+
+

जसले संसदीय राजनीतिबाट विदा लिए

लामो समय राजनीतिमा आवद्ध केही राजनीतिज्ञहरुले यस पटकदेखि चुनावी राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन् । तर, चुनावमा उठ्न मरिहत्ते गर्नेहरुको तुलनामा यो संख्या सानो छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ असोज २५ गते २०:२७

२५ असोज, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रतिनिधिसभा सदस्य पदमा पाएको टिकट पनि लिइनन् । एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट शाक्यलाई उम्मेदवार बनाउने निर्णय लिएको थियो । तर, शाक्यले एमाले अध्यक्ष ओलीलाई फोन गरेर चुनाव नलड्ने निर्णय सुनाइन् ।

चुनावी दौड छाडेकी शाक्य करिब ५० वर्षदेखि नेपाली राजनीतिमा छन् । उनी निरन्तर लामो समयसम्म पार्टीमा सक्रिय हुने महिला नेतामध्येमा पर्छिन् । २०२९ सालमा एसएलसी पास गरेपछि राजनीतिमा लागेकी अष्टलक्ष्मी २०३६ सालदेखि पूर्णकालीन राजनीतिमा लागिन् ।

१० वर्ष भूमिगत जीवन बिताएकी उनी भूमिगत राजनीतिमै रहँदा २०४५ सालमा इलाममा पक्राउ परिन् । पछि अखिल नेपाल महिला संघको अध्यक्ष भइन् । २०५६, २०७० मा संघीय सांसद सदस्यमा निर्वाचित भइन् । २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएर पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर समेत प्राप्त गरिन् ।

तर, एमाले विभाजनपछि अल्पमतमा परेर उनले मुख्यमन्त्री पद छोटो समयमै गुमाउनुपर्‍यो । एमालेले उनलाई यो पटक संघीय संसदमा ल्याउन चाहेको थियो । तर, अष्टलक्ष्मीले उम्मेदवार बन्नै अस्वीकार गरिन् ।

त्यसैगरी एमाले नेता डोरमणि पौडेलले पनि संसदीय राजनीतिबाट विश्राम लिएका छन् । १० भदौ २०७९ मा फेसबुकमा स्ट्याटस लेख्दै उनले चुनाव नलड्ने निर्णय सुनाए । ‘मेरो ५० औं वर्षको राजनीतिक अनुभवले बताउँछ अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैन’ उनले लेखेका छन्, ‘आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उम्मेदवारी नरहने जानकारी गराउँदछु ।’

उनले अगाडि थपेका छन्, ‘दोस्रो पुस्ता मात्रै हैन, अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेको छ । अबको मेरो जिम्मेवारी नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी गराउने हुनेछ ।’ अर्थात्, पाँच दशक लामो राजनीतिक जीवनमा रहेका पौडेल चुनावी दौडबाट पछाडि हटे ।

७७ वर्षीय पौडेलले २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका थिए । राजनीतिक जीवनमा बागमती प्रदेशको प्रथम मुख्यमन्त्रीसम्म भएका पौडेलले त्यसअघि दुई पटक हेटौंडा नगरपालिकाको मेयर भएर काम गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि चुनाव नलड्ने निर्णय लिए । उम्मेदवारी मनोनयन दर्ता गर्ने अघिल्लो दिन २२ असोजमा सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर उनले चुनावी दौड छाडेको घोषणा गरेका हुन् ।

‘मलाई लगातार तीन पटक निर्वाचित गरी राष्ट्रिय भूमिका निर्वाह र जनताको सेवा गर्ने अवसर दिनुभएकोमा सिन्धुपाल्चोकका आदरणीय मतदाता एवं जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दछु’ उनले भनेका छन् । तीन पटक लगातार २०६४, २०७० र २०७४ सालमा सिन्धुपाल्चोकबाट संविधानसभा र प्रतिनिधिसभा सदस्य निर्वाचित सापकोटाले सभामुख भएर संघीय संसद्को नेतृत्व गर्नेसम्मको अवसर प्राप्त गरे ।

आफूले पदीय जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको बताउने ६५ वर्षीय सापकोटा २०२९ सालदेखि राजनीतिमा छन् । २०२९ सालमा विद्यार्थी संगठनमा आबद्ध भएका सापकोटाले २०३५ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) को पार्टी सदस्यता प्राप्त गरेका थिए ।

राजनीतिअघि शिक्षक (२०३२ सालदेखि १५ वर्ष) रहेका सापकोटा २०४८ सालमा शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा सक्रिय भएका हुन् । उनी २०४९ सालमा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए । २०५१ मा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य भए ।

२०५१ सालबाट तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र संघर्षमा भूमिगत भए । शान्ति प्रक्रियायताका सबै निर्वाचनमा सिन्धुपाल्चोकबाट निर्वाचित भएका सापकोटाले २०६८ मा सूचना तथा सञ्चारमन्त्री र २०७३ मा वन तथा भू–संरक्षणमन्त्री भएका थिए । ।

आफूले चुनाव नलड्ने घोषणा गर्दै गर्दा सापकोटाले युवाहरूले अवसर पाउन् भन्ने उद्देश्य रहेको बताएका छन् । ‘मलाई चुनाव जित्न कुनै कठिनाइ थिएन । गठबन्धन पनि भएकाले चुनाव जित्ने निश्चित जस्तै थियो । तर युवाहरूकै लागि मैले यो निर्णय लिएको हुँ । निरन्तरतामा क्रमभंगता गरेको हुँ’ उनले भनेका छन् ।

पूर्वसभामुख कृष्णबहादुर महराले पनि चुनावी दौड छाडेका छन् । माओवादी केन्द्रले सत्ता गठबन्धनमा उनकै लागि भनेर दाङ निर्वाचन क्षेत्र नम्बर २ आफ्नो भागमा राखेको थियो । तर, महराले प्रत्यक्ष चुनाव नलड्ने निर्णय लिए । त्यसपछि पार्टीले रेखा शर्मालाई सो क्षेत्रमा टिकट दिएर महरालाई समानुपातिकको बन्दसूचीमा राख्यो । महराले समानुपातिकमा पनि नबस्ने निर्णय लिए ।

६४ वर्षीय महरा ४० वर्षदेखि नेपाली राजनीतिमा सक्रिय छन् । २०३६ सालदेखि राजनीतिमा आबद्ध भएका उनी २०४८ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला सेक्रेटरी भएका थिए ।

२०५१ देखि तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र युद्धमा संलग्न उनी २०५५ सालमा माओवादी पोलिट्ब्युरो सदस्य भए । २०५८ देखि २०६३ सम्म शान्ति वार्तामा माओवादीतर्फको संयोजक भएर माओवादी युद्धलाई शान्तिमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेले । २०६५ विदेश विभाग, संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हाले ।

उनको संसदीय यात्रा भने २०४८ देखि नै हो । उनी २०४८ मा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।माओवादी शान्ति प्रक्रियापछि महरा पनि लगातार २०६४, २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

२०६७ मा गृहमन्त्री, २०६३ देखि २०६५ सम्म सूचना तथा सञ्चारमन्त्री भए । २०७३ मा उपप्रधान मन्त्री एवं अर्थमन्त्री भए । २०७४ को चुनाव अगाडि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थिए । २०७४ को चुनाव पछि सभामुख (२०७४ फागुन २६ गतेदेखि २०७६ असोज १४ गतेसम्म) भए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यस पटक चुनाव लड्न चाहेनन् । डा. भट्टराईलाई माओवादी केन्द्रले पार्टीको चुनाव चिह्नमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । बरु विगतमा आफैंले जित्दै आएको गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारीमा प्रस्तावक बसे ।

स्वेच्छाले चुनावी दौड छाडेका ६८ वर्षीय डा. भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्ने अवसर मिलेको र तोडेको भनेका छन् । आफैं समर्थक बसेर प्रचण्डको उम्मेदवारी दर्ता गराएपछि उनले भने, ‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पर्थ्यो म अवसर पर्खेर बसिरहेको थिएँ ।’

२०६४, २०७० र २०७४ मा तीन पटक संघीय सांसद निर्वाचित भएका उनले २०६५ सालमा अर्थमन्त्री भएर काम गरे । २०६८ सालमा प्रधानमन्त्री (२०६८ साल भदौ ११ गतेबाट १९ महिना) भएर मुलुकको नेतृत्व गरे ।

१० वर्ष भूमिगत र २०३६ सालमा भारतमा बन्दी जीवन विताएका डा. भट्टराई ४२ वर्षदेखि नेपाली राजनीतिमा छन् । डा. भट्टराई २०२७ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) बाट राजनीतिमा आवद्ध भएका थिए ।

२०३४ सालमा अखिल भारत नेपाली एकता समाजको संस्थापक अध्यक्ष भएका भट्टराई २०४७ सालमा संयुक्त जनमोर्चाको अध्यक्ष भए । नेकपा (एकता केन्द्र) को पोलिटब्यूरो सदस्य हुँदै २०५१ मा तत्कालीन नेकपा माओवादीमा आबद्ध भएर १० वर्षे सशस्त्र युद्धमा लागे ।

माओवादीको पोलिटब्यूरो, स्थायी समिति हुँदै उपाध्यक्षको जिम्मेवारीसम्म सम्हालेका डा. भट्टराईले २०७३ मा माओवादीबाट अलग भई नयाँ शक्ति पार्टी गठन गरेर आफैं नेतृत्वमा बसे । २०७६ सालमा संघीय समाजवादी फोरमसँग एकता गर्दै समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष भएका उनी पछि राष्ट्रिय जनता पार्टी (राजपा) सँगको एकतापछि बनेको जनता समाजवादी पार्टी (जसपा) मा पनि सोही जिम्मेवारीमा थिए । जसपाबाट पनि अलग्गिएर रहेका डा.भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।

अहिले माओवादीसँग मिलेर संयुक्त रुपमा माओवादी केन्द्रको चुनाव चिह्नमा पार्टीका अन्य नेताहरुलाई उम्मेदवार बनाएका डा.भट्टराई आफैं चुनाव नलड्ने निर्णयमा पुगे । भट्टराईका एक दर्जनभन्दा बढी पुस्तक पनि प्रकाशित छन् ।

माओवादी पृष्ठभूमिका एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवाली लगायतका नेताहरु पनि पार्टीले दिएको टिकट लिएर चुनावमा गएनन् । एमालेले बादललाई काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, उनले पार्टीकै निर्णय अस्वीकार गरिदिए ।

बादल पुराना नेता हुन् । विद्यार्थीकालबाटै राजनीतिमा लागेका बादल २०३७ सालमा नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशनको सदस्य थिए । २०४२ मा नेकपा मशालको केन्द्रीय सदस्य बनेका उनी २०५० सालपछि नेकपा माओवादीमा संलग्न भए । त्यसपछि उनी तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र युद्धमा होमिए ।

त्यहाँ उनी प्रचण्डको निकट बने । जनयुद्धमा सैन्य कमाण्डरका रुपमा समेत जिम्मेवारी निर्वाह गरेका बादल शान्ति प्रक्रियामा आएपछि २०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा चितवनबाट संविधानसभामा निर्वाचित भए । २०६५ भदौमा रक्षामन्त्री भए ।

प्रचण्ड नेतृत्वको सरकार ढलेपछि बादलले माओवादी केन्द्रलाई विभाजन गरेर २०६९ असारमा मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवसँग मिलेर नेकपा क्रान्तिकारी माओवादी गठन गरे । क्रान्तिकारी माओवादीका महासचिव बने । वैद्य र विप्लवसँग मनमुटाव भएपछि २०७३ जेठमा बादल फेरि प्रचण्ड नेतृत्वकै माओवादीमा मिसिए । २०७४ को निर्वाचन पछि बादल राष्ट्रियसभा सदस्य भए । माओवादीको तर्फबाट गृहमन्त्री बन्दै सरकारमा नेतृत्व गरे ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटकसम्म गरेको प्रतिनिधिसभा विघटनको समर्थन गर्दै बादल ओलीको नजिक पुगे । नेकपा एकता भंग भएपछि पनि उनी एमालेमै रहे । राष्ट्रियसभा बागमती प्रदेश उपनिर्वाचनमा बादल नेकपा एमालेबाट उम्मेदवार बनेर पराजित भए । एमालेमा उपाध्यक्षमा रहँदै गर्दा ६७ वर्षीय बादलले ४ मंसिरको चुनाव नलड्ने घोषणा गरे ।

टिकट पाएर पनि चुनाव लड्न नचाहनेमा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली पनि हुन् । एमालेका पुराना नेता ज्ञवालीको नाम प्रत्यक्ष निर्वाचनका लागि दाङको क्षेत्र नंं. ३ बाट सिफारिस भएको थियो । उनले चुनाव लड्न इच्छा नदेखाएपछि कोमल वलीलाई एमालेले उम्मेदवार बनाएको छ । ज्ञवाली गत २०७४ को निर्वाचनमा पनि चुनाव लड्नबाट पछि हटेका थिए । त्यसबेला पार्टीले चुनाव लड्न सुझाए पनि निर्वाचन महँगो हुने भन्दै उनी पछि हटेका थिए ।

६९ वर्षीय ज्ञवाली २०२६ सालदेखि नेपाली राजनीतिमा छन् । उनी २०४६ सालदेखि एमालेको केन्द्रीय सदस्य रहेका नेता हुन् । २०५६ सालदेखि स्थायी कमिटीमा रहँदै आएका ज्ञवाली ८ औं महाधिवेशनमा सचिव र ९ औं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

कांग्रेसका डा. रामशरण महतले पनि संसदीय यात्राबाट विश्राम लिएका छन् । नुवाकोट–१ बाट अघिल्लो चुनावमा माओवादी केन्द्रका हितबहादुर तामाङसँग पराजित महत यसपटक प्रत्यक्षतर्फ चुनाव लड्न अघि सरेनन् ।

७२ वर्षीय डा. महत विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी संघमार्फत प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए । २०२३ सालदेखि नेपाली राजनीतिमा रहेका डा.महत प्रजातन्त्रको पुनर्बहाली भएपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भए । कांग्रेसको सरकारमा पटक–पटक अर्थमन्त्री भए । परराष्ट्रमन्त्री भएर पनि काम गरेका थिए ।

 

उनका नेपालको अर्थ–राजनीतिक विश्लेषण गरिएका थुप्रै पुस्तक र लेखहरु प्रकाशित छन् । ६ पटक अर्थमन्त्री भएका महतलाई सन् २०१५ मा बेलायतको प्रसिद्ध म्यागेजिन दि ब्यांकरले उत्कृष्ट अर्थमन्त्रीको अवार्ड समेत दिएको थियो ।

२०७४ को चुनावमा जुम्ला १ बाट निर्वाचित गजेन्द्रबहादुर महतले पनि संसदीय यात्राबाट विदा लिएका छन् । ५४ वर्षीय महतले अब फेरि सांसद बन्ने रहर नगर्ने बताए । ‘कर्णालीका कुरा काठमाडौंलाई सुनाउनु थियो, सुनाएँ । अब काठमाडौंले सुनेअनुसार कर्णालीलाई व्यवहार गरोस्, गर्नुपर्छ, खबरदारी गर्न संघीय संसदमै म नभएर के भो अर्को आइहाल्छ । एक थान सांसदका लागि अब फेरि रहर गर्ने छैन’ १ असोज २०७९ मा अनलाइनखबरसितको कुराकानीमा महतले भनेका थिए ।

महत २०४१ सालदेखि राजनीतिमा छन् । नेपाल मजदुर किसान पार्टीबाट राजनीति सुरु गरेका महत २०५६ सालमा सशस्त्र युद्धरत नेकपा माओवादीमा प्रवेश गरेर भूमिगत भएका थिए । २०६० सालमा तत्कालीन माओवादीले गठन गरेको जुम्लाको जनसरकार प्रमुख भएर काम गरे ।

चार दशकदेखि राजनीतिमा रहेका महतले प्रतिनिधिसभाको एउटै कार्यकालमा गरिब, मजदुर, किसानका, विदेशमा दुख पाएका मान्छेहरुका पीरमर्कालाई चोटिलो रुपमा उठाउने सांसदको पहिचान बनाउन सफल भएका थिए ।

अब आफ्नो व्यवसाय अगाडि बढाउने उनको सोच छ । उनी भन्छन्, ‘म विगतमा पनि राजनीतिमा मात्रै थिइनँ, मेरो व्यापार व्यवसाय थियो । पाँच वर्ष सांसद भएँ । अब फेरि व्यवसायमै रहन्छु ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?