा पाएको पाएको मतका आधारमा यादव नेतृत्वको पार्टी सप्तरी २ मा पहिलो पार्टी पनि हो । वडा अध्यक्षमा जसपाले १४ हजार ४०३ मत पाउँदा कांग्रेसले १० हजार ८०७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० हजार ४३५ मत पाएको थियो ।

माओवादी केन्द्रले ९ हजार ५३४ मत पाउँदा एमालेले ५ हजार ९५१ मत पाएको थियो । राउतको जनमत पार्टीको ४ हजार ५४२ मत थियो ।

यस्तो चुनावी अंकगणीतले योसबैका लागि चासोको क्षेत्र बन्न पुगेको छ ।

सहयोद्धाको प्रतिस्पर्धा

रुपन्देही–१ अर्को रोचक प्रतिस्पर्धात्मक चुनावी मैदान हो । नेकपा एमाले परित्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसाललाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । यो क्षेत्रमा नेकपा एमाले नेतृत्वको गठबन्धनबाट भने छबिलाल विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

०७४ को चुनावमा नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका विश्वकर्मा एमालेबाट उम्मेदवार भएपछि अब भूसालले आफ्नै पूर्व सहयोद्धासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । ०७४ को चुनावमा भने भूसालले रुपन्देही–३ बाट राप्रपाका दीपक बोहोरालाई पराजित गरेका थिए ।

यसपटक पनि भूसालको नाम रुपन्देही–३ बाटै सिफारिस भएको थियो । तर भूसाल भने आफ्नै घर भएको रुपन्देही–१ बाट उठ्ने चाहनामा थिए । यो क्षेत्रबाट पनि एमालेका पूर्व उपमहासचिव भूसालको नाम सिफारिस भएको थियो ।

तर, जिल्ला कमिटीले एक नम्बर क्षेत्रबाट भूसालको नाम हटाएर रुपन्देही–३ बाट मात्रै पार्टी केन्द्रमा पठायो । तर राप्रपासँग एमालेको तालमेल भएकाले एमालेले यो क्षेत्र छोड्यो, दीपक बोहोरा उम्मेदवार बने । दुई क्षेत्रबाट सिफारिस हुँदा पनि एमालेले कतै टिकट नदिएपछि भूसालले शनिबार मात्रै पार्टी परित्यागको घोषणा गरेका थिए ।

एकदिन अगाडि मात्रै एमाले छोडेका भूसाललाई सत्तारुढको समर्थन पाए र स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

गएको स्थानीय चुनावको नतिजा हेर्दा भने भूसाललाई चुनाव जित्न सजिलो देखिँदैन । यो क्षेत्रमा वडाध्यक्षहरुले पाएको मत हेर्दा एमाले गठबन्धन नै अगाडि छ । कांग्रेस पहिलो शक्ति भएपनि एमाले, जसपा र राप्रपाको मत जोड्दा ५१,६४१ हुन्छ । त्यो चुनावमा एमालेले ३०३९४, राप्रपाले १४५५२, जसपाले ६६९५ मत पाएको थियो ।

तर कांग्रेसले ३२९९९, माओवादीले ४२०२, एकीकृत समाजवादीले १२४३ र लोसपाले ३२५ मत पाएका थिए । यो जोड्दा ३८,७६९ मत हुन्छ । अर्थात्, एमाले गठबन्धनका वडाध्यक्षहरुले पाएको मत १२ हजार बढी हुन्छ ।

तर, एमाले देवदह नगरका अध्यक्ष टीकाराम चापागाइँले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसको लाभ भने घनश्याम भूसाललाई पुग्ने अनुमान छ ।

अर्थ मामिलाका जानकारको भिडन्त

चितवन–१मा पनि अन्यत्रको भन्दा फरक अवस्था बनेको छ । यो क्षेत्रमा अर्थतन्त्रका राम्रा जानकारहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।

चितवन–१ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका विश्वनाथ पौडेलबीच चुनावी भिडन्त हुने भएको छ । दुबै नेता अर्थतन्त्र र अर्थशास्त्रका अब्बल मानिन्छन् ।

एमाले नेता पाण्डे पूर्व अर्थमन्त्री तथा चितवन–१मा निर्वतमान सांसद समेत समेत हुन् । योजना आयोगका उपाध्यक्ष रहेका डा. पौडेल युवा अर्थशास्त्री हुन् ।

एमाले नेता पाण्डे ०५४ देखि ०६० सम्म राष्ट्रियसभा सदस्य थिए । चितवनको राप्ती नगरपालिकाका निवासी पाण्डे २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट समानुपातिक तर्फबाट सभासद थिए । ०६६ सालमा माधवकुमार नेपालको प्रधानमन्त्री कालमा उनी अर्थमन्त्री भएका थिए । पाण्डेले २०७० को संविधानसभा सदस्य र २०७४ को संसदीय चुनाव चितवन–१ बाटै जितेका थिए ।

पाण्डेलाई अहिले चुनौती दिन पुगेका पौडल कांग्रेसका डा. स्वर्णिम वाग्लेलाई पन्छाउँदै उम्मेदवार बनेका छन् । रत्ननगर नगरपालिका घर भएका पौडेलले संसदीय चुनावबाटै सक्रिय राजनीति सुरु गर्नेछन् । उनी सत्ता गठबनधनका तर्फबाट उम्मेदवार हुन् ।

युवा अर्थशास्त्री पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ पनि थिए ।

उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त गरेका पौडेलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।

अर्थमन्त्री भएसँगै आफ्नो विषयमा गहिरोगरी पकड बनाएका एमालेका प्रभावशाली नेता, अनि प्राज्ञिक पृष्ठभूमि बनाउँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका पौडेलबीचको भिडन्त यसपल्टको चुनावमा हेर्नलायक हुनेछ ।

शंकरविरुद्ध रेखा

दाङ २ मा एमाले महासचिव शंकर पोखरेल र सत्ता गठबन्धनबाट माओवादी नेता रेखा शर्माबीचको प्रतिस्पर्धा पनि पेचिलो हुनेछ । माओवादी नेता कृष्णबहादुर महराले चुनाव नलडेपछि शर्माले अवसर पाइन् । तर, हेभिवेट नेता पोखरेल र माओवादीको प्रभावशाली महिला नेतृ शर्मा दुबै केन्द्रस्तरमा राम्रो पकड राख्छन् ।

सत्तारुढ गठबन्धनलाई चिर्दै एक्लै जित निकाल्नु शंकरलाई सजिलो हुने छैन । ०५१ सालपछि पोखरेल प्रत्यक्ष निर्वाचन जितेर संघीय सांसद नबनेकाले पनि उनीमाथि गठबन्धन हावी हुने सम्भावना छ । तर, कृष्णबहादुर महराले मैदान छोडेसँगै पोखरेललाई चुनाव जित्न सहज भएको विश्लेषण पनि भइरहेको छ ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री रहेका पोखरेलले पछिल्लो समयमा आफ्नो प्रभाव बढाउँदै लगेकाले गठबन्धनबाट उम्मेदवार बनेकी शर्मामाथि चर्को दबाब पनि छ । तर, कांग्रेसको गढ भएको क्षेत्र भएकाले पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेकी शर्माको उम्मेदवारीले शंकरमाथि पनि कम दबाब छैन ।

गुरुलाई चेलाको चुनौती

मकवानपुर–२ पनि अर्को मज्जाको चुनावी भिडन्त कुरिरहेको क्षेत्र नम्बर हो । यहाँ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा र एमाले युवा नेता महेश बर्तौला उम्मेदवार छन् ।

विगतको सम्बन्ध हेर्ने हो भने उनीहरु गुरु–चेला हुन् । कुनै समय नेता–कार्यकर्ताका रुपमा रहेका उनीहरु अब प्रतिस्पर्धीका रुपमा होमिंदै छन् ।

बर्तौला तिनै व्यक्ति हुन्, जो २०७४ को प्रतिनिधिसभा चुनावमा खतिवडालाई जिताउन खटिएका थिए । खतिवडाकै ‘स्कुलिङ’बाट विद्यार्थी राजनीति गर्दै बर्तौला अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म भए ।

२ असोज २०७८ मा ऐन महरसँगै विद्यार्थी राजनीतिबाट अलग्गिएका बर्तौलाले खतिवडाले नेकपा उमाले छाडेका कारण नै यो अवसर पाएको विश्लेषण नेकपा एमाले मकवापुरकै नेताहरुले गरिरहेका छन् ।

बर्तौला २ कार्यकाल अनेरास्ववियु मकवानपुरको जिल्ला अध्यक्ष समेत भएका थिए । त्यतिबेला पनि खतिवडा र उनकी पत्नी तथा एमाले नेतृ मुनु सिग्देलले बर्तौलासहितका तत्कालिन जिल्ला तहका विद्यार्थी नेताहरुलाई पटक–पटक प्रशिक्षण दिने गरेका थिए । बर्तौलाको घर नामटार विरोध खतिवडाकै निर्वाचन क्षेत्र मकवानपुर–२ मा पर्ने भएकाले उनीहरुबीच संगठनात्मक रुपमा पनि सहकार्य हुने गरेको थियो ।

नेकपा एमाले नगर कमिटीका सचिव बोलबहादुर कार्कीका अनुसार बर्तौला र खतिवडा जनआन्दोलनका बेला एकैपटक हिरासतमा थुनिएका थिए । २०६५तिर एमाले मकवानपुरको जिल्ला अधिवेशन ताका एउटा भेटमा खतिवडाले भनेका थिए, ‘महेश एक दिन सांसद बन्छ, त्यतिबेला मैले सघाउने दिन आउँछ ।’

तर, मकवानपुरबाट चारपटक संसदीय चुनाव जितिसकेका खतिवडा सामु अहिले तीनै बर्तौला प्रतिद्वन्द्वीका रुपमा उभिएका छन् । गुरु–चेलाको जो जोडीले अब चुनावमा सघाउने हैन, एक अर्कालाई हराउने रणनीति बन्नुपर्ने अवस्था आएको छ ।

मित्रहरु नै प्रतिद्वन्द्वी

धादिङ–२मा पनि त्यस्तै रोचक चुनावी भिडन्त पक्का भएको छ । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सँगै चुनावी अभियानमा होमिएका राजेन्द्र पाण्डे र भूमि त्रिपाठी अहिले एक अर्काविरुद्ध उभिएका छन् ।

गत निर्वाचनमा भूमि त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने राजेन्द्र पाण्डे सोही क्षेत्रको ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका थिए । वाम गठबन्धनबाट उम्मेदवार बनेका दुवै नेताले चुनाव जिते ।

झण्डै चार दशकदेखिसँगै राजनीतिक यात्रा गरेका यो जोडी यसपटक भने फुटेर दुई ध्रुबमा छ ।

बागमती प्रदेशका मुख्यमन्त्री रहेका पाण्डे नेकपा एमाले छाडेर नेपका एकीकृत समाजवादीमा लागेका छन् । झण्डै चार दशकसम्म एउटै पार्टी र चिन्हसहित सहकार्य गरेका नेताद्वय पाण्डे र त्रिपाठी यसपटक फरक पार्टी र गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछन् ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष रहेका पाण्डे सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका छन् । राप्रपा र जसपाको समर्थनमा एमाले नेता त्रिपाठी भने विपक्षी गठबन्धनबाट उम्मेदवार छन् ।

यही चुनावी भिडन्तमा झण्डै चार दशक वामपन्थी राजनीति गरेका वातावरण संरक्षण अभियन्ता उत्तम कँडेल पनि थपिएका छन् ।

कँडेल, पाण्डे र त्रिपाठी तीनैजना धादिङको मलेखुका स्थायी बासिन्दा हुन् र उनीहरूले सँगसँगै एउटै पार्टीसँग आवद्ध रहेर लामो समय राजनीति गरेका हुन् । कँडेलले स्वतन्त्र उम्मेदवारी दिएसँगै धादिङ–२ पुराना तीन मित्रहरूको चुनावी भीडन्तको मैदानका रुपमा खडा भएको छ ।

कमल थापाविरुद्ध दीपक सिंह

मकवानपुर–१को चुनावी भिडन्त पनि कम्ता रोमाञ्चक हुनेछैन । गठबन्धनका तर्फबाट कांग्रेस नेतृ महालक्ष्मी डिना उपाध्याय, एमालेको समर्थनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका दीपक सिंह यो क्षेत्रमा प्रतिस्पर्धी हुन् ।

पञ्चायतकालदेखि नै कमल थापाका सारथि थिए, दीपक सिंह । चार दशकसम्म कमल थापाको हरेक राजनीतिक निर्णयमा साथ दिएका सिंह २०७८ फागुनबाट भने अलग भएका थिए । राप्रपाको अध्यक्षमा चुनाव हारेका थापाले राप्रपा नेपाल ब्यूँताउनेतिर लागेपछि सिंहले साथ दिएनन् । त्यसको ७ महिनामै एमालेको चुनाव चिह्नमा थापा र हलो चिह्नबाट सिंहले एकाअर्कासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सांसद बन्न त्रिपक्षीय प्रतिस्पर्धामा रहेका यो क्षेत्रका तीन नेतालाई संसदीय चुनाव भने फापेको रेकर्ड छैन ।

२०४८ देखि २०७० बाहेक सबै चुनाव लडेका थापाले एक पटक २०५१ मात्र चुनाव जितेका छन् । थापा मात्र होइन, मकवानपुर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना र राप्रपाका दीपक सिंहको पनि चुनावी रेकर्ड राम्रो छैन ।

डिनाले २ पटक संसदीय चुनाव हारेकी छिन् ।  सिंहले पनि २ पटक संसदीय चुनाव हारेका छन् भने २ पटक हेटौंडाको मेयरमा पराजित भएका छन् ।

तर, स्थानीय तह चुनावमा आएको मतका आधारमा गठबन्धनहरुको अंकगणित हेर्दा चुनाव नफापेका यी तीन नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

दुई ‘हेभीवेट’ गुरुङको भेट

लमजुङमा गण्डकीका पूर्वमुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र माओवादीका महासचिव देव गुरुङबीच पनि रोचक प्रतिस्पर्धा हुँदैछ । एक अर्काविरुद्ध उठ्न नहचाहेका दुबैलाई परिस्थितिले प्रतिद्वन्द्वीका रुपमा खडा गरिदिएको छ ।

एमाले नेता गुरुङ प्रदेशसभामा चुनाव लडेर पुनः मुख्यमन्त्री हुने योजनामा थिए । तर, एमाले अध्यक्ष ओलीले खगराज अधिकारीलाई त्यो अवसर दिएर गुरुङलाई प्रतिनिधिसभामा  लमजुङबाट  टिकट दिए ।

यसका कारण दुई ‘हेभीवेट’ गुरुङको भिडन्त निश्चित भएको छ ।

अरू पनि छ्न्

इलाम क्षेत्र नम्बर १ मा पनि रोचक चुनावी परिवेश बनेको छ ।  यो पूर्व प्रधानमन्त्री झलनाथ खनाल लामो समयदेखि चुनाव उठ्दै र जित्दै आएको ठाउँ हो । एकीकृत समाजवादीमा लागेका खनालले यसपटक पनि सोही क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी मनोनयन गरेका छन् । एमालेले उक्त क्षेत्रमा पार्टीका जिल्ला अध्यक्ष महेश बस्नेतलाई उम्मेदवार बनाएको छ ।

मेटमणी चौधरी र शान्ता चौधरी

यसबाहेक पनि दाङ–१ मा एमालेबाट शान्ता चौधरी र नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीसँग प्रतिस्पर्धा गर्नेछिन् । उनीहरु एमालेमा पूर्व सहकर्मी हुन् ।

काठमाडौं ८ पनि त्यस्तै अवस्था छ । यो एमालेको बलियो पकड रहेको क्षेत्र मानिन्छ । अघिल्लो निर्वाचनमा जीवनराम श्रेष्ठले यस क्षेत्रबाट जितेका थिए । श्रेष्ठ पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागे । गठबन्धनले उनैलाई अहिले उक्त क्षेत्रको उम्मेदवार बनाएको छ । त्यहाँ एमालेले काठमाडौं जिल्ला समन्वय समितिका पूर्वप्रमुख शिव राजवैद्यलाई उम्मेदवार बनाएको छ । एमालेले अष्टलक्ष्मी शाक्यलाई टिकट दिए पनि उनले अस्वीकार गरेपछि आइतबार अन्तिम समयमा आएर एमालेले राजवैद्यलाई उठाएको हो ।

एमालेले यसअघि लामो समयसम्म टिकट नदिएका ठाकुर गैरेलाई यसपटक पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ । यहाँबाट यसअघि एमालेका पूर्व नेता सोमप्रसाद पाण्डेले चुनाव जितेका थिए । गैरेलाई ०७० र ०७४ का चुनावमा टिकट दिएर पनि अन्तिम समयमा खोसिएको थियो । चुनाव जितेका पाण्डे अहिले एकीकृत समाजवादीबाट गठबन्धनका उम्मेदवार छन् । यस्तो अवस्थामा गैरेलाई एमालेले टिकट दिएको छ । जसका कारण एमालेमा हुँदा एउटै समूहमा रहेर काम गर्ने पाण्डे र गैरेबीच रोचक प्रतिस्पर्धा हुनेछ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १मा पनि रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा कांग्रेस केन्द्रीय सदस्य तथा उद्योगी तथा विनोद चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयस त्रिपाठीबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धा पनि रोचक हुने देखिएको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?