+
+

सेवा सहज बनाउन प्राधिकरणले वायुसेवा कम्पनीलाई गरायो सचेत

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १५:१८

२४ असोज, काठमाडौं । तीन दिन अगाडि नेपाल सरकारका सहसचिव धनिराम शर्माले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भने, ‘पहिरोका कारण राजमार्ग अवरोध छ, विमानस्थल पुग्ने कुनै उपाय छैन, यस्तो अवस्थामा समेत टिकटको मिति सार्न वा रद्द गर्न अनुरोध गर्दा थप रकमको माग गर्ने, टिकट सार्न वा रद्द गर्न मिल्दैन भन्ने जवाफ पाउँदा निजी विमान कम्पनीहरुको हदैसम्मको स्वेच्छाचारिता र ग्राहक प्रतिको गैरजिम्मेवारीपन प्रति राज्यको नियमनकारी भूमिका निर्वाह हुन सकेको देखिएन ।’ यस्तो गुनासो धेरै यात्रुले निरन्तर गरिरहेका छन् । त्यसमाथि चाडबाडको समयमा वायुसेवा कम्पनीले लिने भाडाको माथिल्लो स्तरका कारण समेत यात्रु मारमा पर्छन् ।

यसै सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणले संकटको समयमा यात्रुलाई सहजै सेवा प्रदान गर्न सचेत गराएको छ । बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार यात्रुका गुनासो आइरहेको भन्दै प्राधिकरणले बाटो–घाटोले यात्रुको आवागमन असहज भएको अवस्थामा सहजीकरण गर्न भनेको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले प्राधिकरणबाट फोन गरेर यात्रुको गुनासो कम हुने गरी सेवा दिन अनुरोध आएको जानकारी दिए । उनका अनुसार थप उडान अनुमति आवश्यक परे त्यसमा प्राधिकरणले समेत सहयोग गर्ने आश्वासन प्राप्त भएको छ ।

रद्द भएका उडानका टिकटको मूल्य फिर्ता हुन्छ

वायुसेवा कम्पनीहरुका अनुसार मौसम तथा अन्य कारणले रद्द भएका उडानको टिकटको रकम फिर्ता लिन चाहेमा यात्रुले रकम फिर्ता लिन सक्छन् । बुद्ध एयरका निर्देशक जोशीका अनुसार अहिले ७० प्रतिशत भन्दा बढी टिकट इसेवासहितका भुक्तानी सेवा प्रदायक कम्पनीबट काट्ने गरिन्छ । यी कम्पनीहरुको समन्वयमा टिकट फिर्ता गर्नु पर्दा केही समय लागे पनि रकम वायुसेवा कम्पनीका कारण रद्द भएका सबै उडानको टिकट फिर्ता हुने उनले जानकारी दिए ।

यती एयरलाइन्सका प्रवक्ता बर्तौलाले समेत रद्द भएका हरेक टिकटको पैसा फिर्ता लिन चाहेमा फिर्ता हुने बताए । तर, यात्रुका कारण जहाज छुट्ने अवस्थामा भने सस्तो फेयरका टिकटको रकम फिर्ता हुँदैन ।

यात्रुको चापले उडानको मिति सार्दा टिकट नपाउने समस्या

एकातर्फ चाडबाड र अर्कोतर्फ प्राकृतिक विपत्तिका कारण बाटोघाटो अवरुद्ध बनेको छ । निरन्तरको वर्षाले अघिल्लो दिनको उडान रद्द हुने र अर्को दिन आफूले चाहेको समयमा टिकट नपाउने समस्या भने अहिले देखिएको स्वयं वायुसेवा कम्पनीहरु बताउँछन् ।

बर्तौलाका अनुसार कुनै एक गन्तब्यमा एक दिनको टिकट रद्द हुँदा सयौं यात्रुलाई अर्को दिन व्यवस्थापन गर्नुपर्ने हुन्छ । सो दिनपनि करिब पूर्ण क्षमतामा टिकट बिक्री भइसकेको अवस्थामा व्यवस्थापन चुनौतीपूर्ण बन्ने गर्छ । यस्तो बेला अतिरिक्त उडान थप गरेर भए पनि रद्द भएका गन्तब्यबाट यात्रुलाई ल्याउने–लैजाने काम भइरहेको उनले जानकारी दिए । चाडबाडको समयमा ‘वान वे यात्रु चाप’ बढी हुन्छ । अर्थातः दशैं अगाडि काठमाडौंबाट उपत्यका बाहिर जाने यात्रुको चाप धेरै थियो । दशैंपछि काठमाडौंबाट ‘शून्य’ यात्रुमा समेत जहाज उडाएर उपत्यका बाहिरबाट भरिभराउ यात्रु ल्याउनु परेको कम्पनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?