+
+

प्यूठानमा दुर्गालाई जित जोगाउने चुनौती

एमालेले स्थानीय तहमा पाएको मत जोगाउने, सत्ता गठबन्धनको असन्तुष्ट मत तान्ने र नयाँ मतदाता रिझाउनुपर्ने छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार नभएकाले उनीहरुको मत तान्ने योजना एमालेको छ । प्यूठानबाट प्रतिनिधि सभा सदस्यमा पार्टीको उम्मेदवार नभएपछि नेपाली कांग्रेसका कार्यकर्ता भने नेतृत्वप्रति खुसी छैनन् ।

सलिम अन्सारी सलिम अन्सारी
२०७९ असोज २५ गते १८:४५

२५ असोज, प्यूठान । २०७४ सालमा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वचित राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल यस पटक नेपाली कांग्रेस-माओवादीसहितको गठबन्धनको बलमा सांसद दोहोरिन चाहेकी छन् ।

उनीसँग प्रतिस्पर्धामा छन् नेकपा एमालेका नेता सूर्य थापा । थापा उनै हुन् जसले २०७४ को निर्वाचनमा पौडेललाई जिताउन भूमिका खेलेका थिए । त्यतिबेला पौडेलले कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेललाई हराएकी थिइन् ।

२०७४ मा जुन पार्टीका उम्मेदवारलाई हराएकी थिइन् अहिले पौडेलले त्यही पार्टीको समर्थन पाएकी छिन् भने २०७४ का सारथी नेकपा एमालेका उम्मेदवार प्रतिस्पर्धामा आएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको साथ पाएकाले पौडेलले केही सहज महसुस गरेकी छन् भने एक्लै प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार थापा पनि प्यूठानमा राष्ट्रिय जनमोर्चाको विरासत तोड्ने योजनामा छन् ।

२०७० मा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य भएकी पौडेलले २०७४ मा प्यूठानबाट चुनाव जितेसँगै दुईपटक सांसद बनेको अनुभव बटुलिन् । उनी तेस्रोपटक सांसद बन्ने प्रयासमा छिन् ।

पौडेलका प्रतिस्पर्धी थापा पहिलो पटक संसदीय चुनावमा होमिएका हुन् । झलनाथ खनाल र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापाले प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

उम्मेदवारी दर्तासँगै चुनाव प्रचार प्रसार सुरु गरेका दुवै उम्मेदवारले विगतमा प्यूठानमा खेलेको भूमिका प्रस्तुत गर्न थालेका छन् । आइतबार उम्मेदवार दर्ता गरेलगत्तै थापाले चुनाव जिते आफू मन्त्री बन्ने संकेत गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र थापाले आफूलाई नयाँ, क्षमतावान र जिल्लाको विकासका लागि सिंहदरवारमा प्रभाव पार्न सक्ने व्यक्तिका रुपमा प्रस्तुत गरे ।

उनका समर्थकहरुले पनि थापाले चुनाव जिते मन्त्री हुने तर पौडेल सांसद मात्रै हुने भन्दै प्रचार थालिसकेका छन् ।

जिल्लामा आफ्नो बलियो संगठन र पार्टिभित्र आन्तरिक विवाद नभएकाले जित निकाल्ने दाबी एमालेको छ । एमालेका जिल्ला सचिव माधव पौडेल भन्छन्, ‘हामी एक ढिक्का भएर मतदातासमक्ष पुगेका छौं । यसको परिणाम राम्रो आउने विश्वास छ ।’

एमालेले स्थानीय तहमा पाएको मत जोगाउने, सत्ता गठबन्धनको असन्तुष्ट मत तान्ने र नयाँ मतदाता रिझाउनुपर्ने छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार नभएकाले उनीहरुको मत तान्ने योजना एमालेको छ ।

प्यूठानबाट प्रतिनिधि सभा सदस्यमा पार्टीको उम्मेदवार नभएपछि नेपाली कांग्रेसका कार्यकर्ता भने नेतृत्वप्रति खुसी छैनन् । कतिपय नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत नेतृत्वको आलोचना गरिरहेका छन् ।

प्यूठानबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले निर्वाचनमा गठबन्धनका उम्मेद्वार पौडेलका लागि भोट माग्न नसकिने अभिव्यक्ति दिएका छन् । उनले गठबन्धनका नाममा प्यूठानको कांग्रेसलाई कमजोर बनाउने गरी भएको सहमतिको समर्थन गर्न नसकिने बताएका छन् । आफूले रुख चिह्नमा मात्र मत माग्ने भन्दै उनले कांग्रेसका कार्यकर्तालाई गिलासमा भोट हाल भनेर आह्वान गर्न नसकिने बताए ।

पार्टी सभापति शेरबहादुर देउवालाई मनाएर गठबन्धनको साझा उम्मेद्वार बन्ने पहल डा. पोखरेलले गरेका थिए । तर डा. शेखर कोइराला पक्षका पोखरेललाई देउवाले टिकट दिएनन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार गिरीले टिकटका कारण पार्टीका केही नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको स्वीकार गरे । उनले भने, ‘पार्टीका साथीहरुमा देखिएको असन्तुष्टि मेटाउने पहल गरिरहेका छौं, उहाँहरुले केन्द्रीय समितिले गरेको निर्णय मान्नुहुनेछ ।’

सत्तारुढ गठबन्धनकी उम्मेदवार पौडेल पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सहयोगमा चुनाव जित्ने आत्मविश्वासमा छिन् । पौडेलले आफू सांसद भएको बेला थालेका कामलाई पूर्णता दिन पुन: उम्मेदवार बनेको बताउँछिन् ।

नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा उत्साहित छ । पाँच वर्षे कार्यकालमा दुर्गा पौडेलले सांसदमा खेलेको भूमिका नै चुनाव जित्ने मूल आधार भएको दाबी जनमोर्चाको छ । सत्तारुढ गठबन्धनमै रहेर पनि अमेरिकी सहयोग कार्यक्रम एमसीसीको विरोधमा उत्रिएको भन्दै जनमोर्चाले पौडेललाई ‘राष्ट्रवादी’ नेताको रुपमा प्रस्तुत गरेको छ । नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले भने, ‘सत्तारुढ दलको समर्थन, सफा छवि र राष्ट्रिय पहिचान भएको हुँदा पौडेल बलियो उम्मेद्वार हो ।’

संसदमा देशको हित विपरीत हुने प्रस्तावको विपक्षमा उभिँदा पौडेलको राष्ट्रिय छवि बनेको जिकिर न्यौपानेले गरे ।

एकातिर कांग्रेसभित्रको असन्तुष्टि छ त अर्कोतिर जनमोर्चामै विवाद छ । प्यूठानमा पौडेल उम्मेदवार बन्ने कि बोमबहादुर खत्री भनेर जनमोर्चाले चुनाव नै गरेको थियो । जसमा एक मतले जितेर पौडेल उम्मेदवार बनिन् । तर नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती भएकै कारण पौडेलले नातावादका कारण पटक पटक अवसर पाएको भन्दै जनमोर्चा भित्रै असन्तुष्टि छ ।

यस्तो छ स्थानीय तहको मत

गएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेको भन्दा सत्ता गठबन्धन ११ हजार मतले अघि छ ।  प्यूठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ । जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत मात्रै पाएको छ ।

१० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ । त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले १ हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले १ हजार ३२२ मत पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?