+
+

साढे ४ लाख पाएपछि भएको विवादमा ठेकेदारको हत्या भएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १९:५४

२४ असोज, काठमाडौं । काठमाडौं–१९, रामघाटमा दशैंको टीकाको दिन एक भारतीय नागरिकको हत्या पछाडि आर्थिक कारण जोडिएको हुनसक्ने आशंका गरिएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार हेमन्त महर्जनको घरमा डेरा गरेर बस्ने मृतक भारत, कोलकाताका ४७ वर्षीय ठेकेदार दिलिप आदकले हत्या हुनुअघि ४ लाख ६२ हजार रुपैयाँ बुझेका थिए । त्यही रकम ल्याएपछि कोठामा विवाद हुँदा सँगै बस्ने साथीले उनको हत्या गरेको प्रहरीको आशंका छ ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आदकसँगै बस्ने पर्साको बहुदरमाई नगरपालिका–२, हांसवा घर भएका २५ वर्षीय राजाबाबु भनिने श्रीलाल ठाकुरलाई पक्राउ गरेको छ ।

टीकाको दिन कोठा बाहिर ताल्चा लगाएको अवस्थामा भित्रबाट गन्ध आएपछि घरका अन्य मानिसहरुले प्रहरीलाई खबर गरेका थिए । त्यसक्रममा आदकको शव रगताम्ये अवस्थामा भेटिएको थियो । लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थीको नेतृत्वमा टोली पुगेर अनुसन्धान थालेको थियो ।

‘अनुसन्धानका क्रममा ठाकुरले उनको हत्या गरेर कपडाले छोपेर बाहिरबाट ताला लगाएर गएको पाइएको छ’, कार्यालयका प्रवक्ता कृष्ण कोइराला भन्छन्, ‘घटनापछि फरार उनलाई खोजी गर्ने क्रममा हालै पक्राउ गरिएको हो ।’

प्रहरीले घटनास्थलमा रहेको एउटा बाकस फुटाउन खोजेको र आधा भाग बाँकी रहेको फेला पारेको थियो । त्यसको आधा भागमा नगद ४ लाख १९ हजार रुपैयाँ बरामद भएको थियो । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसबाट ४३ हजार रुपैयाँ गायब भएको थियो, त्यो आरोपितले गरेको देखिएको छ ।’

प्रहरीका अनुसार आदकलाई काठ च्याप्न प्रयोग हुने ३ फुट २ इन्च लामो सकिन्जाले सुतिरहेको अवस्थामा टाउकोमा हानेर हत्या गरिएको देखिएको छ । रकम बाँडफाँटको विषयमा उनीहरुबीच विवाद भएको हुनसक्ने आशंका प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?